किरात बायुङ राई तुम्लो कार्यशाला पुसमा

काठमाडौं । २०८३ कात्तिक २९ गते

किरात बायुङ राई सुम्निखिम केन्द्रीय कार्यसमितिले बायुङ राई समुदायको भाषा, संस्कार, संस्कृति, इतिहास तथा मुन्दुम दर्शनको संरक्षण, अभिलेखीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रथम ‘बायुङ राई तुम्लो कार्यशाला–२०८३’ आयोजना गर्ने भएको छ ।

संस्थाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी पुस ४ देखि ६ गतेसम्म तीन दिन संघीय राजधानी काठमाडौंमा कार्यशाला सञ्चालन गर्ने जानकारी दिएको हो ।

कार्यशालामार्फत बायुङ राई समुदायको मौलिक ज्ञान, परम्परा, जीवनदर्शन र सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान तथा दस्तावेजीकरण गरिने जनाइएको छ ।

बायुङ राईको समग्र पहिचान संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले किरात बायुङ राई सुम्निखिम २०७७ पुस २० गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो ।

संस्थाले स्थापनाकालदेखि नै बायुङ राई समुदायको भाषा, तुम्लोयालो (मुन्दुम दर्शन), इतिहास, संस्कार, संस्कृति, कला, साहित्य र संगीतको संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको छ ।

खोटाङ, ओखलढुंगा र सोलुखुम्बु आसपासका क्षेत्रलाई बायुङ राई समुदायको आदिम थातथलो मानिन्छ । बसाइँसराइका कारण हाल ताप्लेजुङदेखि कैलालीसम्मका विभिन्न जिल्लाका साथै विदेशमा समेत गरी ९० हजारभन्दा बढी बायुङ राई छरिएर बसोबास गरिरहेको संस्थाको दाबी छ ।

समुदायको मौलिक ज्ञान र दर्शनको महत्वपूर्ण स्रोतका रूपमा रहेको तुम्लोयालो पुस्तान्तरण हुँदै आए पनि हालसम्म मुख्यतः श्रुति परम्परामै सीमित रहेको संस्थाले जनाएको छ । बायुङ भाषा लोपोन्मुख भाषाको सूचीमा पर्दै गएकाले यसको संरक्षण, लिखित अभिलेखीकरण र भावी पुस्तामा हस्तान्तरण आवश्यक रहेको संस्थाको ठहर छ । संस्थाले हालसम्म बायुङ राई समुदायको तुम्लोयालोसम्बन्धी पाँचवटा पुस्तक प्रकाशन गरिसकेको छ ।

त्यसैगरी, आधारभूत तहको पठनपाठनका लागि बायुङ भाषाको वर्णमाला तयार पार्नुका साथै शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम स्वीकृत गराएको छ । हाल कक्षा १ को बायुङ मातृभाषी पाठ्यपुस्तक प्रकाशनको प्रक्रियामा रहेको पनि संस्थाले जनाएको छ ।

आसन्न कार्यशालामा बायुङ राई समुदायको थातथलोमा रहेका धेवा, नक्सो, डाबुचा, तुम्लोचा, सेलेमी भाम्छालगायत परम्परागत ज्ञानका जानकार तथा देश–विदेशमा रहेका बुद्धिजीवी, विज्ञ र अध्येताहरूको सहभागिता रहनेछ । साथै, नौवटा जिल्ला कार्यसमिति, हडकल प्रवास शाखा समिति र ९० वटा कार्यसमितिबाट प्रतिनिधिमूलक सहभागिता गराइनेछ ।

संस्थाका अध्यक्ष ज्ञान बायुङ राई, महासचिव युवराज बायुङ राई र कार्यशाला संयोजक प्रवेश बायुङ राईद्वारा हस्ताक्षरित विज्ञप्तिका अनुसार कार्यशालाका क्रममा संकलित तथ्य, सूचना तथा अनुसन्धानका निष्कर्षलाई विषयगत कार्यपत्र र छलफलका माध्यमबाट व्यवस्थित गरिनेछ ।

कार्यशालाबाट प्राप्त निष्कर्षलाई पुस्तकका रूपमा प्रकाशन गरी बायुङ राई समुदायको भाषा, इतिहास, संस्कृति र मुन्दुम दर्शनको लिखित अभिलेख तयार गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रम व्यवस्थापनका लागि प्रवेश बायुङ राईको संयोजकत्वमा १० सदस्यीय कार्यशाला व्यवस्थापन समिति तथा विभिन्न उपसमितिहरू गठन गरिएको छ । पत्रकार सम्मेलनका अवसरमा कार्यशालाको आधिकारिक लोगोसमेत सार्वजनिक गरिएको थियो ।

प्रकाशित : आइतबार, कार्तिक ३०, २०८३२१:३८