यी खानेकुराले दृष्टि क्षमता बढाउँछ

स्वास्थ्य

काठमाडाैं । हाम्रो भोजन र खानेकुराले दृष्टि क्षमतामा पनि प्रभाव पर्छ। भिटामिन ‘सी’ र ‘ए’ धेरै मात्रामा पाइने केही खानेकुरा आँखा स्वस्थ राख्न र दृष्टि क्षमता बढाउन सहयोगी हुन्छन् ।

रातो भेँडे खोर्सानी: रातो भेँडे खोर्सानीमा प्रसस्त भिटामिन सी पाइन्छ । भिटामिन सीले हाम्रो आँखाका धमनी स्वस्थ राख्छ र  मोतियाविन्दुको जोखिम घटाउँछ । काउली, मेवा र स्ट्रबेरी लगायत फलफूल र सागसब्जीमा प्रचूर मात्रामा भिटामिन सी पाइन्छ । पकाउँदा भिटामिन सी घट्ने भएकाले सकेसम्म काँचै खानु बेस हुन्छ । रातो भेँडे खोर्सानी लगायत चम्किलो रङका खोर्सानीमा भिटामिन ए र सी पर्याप्त मात्रामा पाइन्छ, दुवै भिटामिन आँखाका लागि अत्यन्त फाइदाजनक छन् ।

सूर्यमुखीको बिउ र नट्स (बदाम): वयस्कले सूर्यमुखीको बिउ वा नट्स (कागजी बदाम, बदाम, काजु, किसमिस आदि) दैनिक एक औंस खाएमा आवश्यक भिटामिन ‘ई’को आधा मात्रा प्राप्त हुने अमेरिकाको औषधि व्यवस्था विभागले उल्लेख गरेको छ । भिटामिन ईले अरु पोषक तत्वसँग मिलेर उमेर बढेसँगै विकास हुने दृष्टि कमजोरीको अवस्था ‘एज रिलेटेड माकुलर डिजेनेरेसन’ (एएमडी) आउन ढिलो पार्ने र रोकथाम गर्ने विभिन्न अध्ययनले देखाएका छन् । ह्याजलनट्स र पिनट्स, बटर भिटामिन ई पाइने गतिला स्रोत हुन् ।

गाढा रङका हरिया सागपात: सलाद पत्ता, पालुंगो र रायोजस्ता गाढा हरिया सागपातमा धेरै मात्रामा भिटामिन सी र ई पाइन्छ । वनस्पतिमा पाइने भिटामिन एले एएमडी र मोतियाविन्दुजस्ता दृष्टिसम्बन्धी दीर्घकालीन रोगबाट जोगाउँछ ।

साल्मनः हाम्रो आँखाको पर्दा (रेटिना) स्वस्थ रहन डिएचए र इपिए ओमेगा–३ फ्याटी एसिड चाहिन्छ। यी दुई फ्याटी एसिड साल्मन, टुना, ट्राउटजस्ता माछा र विभिन्न सामुद्रिक खानेकुरामा पाइन्छ। ओमेगा–३ फ्याटी एसिडले हाम्रो आँखालाई एएमडी र ग्लाउकोमा (मोतीविन्दु) बाट पनि जोगाउँछ। यी दुई ओमेगा–३ फ्याटी एसिडको कमी भएमा हाम्रो आँखा सुक्खा हुन्छ ।

सखरखण्डः सखरखण्ड, गाँजर, क्यान्टालुप, आँप, आरु लगायत सुन्तला रंगका फलफूल र सागसब्जी आँखाका लागि अत्यन्त फाइदाजनक छन् । यिनमा उच्च मात्रामा ‘बिटा क्यारोटिन’ पाइन्छ, जुन भिटामिन एमा परिवर्तन हुन्छ र अँध्यारोमा हेर्न आँखालाई चाँडै अभ्यस्त बनाउँछ । हामीलाई दैनिक चाहिने भिटामिन सीको आधाभन्दा बढी हिस्सा एउटा सखरखण्डमा पाइनुका साथै केही मात्रामा भिटामिन ई पाइन्छ ।

गेडागुडी र सिमीः उच्च मात्रामा फाइबर तथा स्वस्थकर फ्याट प्राप्त गर्ने सर्वोत्तम स्रोत माछामासुपछि गेडागुडी र सिमी हो । फाइबर र स्वस्थकर फ्याटले राति वा अँध्यारोमा हाम्रो दृष्टि तिखो पार्छ र एएमडीबाट पनि जोगाउँछ । काबुली चना, बोडी, राजमा र विभिन्न किसिमका दालमा प्रचूर मात्रामा जिंक पनि पाइन् छ। जिंकले कलेजोमा जम्मा भएको भिटामिन एलाई रेटिनासम्म लैजाने काम गर्छ। कुखुराको मासुमा पनि जिंक पाइन्छ ।

अन्डा: आँखाका लागि सर्वोत्तम खानेकुरामा अन्डा पनि पर्छ । यसमा पाइने जिंकले यसको पहेँलो भागमा पाइने ल्युटिन र जियाजान्थिनलाई शरीरले उपयोग गर्ने बनाउँछ। यी पोषक तत्वको पहेँलो–सुन्तला रङले हाम्रो रेटिनालाई हानिकारक नीलो प्रकाशबाट जोगाउँछ। साथै, दृष्टि क्षमता घट्न दिँदैनन् ।

फर्सीः फर्सी यस्तो स्रोत हो, जसबाट हामी वर्षैभरि भिटामिन सी, जिंक, भिटामिन ए र ओमेगा–३ फ्याटी एसिड प्राप्त गर्न सक्छौं, जुन दृष्टिका लागि अति आवश्यक पर्छ ।

ब्रोकाउलीः ब्रोकाउलीमा बिटा क्यारोटिन, भिटामिन सी, ई र केका साथै म्याग्नेसियम, फोस्फरस, पोटासियम र जिंक प्रचूर मात्रामा पाइन्छ। यसमा पाइने एन्टिअक्सिडेन्टले आँखाका कोष र रेटिनालाई फाइदा पुग्छ । –एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published.