ललितपुर । ‘किरात लोकपरम्पराको निरन्तरता’ नारासहित वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले दसौं बाँसुरी दिवस तथा खिर खाने कार्यक्रम आयोजना गरेको छ । २०७४ सालदेखि साउन १५ गते यो दिवस मनाउने गरिएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ इमाडोल शिवटोलस्थित सामुदायिक भवनमा आयोजना गरिएको वाम्रास संस्थाका अध्यक्ष गजुरधन राईको सभाध्यक्षता रहेको समारोहका प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् प्राध्यापक डा. प्रेमकुमार खत्री र विशेष अतिथिका रूपमा राष्ट्रगानका रचनाकार व्याकुल माइला रहनु भएको थियो । मानेभन्ज्याङ गाउँपालिका वडा नं.५ का वडाध्यक्ष रामकुमार राई र युवा राजनीतिज्ञ मिलनकान्छा किरातीले मन्तव्य राख्नु भएको थियो ।

वाम्बुले राई सांस्कृतिक कलाकार समाजका अध्यक्ष बुद्ध राईको नेतृत्वमा निर्मित ‘स्वागत सालाङ जिउ बाम’ (स्वागत गीत– नमस्कार) गीतमा टार्जन वाम्बुले राईको निर्देशनमा बिसन वाम्बुले राई, पुष्पान्जली वाम्बुले राई, समुना वाम्बुले राई, आयुशा वाम्बुले राई, निता वाम्बुले राई, करुणा वाम्बुले राई, एनालिका वाम्बुले राई र निरुता वाम्बुले राईले नृत्यु प्रस्तुत गरेका थिए ।

त्यसैगरी बाँसुरी वादक जीवन राईको संयोजनमा श्याम राई, देबेन्द्र राई र संगम राईलाई लोकलयमा बाँसुरी प्रस्तुत गरेका थिए ।

यसैगरी कोपिला राईको संयोजनमा सिंगमाया राई, पबिता राई र प्रेमकुमारी राईले बिनायो वादन गरेका थिए ।

गणेश वाम्बुले राईको लय संकलनमा ‘पाइम है रङ्गरवास’ (गरौं है रङ्गरवास) राम्दले भाकाको गीत बुद्ध राई, राज राई, नवीन राई, अम्बिका राई, एलिना राई र नुमा राईले गाएका थिए । मोतीलाल राई, विष्णु माइला राई र नारायण राईले मादल वादन गरेका थिए ।
इतिहासलाई लिएर रचना गरिएको राम्दले सालाङको शब्द आधा अंश यस प्रकार रहेको छ–
मानेभन्ज्याङ टुँडिखेलल्वा
सिपाइख्वा पाम्मे कवाज
उनु उङ्गु डुन्डुल्वा र्वाम्कि
पाइम है रङ्गरवास ।
लिमा चै आत्ति
इतिहास बाम साँचि
पाइम है रङ्गरवास ।
राडु ह्वापोङ दरबार बाक्चो
मानेभन्ज्याङ तोला
बाक्तिस बामे टुँडिखेल इल्वा
माल्किवाँ तिरइम होला ।
लिमा चै आत्ति ग्ल्वाकु बाम साँचि
माल्किवाँ तिरइम होला ।
च्यानाम गढी बुङ्नाम गढी
राडुङा किल्ला तिमे
चिसंखु गढी पुर्खाङा उसु
त्यावाँ या बाक्तिस बामे ।
लिमा चै आत्ति ब्रिङ्कु बाम साँचि
त्यावाँ या बाक्तिस बामे ।
लिब्जु उपो ढ्वाङ्कुम सामा
जा हेपा जाचाम बामे
साउन पन्द्रो ब्लामेइ बेला
बाँसुरी ट्वाप्चाम बामे ।
लिमा चै आत्ति खुवालुङ बाम साँचि
बाँसुरी ट्वाप्चाम बामे ।
उक्त गीतको पूर्ण अंश निकट भविष्यमा रेकर्डक गरी सार्वजनिक गरिने जनाइएको छ ।
वाम्बुले राई सांस्कृतिक कलाकार समाजको संयोजन र वाम्बुले युवा क्लबको व्यवस्थापन रहेको बाँसुरी दिवसमा कलाकारहरूले सामूहिक बाँसुरी र मादल वादन, सामूहिक बिनायो वादन, नृत्य प्रदर्शन तथा मौलिक लोकभाका प्रस्तुत गरेका थिए ।
यसैगरी ओखलढुंगाको मानेभन्ज्याङ–६ हिलेपानी भन्ज्याङ र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पागाउँमा समेत बाँसुरी दिवस मनाइएको थियो । हिलेपानीमा सम्पन्न दसौं बाँसुरी दिवसका संयोजक सुदेश राईले भने, ‘बाँसुरी दिवस मनाउन मानेभन्ज्याङ गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ र हामी समुदायका बुढापाका बाँसुरी वादक र बिनायो, मुचुङ्गा बजाउन जान्ने बुढीआमाहरूलाई निम्तो गरेर लोकपरम्परालाई निरन्तरता दिएका छौं ।’

मानेभन्ज्याङ गाउँपालिकाको आर्थिक सहयोगमा हिलेपानी भन्ज्याङमा सम्पन्न समारोहमा बाँसुरी, मुरली, बिनायो, मुर्चुङ्गा बाजाहरू बजाएर सुनाउने तथा लोपोन्मुख लोक भाकाहरू गाएर प्रस्तुत गर्ने गरिएको छ ।

यसैगरी झाप्पागाउँमा सम्पन्न बाँसुरी दिवसका संयोजक दयाबहादुर राईले दोस्रो पटक लोकपरम्पराको निरन्तरता दिएको बताएका छन् । ‘हामीले बाँसुरी, बिनायो, मुरली, मादल जस्ता बाजा बजाएर परम्परालाई सम्झिने क्रम जारी राखेका छौं,’ उनको कथन छ, ‘वाम्बुले मातृभाषामा कविता वाचन गरिएको छ ।’
मुख्य तस्बिरः प्रेम वाम्बुले







