‘सुम्निमा’ चलचित्र टोलीलाई सम्मान

मनोरन्जन

लिभु संवाददाता
काठमाडौं– नेपाली चलचित्रको इतिहासमा पृथक धारलाई लिएर किरात मुन्धुममा आधारित चलचित्र ‘सुम्निमा’का कलाकार, प्राविधिकलगायतलाई सम्मान गरिएका छन् । राष्ट्रगानका रचनाकार व्याकुल माइलाले मंसिर १ गते राजधानीमा आयोजित एक समारोहबीच सम्मान प्रदान गर्नुभएको हो ।

सम्मानितहरुमा चलचित्रका निर्देशक चन्द्र वाम्बुले, कथा लेखक तथा कलाकार प्रवीण पुमा, नायिका प्यारी राई, नसहनायिक जितुका वाम्बुले राई, दैया राई, सबिता राई, जनसरी, बालकलाकार नामकला राई, छायाँकार युवराज राई, गीतकार सिताराम राई, गायक बालन्द राई, गायिका मनु नेम्बाङ लगायत हुनुहुन्छ । सम्मानितमा संस्कृतिकर्मी यासेली योङहाङ, पत्रकार गणेश राई, अनुसन्धाता टिकाराम राई, जमानसिंह राई हुनुहुन्छ ।

सुम्निमा चलचित्रको सम्मानपछि सामुहिक तस्बिर

नायक चूडामणि सुनुवार, बालकलाकार स्वर्णदीप राई र कार्यकारी निर्माता प्रेम वाम्बुले भने विदेशमा रहनु भएको उपस्थित रहेन । त्यसैगरी गीतकार भूपाल राई, गायक राजेशपायल राई, संगीतकारद्वय कन्काइस्ट राई र बलराम समालको उपस्थिति थिएन ।

‘सुम्निमा’ चलचित्रका निर्मात्री खेजी राईको अध्यक्षता रहेको समारोहको विशेष अतिथि वाम्बुले राई समाज केन्द्रीय कार्यसमितिका अध्यक्ष गजुरधन राई, अथितिहरुमा बिगेसोका सभापति पदम सुन्दर लिम्बू, समाजसेवी लप्सिङकुमार राई, सिंगापुर पुलिस फोर्सका पूर्व इनस्पेक्टर भुवनसिंह राई, ओखलढुंगा युके समाजका पूर्वअध्यक्ष कमल राईलगायत हुनुहुन्थ्यो ।

निमात्री खेजी राई, नायिका प्यारी राई, कथाकार प्रवीण पुमा र निर्देशक चन्द्र वाम्बुले

सामाजिक परम्परा, संस्कार संस्कृति, मूल्यमान्यतालाई लिएर निर्माण गरी २०६९ जेठ ६ गते पहिलो प्रदर्शन गरिएको थियो । सम्मान समारोहमा ‘सुम्निमा’ चलचित्रका कथा लेखक प्रवीण पुमाले बाल्यकालमै विधवा बनेर आफ्नै देवरसँग जबरजस्त विवाह गराउन बाध्य तुल्याइएकी आफ्नी दिदीको जीवनकलाई चलचित्रमा उतारेको बताउनु भयो । ‘म यो रहस्य आज खोल्दैछु, यदि मेरो दिदीले थाहा पाउनु भयो भने रिसाउनु हुनेछ,’ लेखन, नाट्य, अभिनय र अनुसन्धानमा ख्यातीप्राप्त पुमाले भन्नुभयो, ‘जो कसैको जीवन स्वतन्त्र हुन्छ । तर मेरी दिदीको स्वतन्त्रतालाई जबरजस्ती खोसिएको थियो । यो किराती समाजमा भाउजु व्यहोर्ने (सुमर्ने) चलनको उदाहरण हो, सुम्निमा चलचित्र ।’

निर्देशक चन्द्र वाम्बुलेका अनुसार यो चलचित्र वाम्बुले राईहरूको रस्तीबस्ती जोर्तिघाट, सोक्मटार, होल्माफू, खचापू, उँबू, लिब्जु, ओखलढुंगा लगायत ठाउँमा सुटिङ भएको थियो । वाम्बुले राईको घरभित्र र बाहिर गरिने खाउमो मुन्धुम संस्कार, मलामी, चालचलन यावत पक्ष समेटिएको छ । चलचित्रमा केही संवाद वाम्बुले भाषा प्रयोग भएकोमा खस–नेपालीमा ‘सब टाइटल’ राखिएको छ ।

सुम्निमा चलचित्रले नेपाल सरकारको तर्फबाट पहिलो पटक आदिवासी चलचित्रलाई प्रदान गरिएको ‘उत्कृष्टि साँस्कृतिक चलचित्र पुरस्कार’ प्राप्त गरेको छ । त्यसैगरी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा नोमिनेसन भएर अमेरिकाको न्यूयोर्कमा सम्पन्न चलचित्र महोत्सव–२०१७ मा उत्कृष्ट कथाको अवार्ड पाएको छ । उक्त अवार्ड ग्रहण समारोहमा निर्मात्री खेजी राई उपस्थित हुनुहुन्थ्यो ।

फोटो – मोडेल चाँदनी राई र गणेश वाम्बुले राई

Leave a Reply

Your email address will not be published.