खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नंं.२ डिकुवाका आगलागी पीडितका निम्ति २ लाख १६ हजार ८५ रुपैयाँ रकम उठेको छ ।
गत चैत ३ गते डिकुवाअन्तरर्गत लाङमा, डाँडागाउँ, बाल्चोङ, पाँचभैयाटार र छोम्पाङ गाउँमा जंगलमा फैलिएको डढेलोले बस्तीमा पसेपछि ९ घर, मतान, गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ । एक घरमा आंशिक क्षति पुगेको थियो ।
आगालागीबाट सम्बर राई, नगेन्द्र राई, अदमे राई, रणबहादुर राई, पबिन्द्र राई, हिराधन राई, छोटा राई, कृष्णबहादुर राई, चयन राई र बलराम राई तथा परिवार पीडित बन्नु भएको छ ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमितिले आगालागि पीडितका लागि आर्थिक सहयोग उपसमिति गठन गरेको थियो । देश–विदेशबाट उक्त रकम उठाइएको आगलागी पीडित सहयोग उपसमितिका संयोजक तथा केन्द्रीय सदस्य पचुराम राईले जानकारी दिनु भएको छ । उपसमितिको सदस्यमा केन्द्रीय सदस्य सोनाम सज्जन किराती र वाम्बुले राई युवा क्लबका अध्यक्ष ओबिका राई रहनु भएको थियो ।
सो रकम हिलेपानी सेवा समाज दक्षिण कोरियाबाट ८४ हजार २ सय रुपैयाँ, उदयपुरे समूह दक्षिण कोरियाबाट २१ हजार १२३ रुपैयाँ, बाइसीटार समूह दक्षिण कोरियाबाट १८ हजार रुपैयाँ, वामद्याल समूह दक्षिण कोरियाबाट १३ हजार २०२ रुपैयाँ प्राप्त भएको हो । त्यसैगरी विभिन्न व्यक्तिसहित ४३ जनाबाट चन्दा उठाइएको संयोजक राईले जानकारी दिनुभयो ।
सहयोग उपसमितिले वैशाख २७ गते शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका–१ शिवटोल इमाडोलस्थित कार्यालयमा बसेको संक्षिप्त बैठकमा वाम्रास अध्यक्ष गजुरधन राईले संस्थाको अनुरोधअनुसार सहयोग गर्ने स्वदेश तथा विदेशमा रहनु भएका सबै दाताहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
बैठकमा उपस्थित वाम्बुले राई समाज खोटाङ जिल्ला कार्यसमितिका अध्यक्ष प्रेम सुन्दर राईलाई उठाइएको रकम हस्तान्तरण गरिएको थियो । खोटाङका पीडित परिवारलाई आगामी जेठ ४ गते उक्त सहयोग प्रदान गरिने प्रेम सुन्दर राईले बताउनु भएको छ ।
पीडितको अवस्था यस्तो थियो-
https://www.facebook.com/photo/?fbid=3400821803381953&set=pcb.3400822653381868