संविधान दिवसमा व्याकुल माइला, कामीरीता शेर्पा र मीरा राई सम्मानित

पत्रपत्रिका

 

  • प्रकाशित मिति : शुक्रबार, अशोज ३, २०७६

 



विराटनगर । संविधान दिवस २०७६ का अवसरमा तीन व्यक्तित्व सम्मानि भएका छन् । सम्मान पाउनेमा राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई), २४ पटक सगरमाथा आरोहण गर्ने कामीरीता शेर्पा र म्याराथनकी अन्तर्राष्ट्रिय धावक मीरा राई छन् । प्रदेश १ प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले उनीहरूलाई जनही ५ लाख नगदसहित प्रमाणपत्र प्रदान गरे ।

मुख्य मन्त्री शेरधन राईले नेपालको संविधान २०७२ राष्ट्र निर्माणको बलियो आधार भएको र सोही बमोजिम सहकार्य तथा सहअस्तित्वलाई अँगीकार गरी शासन सञ्चालन भइरहेको बताए । तीन तहका सरकारकाबीच कुनै द्विविधा नरहेको उनले बताए । सरकार सञ्चालनका लागि मूलभूत विषयमा राजनीतिक दलहरुबीच एकता रहेको उनको भनाइ थियो। उनले यो प्रदेशको नामकरण छिट्टै गरिने बताए । भ्रष्टाचारका लागि सरकारले शून्य सहनशीलता अपनाएको, शासकीय पद्धतिमा जवाफदेहिता र पारदर्शीता अपनाउन सरकार क्रियाशील रहेको उनले जानकारी दिए ।

यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, सगरमाथा टिन्स क्लब, राष्ट्रसेवक कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, उद्योगी, व्यापारी, नागरिक समाज र सञ्चारकर्मी सम्मिलित ¥यालीले नगर परिक्रमा गर्दै स्थानीय शहीद रङ्गशालामा पुगेर सभामा परिणत भएको थियो । सभामा सूर्यदल गणका साथै विभिन्न जात जातिका झाँकी, लाखेनाच, परम्परागत वेषभूषा प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा पोखरीया बाल क्लब, सत्यनारयाण मावि र नेपाल स्काउट क्रमशः प्रथम, द्वितीय र तृतीय भई क्रमशः रु ३० हजार, रु २० हजार र १० हजार पुरस्कार प्राप्त गरेका थिए । सैनिक आवासीय विद्यालय तथा नेपाल प्रहरी विद्यालयले सन्त्वना पुरस्कारस्वरुप रु पाँच–पाँच हजार प्राप्त गरेका थिए । समारोहमा प्रदेशका मन्त्रिगण, उच्च पदस्त अधिकारी विभिन्न दलका नेता सुरक्षा निकायका प्रमुख,समाजसेवी र उद्योगपतिको सहभागिता थियो ।

यसअघि मुख्यमन्त्री राईले विराटनगर विमानस्थल र जनआन्दोलन (महेन्द्रचोक)मा स्थायी रूपमा रहने गरी ठूलो राष्ट्रिय झण्डा फहराएका थिए । प्रदेशको १४ वटै जिल्ला सदरमुकाम र प्रदेशका विभिन्न ३८ स्थानमा झन्डोत्तोलन पनि गरिएको प्रदेश प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिए ।

http://www.yeskathmandu.com/2019/09/16481/

Leave a Reply

Your email address will not be published. Required fields are marked *