घर फर्कन चाहनेलाई मानेभन्ज्याङ गापा र हलेसी तुवाचुङ नगरपालिका फर्काउँदै

प्रदेश प्रदेश १

लिभु संवाददाता
काठमाडौं– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले घर फर्किन चाहने आफ्ना नागरिकलाई फर्काउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले जारी लकडाउनले बाहिरी जिल्लामा अड्किएर अलपत्र परेकालाई पालिकाका जनप्रतिनिधिसँग सम्पर्क गर्न दुवै पालिकाले विज्ञप्तिमा जारी गर्दै आह्वान गरेका हुन् ।


‘यस मानेभन्ज्याङ गाउँपालिका घर भई अध्ययन, औषधि उपचार, विभिन्न पेशा, व्यवसाय, रोजगार तथा अन्य विभिन्न कामको सिलसिलामा बाहिर जिल्लामा रहनु भएका मानेभन्ज्याङ गाउँपालिकावासी दिदिबहिनी तथा दाजुभाइहरु,’ घर आउन चाहने गाउँपालिकावासीहरुले सम्पर्क गर्नेबारे अध्यक्ष मोतीराज राईले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा छ, ‘तपाईहरु आ–आफ्नो घर फर्कि सुरक्षित होम क्वारेन्टाइनमा बस्न चाहनेहरुलाई घरसम्म ल्याउन नेपाल सरकारसँग आवश्यक समन्वय भइरहेको हुनाले इच्छुक गाउँपालिकावासीहरुले देहायको नम्बरमा सम्पर्क गरी आफ्नो नाम र सम्पर्क नम्बर टिपाई दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’


त्यसैगरी हलेसी तुवाचुङ नगर प्रमुख इबन राईले विज्ञप्ति जारी गर्दै जारी लकडाउनका कारण घर फिर्न नपाएका नगरवासीको समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । ‘लकडाउनका कारण यहाँहरुमा पर्न गएको असुविधाप्रति यस नगर तथा हाम्रो गम्भीर ध्यानाकर्षण भई,’ जारी विज्ञप्तिमा छ, ‘तपाईहरु आ–आफ्नो घरमा सुरक्षित होम क्वारेन्टाइनमा बस्न चाहनेहरुलाई घरसम्म ल्याउन संघीय सरकारसँग आवश्यक पहल भइरहेको हुनाले इच्छुक नगरवासीहरुले देहायको नम्बरमा आफनो नाम र सम्पर्क नम्बर टिपाई दिन हुन हार्दिक अनुरोध गर्दछौं ।’

प्रदेश नं.१ ओखलढुंगा र खोटाङ यी दुई पालिका भूगोलका हिसाबले दुधकोसी छुट्टिएर वारिपारि रहेका छन् । ओखलढुंगा हुँदै दुधकोसीको जयरामघाट पुल तरेर पारि खोटाङको हलेसी तुवाचुङ नगरपालिका टेकिन्छ ।

Leave a Reply

Your email address will not be published.