मुन्धुम ट्रेल : किराँत मिथ, संस्कृति र प्रकृतिको बेजोड सङ्गम

पत्रपत्रिका
  • विद्या राई

A trail, combination of Kirati myth, culture and natureकाठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो, मुन्धुम ट्रेल । छोटो अवधिमा घुमफिरको धेरै खाले स्वाद लिन पाइने यो ट्रेलमा हिमाल र पहाडका भूवनोट, संस्कृति र प्रकृतिको अवलोकन र अनुभूत गर्न पाइन्छ ।

विशेषता खोटाङ र भोजपुर जिल्लामा पर्ने यो ट्रेलमा किराँत राई समुदायको बसोबास छ । डाँडाकाँडा, खोलानाला, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूसँगै किराँती मिथकसँग जोडिएकाले ‘मुन्धुम पदमार्ग’ नामकरण गरिएको हो । यहाँ बाह्रै मास यात्रा गर्न सकिन्छ । तर, मौसमअनुसारको फरक अनुभव लिन सकिन्छ । वसन्त र शरद ऋतु सबैभन्दा उपयुक्त मानिन्छ ।

यो ट्रेलमा अल्ट्रा म्याराथन, हाइकिङ, माउन्टेन साइक्लिङ, घोडचढी, प्याराग्लाइडिङ, हनी हन्टिङलगायतमा साहसिक गतिविधिहरू देख्न सकिन्छ । यसलाई सरकारले नेपालको घुम्नै पर्ने सय गन्तव्यमा पनि समावेश गरेको छ । यो ट्रेल खोटाङको चखेवाबाट सुरु भएर धोत्रे –मैयुङ–रावाधाप–साल्पा भन्ज्याङ–सिलिचुङ–ह्याकुले–हाँस पोखरी हुँदै भोजपुर सदरमुकाममा पुगेर टुंगिन्छ । यो विदेशी पर्यटकका लागि यो पदमार्गको पुरा अवधि १४ दिनको छ भने १०७ किमी पार गर्न नेपालीको लागि आफ्नो अनुकूल केही कम हुन पनि सक्छ ।

A trail, combination of Kirati myth, culture and natureकाठमाडौँबाट सुरु गर्ने हो भने पहिलो दिन खोटाङ सदरमुकाम दिक्तेल पुग्न सकिन्छ । काठमाडौँबाट झन्डै ९ घण्टाको बस यात्रा गर्नुपर्छ । कार र भ्यान पनि प्रयोग गर्न सकिन्छ । समुन्द्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइमा रहेको दिक्तेल सदरमुकाम भए पनि सानो पहाडी बजार हो । यहाँ रुचि अनुसारको खाना तथा स्थानीय परिकारहरू पनि पाइन्छ । पर्यटक स्तरीय होटेल छन् ।

दोस्रो दिन, बिहानीको खाजा खाएर दिक्तेलमै खाने र त्यहाँको दृश्यावलोकन गर्न सकिन्छ । त्यसपछि साढे तीन घण्टाको बस यात्रा गरेर भोजपुरको चखेवा पुगिन्छ । समुन्द्री सतहदेखि २३ सय मिटर उचाइमा छ चखेवा । चखेवामा ५ वटा टी हाउसहरू छन् । गोठेसिंह होमस्टे पनि छ । तोङ्बा, लाङ्सा र लोकल कुखुराको तीते खानेकुरा त्यहाँको विशेष मेनु हो । दिक्तेलदेखि चखेवा पुगेर बिहानको खाना खाएर टेम्के डाँडा घुम्न सकिन्छ ।

तीन हजार १० मिटरको उचाइमा पर्ने टेम्के डाँडा पुग्न दुई घण्टा जति उकालो चढ्नु पर्छ । त्यसै दिन दृश्यावलोकन गरेर चखेवा फर्कन पनि सकिन्छ भने माथि नै क्याम्पिङ गरेर बस्ने इच्छा हुनेको त्यो इच्छा पनि पुरा हुन्छ ।

A trail, combination of Kirati myth, culture and natureटेम्केबाट ८ हजार मिटरमाथिका सगरमाथा, ल्होत्से, सिसापाङ्मा, मकालु र चोयु गरी पाँच वटा हिमाल देखिन्छ । टेम्के–मैयुङ रेन्जबाट दोर्जे लाक्पा, गौरीशङ्करलगायत थुप्रै हिमशृङखलाको दृश्यावलोकन गर्न सकिन्छ। चीनको तिब्बत, भारतको दार्जिलिङ, कालिम्पोङ, सिलिगुडी, भुटान, पूर्वी नेपालका १६ वटै जिल्लाहरू यहाँबाट नियाल्न सकिन्छ । गुराँस फुल्ने सिजन माघ र फागुन महिनामा लालीगुराँस, चिमाललगायत प्रजाति ढकमक्कै फुल्छन् ।

नयाँ वर्ष, मङ्सिरे बालाचतुर्दशी तथा चैतको रामनवमी मेलामा देश तथा विदेशकाबाट समेत तीर्थालुहरूको घुइँचो लाग्छ । सेप्टेम्बरदेखि अप्रिलसम्म टेम्के अवलोकनका लागि दैनिक जसो पर्यटक पुग्छन् । पर्यटकहरू प्रायः चखेवाका होटेलमा बस्छन्। बिहानको सूर्योदय र बेलुकीको सूर्यास्त हेर्छन् ।

तेस्रो दिन चखेवामा बिहानको खाजापछि हिडि हाल्दा राम्रो हुन्छ । त्यस दिन धोत्रेमा पुगेर बास बस्न सकिन्छ । दुईवटा टि हाउस छन् धोत्रेमा । यो समुन्द्री सतहदेखि २ हजार ७ सय ५२ मिटर उर्चाइमा पर्छ । चखेवादेखि धोत्रे पुग्न ७ घण्टा लाग्छ । गाउँ घर, रहनसहन अवलोकन गर्न पाइन्छ । यहाँबाट पनि हिमशृङखला र सूर्योदयको दृश्यपान गर्न सकिन्छ । यस दिन मेरुङ्ग डाँडा, मालुवा, दलसिंङ्गेको दृश्यावलोकन गर्नु उपयुक्त हुन्छ ।

A trail, combination of Kirati myth, culture and natureअर्को दिन बिहानै हिँडेमा साढे तीन घण्टामा हाँस पोखरी मैयुङ पुगिन्छ । यो ३ हजार १ सय २२ मिटर उचाइमा पर्छ । यहाँ टि हाउस लजहरू छैनन् । ‘क्याम्पिङ’ गर्नुपर्ने हुन्छ । धोत्रेबाट हाँस पोखरी पुग्दा चौतारा, मात्तिम डाँडा र बस पानी देवी स्थान अवलोकन गर्न पाइन्छ ।

नक्सा : हिमालयन वाइल्ड ट्रेक

पाँचौँ दिन मैयुङ्गबाट बिहानको खाजा खाएर सातदोबाटो, ह्याकुले, लौरी डाँडा हुँदै रावाधापमा क्याम्पीङ गर्न पुगिन्छ । यो यस ट्रेलको सबैभन्दा लामो पदयात्रा हो । ७ देखि ८ घण्टा हिँड्नुपर्छ । रावाधाप समुन्द्री सतहदेखि ३ हजार ४ सय २६ मिटर उचाइमा पर्छ । यहाँ पनि क्यापिङको विकल्प छैन ।

छैटौँ दिन रावाधापदेखि साल्पा बेसक्याम्प पुगिन्छ । ६ घण्टा लाग्छ । यो समुन्द्री सतहदेखि ३३४८ मिटर उचाइमा पर्छ । कुलुपंख भन्ज्याङमा टि हाउसहरू छन् । अर्को दिन साल्पा बेसक्याम्प देखि सिलिचुङ्ग डाँडासम्मको यात्रा गरिन्छ । सिलिचुङ्ग डाँडा ४ हजार २०० मिटरको उचाइमा रहेको छ । यो मुन्धुम पदमार्गकै सबैभन्दा अग्लो स्थान हो । यसलाई प्राकृतिक भ्यु–टावर पनि भनिन्छ । हिमाली भेग, उपत्यका, हरियाली जङ्गल र हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । यहाँबाट ८ हजार माथिका सगरमाथा, कञ्चनजङ्घा, चोयु, ल्होत्से, मकालु हिमालको दृश्यावलोकन नजिकैबाट गर्न सकिन्छ । थाम्सेर्कु, काङ्गतेगा, अमादब्लाम, दोर्जे लाक्पा, कुसु खुंगारु, नुमुरलगायतका हिमालको अवलोकन गर्न सकिन्छ ।

सिलिचुङ फेदैमा साल्पा पोखरी छ । यो ३७ सय मिटर उचाइमा पर्छ । पोखरीको मूल र निकास छैन । सबै धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो, यो । साल्पा–सिलिचुङ मकालु वरुण तथा सगरमाथा राष्ट्रिय निकुञ्जको सिमानामा पर्छ ।

प्रथम सगरमाथा आरोही एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा यही बाटो हुँदै गएकाले तेन्जिङ–हिलारी पदमार्गको नामले चिनिन्छ । सगरमाथा आउने–जाने बाटो पर्ने भएकाले पदमार्गमा रुचि भएका विदेशी पर्यटकहरूको रोजाइमा पर्छ, यो। यहाँ सुनपाती, भैरुङपातीलगायतका दुर्लभ वनस्पति र जडीबुटी पाइन्छ । रुचि भएका पर्यटकहरू यही बाट सोलुखुम्बुतिर सगरमाथा बेसक्याम्पतिर जान सकिन्छ ।

आठौँ दिन, सिलिचुङ्ग गएकै रुट हुँदै फर्केर ह्याकुलेमा क्याम्पिङ गर्न पुगिन्छ । ७ देखि ८ घण्टा पैदल हिँड्नुपर्छ । यो समुन्द्री सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा पर्छ । नवौँ दिन सोही पदमार्ग हुँदै ह्याकुलेले देखि हाँस पोखरी आइपुगिन्छ । मैयुङ हाँस पोखरी घुम्न चाहनेले त्यही बाँस बस्न सक्छन् । नत्र तिम्मा सावागाउँको मुन्धुम होमस्टेमा पुगेर बास बस्न सकिन्छ । यहाँ किराँती संस्कृति र खानपानको स्वाद लिन पाइन्छ । नजिकैको सावा झर्नामा कानोनिङ पनि सुरु भएको छ ।

A trail, combination of Kirati myth, culture and natureदसौँ दिन, स्थानीय पर्यटकीय स्थलहरू एकराते, कखुवा, वर्षे डाँडा, सुन्तले, धाप खर्क हुँदै भोजपुर सदरमुकाम पुग्न सकिन्छ । यो १६ सय मिटर उचाइमा छ । यहाँ मध्यम खालका होटेल छन् । यो दिन हिड्न नचाहनेले सावागाउँदेखि नै गाडी वा जिप यात्रा गर्न सक्छन् । तर बाटो कच्ची भएकाले हिउँदमा मात्रै गाडी/जिप चल्छ ।

एघारौँ दिन, भोजपुर बजारबाट काठमाडौँ फर्कने दिन हो । जहाजबाट फर्कँदा एक घण्टा लाग्छ भने सिधा बस यात्रा गर्दा दिनभर लाग्छ । तर भोजपुर घुम्न चाहनेले यो दिन सिद्धकाली मन्दिर, भोजपुरे खुकुरी र टक्सारको भ्रमण तथा अवलोकन गर्न सकिन्छ । टक्सार ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको ठाउँ हो ।

A trail, combination of Kirati myth, culture and natureदेउराली टोलदेखि गणेस्थानसम्मको बस्तीमा वास्तुकला साँच्चीकै बेजोड छ । नेवारी खानपान, धर्म–संस्कृति रहनसहन पाटनकै जस्तो लाग्छ । जिल्लाको एक मात्र विमानस्थल टक्सारमै पर्छ । बिच बजारमा पौने ४ सय किलोको करुवा र स्थानीय भीमसेन परिसरमा अढाई सय वर्ष पुरानो एक र दुई पैसे डोली पैसाको स्मारक छन् ।

समग्रमा यो ट्रेलका लागि ट्रेकिङ एजेन्सीहरूले विदेशी पर्यटकलाई प्रतिव्यक्ति १५ सय देखि २ हजार डलरसम्म तोकेका छन् । नेपालीहरूलाई भने २८ हजारदेखि ६० हजार रुपैयाँ खर्च लाग्छ । आफ्नो रुचि र चाहानाअनुसारका ठाउँहरू छान्न पनि सक्छन् ।

मुन्धुम ट्रेल : किराँत मिथ, संस्कृति र प्रकृतिको बेजोड सङ्गम

Leave a Reply

Your email address will not be published.