बायुङ राई भाषाको गीत सार्वजनिक
लिभु संवाददाता
काठमाडौँ । किरात बायुङ राई सुम्निखिमले निर्माण गरेको ‘बायुङ राई सलङ’ (बायुङ राई गीत) गीति भिडियो सार्वजनिक गरेको छ । सुम्निखिमले राजधानीमा यही २०८३ असोज ३० गते आयोजना गरी सार्वजनिक गरेको हो ।
प्रस्तुत गीतमा गायिकाहरू शान्ति बायुङ राई, रोकेमि बायुङ राई, सम्पदा थुलुङ राई, यमुना बायुङ राई र ज्ञान कुमारी बायुङ राई(प्रकृति) तथा गायकहरू दिनेश बायुङ राई, आइकुमार बायुङ राई, कर्ण बायुङ राई, रविन बायुङ राई र किशोर बायुङ राईको स्वर रहेको छ ।
गीतमा बायुङ राईहरूको मौखिक परम्परामा आधारित अलिखित तुम्लो (मुन्दुम) दर्शन, संस्कार, संस्कृति, तुम्लोयालो, भाषा तथा मौलिक जीवनशैलीको विविध पक्षहरूलाई समेटिएको छ । बायुङ तुम्लो अध्यता किशोर बायुङ राईले गीतको रचना गरेका हुन् ।
गीतमा लय संयोजन तथा संगीतसमेत किशोरको रहेको छ । गीतको प्राविधिक पक्षमा संगीतकार तथा गायक मण्डल साम्पाङको निर्देशन तथा संगीत संयोजन योगेन मुकारुङले गरेका छन् ।
गीतको सार्वजनिक कार्यक्रममा करिब ५० जना बायुङ राईहरूको उपस्थिति रहेको थियो । गीत निर्माण समितिको संयोजक प्रवेश बायुङ राई अध्यक्षता, सुम्निखिमका उपाध्यक्ष प्रेमकुमारी बायुङ राईले स्वागत मन्तव्य राखेका थिए ।
गीतको तुम्लो (मुन्दुमी) दर्शन र पक्षहरूको बारेमा किशोर बायुङ राईले प्रस्तुति गरेका थिए । त्यसैगरी जिमी (राई) उत्थान समाजका अध्यक्ष यसबहादुर राईले सुम्निखिमको कार्यलाई अति महत्वपूर्ण कदम भएको बताए ।
समारोहका प्रमुख अतिथि सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञानबहादुर बायुङ राईले ‘बायुङ राई’ गीतले समग्र बायुङ राईहरूको मौलिकता, मुन्दुमी इतिहास, पहिचान, संस्कार संस्कृति तथा मौलिक जीवनशैलीको पक्षहरूको उजागर गरेको बताए ।
कलाकार अनुषा बायुङ राईले यस गीतले बायुङ राईहरूको मौलिक संस्कार संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा लैजानको निम्ति ठूलो आधार निर्माण गरेको बताइन् । गीत निर्माणमा महेश किराती, ज्योति बायुङ राई, अजय हाङ बायुङ राई तथा हाङ आर्टस्, नैनाकला राई, वास्तवकुमार राई, डोल्मा गुरुङ, नन्दराज राई, नरभक्त बायुङ राईले आर्थिक सहयोग गरेका थिए ।
क्यामेरा तथा सम्पादनमा प्रवेश बायुङ राई र प्रदीप बायुङ राईले गरेका छन् । गीत निर्माण व्यवस्थापन जीतेन बायुङ राई, प्रेमकुमारी बायुङ राई र शोभा थुलुङ–बायुङ राईको रहेको छ । उक्त गीत किरात बायुङ राई सुम्निखिमको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।







