धरानका चित्रकारहरु लडकडाउनमा निराशाको बन्दी भएर बसेनन्

कला साहित्य -संस्कृति पत्रपत्रिका प्रदेश प्रदेश १

–हर्ष सुब्बा

धरानः कोविड–१९ एक्काइसौं शताव्दीको विश्व इतिहासमा महामारीको रुपमा मात्र नभई यस्ले निम्त्याएको लकडाउन बाट तहस नहस भएको अर्थतन्त्र सहित उल्लेख हुने निश्चित छ । यसविच महामारीको त्राश, निराशा र गतिहिनता संग सामना गर्दै सिर्जनशीलता लाई निरन्तरता दिने प्रतिभाहरु उल्लेखनिय बन्ने छन् भन्ने कुराप्रति पनि आशावदी हुन जरुरी छ । लकडाउनले आर्थिक, भौतिक गतिविधिहरु ठप्प बनाएको बेला कला, सहित्य, बौद्धिक र विज्ञानको सिर्जनशीलता लाई भने रोक्न सकेको पाइएन् । भर्चुअल माध्यम बाट धेरै विषयमा बहस जारी रहे । साहित्य र कलाका क्षेत्रमा लकडाउन लाई सदुपयोग गर्ने सिर्जनशील प्रतिभाहरु निराशाको बन्दी भएर बसेनन् ।

विशाल संसारको एउटा कुना धरानका चित्रकारहरु त्यस्को उदाहरण बन्न सक्छन् । अरु बेला व्यवसायलाई थाती राखेर पनि कलाकारिताका लागि दौडने तर, लकडाउनमा चौविसै घण्टा घरमा थुनिएका धरानका अग्रणि चित्रकार प्रणोद दत्तले भने ‘कामका बेला पेन्टिङ गर्ने, अहिले खाली भएको बेला किन त्यसै बसेको भनि घरकै परिवारले झक्झक्याए ।’ उनका लागि उत्प्रेरणादायक स्थिति घरै भित्रबाट बन्यो । लकडाउनको एघारौं दिन सम्म अन्यौलतामा विताएका दत्त कला सिर्जनामा जुटे । सेमी एब्स्टं्रेक्ट चित्रकारका रुपमा चिनिएका उनले यस अवधिमा २२ वटा कल सिर्जना गरे । उनका सबै चित्रहरु वाटर पेन्टिीङ हुन् । उनि भन्छन् ‘आर्थिक दृष्टिकोणले पनि वाटर कलर उपयुक्त लागेकाले यस्पाली सबै पेन्टिङ बनाइयो ।’

बनाइएका चित्रकला सामाजिक सञ्जालमा पनि पोष्ट गरे । पोष्ट गरेका चित्र मनपराएर पोखरा बाट खरिद गर्ने प्रस्ताव आएपछि उनि उत्साहित भए । घोडाको एउटा तस्विर पोखराका चित्रकार यादवनाथ भुर्तेलले मन पाराए । चित्रकार भुर्तेल पोखराका प्रसिद्ध कलाकार हुन् । उनले पोखरामा आर्ट ग्यालरी सञ्चालन गर्दै आएका छन् । लकडाउनमा उनले सिर्जना गरेका २ थान चित्रकला विक्री भए । पुस्तक, स्टेशनरी व्यवसायी दत्त, स्कुलहरु बन्द भएपछि व्यवसाय चौपट भएको बेला लकडाउनले थपेको निराशा लाई कला चिन्तनले हौसला दिएको बताउँछन् । भन्छन् ‘चौबिसै घण्टा गरिने एउटै कुराको चिन्ता लाई बिसाउने विकल्पमा सिर्जनशील रुची मानिसमा हुनुपर्छ भन्ने अनुभव लकडाउनले गराएको छ ।’

धरानको चित्रकला क्षेत्रमा युवा पुस्ताका अग्रणी चित्रकार महेन्द्र राईले यसपाली मुर्तिकलाको काममा यति व्यस्त रहे की लकडाउनको अनुभवनै गर्न पाएनन् । यसबाट उनले राम्रै आय आर्जन गर्न पनि सफल भए । लकडाउनको दुई महिने अवधिमा उनले इतिहासमा नाम अंकित गर्नेै तिन वटा महत्वपूर्ण मूर्तिकलाका काम पुरा गरे । साथमा उनले लकडाउन सिरिजका तिन दर्जन वाटर कलरमा ल्याण्डस्केप समेत तयार गर्न भ्याए । उनि भन्छन् ‘लकडाउन समाप्त भएर सामान्य अवस्था बनेपछि मेरो लकडाउन सिरिजको चित्रकलाहरुको एकल प्रदर्शनी गर्ने विचारमा छु ।’ लकडाउन मासिको जीवनका लागि भयावह अनुभव हो । शुरुमा त बाँचिन्छ कि बाँचिन्न भन्ने त्राश लिएर मानिसहरु घर घरमा बन्दी बनेका थिए । इतिहासमा पछिल्ला पुस्ताले कोविडा–९ र लकडाउनलाई चासोका साथ पढ्ने उनको भनाई छ ।

महेन्द्र राई र धिरज राईले लकडाउनको बेला सिर्जना गरेको विश्वेश्वरप्रसाद कोइरालको पूर्णकदको शालिक धरान–१३ सर्दु खोला स्थित वीपी पार्कमा स्थापना गरिने छ । नेपाली राजनीति र साहित्यमा शिखर पुरुषका रुपमा प्रसिद्ध कोइरालको प्रतिमा उनिहरुले २० दिन लगाएर तयार गरेका हुन् । फाइबर सामाग्री प्रयोग गरी बनाइएको शलिक हेर्दा वीपीका तस्विरहरु अनुसार शतप्रतिशत प्रतिमुर्ति बनेको देखिन्छ । महेन्द्रले ‘प्रतिमा लाई अन्तिम रुपमा फिनिसिङ गर्न अब कलर भर्न मात्र बाँकी छ । वीपीको प्रतिमाले महेन्द्र लाई सिद्धहस्त मुर्तिकारको रुपमा पनि स्थापना गर्नेछ ।

यसअघि महेन्द्रको अर्को कृतिका रुपमा राई समुदायको सांस्कृतिक पहिचान ‘वाबु’को प्रतिक वीपी प्रतिष्ठान जाने सडकको चौकमा स्थापित भैसकेको छ । नेपाली भाषा चिण्डो भनिने लहरे बोटमा फल्ने तरकारी प्रजातीको फल छिप्पिएर कडा बाक्लो बोक्रा बनेपछि  ‘वाबु’ को रुपमा रक्सी, पानी लगायत तरल वस्तु राख्ने साधन बनाइने गरिन्छ । राई समुदायको सांस्कृतिक संस्कारमा यस्को प्रयोग अनिवार्य मानिन्छ । महेन्द्रले धरानमा मात्र नभई ओखलढुंगा पुगेर समेत यसपालीको लकडाउनमा सांस्कृतिक कलाकृति निर्माण गरेका छन् ।

ओखलढुङ स्थित राई समुदायको थर बाम्बुले समुदायको सांस्कृतिक प्रतिकका रुपमा भित्तामा गरिने एक किसिमको अर्धमुर्ती चित्रकला उनले स्थापित गरेका हुन् । रिलिप आर्टको रुपमा स्थापना गरिएको बाम्बुले मूर्तिकला सम्भवत नेपालमा पहिलो हो । बाम्बुले समुदायको पहिचान नयाँ पुस्तामा हस्तान्तन्तरण गर्न उक्त कलाको निर्माण गरिएको उनले बताए । लकडाउनको बेला कलाकारिता बाट राम्रै आम्दामी गर्ने कलाकारमा महेन्द्र राई पहिलो भएका छन् । उनि भन्छन् ‘कलाकारिता बाट हुने आम्दामीले सिर्जनशीलता लाई प्रोत्साहित गर्दछ, कलालाई बोधगम्य बनाउने गुणात्मकता लाई यस्ले बल पु¥याउँछ ।

ल्याण्डस्केप चित्रकलाका सिद्धहस्त कलाकार लेख मगर लकडाउन बेला उनले सिर्जना गरेका चित्रकला विदेशका लागि बुक भैसकेकोमा निकै उत्साहित छन् । लकडाउनले चित्रकलामा एकाग्र बन्न राम्रो अवसर दिएको उनको अनुभव छ । तर, सिर्जनशीलका कुरा एकोहोरो लागेर मात्र सिर्जना हुने कुरा होइन् । उनले भने ‘मेरो रुची नर्सरीमा पनि छ, त्यसैले केही समय नर्सरीमा वितएपछि चित्र बनाउने मुड खुल्छ अनि चित्र बनाउन थाल्छु, मेरो लकडाउन यसरी नै वित्यो ।’

उनले लकडाउनका बेला सिर्जना गरेको चित्रकलाका तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेपछि ५ वटा चित्रकला खरिद गर्नेगरी विदेश बाट बुक भएको बताए । उनका अनुसार लकडाउन कै शिर्षकमा चित्रकला नबनाए पनि सामाजिक सञ्जालमा चित्रकलाहरु लाई कलाप्रेमीहरुले निकै रुचाए । उनको रुचि स्थलगत अवलोकन गर्दै दृष्यचित्र बनाउनेमा केन्द्रित रहँदै आएको छ । लकडाउनका कारण स्थलगत रुपमा घुम्न नपाएपनि यसअघि अवलोकनमा गएका ग्रामीण क्षेत्र, प्राकृतिक स्थलहरुको ल्याण्डस्केप लाई प्राथमिकता दिएर कला सिर्जना गरिएको उनले बताए ।

तिर्थ निरौला कलाक्षेत्रमा चित्रकारको रुपमा मात्र नभई कला समीक्षकको रुपमा पनि परिचित छन् । लामो समय काठमाण्डूमा चित्रकला क्षेत्रमा कृयाशिल निरौला लकडाउनका बेला धरान घरमा कला सिर्जना र कला चिन्तनमा सकृय रहे । लकडाउनको दुई महिने अवधिमा उनले ३० वटा जति ईलस्ट्रेशनको स्केच र एक दर्जन जति चित्रकला सिर्जना गरेका छन् । यसविच लकडाउनकमा बनाएका चित्रहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय भर्चुअल कला प्रदर्शनीमा प्रर्दशन गरिएको छ । उनले भने ‘लकडाउनै बीच आफुले जानेको कला लेखकीय अभ्यास निरन्तर जारी रह्यो, दोश्रो कला निबन्ध प्रकासन गर्ने तयारी अघि बढाउन सकें ।’

घरैमा बसेर कला सम्बन्धि भर्चुअल अन्तर्वार्ता मिडियाहरु दिएर चित्रकला चिन्तन्तमा योगदान गर्ने अवसर लकडाउनले दिएको उनको अनुभव छ । लकडाउन खुलेर सबै गतिविधि सामान्य अवस्थामा आएपछि लकडाउन अवधिमा बनाएका चित्रकलाहरु ग्यालरीमा प्रदर्शनी गर्ने योजना रहेको उनले बताए । उनका अनुसार लकडाउनले कलाक्षेत्र लाई पनि प्रविधिमुखी बन्न अभिप्रेरित गरेको छ । यो नयाँ कुरा हो । उनले भने ‘कलाहरुलाई बाहिर भौतिक रुपमा अवस्थित ग्यालरीमा देखाउन नसकिने अवस्थामा अनलाईन भर्चुअल कला प्रदर्शनीहरु भएका छन्, कोरोना र लकडाउनले नेपालमा पनि भर्चुअल कला प्रदर्शनी गर्ने अभ्यास बढाएको छ, यसअघि नेपालमा यसरी नेपालमा प्रदर्शनी गर्ने चलन थिएन ।’

लकडाउनले कला गतिबिधिको क्ष्।ेत्रलाई ठप्प बनाएपछि चित्रहरु ग्यालरीमा प्रदर्शन हुन पाएनन, नियमित भैरहने कार्यशालाहरु हुन पाएनन् । कलाकारका  कलाहरु पहिलेजस्तो खरिद बिक्रि हुन सकेनन् । उनि भन्छन् ‘तथापी कला सृजनाको क्रम भने रोकिएन, यस्ले जस्तो सुकै परिस्थितिमा पनि र्सिनशीलता रोकिन्न भन्ने साबित गरेको छ ।’ तर, समय र युग अनुसार आएको प्रविधिमा प्रवेश गर्न कलाक्षेत्रले पनि जरुरी छ भन्ने अनुभव गराएको उनको भनाई छ ।

तस्विरहरुः माथिल्लो महेन्द राईको वीपी र वाबुको प्रतिमा । विचमा प्रणोद दत्तको सेमी एब्स्ट्रेक्ट ल्याण्डस्केप । तेश्रो तिर्थ निरौलाको आधुनिक चित्रकला । तल्लो लेख मगरको दृष्यचित्र । 

https://bihanitimes.com/

Leave a Reply

Your email address will not be published.