वाम्बुले परम्परागत ज्ञान र सीप : रेनुका राईको तान बुन्ने कला

बिशेष विचार / ब्लग

प्रस्तुति : गणेश वाम्बुले राई

पहिलो दिन
२०७५ माघ २० गते रेनुका राई (वाम्बुले)ले आफ्नो फेसबुक भित्तामा ‘होमवर्क गाउँघर बसाईको’ भनेर दुई थान फोटो राख्नु भयो । स्थानचाहिं ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ उँबुको रिनुवाल थियो । ती फोटो राखेको भोलिपल्ट ७७ जनाले लाइक गरेका थिए । प्रतिक्रिया दिनेहरूको उत्सुकता थियो ।

राँटा
थुरि

विकास सौगातले ‘गुड टु हियर फर दिज अल’ लेखे । गणेश राई अर्थात् मैले लेखे, ‘फिरोङति य्वाक्सै साम्फा राइसि ब्रोमे । इम खाँडि वाः पाइचाल सा¥वास जाल्मे या । इक द्यालल्वा बुइसि फुच्चाम चलन साम्मे तिमे । राँता, तकुवा, तकुवा, वाइतो, साँचो, रास, प्वाल्वाँने, टुकि, थुरि, छ्याङ्केल्याङ म्याङ्केल्याङ पाचाल टुकुप टुकुप प्वाचो च्वाक्बो त्यावाइ बाम्मे स्याम्दा । लौ है रेनुका बैनिख्वा आम फोटोतिचो च्वाब्दुमेइल्वा हौवा बाःम ।’

प्वालोङ्ने

तान च्याच्चाम

टुकिधागो

कबिता मगरले ‘गुड वर्क रेनु’ लेखिन् । मेलिना राईले ‘रान्चो बाःम है धन्यवाद’ लेखिन् । राज वाम्बुलेले ‘१ जोडी दौरा सुरूवाल मलाई पनि रेनु बैनी ?’ लेखे । त्यसको जवाफमा रेनुकाले भनिन्– ‘सिकेर जानौं न मात्रै दाजु हजुर भैहाल्छ नि ।’ अनि जवाफ आयो– ‘हुन्छ बैनी ।’

साँचो
फिर्के

रेनुकाको जवाफ रह्यो– ‘लौ दाजु हजुरलाई सबै थाहा रहेछ त । मलाई नि पुर्खाहरूले गरेको बुनेको कथामात्र सुनेको थिएँ । यसपाली मौका मिल्यो र सिक्ने अवसर पनि पाएकोले प्रयास गर्दैछु दाजु हजुर ।’ त्यसपछि मैले लेखें– ‘रेनुका बैनी यो पाली ‘इक लिब्जु–भुम्जु’ पत्रिकामा छपाउनको लागि तान बुन्ने कलाबारेमा तपाईको अनुभव लेख्नुको लागि हार्दिक अनुरोध छ । तपाईले फेसबुकमा राख्नु भाको फोटोहरू सेभ गरेर राखेको छु है ।’

साम्फा राइचाम

शुभराज राई (काजी)को कमेन्ट छ– ‘राम्रो काम नानी ।’ दर्ब राईले लेखेका छन् – ‘लु रान्चो बामे, पुरानो सम्झनालो ।’ राजु जेठा राईले लेखेका छन्– ‘पौरखी हात रोकेर रोकिन्न भन्ने उखान आज बैनीले ताजा गराउनु भो । खुसी लाग्यो बैनी ।’ जवाफ छ रेनुकाको– ‘दाजु आम पुर्खाहरूले करैले बुन्थे रे यो मलाई चाहिं रहरले बुन्न लाको । ढंगा डा आब्लाउ होला ।’

तान च्याच्चाम

 

दोस्रो दिन
२०७५ माघ २१ गते रेनुका राईले आफ्नो फेसबुक भित्तामा ‘होमवर्क गाउँघर बसाईको’ (दोस्रो दिन) भनेर तीनवटा फोटो टाङ्नु भयो । यो फोटो हेरेपछि मैले पहिलो दिनको मेरो कमेन्ट मुनि रेनुका बैनीलाई अनुभव लेख्न अनुरोध गरें । लाइक र कमेन्टस् आइरहेको थियो ।

जसमा कट्रिना लेह स्टडलर (Katrina Leah Stadler) नामकी विदेशी महिलाले सोधेकी छिन्– ‘दिस लुक्स इन्टरेस्टिङ रेनुका । वाट आर यु डुइङ ?’ (देख्दा साँच्चै चाखलाग्दो देखिन्छ रेनुका । तिमी के गरिरहेकी छ्यौ ?)

बैनीले दिनुपर्ने जवाफमा म जान्ने पल्टेर लेखिदिएँ– ‘कट्रिना म्याम, भेरी इन्टरेस्टिङ जब । मिस रेनुका इज प्रिपेरिङ ह्यान्डलुम टु वेभ कटन क्लोथ्स् इन ट्रेडिसनल वेय ।’ (कट्रिना म्याम, धेरै चाखलाग्दो काम । मिस रेनुकाले परम्परागत सुतीको कपडा बुन्ने तानको तयारी गर्दैछिन् ।)
त्यसमुनि विकास सौगातको प्रतिक्रिया छ– ‘ग्रेट टु सी अगेन फर अल दिज होमवर्क नानु ।’ (यसरी फेरि निरन्तर गृहकार्य गरेको देखेर साँच्चै राम्रो लाग्यो नानु ।)

तेस्रो दिन
२०७५ माघ २२ गते रेनुका राईले आफ्नो फेसबुक भित्तामा ‘अबचाहिं केही होला कि भन्ने आशा लाग्यो है’ भनेर तान बुन्न सुरु भएको तीनवटा फोटो राख्नु भयो । त्यसमुनि राज वाम्बुलेले भन्नुभएको छ, ‘रेनु बैनीको कोशिसलाई सलाम छ मेरो । हाम्रो राम्रो परम्परा बोकेको यो बैनीको सफलताप्रति आभार व्यक्त गर्दछु ।’ त्यसैगरी राजु जेठा राईले लेख्नु भएको छ, ‘लु है परिश्रम गरे फल मिठो हुन्छ भन्ने भनाइ नै छ । सायद यो फल पनि नमिठो पक्कै हुन्न होला । राम्रो गर्नुस् बैनी । अनि गुरु पनि राम्रो रोज्नु भएछ, उमोलाई पनि धेरै धेरै धन्यवाद छ ।’

 

नतिजा
माघ २५ गते शुक्रबार रेनुकाले फेरि तान बुन्न सफल भएको तीनवटा फोटो राख्नुभयो । र, भित्तामा लेख्नुभयो– ‘ओऽहुऽ हाऽहाऽहाऽहऽ हप्ताभरिको नतिजा मज्जा आयो ।’

रेनुका राई प्रदेश नं.१ गाउँमा तान बुन्ने कला सिकेर प्रदेश नं.३ पोखरा लेकसाइड फर्किसक्नु भएको छ । उहाँले तानबुनाई कलालाई व्यवहारमा उतार्नु भएको छ । उहाँको अनुभवबारे लिखित रूपमा लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

 

‘रहरले सिप सिकियो भने सफल होइन्छ’

रेनुका राई (वाम्बुले ब्राङख्याल्मे)

तपाई पोखरामा बस्दै आउनु भएको मान्छे, गाउँ फर्केर परम्परागत तान बुन्ने प्रविधिप्रति कसरी चासो लिनु भयो ?
दाजु, अध्ययनको सिलसिला २०६६ सालदेखि म पोखरामा छु । मलाई यो तान बुन्ने सीप सिक्ने इच्छा पहिलादेखि नै थियो । विभिन्न कारणले सिक्न पाएको थिइनँ । यसपाली गाउँ पुगेर सिक्ने समय र अवसर पाएँ । म एक वाम्बुलेनी चेली भएको नाताले पनि मलाई एकचोटि गाउँघरमा तान बुन्ने कला जगाउन मन छ । त्यसैले म यो तान बुन्ने प्रविधिप्रति चासो लिएको हुँ ।

पुरानो तान, साँचो, रास, फिरोङ्ती, प्वालोंने, टुकी, थुरी जस्ता सामानहरू कसरी जुटाउनु भयो ?
मलाई सामान जुटाउन सारै गाह्रो प¥यो । साँचो त धेरै जनासँग रहेछ । तर फिरौङ्ती, रास, थुरी, राँटा, तुकी, नतुवा, च्वाक्बो (डोरिमा झुन्दिएर साँचोको तालमा नाच्ने चरा), कपर बेर्नी, क्रिचा काठ, गजेक सिङ (गजेक किल्ला) आदि सामानहरू चाहिँ कता–कता खोजेर जम्मा पारें । र केही सामानचाहिँ म आफैले बनाएर पनि जुटाएँ ।

यो खाँडीको कपडा बुन्ने काममा तपाईको माइतीघरमा कस कसले जान्नुहुने रहेछ ? तपाईलाई क–कसले सिकाउनु भयो ?
खाँडी कपडा बुन्नको लागि मैले मेरो माइतीघर तिरबाट सामानमात्र जम्मा पारें । किनकि अब यो सीप जान्ने महिलाहरू हाम्रो गाउँमा थोरै मात्रामा हुनुहुन्छ । मलाई मेरो बुढीसासू (उमो स्यार्मे हाँसीमाया राई बोड्वाम्मे))ले सिकाउनु भयो । उहाँ बालापनदेखि आजसम्म पनि खाँडी कपडाहरू बुनिराख्नु भएको छ । आजकल हाम्रो गाउँको एकमात्र खाँडी कपड़ा बुन्ने व्यक्ति उहाँ हुनुहुन्छ ।

तान बुन्ने धागो कहाँबाट ल्याउनु भयो ? कि गाउँघरमा कपास (बुइसि फुच्चाम) खेती गर्ने चलन अझै छ ?
कपडा बुन्ने धागो चाहिँ मैले धरानबाट मगाएँ । यसलाई रेल धागो भन्दोरहेछ, हाम्रो गाउँतिर । गाउँतिर कपास (बुइसी) छर्ने, उत्पादन गर्ने चलन रहेनछ ।

तपाईं कति दिन गाउँमा बसेर सीप सिकेर फर्किनु भयो ?
म गाउँ दुई महिनाको लागि गएको थिएँ । सुरुको केही दिन सामान जुटाउनमा खर्चिएँ । र केही बढी समय सामान बनाउन सिकें । धागो राप्सि (धागो बेर्न) सिकें । तान लगाउन सिकें । तान मिलाउन सिकें । टुकीमा धागो बेर्न सिकें । कपडा बुन्न सिकें । सिकाइमा नै बिताएँ । त्यसपछि मैले सुरुमा ७–७ हातको ४ वटा पटुकी बुनें । १ महिना जति चाहिं यही तानको वरिपरि नै रहेर खाँडी कपडाहरू बुनें । र त्यसपछि पोखरा फर्किएँ ।

तान बुन्ने कला सिकेर के गर्ने योजना बनाउनु भएको छ ?
तान बुन्ने कला सिकेर यही क्षेत्रमा केही गर्ने योजना बनाएको छु । सुरुमा आफू सिकेर अरुलाई पनि सिकाउने र सँगसँगै बुन्ने गरी सानोतिनो व्यवसाय सुरु गर्ने योजना छ ।

घरेलु तान बुनेर आत्मनिरभर बन्ने र उद्योग गर्न सकिने रहेछ ?
अहिलेसम्म घरेलु तान बुन्ने व्यक्तिहरूसँग प्रत्यक्ष भेट्न पाएको छुइन । तर मलाई लाग्छ आत्मनिर्भर बन्न सकिन्छ । र सानोतिनो उद्योग चलाउन पनि सकिन्छ ।

तपाईलाई वाम्बुले राईहरूको गाउँ बस्तीमा तान बुन्ने चलन फेरि ब्युँताउन सकिन्छ जस्तो लाग्छ ?
सकिन्छ । वाम्बुले राईहरूले खाँडी कपडाको पटुकी, गुन्यु, दौरा, सुरुवाल, खास्टो आदिको लगाउने चलन फेरि ल्याएको पाइन्छ । त्यसैले हाम्रो बस्तीमा तान बुन्ने चलन फेरि आउँछ । र मलाई लाग्छ आउनु पनि पर्छ । हाते तानको चलन अझै छ । करले होइन, रहरले सिप सिकियो भने सफल होइन्छ ।

मानेभन्ज्याङ गाउँपालिकाले स्थानीय महिलाहरूलाई तान बुन्ने सीप सिकाएको छ । सिप सिकेका दिदीबहिनीहरूलाई पनि भेट्नु भयो ?
हजुर, गाउँपालिकाले २०७५ मा ढाकाको तान बुन्ने सीप सिकाएको रहेछ । उहाँहरू सबैलाई त भेट्न पाइनँ । केही भटेकाहरूले तान बुन्ने काममा आकर्षित हुनुहुन्छ ।

(इक लिब्जु–भुम्जु त्रैमासिक, वर्ष ५ अंक ३, २०७५ माघ–चैतमा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *