यसरी हुँदैछ– किरात वाम्बुले राई जातिको मुन्दुम अध्ययन

ललितपुर । २०८३ असार २७ गते ।
किरात वाम्बुले राई जातिको जन्मदेखि मृत्युपर्यन्तसम्म सम्पन्न गरिने मुक्तुम रितुमबायाहरूको अध्ययन, अनुसन्धान तथा अभिलेखीकरण हुने भएको छ । त्यसनिम्ति मनबहादुर राई (मान राई)को संयोजकत्वमा ‘वाम्बुले राई मुक्तुम रितुमबाया संस्कार अभिलेखीकरण परियोजना’ गठन भएको छ ।

उक्त कार्यका निम्ति अनुसन्धान प्रमुखमा इक लिब्जु–भुम्जु त्रैमासिकका सम्पादक गणेश वाम्बुले राई, अनुसन्धान सदस्यहरू शुभराज राई (काजी), इन्द्र जाबा राई, मेडल राई र सबिता राई ‘प्रयास’ तथा प्रमुख स्रोत व्यक्तिमा बुलु नाक्सो बरदान राई (ज्वाखे) रहनु भएको छ ।

समय हामीले चाहेको भन्दा अति तीव्रगतिमा बदलिदै गएको अवस्था छ । अब हामी वाम्बुले राईहरूको रितुमबाया, रितुममुन्दुमहरू बढीमा दस वर्षभित्र लेखेर, श्रव्य र दृश्य सामग्रीहरू डिजिटल रूपमा अभिलेखीकरण गर्न नसकेमा सधैंका निम्ति लोप भएर जानेछ । यो कुरो स्वयं मुन्दुमी नाक्सोहरूले अनुभूत गर्नुभएको छ ।

ढ्वाङ्कुमटारको बुलु नाक्सो बरदान राई (जोखे) भन्नुहुुन्छ– ‘अब हामी खाक्चिलुपा, रिनाखाको रितुमबायाहरू लेखेर राख्न सकेनौं भने मेरो शेषपछि मेरो छोराले वाम्बुले रितुमबायाहरू सिक्न पाउने छैन । किनभने अबको जमाना बुढापाकाहरूको कुरा सुन्ने नयाँ पुस्तालाई फुर्सद हुन्न । त्यसैले मैले जाने, बुझेको र गर्दै आएको रितुमबायाहरू लेखेर राखौं । पढेलेखेका दाजुदिदीहरूले मलाई साथ दिनुहोस् ।’

नाक्सो बरदानले आफ्नो भनाइसँगै कुकुम रितुमबाया लेखिसक्नु भएको छ । पास्मि, छेवार, गुन्नेचोलाको रीत लेख्दै हुनुहुन्छ । अब जन्मदेखि मरेपछि गरिने पित्रीकार्जेहरूको बारेमा क्रमशः लेख्दै जानु हुनेछ । हामी त्यसलाई उतार्दै जानेछौं । वाम्बुले राईको भेगअनुसार फरकपनलाई पनि केलाउने छौं । यो काम गर्न ‘किरात वाम्बुले राई जातिको मुक्तुम–रितुमबाया संस्कार अभिलेखीकरण परियोजना’ गठन गरेको संयोजक राईले उल्लेख गर्नुभयो ।

किरात वाम्बुले राई जातिको जन्मदेखि मृत्युपर्यन्तसम्म गरिने मुक्तुमी (मुन्दुमी) संस्कार परम्परालाई अभिलेखवद्ध गरी प्रकाशनमा ल्याउनु पहिलो उद्देश्य रहेको छ । यसैगरी किरात वाम्बुले राई जातिले ऋतुचक्रअनुसार सम्पन्न गर्ने ढ्वाङ्कुमो लगायत प्रकृतिपूजाहरू, सामालुरीहरू, देवीदेउताहरूको पूजाआजालाई अभिलेखवद्ध गरिने संयोजक राईले बताउनु भएको छ ।

आमाको गर्भबाट बालबालिका जन्मेपछि गरिने कुकुम (न्वारन), पास्मी, छेवार, गुन्नेचोला गर्ने मुन्दुम संस्कारहरू लिपिवद्ध गरिने छ । त्यसैगरी बिहे संस्कारअन्तर्गत छोराको बिहे र छोरीको बिहे तथा विभिन्न पक्षको भूमिकाहरू, शिर उभौनी (सारिय्वाम्सि)का मुन्दुमी प्रक्रिया उल्लेख गरिनेछ । मान्छे जन्मेपछि मृत्यु अनिवार्य छ । वाम्बुले राई समुदायमा मृत्यलाई सहज (सिन्ठो) र असहज (लान्ठो) गरी दुई किसिमले लिने गर्दछन् । त्यसका विधिहरू पर्गेल्ने कुलगुरु नाक्सोहरू तथा धामीहरूबाट पूरा गर्ने प्रक्रिया, समय, आवश्यक सामग्रीहरू, पुकारिने मुन्दुम, भूमिकाहरू उल्लेख गरिनेछ ।

यसैगरी घर बनाउने, चुला राख्ने, न्वाङ्गी, खाउमो (कुयामा, फुरि, चौतारा), सेसा (फेलि)को अभिलेखवद्ध गरिने छ । उक्त मुन्दुम अभिलेख कार्यलाई वाम्बुले भाषामा मूल रहने छ भने नेपाली र अंग्रेजी भाषामा समेत अनुवाद गरिनेछ । यो काम सम्पन्न गर्न चार वर्षको समय तालिका निर्धारण गरिएको छ ।

‘बौद्धिक काम स्वयंसेवक ढंगले मात्र गर्न सम्भव छैन । अध्ययन अनुसन्धान टोलीलाई सहज तुल्याउनेदेखि मुन्दुम प्रकाशनसम्म समुदायका व्यक्ति–व्यक्तिहरूबाट आर्थिक संकलन गर्ने एकमात्र उपाय पहिल्याएका छौं ।’ संयोजक राईले भन्नुभयो, ‘प्राप्त सहयोग रकम पारदर्शी ढंगले हिसाबकिताब राखिनेछ । यो काममा देश–विदेशमा रहनु भएको वाम्बुले राईमात्र नभएर आम किराती तथा नेपाली दाजुभाइ, दिदीबहिनीहरूले सहयोग गर्नु हुनेछ भन्नेमा विश्वस्त छु ।’

मुन्दुमहरूलाई लिएर स्थलगत रूपमा समुदायको अभ्यासहरूको डिजिटल रेकर्ड लिने, सम्बन्धित पित्री कार्जेहरू, प्रकृतिपूजाहरूको अवलोकन गर्ने, विज्ञ तथा मुन्दुमीहरू, धामीहरूसँग पुनःपुष्टि गरेर प्रकाशनमा ल्याइने छ । त्यसैगरी डिजिटल अर्काभिङसमेत गरिने जनाइएको छ ।

प्रकाशित : शनिबार, असार २७, २०८३२२:३३