Tuesday, November 24, 2020

किरातको संक्षिप्त परिचय

कला साहित्य -संस्कृति पत्रपत्रिका बिशेष विचार / ब्लग

किरातको संक्षिप्त परिचयः
किरातः कैलाश पर्वत र त्यसका वरिपरि आदिम कालदेखि बसोबास गर्दै आएका समुदाय हुन । लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, थामी र हायु लगायत जातिहरु किरात भएकामा गर्व गर्ने गर्दछन् । पुरानो इतिहास मध्ये एक किरातकालिन विजयपुरको ईतिहास (चेम्जोङ, २००७) अनुसार मगर र गुरुङलाई समेत किरात भनी समेटेको छ । किरात शब्द कैलाश शब्द अप्रभ्रङ्स हुदै किरात भएको एकथरी मान्यता राख्दछन भने खम्बु मुन्दुम अनुसार किरावाचिबाट किराँती, किरात भएको हो भन्ने अर्को मत पनि पाइन्छ । र, केरेक र ओतिबाट किरात भएको पनि विश्वास गरिन्छ । किरात शब्द वेद तथा पुराना ग्रन्थहरुमा प्रसस्त उल्लेख भएको पाइन्छ ।

सुब्बा प्रेमबहादुर माबोहाङको अनुसार स्वयम्भु मनुका मंगोल नामका एक पुत्र थिए । उनका (१) मुना इङवा, (२) थोबोइङबा र (३) योबोइङबा गरी ३ जना छोराहरु थिए । मुना इङवाका पुत्र किरात इङवा थिए । किरात इङवाका दश जना छोराहरु थिए उनिहरु नै आधुनिक किरातीहरुका पूर्खा हुन । स्रोतः लिम्बुवानको ऐतिहासिक अध्ययन नामक पुस्तकको पेज ९ मा लेखक शिवकुमार श्रेष्ठले उल्लेख गरेका छन् । सोहि पुस्तकको पेज १० मा ब्रायन हड्सनका अनुसार, ‘राष्ट्रको रुपमा किरातीहरुको प्राचिनता प्रष्टरुपमा पत्ता लगाउन सकिने भएकोले र भाषाको विचित्र बनावटले गर्दा सायद सबै हिमाली जातीहरु मध्ये उनिहरु चाखलाग्दा छन’ भनिएको छ । त्यस्तै गरि सोहि पुस्तकको पेज १२ मा इमानसिंह चेम्जोङका अनुसार ‘किरातीहरु काशी बंस, ताइश्यान वंस र लासा वंशमा बिभाजित थिए र उनीहरु उत्तर, पश्चिम, पूर्व र उत्तरतिरबाट आइ नेपालमा बसोबास गरे’ भनिएको छ ।

नेपालको प्राप्त इतिहासमा गोपालवंशी, महिषपालवंशी पछि किरात काल (शासन) रहेको र त्यसपछि लिच्छिवीवंशी, मल्लवंशी र शाहवंशी युग हुदै अहिलेको युगमा आईपुगेको हो । नेपालमा शासन गर्ने चौथो पुरानो जाति किरात जाति हुन । नेपालमा भेटिएको सबैभन्दा पुरानो ईतिहास गोपालराजवंशावली अनुसार ३२ पुस्ता किरातहरुले नेपालमा शासन गरेका थिए । किरातहरुको पहिलो राजा यलम्बरले ३७९८ (सन् २०१९) अघि शासन शुरु गरेका थिए । किरातहरु नेपालको पूर्वी भाग हुदै भारतको उत्तरपूर्वी ईलाकामा बसोवास गर्ने गर्दछन् । किरात भित्र झण्डै एक दर्जन जाति र झण्डै ३६ भाषाहरु भन्दा बढि बोल्ने गरेको पाइन्छ । स्मरण रहोस राई जाति भित्रकाले मात्र २८ भन्दा बढि भाषा बोल्ने गर्दछन् ।

किरातहरु प्रकृतिपूजक हुन । आफ्नो धर्ममा किरात लेख्ने गर्दछन् । र, किरात धर्मालम्बिहरु मुख्यतया २ प्रकारले पुजाआज गर्नेगर्दछन् । एकथरी लिखित मुन्धुम फलाग्ने/पढने गर्दछन उनीहरुलाई सत्यहाँङ भनिन्छ भने अर्काथरी बलि चढाई वा नचढाई अलिखित मुन्धुम (मुन्दुम) फलाक्ने (युमा) गर्दछन् । केही किरातहरु बुद्ध, क्रिश्चियन र अन्य धर्म मान्नेहरु पनि छन् ।

ईतिहासमा सबैभन्दा समृद्ध शासन किरात काल भएको कुरा ईतिहासमा उल्लेख भएकोले किरातहरु आफ्नो इतिहासको विरासतमा गर्व गर्ने गर्दछन् । नेपालको सिमाभित्र लगभग १२ लाख किरातहरु बसोवास गर्ने गर्दछन् । त्यसमध्ये सबैभन्दा धेरै जनसंख्या राई जातिको रहेको छ भने त्यसपछि लिम्बु, सुनुवार, याख्खा जाति लगायतको रहेका छन् । किरातहरु जेठा (पुराना) शासक हुन भने कान्छा (हालका) शासकहरुबाट धेरै शोषित र दमित छन् । राज्यको नीतिअनुसार प्रत्येक दिन अतिक्रमणमा परि रहेका छन् । कान्छा शासकहरु प्रतिदिन विस्तार र समृद्धिमा लम्किरहेका छन् भने संमग्र किरातहरु रक्षात्मक अवस्थामा पुगेका छन् । इतिहासको विशाल विरासत बोकेका किरातहरु पूनर्जागरण प्रकृयामा छन् ।

किरातः लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, थामी र हायु लगायत

धर्मः किरात (सत्यहाङहरुले धर्मगुरु आत्मानन्दलाई मान्दछन भने अन्यले परम्परागत नाक्छोङ, नोक्छो, धेवा, फेदाङमाबाट पुजा गर्ने गर्दछन यो परम्परालाई युमा संस्कार पनि भन्दछन । त्यस्तै किरात भित्रको अर्को पाटो स्वर्गिक मार्गीले गुरु गढएन्जललाई मान्ने गर्दछन) ।

किरात धर्मालम्बिहरुको संख्याः ३ प्रतिशत (जनगणना सन् २०११)

धर्मग्रन्थः मुन्धुम/मुन्दुम

मुख्य चाडः (नेपाल सरकारबाट २६ चैत्र २०५८ देखि किरात कर्मचारीहरुलाई छुट्टि प्रदान र १८ फागुन २०६४ देखि किरात राष्ट्रिय पर्वको रुपमा मान्यता प्रदान)
१. उभौली (बालि लगाउनु अघि, बैशाख पूर्णिमा), खोला, नदिमा पानी बढदै जादा माछा उभो (उकालो) चढ्ने समय उभौली ।
२. उधौली (बालि भित्र्याउने बेलामा), मंसिर पूर्णिमा, न्वागी पुजा, लिम्बुले चासोक तङनाम, याख्खाले चोसोवा, सुनुवारले फोलशाँदर, चाम्लिङले साकेला, वान्तावाले सेमुना सान्केवा, थुलुङले बुङतोषी, हायुले कागुनी न्वागी, जिरेलले न्वागी चास्या भन्ने गर्दछन् । हिउदको वेलामा नदि, खोलाको पानी घटदै जादा माछा लगायत उधो (ओह्रालो) झर्ने भएकोले उधौली) ।
३. बलिहाँङ तङनामः तिहारमा द्यौसी (मुन्धुम अनुसार चेली माइतीले फूल साटासाट हुनुहुदैन) ।
४. साउने सक्रान्तिः सिसेक्पा तङनाम (अनिकाल धपाउने) चाड
५. माघे सक्रान्तिः कक्फेक्वा तङनाम र किरात नयाँ बर्षको पहिलो दिन

भाषाः ३६ भन्दा बढि

लिपीः किरात लिपी

पुजास्थलः माङ्हिम, माङखिम, मार्सखोम (थुलुङ),

जनसंख्याः अनुमानित १२ लाख

किरातकालः शाह, मल्ल, लिच्छवी र किरात काल (४ वंश अगाडि)

सवत्ः किरात यलम्बर सवत् ३७९८ (सन् २०१९) केही समय अघि सम्म ५०७९ लाई शुरुवात गरिएको थियो र त्यहि ५०७९ कै गणनाको आधार खोज्दै जाँदा अन्ततः ३७९८ सबैभन्दा विश्वासयोग्य र बैज्ञानिक पत्ता लागेको हो ।
(संवतलाई लिम्बुले येले तङ्बे, राई वान्तावाले येले दोङ, थुलुङले येले थ र सुनुवारले येले थोचे आदि भन्ने गरेका थिएभने अहिले ‘किरात यलम्बर संवत’ भन्ने गरिन्छ ।)

लिपीको सम्बन्धमा स्पष्टीकरणः
भारतको २७ औं राज्य सिक्किममा पनि किरातहरुको ठूलो बसोबास रहेको छ । सिक्किम सरकारले आफ्नै भाषा, लिपी र संस्कृति भएका जातिलाई विशेष सुविधा प्रदान गर्ने ब्यवस्था गरे संगै प्राचीन किरात लिपीलाई कुनै एक किरात जातिले आफ्नो भनी दाबी देखाएर सुविधा लिएको कारण केही दुविधा देखिए । केही किरात जातिले नयाँ लिपी तयार गरे र सुविधा लिईरहेका छन् तर समग्रमा प्राचीन किरात लिपी सम्पूर्ण किरातहरुको साझा लिपी हो । कुनै एक जातिले बेग्लै नामाकरण पनि गरे तर सबैले बुझने किरात लिपी नै हो ।

प्रदेश नम्बर १, प्रस्तावित किरात प्रदेश

ईतिहासविद येहाङ लावती ज्यूको कुरा सुनौ ।

http://kirat.org.np/?fbclid=IwAR3ol5LeH39Q2YTxInI8gJd93A_cgXuiDc_ePuWHYKRZhcls4UWlvl4Eay8

Leave a Reply

Your email address will not be published. Required fields are marked *