विश्व मुटु दिवश २०१८ – “हाम्रो प्रण; स्वस्थ्य मुटु”

स्वास्थ्य


डा युवराज लिम्बू

अघिल्लो शताब्दीको उत्तरार्ध देखि आज सम्म विश्वमा मानव मृत्युको निरन्तर रुपमा पहिलो कारण मुटुरोग नै हो l मानव मृत्युको पहिलो कारण बनेको मुटुरोग सम्बन्धि उचित जनचेतना जगाउने उद्देश्यले सन् २००० बाट “म मेरो मुटुलाई माया गर्छु, यसलाई धड्कन देउ” ( I love my heart, let it beat) भन्ने नारा सहित प्रत्येक वर्ष सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवशको रुपमा मनाउन थालिएको हो l वोर्ल्ड हार्ट फेडेरेशन (WHF) को पहलमा सुरु भएको विश्व मुटु दिवश सन् २०११ बाट भने प्रत्येक वर्ष सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवशको रुपमा मनाउन सुरु गरिएको हो l निरन्तर रुपले मानव मृत्युको पहिलो कारण बनेको मुटु र रक्तनली रोग सम्बन्धि जानकारी गराउने उद्देश्यले सेप्टेम्बर २९, २०१८ का दिन मेरो मुटु र तपाईंको मुटुलाई स्वस्थ्य राख्न म के गर्न सक्छु र हाम्रो मुटुलाई स्वस्थ्य राख्न हामी के गर्न सक्छौं साथै हामी सबै मुटुलाई स्वस्थ्य राख्न प्रण गरौँ भन्ने उदेश्य लिएर “हाम्रो प्रण; स्वस्थ्य मुटु” (My heart, your heart) भन्ने नारा सहित विश्व मुटु दिवश मनाइँदै छ l

प्रत्येक बर्ष एक करोड पचहत्तर लाख भन्दा बढि व्यक्तिको मृत्यु मुटु र रक्तनली सम्बन्धि रोगको कारण हुने गर्दछ l आज सम्पूर्ण मानव मृत्युको झन्डै एक तिहाई अर्थात् ३१% मृत्युको कारण मुटु र रक्तनली सम्बन्धि रोग नै हो जबकीएक सय वर्ष भन्दा अघि अर्थात् सन् १९०० अघि सम्पूर्ण मानव मृत्युको कारणहरु मध्ये मुटु रोगबाट मृत्यु हुने कारण १०% भन्दा कम थियो l विश्वमा सम्पूर्ण मुटु रोगबाट मृत्यु हुने संख्याहरुमा झन्डै आधि जस्तो अर्थात् ४०-४५% कारण कोरोनरी मुटुरोग (Coronary heart disease) हो जसको कारक तत्व; धुम्रपान, उच्च रक्तचाप, शरीरमा कोलेस्टेरोलको मात्रा उच्च हुनु, मधु मेह, अस्वस्थ्य जीवन शैली, मोटाइपन आदिलाई मानिन्छ l विश्वमा मुटु र रक्तनली रोग बाट हुने मृत्युहरु मध्ये ३३% मृत्युको कारण रक्तनली सम्बन्धि बिमार स्ट्रोक (Stroke) हो साथै उच्च रक्तचापको कारण ६% र बाथ मुटुरोगको कारण २% मृत्यु हुने गर्दछ l यध्यपी विश्वको विभिन्न क्षेत्र र राष्ट्रमा मानव बिकाश सूचकांकको आधारमा अध्ययन गर्दा बिभिन्न मुटुरोगहरुको मृत्युदर प्रतिशत केहि फरक हुन आउँछ l

एक तथ्यांक अनुसार (JACC2017;4:1) गत २५ बर्षमा विश्वका केहि बिकशित क्षेत्र र राष्ट्रहरु साथै केहि विकाशोन्मुख राष्ट्रहरु; अमेरिका, पश्चिमी युरोप, ब्राजिल, दक्षिण कोरिया, कम्बोडिया, लाओस आदिमा मुटुरोगको अवस्थामा सुधार भएको देखिन्छ तर केहि बिकशोन्मुख राष्ट्रहरु; मेक्सिको, साउदी अरबिया, मंगोलिया आदिमा मुटुरोगको संख्यामा केहि वृद्धि भएको छ l यसै गरि गत २५ बर्षमा विश्वका अधिकांश बिकशित क्षेत्र र राष्ट्रहरुमा मुटुरोगको मृत्युदरमा कमि आएको छ तर केहि बिकशोन्मुख राष्ट्रहरु; बंगलादेश र फिलिपिन्समा मुटुरोगको मृत्युदर बढेको छ l सन् २०१५ मा विश्वका केहि बिकशित राष्ट्रहरु; सिंगापुर, जापान, क्यानाडा, ग्रीस, इजरायल आदिमा प्रति एक लाखमा पाँच हजार भन्दा कममा मुटुरोग देखिएको छ तर केहि बिकशोन्मुख राष्ट्रहरु; पश्चिम अफ्रीका, इरान, जाम्बिया, ओमान आदिमा प्रति एक लाखमा नौ हजार भन्दा बढीमा मुटुरोग देखिएको छ l मानव बिकाश सूचांकमा सुधार भए सँगै विश्वका धेरै क्षेत्र र राष्ट्रहरुमा मुटुरोगको मृत्युदर घटेको छ तर दक्षिण एसिया र सब-सहारा अफ्रिकामा भने मानव बिकाश सूचांकमा केहि सुधार भए पनि मुटुरोग मृत्युदरमा सुधार भएको छैन l

WHO,2017को प्रतिबेदन अनुसार कम्तिमा पनि विश्वभरि मुटुरोगबाट हुने मृत्युको तिन चौथाई भन्दा बढी मृत्यु निम्न र मध्यम आय हुने राष्ट्रहरुमा हुने गर्दछ l बिकशित मुलुकहरुमा बैज्ञानिक स्वास्थ्य नीति, अध्ययन र अनुसन्धानमा लगानी साथै बिज्ञान र प्रविधिको उपयोगका कारण मुटुरोगको अवस्था र यसबाट हुने मृत्युदरमा धेरै सुधार भइसकेको छ तर बिकशोन्मुख मुलुकहरुमा बैज्ञानिक स्वास्थ्य नीतिको अभाव, बैज्ञानिक अध्ययन र अनुसन्धानमा कम लगानी साथै बिज्ञान र प्रविधिमा कम पहुँचका कारण मुटु र रक्तनली सम्बन्धि रोगहरुको संख्या र मृत्युदर बढ्दो छ l समग्र राष्ट्रको बिकाश र नागरिकको जीवनस्तरमा उल्लेख्य सुधार भएको कारण बच्चाहरुमा GAS ब्याक्टेरियाको संक्रमणबाट हुने बाथ ज्वरो र बाथ मुटुरोग प्राय गरेर बिकशित राष्ट्रहरुको बिकशित क्षेत्रहरूमा उन्मुलन भैसकेको अवस्थामा छ तर बिकशोन्मुख राष्ट्रहरुमा भने बाथ ज्वरो र बाथ मुटुरोगको जोखिम र यसबाट हुने मृत्युदरमा सुधार हुन सकेको छैन l समग्र विश्वभरि सम्पूर्ण मुटुरोगबाट हुने मृत्यु मध्ये २% मृत्यु बाथ मुटुरोगको कारण हुने गर्दछ, बिकशित मुलुकहरुमा यो मृत्युदर १% मात्र छ भने दक्षिण एशियामा यो मृत्युदर ६% छ l नेपालमा (शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बार्षिक प्रतिवेदन २०१७) बाथ मुटुरोगको मृत्युदर सम्पूर्ण मुटुरोगबाट हुने मृत्युको १०% भन्दा बढि छ l

समग्र विश्वभरी मुटु र रक्तनली सम्बन्धि रोगको अवस्था र यसबाट हुने मृत्युदर एकै नाशको छैन l समग्र क्षेत्र र राष्ट्रको बिकाश साथै मानव बिकाश सूचांकमा भएको सुधार अनुसार मुटु र रक्तनली रोगको अवस्था र मृत्युदर फरक फरक छ l गत पच्चिस बर्षमा बिकशित मुलुक र क्षेत्रहरूमा उल्लेख्य आर्थिक उन्नति, जीवन स्तरमा सुधार, मुटु र रक्तनलीरोग सम्बन्धि चेतनाको बिकाश, बिज्ञान र प्रविधिको बिकाश साथै उपचार विधिमा आएको सुधार आदिका कारण मुटुरोगको अवस्थामा उल्लेख्य सुधार भएको छ र यसको मृत्युदरमा केहि कमि भएको छ तर अल्प बिकशित र बिकशोन्मुख मुलुक र क्षेत्रहरुमा भने जीवन स्तरमा उल्लेख्य सुधार नहुनु, मुटुरोग सम्बन्धि पर्याप्त चेतनाको बिकाश नहुनु, सरदर आयुमा वृद्धि हुनु साथै बिज्ञान र प्रविधिको बिकाशमा कम पहुँच भएको कारण मुटुरोगको संख्या र यसबाट हुने मृत्युदरमा केहि वृद्धि भएको छ l विश्वका अल्प बिकशित र बिकाशन्मुख मुलुकहरुमा एकातिर नसर्ने मुटु र रक्तनली रोगको मृत्युदरमा वृद्धि हुँदैछ भने अर्कातिर बच्चाहरुमा GAS ब्याक्टेरियाको संक्रमणबाट हुने बाथ मुटुरोगको जोखिम, जसले प्राय गरेर बयस्क गरिखाने उमेर र महिलाहरुको प्रजनन उमेर समुहमा असर पर्दछ, र मृत्युदरमा सुधार हुन् सकेको छैन l समग्रमा भन्नु पर्दा बिकशित मुलुक होस् वा अल्प बिकशित र बिकशोन्मुख मुलुक होस्, आज मानव मृत्युको पहिलो कारण बनेको मुटु र रक्तनली सम्बन्धि रोगका कारण जनस्वास्थ्यमा पर्न सक्ने असर र यसले पार्ने आर्थिक र सामाजिक दायित्य माथि उचित समाधानको उपाय खोज्नु पर्ने बेला भइसकेको छ l मुटु र रक्तनली रोगको रोकथाम र बचावटका लागि आज प्रत्येक व्यक्ति, समाज, राष्ट्र र सिंगो विश्वले नै प्रण गर्ने बेला भइसकेको छ l यहि नै विश्व मुटु दिवश २०१८ को सहि सन्देश हुन् सक्तछ l

लेखक डा. युवराज लिम्बू शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।
https://www.kantipurdaily.com/bibidha/2018/09/29/15381875168345306.html

Leave a Reply

Your email address will not be published.