व्याकुल माइलाले पढेका भगवती माविको हीरक जयन्ती मनाइदै

प्रदेश १ बिशेष समाचार

लिभु संवाददाता

काठमाडौं– राष्ट्रगानका रचनाकार व्याकुल माइलाले पढेका भगवती माध्यमिक विद्यालयले हीरक जयन्ती मनाउने भएको छ । यो विद्यालय ओखलढुंगा जिल्लाको दक्षिणी भेग मानेभन्ज्याङ गाउँपालिका वडा नं.५ मानेभन्ज्याङ बजारमा रहेको छ । माइलाले सोही विद्यालयबाट २०४६ सालमा एसएलसी उत्तीर्ण गर्नु भएको थियो । ‘भगवती मा.वि.को सदिच्छा ः शिष्टता, संस्कारित र प्रविधिमैत्री शिक्षा’ भन्ने मूल नारासहित हीरक जयन्ती महोत्सवको तयारीमा जुटेको प्रधानाध्यापक नारायणप्रसाद बास्तोलाले जानकारी दिनु भएको छ ।

 

यसैगरी दोस्रो संविधान सभाका सभासद रामहरि खतिवडाले सोही विद्यालयबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गर्नु भएको थियो । उहाँ भगवती मावि पूर्वविद्यार्थी समाजका अध्यक्षसमेत हुनुहुन्छ । त्यस्तै प्रदेश नं.१ सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङसमेत सोही विद्यालयको पूर्वविद्यार्थी हुनुहुन्छ । तत्कालीन राष्ट्रिय सभा (वि.सं.२०५२–२०५८) का सांसद स्वर्गीय लघुधन राईले समेत यसै विद्यालय पढ्नु भएको थियो ।

हीरक जयन्ती आगामी चैत २७ र २८ गते दुई दिन मनाइने छ । त्यसका निम्ति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मानेभन्ज्याङ गाउँपालिकाका वडा नं.५ का अध्यक्ष रामकुमार राईको संयोजकत्वमा ‘भगवती मावि शुभ हीरक जयन्ती महोत्सव २०७७ मूल समारोह समिति’ गठन गरिएको छ । साथै विभिन्न उपसमितिहरू गठन गरिएका छन् ।

शुभ–हीरक जयन्ती महोत्सवका अवसरमा मुख्य रूपमा तीन वटा काम गरिने प्रधानाध्यापक बास्तोलाले जनाउनु भएको छ । जसमा विद्यालयको इतिहासदेखि वर्तमानसम्मका विषय समेटेर स्मारिका पुस्तक प्रकाशन गर्ने, विद्यालयअन्तर्गत रहने गरी छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने र योगदानदातालाई सम्मान गर्ने जनाइएको छ । विद्यालय संस्थापकहरू, सञ्चालक समितिका पूर्व अध्यक्ष तथा पदाधिकारीहरू, पूर्व प्रधानाध्यापकहरू, राष्ट्रगानका सर्जक, संविधान सभाका सभासद, पूर्व शिक्षक तथा कर्मचारीहरू, उच्च ओहदामा हासिल पूर्व विद्यार्थीहरू सम्मान प्रदान गरिने छन् ।

‘स्मारिका प्रकाशन खर्चसमेत गरी करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौं,’ व्यवस्थापन समितिका अध्यक्ष राईले भन्नुभयो, ‘त्यसका निम्ति पालिका, विभिन्न संघसंस्था, व्यक्तिव्यक्तित्वहरूलाई आर्थिक सहयोग अनुरोध गरेका छौं र सहयोग लिने काम भइरहेको छ ।’

हीरक जयन्ती मुख्य उद्देश्य विद्यालयको शैक्षिक, भौतिक गतिविधिको समुदायमा जानकारी गराउन तथा सीपहरूको आदानप्रदान गर्न–राउन, समुदाय, शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समितिलाई शिक्षाको महत्व र गरिमा कायम गर्न आत्मविश्वास जगाउन रहेको जनाइएको छ । यसैगरी हीरक जयन्ती मनाउनु अघिको अवस्था, विद्यालयको विगत र वर्तमान अवस्थाको अध्ययन गरी भावी शैक्षिक रणनीति निर्माण गरी अघि बढ्न टेवा पुग्ने ठानिएको छ ।

‘शिष्ट, इमानदार, कर्तव्यनिष्ठ, दक्ष, अनुभवी, प्राविधिक ज्ञानले भरिपूर्ण, स्वाभिमानी, एवं स्वावलम्बी विद्यार्थी उत्पादन गर्नु नै हाम्रो प्रमुख लक्ष्य हुनेछ,’ हीरक जयन्तीको लक्ष्यप्राप्तिमा भनिएको छ, ‘यो मानेभन्ज्याङ भौगोलिक, वातावरणीय तथा पर्यावरणीय दृष्टिकोणले रमणीय हुनुको साथै यस स्थानमा उच्च शिक्षाको समेत अत्यावश्यक रहेकोले निकट भविष्यमा यसै थलोमा विश्वविद्यालयीय शिक्षाको समेत स्थापना गर्न पहल गर्ने लक्ष्य लिइएको छ ।’

वि.सं. २०१७ सालमा स्थापना भएको यो विद्यालयमा साधारण धारतर्फ हाल शिशु कक्षादेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । त्यसैगरी प्राविधिक धारतर्फ १८ महिने कृषि (बालिविज्ञान) विषयसमेत सुचारु छ । सबैगरी ६ सय ५३ विद्यार्थी अध्ययरत छन् । साथै २४ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *