साहित्यिक पत्रकारद्वय घिमिरे र श्रेष्ठलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार

कला साहित्य -संस्कृति मुख्य समाचार

लिभु संवाददाता
काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक साहित्यिक पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । ६२ वर्षदेखि प्रकाशित ‘रचना’ द्वैमासिक पत्रिकाका संस्थापक सम्पादक साहित्यिक पत्रकार रोचक घिमिरेलाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । उक्त पत्रिका २०१८ सालदेखि हालसम्म घिमिरे स्वयं प्रकाशन तथा सम्पादक हुनुहुन्छ ।


यसैगरी साहित्यिक पत्रकार रुक्मिनी श्रेष्ठलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’प्रदन गरिएको छ । २००८ सालदेखि प्रकाशित नेपालाभाषाको ’थौंकन्हे’ साहित्यिक मासिक प्रकाशन हुँदै आएको छ । पत्रकार श्रेष्ठ सो पत्रिकामा २०४५ सालमा आबद्ध भई सम्पादक तथा प्रकाशक रहनु भएको छ ।


प्रतिष्ठानका कुलपति भूपाल राईले आइतबार उक्त पुरस्कार प्रदान गर्नु भएको हो । पहिलो पटक प्रदान गरिएको पुरस्कारको राशि जनही ५० हजार रुपैया“ रहेको छ । प्रतिष्ठानअन्तर्गत साहित्यकार उपचार कोष, साहित्यिक पत्रिका सहयोग कोष रहेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा १४२ जातजाति रहेका छन् भने १२४ भाषा बोलिन्छ । संविधानले नेपालमा बोलिने भाषालाई ‘राष्ट्रभाषा’को संज्ञा दिएको छ । कुलपति राईले संविधानअनुकुल मुलुकमा बोलिने भाषाको साहित्य सिर्जनाको जग साहित्यिक पत्रिका रहेकाले बताउनु भयो ।

‘मुलुकको भाषा, साहित्यका स्रष्टा उत्पादन गर्ने पत्रिकाको सम्पादन र प्रकाशन कार्यमा जीवन अर्पण गर्ने धरोहर व्यक्तिको योगदानलाई चम्काउन यो पुरस्कार स्थापना गरी प्रदान गरिएको हो,’ कुलपति राईले अमेरिकाको प्रसंग जोड्दै भन्नुभयो, ‘हरेक भाषाको श्रीवृद्धि गर्न, गराउन काम साहित्यिक पत्रिकाको महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले साहित्यिक पत्रकार संघको मागअनुसार सम्मानको थालनी गरेका हौं ।’

प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा), सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्राज्ञ बाबा बस्नेत, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, चेतनाथ धमलालगायतले चर्चा गरेका थिए । यस्तै, भाषा आयोगका सदस्य मातृका पोखरेल, मधेसी आयोगका सदस्य आभासेतु सिंहले शुभकामना व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.