अन्तर्वार्ताः
‘मेरो पार्थिव शरीरलाई प्रकृतिमा समाहित गर्ने इच्छा छ, जसले माटोलाई दुई मुठी भए पनि मल दिन्छ’
प्रा.डा. नोवल किशोर राई
(भाषावैज्ञानिक तथा संघीय गणतन्त्र जर्मनीका लागि नेपालका पूर्वराजदूत (सन् १९९५–२०००) प्राध्यापक डा. नोवल किशोर राईसँग वि.सं. २०८२ फागुन २२ गते ललितपुरको धोबीघाटस्थित निवासमा ‘इक लिब्जु–भुम्जु’ त्रैमासिकका सम्पादक गणेश वाम्बुले राईले लिएको अन्तर्वार्ता)
सर नमस्कार ! तपाईंले अवकास पाउनु भएको पनि निकै भयो होइन ?
नमस्कार ! २०६७ सालमा अवकास लिएको हो । थाहा नपाइकन पन्ध्र वर्ष भएछ ।
यो बीचमा अवकासको जीवन कसरी व्यतित गर्दै हुनुहुन्छ ?
म त्यसै त अल्छे मान्छे । झन म बेसी अल्छे भा’छु । फाटाकफुटुक केही लेखहरू बाध्य भएर लेख्छु । तर बाँकी रहेको समय हाम्रो बान्तावा शब्दकोश प्रकाशित भयो । खासै काम गरेको छुइनँ । देश–विदेशतिर जानुपर्ने बाध्यता र कतिपय घुम्ने रहर हुन्छ । घुमघाम गरिन्छ । खास त्यस्तो केही छैन ।
छोरीहरू दुवैजना विदेशमा हुनुहुन्छ होइन ?
विदेशमै छन्, दुवैजना अमेरिकामा । ठूलो छोरी सियाटलमा । त्यो ठाउँचाहिं अमेरिकाको दार्चुला भन्छु म । सानो छोरीचाहिं न्युयोर्कमा । एउटा छोरीकोमा म अनि अर्को छोरीकोमा उनीहरूको आमा गरेर हामी दुईजना दुईतिर हुन्छौं । हामी बुढाबुढी नै अमेरिकामा धेरै बस्यौं । अहिले नेपालमै छौं । मेरो चाहिं अब जाने इच्छा छैन । उनीहरूको आमाचाहिं जान्छ होला अब ।
कति बस्नु भयो विदेशमा ?
(लामो सास लिएर) अँ ! आफ्नो अध्ययन कालमा र राजदूत हुँदाका बखत जर्मनीमा लगभग साढे सात वर्ष बस्नु पुगिएछ । अनि अवकासपछि कोरोनाकालमा झण्डै तीन वर्ष बसियो । त्यसपछि आउँदैजाँदै ग¥यौं । फेरि म चार–पाँच पटक युके गएँ ।
युकेचाहिं कुन ठाउँमा ?
युकेमा धेरैजसो आसफोर्डमा बसें म ।
त्यहाँ को हुनुहुन्छ ?
त्यहाँ को छैन भन्नेचाहिं हो । भतिजो, भतिजी, भाइ, बुहारी, भान्जा, भान्जी, दिदी, भाउजू, सोल्टी, सोल्टिनीहरू आफ्नै परिवारभित्रका आठ–दस सदस्यहरू छन् । मुख्यचाहिं मेरो दिदी, भाउजू र भान्जा हो । मेरो आफ्नो भाइ पनि छ । आफ्नै परिवारभित्रका चार–पाँच परिवार छन् । त्यो आसफोर्ड भन्नेचाहिं धेरै किरातीहरू बसेको ठाउँ हो ।
प्राज्ञिक हिसाबले कम मात्र लेखेको छु भन्नुभयो । यो बीचमा महत्वपूर्ण उपलब्धी भनेको चाहिं बान्तावा शब्दकोश प्रकाशन भयो होइन ?
लगभग बाह्र वर्ष पुगेर तेह्र पनि भयो होला । बाह्र वर्षमा खोला फर्किन्छ भन्छन् । साँच्चै नै फर्कियो । त्यसमा चाहिं हामी सन्तुष्ट नै छौं । जस–जसले काम ग¥यौं ।
शब्दकोशमा कति हजार शब्द प्रविष्टि भएका छन् ?
लगभग चौध हजार दुई सय मूल प्रविष्टि भएका छन् । त्यसमा आगन्तुक शब्दहरू छन् । कतिपय शब्दहरू आफ्नो भाषामा छैनन्, आधुनिकताका कारणले, मसिनका कारणले, अनेक कारणले बनाउनु पर्ने शब्दहरू हुन्छन् । त्यस्तो शब्दहरू पनि एक डेढ सय छन् । आधुनिक शब्दहरू थप्नु पर्ने आवश्यकता परेर, कतिपयचाहिं अर्को छिमेकी भाषामा भएको आफूले लिनु पर्ने भएकोले लिएर राखिएका छन् ।
शब्दकोश आइसकेपछिको उपलब्धीचाहिं के हो ?
अँ ! भाषाको विषयचाहिं प्रष्टै त्यसको उपलब्धी नदेखिने हुनाले भन्न सकिदैन । फेरि हाम्रो समाजचाहिं शैक्षिक गतिविधि त्यत्ति सारो चासो नराख्ने र पकड नभएकोले देखिएन । तर यत्ति हो एउटा दरिलो किसिमको सन्दर्भ सामग्रीचाहिं भयो भन्ने मलाई लाग्छ ।
शब्दकोश प्रकाशनपछि व्याकरण पनि भन्नु भएको थियो ?
व्याकरण यसअघि पनि लेखियो । त्यो प्रारम्भिक रूपमा सानो छ । अब बृहत् किसिमले व्याकरण लेख्ने भनेर हाम्रो काम भइराखेको छ ।
टोलीमा कुलबहादुर राई (एमबीई) पनि हुनुहुन्थ्यो होइन ?
उहाँ शब्दकोश प्रकाशन समितिको अध्यक्ष मात्रै हो । निर्माण टोलमा होइन । तर अध्यक्ष भएर पनि उहाँ निक्कै सक्रिय हुनुहुन्थ्यो ।
अब व्याकरण कहिले आउँछ ?
हामीले दुई वर्षमा प्रकाशनमा ल्याउने भनेका छौं । अलिक बेसी लाग्ला कि ? नेपालको प्रोजेक्ट जस्तै । तर जति नै भए पनि तीन वर्षभित्र होला ।
आर्थिक स्रोतचाहिं कति जुटाउनु भयो ?
आर्थिक पाटो समितिले हेर्छ । आर्थिकबारे विस्तृत विवरण थाहा छैन । शब्दकोश निर्माण गर्न मनग्गे पैसाले पुग्यो । त्यो शब्दकोश निकालेपछि त्यो शब्दकोश बेचेर पहिलोसमेत अरु रकम थप भएको पनि छ । व्याकरण निकाल्नलाई पर्याप्त हुन्छ । यी कृतिहरूको प्रकाशनमा कुनै किसिमको देशी, विदेशी र सरकारी सहायताको अपेक्षा गरेनौं । र हाम्रै दाजुभाइहरूको मात्र सरसहयोगले सम्भव भएको हो । यसैकारण हाम्रा मनकारी दाताहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
स्मारिका पनि प्रकाशन गर्ने प्रस्ताव खाका थियो नि ?
स्मारिका प्रकाशन गर्ने भनिएको छ । मचाहिं सक्दिन । पदम राईलाई प्रकाशन गर्ने जिम्मा दिएको छु । जस–जसले आर्थिक, बौद्धिकजस्ता योगदानहरू गरे, उहाँहरूको नाउ राख्ने कुरा भएको छ ।
बान्तावा भाषाको कुरा गर्नुपर्दा सिक्किममा युनिभर्सिटीमा पठनपाठन उन्मुख छ । नेपालमा विद्यालय तहमा मात्र छ । त्यसलाई हामीले कसरी लिइरहेका छौं ? सिक्किमसँग सहकार्य गर्न सकिन्छ ?
सिक्किममा उनीहरू बान्तावा भन्दैनन्, राई भाषा भन्छन् । हुन पनि धनकुटादेखि पूर्व गएपछि जति राईहरूले बोल्छन्, बान्तावा नै बोल्छन् । बान्तावाबाहेक फाट्टफुट्ट अरु भाषाहरू बोल्लान् । त्यसकारण सिक्किममा बान्तावा नभनिकन राई भाषा भनेको हुनाले र राज्यले स्वामित्व लिएको कारणले त्यसको अर्कै स्टाटस पनि छ । हाम्रोमा दुखदुखले काम चलाइराखिएको छ । त्यहाँचाहिं प्रमुख भाषाहरूमध्ये भएको र राज्यको स्रोत पनि पाइरहेको अनि विद्यालयहरूमा पनि पठनपाठन भइरहेको छ । उच्च शिक्षामा चाहिं सुरु भएको छैन जस्तो लाग्छ । विद्यालय लेभलमा चाहिं दस कक्षासम्म पुगेको छ । लगभग उस्तै हो । भाषिकाहरू केही फरक छन् । यहाँ पनि हामीले तीनवटै भाषिकालाई समावेश गरेको हुनाले फरक छैन ।
त्यहाँको भाषिका र यहाँको भाषिका एउटै हो । उनीहरू लगभग पाँच–सात पुस्ता अगाडि गएका हुन् भन्ने बुझिन्छ । तीन–चारवटा भाषिकामा त्यहाँ पनि दुईवटा भाषिका चल्छ । त्यसैले गर्दा हामीले बोलेको बान्तावा र उनीहरूले बोलेको राई भाषा हामी बुझ्छौं । लेख्दामात्रै केही फरक पर्छ । तर हाम्रो भाषाको लेख्य रूपचाहिं स्थापित नभइसकेको हुनाले खासै विवाद छैन ।
पाँचथर, इलाम र वरिपरि हामीले बोल्न बान्तावा भाषा दिल्पाली भाषिका भन्छौं । भनौं अलिक लेकालीहरूले बोल्ने । त्यसपछि अलिक तलतिर बोलिने हतुवाली भन्छौं, हतुवातिर बोलिने । त्यसपछि अलिक पश्चिमतिर तल बोलिनेचाहिं आमचोके हो । धेरैजस्तो चाहिं दिल्पाली, हतुवाली, आमचोके छ र केहीमा धनकुटे पनि फरक देखिन्छ । धनकुटे पनि समावेश भएको छ । तर मुख्यचाहिं तीनवटा भाषिकालाई हामीले लिएका हौं ।
अहिले भाषा आयोगले प्रदेश–१ को सरकारी कामकाजको भाषामा बान्तावालाई प्रयोग गर्न सिफारिस त गरेको छैन । नगरे पनि बान्तावा र चाम्लिङलाई प्रदेशको सरकारी कामकाजको भाषा हुनुपर्ने माग बढेको छ नि ?
त्यस्तो पनि लाग्दैन मलाई । हाम्रो राईहरूचाहिं साह्रै अचम्मका छौं । एकथरी एउटा सानो समूह ‘हामी राई होइनौं’ भन्नेहरू पनि छन् । राईहरू हामी धेरै भाषा बोल्ने हुनाले हामी फरक त हौं । विवादित पनि हौं । बान्तावा मात्रै अलिकति ठूलो संख्याले बोल्ने हुनाले यो प्रादेशिक भाषा त हुन सक्ला तर त्यसमा त्यति जोडतोडसँग भाषाभाषीहरू लागेको वा कसैले पहल गरेको पनि देख्दिन । त्यसकारणले अलिक पहल ग¥यो भने र अलिकति विकसित रूप आयो भने होला । अहिले स्कुलमा आठ कक्षासम्म पढाउनु पर्छ भनेर पाठ्यपुस्तक लेखन भइरहेको भन्ने सुनेको छु । म आफैं त्यसमा संलग्न छैन । आठ कक्षासम्मको पठनपाठन केन्द्रीय स्तरमा हुनसक्ला । पाँच कक्षासम्म त पठनपाठन भइरहेको छ । तर अहिले अबको प्राथमिकता नै फेरिएको छ । धेरैजस्तो गाउँमा मान्छेहरू छैनन्, गाउँ छोडेर जाने हुनाले । गाउँ छोडेर जानेबित्तिकै कुन ठाउँमा बस्छ, त्यो ठाउँको भाषाले प्राथमिकता पाउँछ । गाउँ खाली खाली भएको अवस्था छ । विदेशमा गइसकेपछि चाहे त्यो भारतमा जाओस्, बेलायत, अमेरिका जाओस्, त्यसले गर्दाखेरी भाषा स्वभाविक रूपले एकदमै कमजोर हुँदै गइरहेको छ । वैकल्पिक सरकारी कामकाजको भाषा भए राम्रो हो । यसबाट भाषिक अधिकार पनि स्थापित हुन्छ ।
हामीले भाषा बचाउन विद्यालयमा पठनपाठन नभई हुँदैन भन्छौं । भाषा आयोगले पालिकाहरूले आफ्नो क्षेत्रको विद्यालयमा स्थानीय मातृभाषाहरू पठनपाठनको व्यवस्था गर्नुपर्छ भनेर सिफारिस गरेको पनि छ । तर अधिकांश पालिकाले गरिरहेका छैनन् । तपाईंको धारणा कस्तो छ ?
बल्लबल्ल भाषा आयोग बन्यो । कुन्ताकी बुहारी भटमास खाकी भन्छन् नि नेपाली उखानमा । त्यस्तै भाषा आयोगले खासै काम गर्न सकेको छैन । सरकारले पनि के गर्ने हो, भाषा नीति चाहिं लेखियो । यसमा सरकारको प्राथमिकता देखिदैन । र भाषाभाषीहरूको जागरुकता पनि कमी नै छ । म त अरुलाई दोष दिन्न । मातृभाषीहरूको प्रयास मुख्य कुरा हो । भाषा किन हुन्छ । किन सिकिन्छ । त्यसको प्रयोगको कारणले हो । अहिले हाम्रा धेरै युवाहरू कोरियन भाषा पढ्छन् । हिब्रु, अंग्रेजी, जर्मन भाषाहरू पढ्छन्, त्यो चाहिं प्रयोगमा भएर त्यसको सिधै लाभ भएको हुनाले । आफ्नो मातृभाषा पढ्नु पर्छ । प्रचार गर्नुपर्छ भन्ने धेरैजसो त भावनाको कारण मात्रै छ । त्यसमा केही आर्थिक लाभ छैन । केही सामाजिक लाभ छैन । त्यसले गर्दाखेरी यो भाषा विकास हुनुमा आफ्नै कारण पनि र राज्यको कारण पनि छ । आशावादी हुन सकिएला तर उत्साहित छैन । भाषाको विषयमा त्यतिसारो प्रचारप्रसार अथवा विकासको हिसाबले मचाहिं त्यत्ति सन्तुष्ट छैन ।
यसको मुख्य कारण हामी आफैं हो ?
पहिलो म आफूलाई नै दोष दिन्छु । भाषाभाषी आफू एकत्रित हुनुपर्छ । आफैं उत्साहित हुनुपर्छ । यो अनेक कारणले गर्दाखेरी हाम्रो वक्ताहरू घटिरहेका छन् । वक्ताहरूले घरमै, परिवारमै, आफ्नो गाउँमै आफ्नो भाषा नसिकेको, नसिकाएको हिसाबले दिनदिनै भाषा रोगाउन लागेको छ । दिनदिनै भाषा मर्न लागेको छ ।
अब हामीले सरकारी कामकाजको भाषा बनायौं भने अलिकति गतिविधि बढ्छ । रोजगारी सिर्जना हुन्छ होइन ?
सरकारी कामकाजको भाषा बनायौं भने एउटा स्टाटसचाहिं पाउँछ । कसैले आफ्नो भाषाबाहेक जान्दैन अथवा आफ्नो भाषामै लेख्छु भन्यो भने सजिलो हुन्छ । तर सरकारी कामकाजको भाषा पहिलो हुन सक्छ कि सक्दैन । सरकारी कामकाजको भाषा घोषणा गरिदिएर स्थलगत रूपमा त्यो काम हुन्छ जस्तोचाहिं लाग्दैन । म त्यस्तो उत्साहितचाहिं छैन ।
बान्तावा भाषा प्रदेश सरकारी कामकाजको भाषा भयो भने त्यसले कस्तो उत्साह पैदा गर्ला ?
भइदियो भने अहिले आठ कक्षासम्म पठनपाठन भइरहेको छ । कमसेकम १२ कक्षासम्म बान्तावा भाषाको पाठ्यपुस्तक बन्ला । पढाइ होला । शिक्षक तयार होला । पत्रपत्रिकाहरू निस्किएलान् । पुस्तकहरू लेखिएलान् । त्यो चाहिं हुन्छ । तर त्यति गरिदिएर मात्रै हुँदैन । भाषाभाषीहरू आफैं नै तयार हुनुपर्छ । बान्तावालाई घोषणा गरेर यसको विकास होला भन्ने कुरामा म कम आशावादी छु ।
बान्तावा भाषा साहित्य सम्मेलन तथा कविता प्रतियोगितामा सहभागी हुनुभयो । मातृभाषामा कस्तो खाले जागरण पाउनु भएको छ ?
यो त एउटा रिचुअल जस्तो सालमा एकचोटि हाम्रो पदम राईले प्रकाशित गरेको ‘बुङ्वाखा’ मासिक पत्रिकाको वार्षिक कार्यक्रममा आएको हो । त्यो भइराखेकै छ । अलिकति चेतनाचाहिं आउँछ । केही भाषाभाषीहरू कविता लेख्छन् । यो एउटा कुनामा सानो बत्ती बलिरहेको मात्रै हो । त्यसले त्यत्ति उज्यालो दिन सकेको छैन । तर बत्तीचाहिं निभेको छैन । दुई–चार जनाको प्रयासले त्यो भइरहेको छ । धेरै मान्छेले समय पनि दिन सक्दैनन् । धेरै मान्छेलाई त्यो भाषाको ज्ञान पनि छैन ।
बान्तावा भाषामा साहित्यिक विकास कसरी भइरहेको पाउनु भएको छ ?
अरुभन्दा पनि केही नयाँ पुस्ता मूल थलोका नानीहरूले कविता लेखिरहेको देखेको छु । पत्रपत्रिका पनि प्रकाशित गरिरहेको देखेको छु । मलाई लाग्छ, नयाँ जनसंख्यामा पचास प्रतिशतभन्दा धेरैले आफ्नो भाषा जान्दैनन् । किनभने भाषा बोल्ने स्थिति नै छैन । यो कारणले गर्दा पनि भाषाको अवस्था त्यस्तो समृद्ध हुने अथवा बढोत्तरी हुने खालको देख्दिन ।
प्रसंग बदलौं । नेपालमा राजनीतिक परिवर्तनहरू धेरै भए । तपाईंले राजनीतिक परिवर्तनलाई कसरी भोग्दै आउनु भएको छ ?
मचाहिं राजनीतिक प्राणी नभएको हुनाले खासै ज्ञान पनि छैन । चासो पनि छैन । तर एउटा नागरिकको हैसियतले जुन राजनीतिक घटनाहरू घटिरहेका छन्, त्यसलाई मैले सकारात्मक नै देखेको छु । तर समाजमा सानो मान्छेको केही नलाग्ने भएकोले सानो देशको त्यस्तो किसिमको अरु देशलाई, अरु समाजलाई प्रभाव पार्ने किसिमको छैन । तर नकारात्मक हिसाबले गइराखेको छ अथवा राजनीतिक हिसाबले हाम्रो देश पछि परेको छ भन्ने कुराचाहिं देख्दिन । केही त विकास भएकै हो । हाम्रो छिमेकीहरू जति गर्न नसके पनि निराशाजनकचाहिं देख्दिन म ।
जेनजीको बिद्रोहपछि हिजो (२०८२ फागुन २१ गते) मात्रै शान्तिपूर्वक निर्वाचन भएको छ । यसलाई कुन रूपमा भाग लिनु भयो ?
मैले एक सामान्य भोटरको हिसाबले भाग लिएँ । योभन्दा अगाडिका लगभग सबै निर्वाचनहरूमा निर्वाचन पर्यवेक्षकको हिसाबले संलग्न रहेँ । २०४६ सालमा बहुदल आएपछि हामीले ११ जनाको निर्वाचन पर्यवेक्षण समिति गठन गरेका थियौं, वासुदेव ढुङ्गानाको अध्यक्षतामा । त्यसपछि हरेक चुनावमा दुई–तीनवटा निर्वाचन पर्यवेक्षण समिति गठन हुन्थे । त्यसमा म हुन्थें । तर यसपालि आफ्नो उमेरको कारणले म बसिन । बस्नलाई अनुरोध पनि गरेनन् । मतदाताको हिसाबले भोट दिएर आएँ । यसलाई मैले सकारात्मक ठानेको छु । केही दिनमा यसको सकारात्मक परिणाम आउला भनेर म आशावादी छु ।
राजनीतिक दलहरू पुराना र नयाँप्रति तपाईको धारणा कस्तो छ ?
एकदमै, मेरोचाहिं पुराना दलहरूप्रति वितृष्णा नै छ । म कुनै दलको सदस्य भइन । त्रिभुवन विश्वविद्यालयमा हुँदाखेरी असी–नब्बे प्रतिशत साथीहरू कुनै न कुनै पार्टीको सदस्य भएर बसे । उनीहरूले लेबी तिर्थे । तर म कुनै पार्टीको सदस्य भइन । राजनीतिक हिसाबले म सक्रिय भइन । म विद्यार्थी र शिक्षक हुँदासम्म एउटा पक्षलाई समातेर बसें अर्थात् म आफूलाई वामपन्थी ठान्थें । तर जब निर्वाचन भयो, वामपन्थीहरूले शासन गरे, मलाई एकदमै वितृष्णा भयो । पहिलादेखि काँग्रेस हुन सकिएन । काँग्रेसले आफूलाई डेमोक्र्याट भन्छन् । तर मलाई त्यस्तो लाग्दैन । काँग्रेस काँग्रेसमात्र हो । अनि माओवादी खाओवादीहरू जस्तो किसिमले भन्छन् तर ९५ प्रतिशत उनीहरूको सिद्धान्तमा छैनन् । खालि कमाउने, खाने, राज्य गर्ने, मोजमजामात्रै गर्ने भए ।
अवकाश भएपछि पनि कुनै पार्टीको सदस्य भइन किनभने मेरो उमेर गइसकेको थियो । शिक्षक हुँदा पनि म पार्टी सदस्य नभएको हुनाले पार्टीहरूका बारेमा स्वतन्त्र बोल्न सक्छु । त्यो बेला भन्छन् नि चाराने सदस्य, म चाराने सदस्य पनि भइन । हुने इच्छा पनि भएन । अब यो जीवनको उत्तरार्धमा पार्टीहरूको कार्यकलापप्रति म पटक्कै सन्तुष्ट छैन । यो फलाना नेताले ठीक गरिरहेको छ । यो राम्रो नेता हो । यसको पछि लागौं भन्ने मलाई लाग्दैन । मेरो विचारमा कुनै आदर्शको नेता म देख्दा पनि देख्दिन । मेरो परिवारमा कसले कता भोट दिन्छ म त्यो वास्ता पनि गर्दिन । हिजो (फागुन २१ गते) हामी दुईजना बुढाबुढी (नोवलकिशार–निरुपा राई दम्पती) गयौं । मेरो बुढीले कसलाई भोट दियो । सोधिन पनि, भनिन पनि । मैले कसलाई भोट दिएँ, मेरो श्रीमतीले सोधिनन् । त्यो स्वतन्त्रता छ, मेरो परिवारमा ।
छोरीहरूले पनि कहिल्यै सोधेनन् । एकचोटि सोधका थिए– तिमीहरू पढेलेखेका छौ । जानेका छौ, जसलाई दिन मनलाग्छ भोट दिने हो । त्यसपछि सोध्दैनन् पनि । कुनै पार्टीप्रति मेरो पूर्वाग्रह पनि छैन । कुनै पार्टीको सदस्य नभएकोले म निस्क्रिय त भन्न मिलेन तर सक्रिय हिसाबचाहिं लागेको छैन ।
म सधैं सबैलाई भन्ने गर्छु । राजनीतिक आस्था र धार्मिक आस्था नितान्त व्यक्तिगत कुरा हो । अनि खानपान र पहिरनको कुरा पनि एकदमै व्यक्तिगत रुचिको विषय हो । यसमा कसैको पनि करकाप हुनु हुँदैन ।
राजनीतिक परिवर्तन धेरै भए । यसमा आदिवासी जनजाति समुदायले चाहिं के पाए ?
अलिकति चेतना आयो । सक्रियता आयो । आदिवासी जनजाति समूह भनेर हामी घ्याप्पै लिन्छौं नि त्यो एउटा कुनै फसलको भागजस्तो चाहिं होइन । आदिवासी जनजाति पनि विभिन्न पार्टीमा विभाजित छन् । विभाजित हुनु पनि प¥यो । तर आदिवासी जनजातिको सवालमा कहिल्यै पनि एक हुन सकेन । कुनै पार्टीमा गइसकेपछि आफ्नो पार्टीको नेताले जे ईशारा गर्छ वा भन्छ त्यसैमा कुदेको देख्छु । यो चाहिं अलिकति दुःखलाग्दो कुरा हो । होइन, म त यो पार्टीको भए पनि म आदिवासी जनजाति हुँ र आदिवासी जनजातिको सवालमा मैले यस्तो गर्नुपर्छ भनेर आफ्नो पार्टीको कतिपय सवालहरूसँग विमति राखेर, फरक भएर त्यसरी फरक धारमा उभिएको कोही पनि देख्दिन । त्यसले गर्दाखेरी आदिवासी जनजातिहरू एउटा समूह भन्नेमा चाहिं खासगरी राजनीतिक आस्थाले देख्दिन र शायद देख्नु पनि पर्दैन होला ।
तपाईंले यसभन्दा अगाडि ‘नेपाली एकता क्वाँटी एकता’ भन्नुभएको छ नि ?
हुनुपर्ने चाहिं क्वाँटी एकता हो । त्यो पनि छैन । क्वाँटीमा पनि अलिक सस्तो सस्तो गेडागुडीहरू धेरै, अलिक महँगो, मिठाचाहिं थोरै हुन्छ । यहाँ चाहिं अधिकांश जनता, जाति, समुदायले भाग लिइराखेको छैन । पहाडका पछि परेका समुदाय, तराईका पछि परेका समुदायहरूले सक्रियता र संलग्ना त्यत्ति देखिदैन । तोकेरै भन्नुपर्दाखेरी केही क्षेत्रीबाहुनहरू, सहरका नेवारहरू सक्रिय देखिन्छन् । अरुचाहिं यसो फाट्टफुट्ट देखिने हो । क्वाँटी किसिमको देखिनु पर्ने हो । क्वाँटीको रंगरूप हुनुपर्ने, स्वाद हुनुपर्ने हो, त्यस्तो पनि देखिदैन । शायद यो वर्षौं लाग्ला । सय वर्षपछि होला । सबै जातजातिले, भाषाभाषीले बराबरी नभए पनि बीस, तीस, चालिस प्रतिशतले आफ्नो जनसंख्याको प्रतिशतको हिसाबले भाग लिनु पर्ने हो त्यो पटक्कै देखिदैन । जहिले पनि एउटा जातिको मात्रै प्राथमिकता र दबाब देखिन्छ । त्यसमा हाम्रो आफ्नो पनि कमजोडी होला । हामी आफैं पनि सक्रिय हुन सक्नुपर्ने हो । त्यो कारणले पनि हामी धेरै नेपालका भाषिक समुदाय, नेपालका जनजातिहरू पछि परेको हो ।
प्रसङ्ग तपाईंकै भोगाइतर्फ मोडौं । आठ दशकको जिन्दगी तपाईंले भोगिराख्नु भएको छ । जे उपलब्धी हुनुपर्ने हो, प्रोफसर भएर र राजदूत भएर समुदायलाई योगदान दिइसक्नु भएको छ । खासमा जीवनचाहिं के रहेछ सर ?
म त यसलाई एउटा बिम्बको हिसाबले भन्छु जहिले पनि । जीवन एउटा नाटक हो । नाटकमा कसैको ठूलो भाग हुन्छ । कसैको सानो भाग हुन्छ । कसैले सक्रिय भाग लिन्छ । कसैले लिंदैन । कोही सफल हुन्छन् भन कोही हुँदैनन् । त्यसकारणले जीवन एउटा नाटक हो । त्यो नाटकमा हामी भाग लिइराखेका छौं ।
असीको दशक पार गरिसक्दा यो अवस्थामा मेरो उपलब्धीबाट म अत्यन्त सन्तुष्ट छु । म राई समुदायको एउटा ठिटोले जसरी अगाडि बढें, आफूले जानेर होइन, जंगलको लहराजस्तै लहरिएर आएँ । र अहिले जहाँनिर पुगें म त्यस अवस्थामा एकदमै सन्तुष्ट छु । शायद यो सन्तुष्टिले गर्दा पनि होला मैले त्यत्ति ठूलो उपलब्धी भने गर्न सकेको छैन । मैले यो गर्न सकिन । मैले त्यो गर्नुपथ्र्यो । मैले गर्ने यो बाँकी रह्यो भन्ने केही पनि छैन । म आफ्नो जीवनदेखि एकदमै सन्तुष्ट छु । भनुँ न अब आफ्नो जीवन समाप्त भएर भोलि कालले टिपेर लाँदाखेरी पनि शायद त्यो बेलामा पनि पश्चाताप हुँदैन । म एकदमै खुशी छु । सन्तुष्ट छु ।
बैरागी काइँलाले ‘नोवल किशोर राई त अलिक अल्छी भए’ भन्नुहुन्छ नि ?
पक्का हो । आफ्नो बानी हो, कोही बेसी बोलिन्छ । कोही बेसी लेखिन्छ । कोही फटाहा हुन्छ । कोही चोर हुन्छ । उहाँले दाजुको हिसाबले जे भन्नुभएको हो, त्यो पक्का हो । म सानैदेखि एकदमै अल्छे नै हुँ । अल्छे नभए पनि म मेहेनतीचाहिं पटक्कै होइन । तर यत्तिको मेहेनेत नगरीकन अथवा मेरो भाग्यको कारणले जुटेर आएको कारणले दुई छाक खान पाएको छु । म त्यसैमा सन्तुष्ट भएँ । यदि म साँच्चै सक्रिय भएको भए, साँच्चैको मेहेनती भएको भए धेरै ठूलो मान्छु हुन्थें कि ! भाग्यको कारण र पितृहरूको आशीर्वादले गर्दा होला । तर जेजति छु, म सन्तुष्ट छु । म आफूलाई सन्तोषी नै ठान्छु । तर कतिपयले हामीलाई सुँगुरको पनि उपमा दिन्छन् । खायो खायो खायो त्यसपछि डिलमुनि घाम तापेर सुतीराख्छ । त्यस्तो भन्छन् । तर जे भए पनि मैले यो गर्न सकिन । मैले यो गर्नुपथ्र्यो भन्ने कुराचाहिं रहेन मेरो । म आफूलाई मेहेनती पटक्कै ठान्दिन ।
तपाईंले त्यति भन्दाभन्दै बान्तावा भाषामै पीएचडी गर्नुभयो, त्यो थेसिस सिनासबाट छापिएर आयो । बान्तावा व्याकरण, बान्तावा भाषा सिक्ने आधार किताबलगायत प्रकाशनमा ल्याउनु भयो । तपाईंको जीवनवृत्त पनि लेख्नु भएको छ । अब के कस्ता कृतिहरू प्रकाशनमा आउँदैछन् ?
मेरो जीवनी लेखेको दश–पन्ध्र वर्षै भइसक्यो । म आफूले चाहिं लेखिसकें । कसैलाई सम्पादकको हिसाबमा जिम्मा दिएको छु । त्यो लगभग ९५ प्रतिशत काम पूरा भएको हो । प्रकाशनमा आएको छैन । म अलिकति भाग्यवादी भएको कारणले यसको प्रकाशन साइत कहिले जुर्ने हो आशा गरिराखेको छु ।
तपाईंले आफ्नो कार्यक्रममा मेरा तीनवटा पुस्तक भन्नुभयो । म घरमा आएर हेरें । गनें । तर तीनटामात्रै चाहिं होइन । यति हो, मेरो आँखाको कारणले मैले सहकार्य गर्नुपर्ने हुनाले भाइभतिजाहरूलाई राखेर सहलेखनका हिसाबल कामचाहिं गरेको छु । मेरो चाहिं चार–पाँच वटा पुस्तकहरू हुनसक्छ । मेरा फुटकर लेखहरू थुप्रै छन् । ती लेखहरू जम्मा ग¥यो भने एउटा पुस्तक हुनसक्छ ।
छापिएर छरपस्ट रहेका लेखहरूलाई कसरी संग्रहित गर्न सक्छौं । कि तपाईंसँग संग्रहमा छन् ?
मसँग त्यसको विवरण हुनसक्छ । हामी करिकुलम भिटा भन्छौं, वैयक्तिक विवरणमा पनि छ । त्यसमा थपिएको पनि छ । म आफैंले त गर्दिन । कुनै साथीभाइ, भाइभतिजाहरूले मैले के के गरें भन्ने खोजी गरे भने शायद आउला । सम्पादनका पुस्तकमात्र मेरो पाँच–सात वटा भयो । आफैं स्वतन्त्र लेखक भएर लेखेका दुई–चारवटा होलान् । प्राणीहरू कोही पन्ध्र दिनमै बच्चा पाउँछन्, कोही महिनैपिच्छे बच्चा पाउँछन् भने वर्षेनी पाउने त मान्छे नै छन् । हात्ती, गैंडाले धेरै वर्षपछि मात्र बच्चा पाउँछ क्यारे । मेरो स्वभाव पनि त्यस्तै हुन गएछ । नेपाली शब्द छ नि यो वर्षौनी हो कि उचाले हो भन्छ ! उचाले भनेको दुई वर्ष, तीन वर्षमा पाउने । मचाहिं उचालेमा परें होला । निकै वर्षमा एउटा किताब आउँछ । संयुक्त रूपमा आउँछ । मेरै आउँछ । म त्यसरी वर्ष दिनमा, तीन महिनामा जन्माउनेचाहिं भइन ।
तपाईंको जीवनी कृति आउने वर्ष पढ्न पाइन्छ ?
मेरो जीवन यात्रा वर्णन आउँछ भन्नेमा छु । पाँच–सात सय पृष्ठको छ । त्यसलाई घटाएर तीन–चार सय पृष्ठको बनाउने विचार छ । मेरो आँखाको कारणले हो । पाँच–सात वर्षयता लेखपढ गर्न सकिरहेको छुइन । कसैले केही लेखिदिन आग्रह ग¥यो भने सेतो कागजमा भँगेरे टाउके अक्षरमा ठूलठूलो लेखिदिन्छु । अनि टाइप हुन्छ । नत्र भने म ठिकसँग लेख्न सक्दिन । आजभोलि पढ्ने काम गर्न सक्दिन । एक–दुई वर्ष बाँचियो भने एउटा बान्तावा व्याकरण आउला । त्यो चाहिं पदमसँग मिलेर हामी गर्छौं ।
मेरो जीवनी आउँछ । त्यसपछि मेरा बीस–पच्चीस वटा अंग्रेजी र नेपालीमा लेखहरू छन् । त्यसलाई संकलन गरेर संग्रह निकालिदिनु भनेर भाइभतिजाहरूलाई भनिरहेको छु । तर छरपस्ट छ । अन्तर्वार्ताहरू पनि छन् । कतिपय अन्तर्वार्ता उपयोगी होला ।
मलाई घचघच्याइ राख्दा सजिलो भएको छ । उङी राखेको हुन्छु । राईको चिम्सो आँखा त सुतेको हो कि उँगेको हो थाहा छैन । तपाईंहरूले घोचिराख्दा म सचेत हुन्छु । कतिपय हिसाबले मलाई लेख्न बाध्य पार्दाखेरी शुरुमा अप्ठ्यारो लाग्छ । पछि चाहिं ओहो पुच्छर निमोठ्यो भने त म हलो तान्न सक्ने रहेछु जस्तो पनि लाग्छ । तर अहिलेसम्म चाहिं भँगेरे टाउके अक्षरले लेखिराखेको छु । यद्यपि म बाल्यकाल र युवा अवस्थामा भने निक्कै सुन्दर अक्षरमा लेख्थें किनभने घरमा पापाले निगालोको कलमले लेख्न सिकाउनु हुन्थ्यो । अनि स्कुलमा पनि हरेक दिन अंग्रेजी, नेपालीको लेखाइमा गुरुहरूले पेल्थे । मस्तिष्कको हिसाबले मेरो मस्तिष्क त्यत्ति खिएर गएको जस्तो लाग्दैन । मलाई लेख्न समस्या भनेको आँखाको कारणले मात्रै हो । कतिपय मान्छेले लेख्नको लागि पारिश्रमिक खोज्छन् । तर म पारिश्रमिक लिएर लेख्ने मान्छे होइन । कसैले लेखिमाग्यो भने लेखिदिन्छु । मनप¥यो भने छाप भन्छु । मनपरेन भने काँटछाँट गर, फ्याकीदेऊ भन्छु । मैले लेखेको छापिनै पर्छ भन्दिन । मचाहिं ज्यादा काम गर्नेभन्दा पनि बोल्ने मान्छे हो । जिन्दगीमा बोलेरै जीवन बिताइयो । पढाइयो । त्यसले गर्दा लेखाइ कम भयो । एउटा अल्छीको कारण र अर्को आँखाको कारणले । तर अझै पनि म लेख्न सक्छु भन्ने लाग्छ ।
सर, एउटा कुरा सोध्न मनलागेको छ । सोधौं ?
के छ सोध्नोस् । म ८१ वर्ष पूरा गरेर आउने जेठमा ८२ लाग्छु । हत्तेरिका यो बूढोलाई सोधिएन । बूढो त बित्यो हौ नहोस् ।
मृत्युको कल्पना हुन्छ, हुँदैन तपाईंलाई ?
एकदम । एकदमै । एकासी वर्ष पुगेपछि मलाई राम्ररी थाहा छ, हाम्रो बसाइँ चाहिं यताभन्दा उता नै नजिक छ । तर कति दिन हो । भोलि हो । पर्सि हो । पाँच वर्षपछि हो । सात वर्षपछि हो । उताकै लोकतिर हामी नजिक भइसक्यौं । र यसलाई मैले सहजसँग लिएको छु । कतिपय मान्छे डराउँछन् । मचाहिं डराउँदिन । खुशी पनि छैन मलाई । जुन दिन म जन्में, जन्मिदाखेरी नै मेरो मृत्युको मिति लिएर आएको छु । तर मलाई थाहा छ, त्यो मात्रै ब्युटी हो । सुन्दरता हो । त्यसकारणले यसलाई स्वभाविक प्रक्रिया ठानेको छु । तर कुन दिन यो संसारबाट विदा हुन्छ, थाहा छैन । थाहा नपाउनु नै जीवनको सुन्दर पक्ष हो ।
मृत्युपछि कुन संस्कार चाहनुहुन्छ ? माटोमा समाधिस्थ, आर्यघाट वा मेसिनमा जलाउने ?
राम्रो प्रश्न ! राम्रो प्रश्न ! विदेशमा मेरो प्राण गयो, देहान्त भयो भने विदेशबाट सकभर स्वदेशमै ल्याउनु भनेर भन्छु । मेरो जन्मथलोदेखि बाहिर नेपालभित्र कहीं कतै मृत्यु भयो भने कहीं मेरो समाधिस्थ अथवा माटोभित्र राखिदिए हुन्छ । हामी किरातीहरूको समाधि बनाउने अथवा बोलीचालीको भाषामा गाड्ने भन्छन् नि त्यो मेरो प्रायोरिटी हो । कुनै हिसाबले मिलेन भने बेग्लै कुरा हो । नत्र भने यो माटोबाट आएको हो नि हामी । माटोमै जानुपर्छ । त्यसको लागि अस्ति छोरीहरूलाई पनि भनें । म काठमाण्डुमा छु । तिमीहरू अमेरिकामा छौ । अब भोलि पर्सि म बितेको बेलामा आउन सकेनौ भने पनि ठिकै छ । आउन सक्यौ भने पनि ठिकै छ । तिमीहरूले मलाई कसरी सद्गद गर्छौ । तर मेरो सद्गद् गर्ने चाहिं मेरो आफ्नै हिसाबले मैले आफ्नो व्यवस्था गरेको छु । तिमीहरूले ऋण काडेर सद्गद् गर्नुपर्दैन । उस्तै प¥यो भन्देखिन् कोरियामा गएर कमाउने हाम्रो दाजुभाइजस्तो, बेलायतमा बसेर कमाउने दाजुभाइजस्तो हेलिकोप्टरमा लगेर पनि सद्गद् गर्न सक्छौ । सकभर म आफ्नै गाउँ फर्किन चाहन्छु । नेपालकै माटोमा मेरो सद्गद् भयो भने मेरो आत्माले शान्ति पाउला । म माटोलाई मलजल दिन चाहन्छु । मलाई चाहिं यो समाधिस्थ गर्ने अथवा जमिनभित्र पार्थिव शरीरलाई समर्पण गर्ने, माटोको ऊर्वर शक्ति बढाउने मन छ । प्रकृतिमा समाहित भएर जाने हो । त्यसमा मलाई खुशी लाग्छ ।
मृत्युसँग तपाईं डराउनोस् । खुशी हुनोस् । त्यो हुन्छै हुन्छ । जब हुन्छ भने त्यसलाई तपाईंले स्वभाविक हिसाबले लिनु प¥यो । समाधिस्थ गरेपछि चिहानमाथि खुकुरी राखिदिने, चिन्डो जस्ता केही सामान राखिदिने गरिन्छ । त्यो पनि राम्रो कुरा हो, हाम्रो संस्कारको हिसाबले । तर चिहानभित्रै बहुमूल्य चिज र सुन, चाँदी पनि हाल्ने गरेको देखेको छु । त्यो चाहिं ठिक होइन कि ! बाँचिराखेको बेला हामीजस्तै अरु मान्छेहरूलाई मद्दत गर्नु, सहयोग गर्नुचाहिं राम्रो हो ।
मृत्युबारे थप के कुरा भन्नुहुन्छ ?
मेरो चाहिं त्यही हो । अहिलेको बेलामा सरदर आयु ७०–७५ वर्ष छ । राष्ट्रिय तथ्यांकले ६५ वर्ष देखाएको छ क्यारे । सत्तरी वर्ष बाँच्यो भने ठिकै हो जस्तो लाग्छ । कसैले असामयिक निधन भन्छ, यो चाहिं एउटा भन्ने कुरा मात्रै हो । त्यसकारण जाँदाखेरी धेरै दुःख पाएर, दुःख दिएर आफ्नो दुई–चार पैसा सक्ने गरी जानुचाहिं राम्रो होइन । धेरै बिरामी नभइकन । शरीरलाई धेरै दुःख नदिइकन । अरुलाई दुःख नदिइकन मृत्यु वरण गर्नुचाहिं ठिक हो । हामी कहाँ ‘इच्छा मृत्यु’को व्यवस्था छैन । तर धेरै दुःख दिएर, धनसम्पत्ति नाश गरेर जान नपरोस् । मेरो परिवारमा त्यस्तो भएको पनि छैन । मेरो परिवारका आमा, बाबु, दाजु, भाउजूहरू अधिकतम सात दिन जति बिरामी भएको होला । कोही एकै दिनमा बित्नु भएको पनि छ । धेरै बिरामी भएर जान नपरोस् भन्ने मेरो इच्छा हो ।
एक भाषावैज्ञानिकको तर्फबाट मातृभाषा प्रवद्र्धनमा के सुझाव हुनसक्छ ?
यसो हो, मातृभाषा भन्दा पनि त्यो समय, परिस्थितिले फरक पर्ने हो । मेरो छोरीहरूको मातृभाषा बान्तावा रहेन । मेरो पनि मातृभाषा चाम्लिङ हुनुपथ्र्यो । तर चाम्लिङको ठाउँ छोडेर गएपछि बान्तावा भाषी भएँ । त्यसकारण मेरो मातृभाषा नै बान्तावा हो । मेरो छोरीहरूको मातृभाषा नेपाली हो । मेरो नाति, नातिनाको मातृभाषा शायद अंग्रेजी हुन पुगेको छ । त्यसकारणले भाषा हाम्रो पहिचान हो भन्ने कुराचाहिं अलिकति नारा हो । अलिकति वास्तविकता हो । किनभने मान्छे भएपछि भाषा हुनुप¥यो र त्यो भाषामा माया हुनुप¥यो । हुनसक्छ भने त्यो भाषामा केही गर्नुप¥यो ।
चाम्लिङको चाम्लिङ नै भाषा हुनुपर्ने, वाम्बुलेको वाम्बुले नै भाषा हुनुपर्ने, नेपालीको नेपाली नै भाषा हुनुपर्ने भन्ने विषयचाहिं समय, स्थान र परिवेशले फरक पार्दछ । त्यो चाहिं पुख्र्यौली भाषा हो । तपाईं वाम्बुले हुनुभयो, तपाईंको छोरा इलाममा गएर हुर्कियो भने उसको मातृभाषा सम्भव भए बान्तावा होला नत्र नेपाली हुन्छ । छोरीछोरा बेलायतमा हुर्किए भने पक्कै पनि उनीहरूको मातृभाषा अंग्रेजी हुन्छ । तर पुख्र्यौली भाषाचाहिं वाम्बुले नै हो । भाषा अलिकति पहिचान हो । राजनीतिक हिसाबले अलिकति नारा पनि हो । त्यसरी भने पनि मान्छे आफूले काम गरेको देख्दिन । कसैले लागेर काम गरेको देख्दिन । त्यसैमा लागेर सम्भव छैन । तर अरुलाई सचेत गराउने र व्यवहारमा लागू गर्नुचाहिं उत्तम हुन्छ ।
(प्रस्तुत अन्तर्वार्ता इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष १२ अंक ४, पूर्णाङ्क ३१ (लिब्जुभुम्जुको १०४औं शृंखला), २०८२ माघ–चैत (किरात येले संवत् ३८०५÷सन् २०२६)मा प्रकाशित छ । सम्पादक)








