दसौं व्याकुल माइला गोल्डकप कात्तिकमा हुँदै, तयारी तीव्र (फोटो फिचर)

दसौं संस्करणमा नगद पुरस्कारको कुल राशि पाँच लाख ६० हजार ६६६ रुपैयाँ
गणेश वाम्बुले राई
सोक्मटार (ओखलढुंगा)।

व्याकुल माइला गोल्डकप–२०८३ को दसौं संस्करणको खेलकुदको तयारी तीव्रगतिमा अगाडि बढेको छ ।

नयाँ नेपाल सरोकार समाजको आयोजनामा हुने फुटबल प्रतियोगिता आगामी कात्तिक ९ गतेदेखि १७ गतेभित्र सम्पन्न हुनेछ ।

उक्त खेल राष्ट्रगानका सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’ को जन्मथलोम ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ सोक्मटार दुधकोसी किनार ब्आलेमबगर खेलमैदानमा हुँदै आएको छ ।

सर्जक व्याकुल माइला पूर्व कराते खेलाडी हुनुहुन्छ । उहाँको सम्मानमा स्थानीयवासीले २०६८ सालदेखि युवा लक्षित खुला नकआउट फुटबल प्रतियोगिता निरन्तर आयोजना गर्दै आएका छन् ।

‘खेलकुदको माध्यमबाट विकासको अभियान’ नारासहित खेल सुचारु रहेको छ ।
खेलको मुख्य उद्देश्यअन्तर्गत स्थानीय प्रतिभावान फुटबल खेलाडीलाई अवसर प्रदान गर्ने, युवालाई सकारात्मक गतिविधिमा सहभागी गराउने, खेल पर्यटन तथा स्थानीय अर्थतन्त्रलाई टेवा दिने, व्याकुल माइलाको योगदानलाई पुस्तान्तरण गर्ने, सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिलाई एकै थलोमा जोड्नेलगायत रहेका छन् ।

आगामी प्रतियोगिताका निम्ति तीव्रगतिमा काम भइरहेको दसौं संस्करण मूल आयोजक समितिका संयोजक मिलनकुमार राईले बताउनु भएको छ ।
‘कोसीमा आएको बाढीले खेलमैदान ध्वस्त भएको थियो । त्यसलाई मर्मत गरेका छौं । अब असोज १५ गतेभित्र खेलमैदानदेखि मन्च सबै बनाइसक्ने छौं,’ संयोजक राईले भन्नुभयो । दसौं संस्करणको खेलकुद आयोजना गर्नका निम्ति मानेभन्ज्याङ गाउँपालिकाले १० लाख रुपैयाँ बजेट छुटाएको छ ।
दसौं संस्करणमा नगद पुरस्कारको कुल राशि पाँच लाख ६० हजार ६६६ रुपैयाँ व्यवस्था गरेको जनाइएको छ ।

जसमा प्रथम स्थान हासिल गर्ने क्लबलाई तीन लाख ३३३ रुपैयाँ राशिको नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी दोस्रो स्थान हासिल क्लबले एक लाख ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनलिस्ट क्लबले ४० हजार १११ रुपैयाँ प्राप्त गर्नेछ ।

यसैगरी ‘बेस्ट प्लेयर’, ‘टप स्कोरर’, ‘बेस्ट किपर’ र ‘इमर्जिङ प्लेयर’ले जनही पाँच–पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी सहभागी क्लबहरूमध्ये एउटाले १० हजार रुपैयाँ राशिसहित ‘दिल–कर्ण बेस्ट टिम अवार्ड’ पाउने छ ।

मूल आयोजक समितिले दिएको जानकारीअनुसार सहभागी हुने क्लबले प्रवेश शुल्क वापत १२ हजार ५०० रुपैयाँ बुझाउनु पर्नेछ । यसैगरी कार्ड डिपोजिट शुल्क पाँच हजार रुपैयाँ लाग्ने जनाइएको छ ।

यसपटक सकेसम्म खेललाई राम्रो बनाउने प्रयास जारी राखेको मूल आयोजक समितिका सदस्य तथा खेलाडी सुजन वाम्बुले राईले बताउनु भयो ।

‘खेलमैदान मर्मत सम्भार गरेसँगै हामीले वेब सर्फर कम्पनीसँग इन्टरनेट पार्टसिपको सम्झौता गरेर जोडेका छौं,’ उहाँले भन्नुभयो, ‘अहिले व्याकुल माइला खेलमैदानमा जुनसुकै बेला इन्टरनेट चल्छ । मुख्य खेलको बेला पनि प्रत्यक्ष प्रसारण गर्ने लक्ष्य राखेका छौं, जसले गर्दा देश–विदेशबाट हाम्रो खेलबारे जानकारी लिन सकुन् ।’

स्थानीय खेलाडीहरू हरेक दिन खेलकुदको अभ्यास गर्दै आएका छन् । खेललाई व्यवस्थित र चुस्त राख्नका निम्ति हरेक दिन छलफल तथा सल्लाह गर्ने गरेका छन् । ‘यसपटक धेरै राम्रा खेलाडीहरू यो मैदानमा खेल प्रदर्शन गर्न आउनु हुने आशा राखेका छौं,’ सुजनले भन्नुभयो ।

व्याकुल माइला गोल्डकपको पहिलो संस्करण–२०६८ मा आयोजक टिम नयाँ नेपाल सरोकार समाजले जित हात पारेको थियो । त्यसैगरी दोस्रो संस्करण–२०६९ सिर्जना युवा समूह कटारी (उदयपुर), तेस्रो संस्करण–२०७० सुनकोसी युवा समूह, घुर्मी (उदयपुर), चौथो संस्करण–२०७१ सुनकोसी युवा समूह, घुर्मी (उदयपुर)ले जितेका थिए ।

यसैगरी पाँचौँ संस्करण–२०७२ हिलेपानी फुटबल क्लब, इमाडोल (ललितपुर), छैटौँ संस्करण–२०७३ नयाँ नेपाल सरोकार समाज, सातौँ संस्करण–२०७४ सुनकोसी युवा समूह, घुर्मी (उदयपुर), आठौँ संस्करण–२०७६ नयाँ नेपाल सरोकार समाज र नवौँ संस्करण–२०८० दूधकौशिका आधारभूत विद्यालय सोक्मटारले पहिलो पुरस्कार, शिल्ड हात पारेका थिए ।

तस्बिर सौजन्यः नयाँ नेपाल सरोकार समाज, व्याकुल माइला गोल्डकप–२०८३ दसौं संस्करण मूल आयोजक समिति

प्रकाशित : सोमबार, भदौ २२, २०८३१२:३०