छाती दुख्छ ? होस गर्नुस् है !

स्वास्थ्य

काठमाडौ ।  हामी मध्ये धेरैलाई छाती दुख्ने समस्या रहेको हुनसक्छ । छाती दुख्ने समस्या सामान्य लागे पनि कतिपय अवस्थामा यो प्राणघातक रोगको सुरुको लक्षण पनि हुन सक्छ । त्यसैले कसैलाई छाती दुखेको छ भने  सम्भावित रोगहरुका बारेमा जानकारी राख्न सबैले जरुरी छ ।

कस्ता कस्ता रोगका लक्षण छाती दुख्नु हुन्छ ?

छाती दुखेमा कस्तो रोग लागेको हुनसक्छ भन्ने जान्नको निम्ति हाम्रो छातीमा कुन कुन अंग रहेको हुन्छ भन्ने जानकारी राख्न जरुरी छ । हाम्रो छातीमुनी मुख्यत मुटु, फोक्सो, स्वासप्रस्वास नली र खाना जाने नली रहेको हुन्छ । सामान्यतया यीनै अंगहरुको खरावीले मुटु दुख्ने गर्दछ ।

मुटुको रोगहरु:

१. एन्जाइना (हर्ट एट्याकको अघिल्लो चरण)

२. हर्ट एट्याक

३. मुटुको मांसपेसीको समस्या

फोक्सोको रोगहरुः

१. निमोनिया’

२. न्युमोथोर्याक्स (फोक्सोको बाहिरीपट्टीको भागमा हावा जम्मा हुनु)

३. प्लुराइसी (फोक्सोको बाहिरी भागको समस्या)

खाना जाने नलीको रोगहरुः

१. ग्यास्ट्राइटिस

२. अल्सर

३. रिफ्लस डिजीज (खाना नलीको एसिड/खाना माथी आउने रोग)

अन्य रोगहरुः

१. कोस्टोकोन्ड्राइटीस (छातीको हड्डीको समस्या)

२. मानसिक समस्याहरु जस्तैः एन्जाइटी आदि ।

कस्तो दुखाइको ख्याल गर्ने ?

मुख्यतः छाती दुख्ने कारणहरुमा ग्यास्ट्राइटीस, अल्सर, एन्जाइना (मुटुको दुखाइ) र हर्ट एट्याक पर्न आउँछ । यी समस्याहरु भएमा वेलैमा पहिचान गरेर तुरुन्त उपचार गर्नु जरुरी हुन्छ ।

१. एन्जाइना (हर्ट एट्याक): छातीको बायाँ भागमा थिचेको जस्तो, गह्रौ बस्तु राखेको जस्तो वा निचोरेको जस्तो दुखाइ देखियो भने त्यो एन्जाइना/हर्ट एट्याकको लक्षण हुन सक्छ । यस्तो खालको दुखाइ छातीबाट घाँटी, चिउडो हुदै देब्रे पाखुरा सम्म पुग्न सक्छ। दुखाइ हिड्दा, दौडदा वा कुनै शारीरिक परिश्रम पर्ने काम गर्दा बढी मात्रामा देखिन्छ। दुखाइ संगसंगै पसिना आउने, सास फेर्न गाह्रो हुने र मुटु चाडो धड्किने आदि लक्षणहरु देखिन सक्छ । यस्तो समस्या देखिएमा तुरुन्त अस्पताल गएर जाँच गराउनुपर्छ ।

२. ग्यास्ट्राइटिसरअल्सरः छातीको बीच भागमा पोलेको जस्तो दुखाइ भयो भने त्यो ग्यास्ट्राइटीस, अल्सर वा पेटको अन्य समस्याको दुखाइ हुन सक्छ । कुनै अल्सरको दुखाइ खाली पेटमा ज्यादा हुन्छ भने कुनैको खाना खाएपछि बढी देखिने हुन्छ । दुखाइसंगसंगै मुखमा अमिलो पानी आउने, वाकवाकी लाग्ने, वान्ता आउने, खान मन नलाग्ने आदि समस्याहरु पनि देखिन सक्छ ।

यस्तो समस्या देखिएमा पनि अस्पताल गएर कुन अल्सर छ वा कुन भागमा खरावी छ पत्ता लगाएर त्यसै अनुरुप उपचार गराउनुपर्छ ।  एन्जाइनालाई सुरुकै अवस्थामा पहिचान गरेर उपचार गर्न सकियो र आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन सकियो भने त्यसले हर्ट एट्याक हुनबाट बचाउन सक्छ ।

साथै अल्सरमा पनि पछि गएर क्यान्सरमा परिणत हुने, खाना जाने नलि प्वाल पर्ने, रक्तस्राव भएर रक्तअल्पता हुने आदि समस्या आउन सक्छ । त्यसैले कुनै पनि किसिमको छाती दुखाइलाई हेलचेक्र्याइ नगरिकन समयमै उपचार गराउनु नै प्राणघातक रोगहरुबाट वच्ने सबैभन्दा राम्रो उपाय हुन सक्छ ।

Leave a Reply

Your email address will not be published.