लोकविश्वासः मृत्युको ९० वर्षपछि देवी र ४६ वर्षपछि देउराली उत्पत्ति
गणेश वाम्बुले राई
देश नेपालको पूर्वी भूगोलमा पर्छ, दुधकोशी र सुनकोशी । उत्तर–पूर्वतर्फबाट बग्दै आएकी छिन्, दुधकोशी । उत्तर–दक्षिण भएर बगेकी छिन्, सुनकोशी । यी दुई कोशीको संगमलाई जोर्तीघाट भनिन्छ । राजनीतिक सीमानाका आधारमा यी दुई नदीले ओखलढुंगा, खोटाङ र उदयपुर जिल्ला रहेका छन् । यही संगम भूगोलको उत्तर–पूर्वी गाउँलाई हिलेपानी गाउँ भनेर बोलिन्छ । झण्डै दुई सय घरपरिवार सतप्रतिशन वाम्बुले राई मातृभाषा बोल्ने समुदाय रहेको हिलेपानी पुछार दुधकोशी किनार सोक्मटार गाउँ रहेको छ । सोक्मटार गाउँमा एउटा परिवार छ । यो परिवार संयोगले जुराएको भन्न मनलाग्छ । नभनौं पनि भन्नैपर्छ । भनिहालौ पनि अहमता जनाएजस्तो हुन्छ । आफ्नै परिवार वंशको बारे लेख्नै पर्ने बाध्यता आइपरेको छ ।
हिलेपानी र सोक्मटार गाउँमा रहेका वाम्बुले राई द्वा¥वाङ्चा पाटा (पाछा) वंशको कुरो छ । सुखपालको सन्तान भन्छन् । सुखपालका छ भाइ र एक बहिनी छोरी थिए । ठाइँला हर्कध्वजको एक छोरा वीरसिंह र छोरी डोलमाया (मान्झौली) जन्मिए । गर्भेटुहुरा वीरसिंहलाई ‘याकुले’ (एक्ले) भनेर समाजमा चिनिन्थे । वीरसिंह राईबारे ‘किरात वाम्बुले राई जाति र द्वाचाड्या वंशावली’ मा यसरी चर्चा गरिएको पाइन्छ–
हर्कध्वज राई (..–१९७१) हर्कध्वज : सुखपालको ठाइँला सन्तान हुन् । करिब २५–२६ वर्षको उमेरमा वि.सं. १९७१ को भदौ महिनामा एकराते व्यथाले यिनी परलोक भएका थिए । निधनको समयमा छोरी मान्झौली उर्फ डोलमाया (१९६७) काखमा काखमा र छोरा वीरसिंह (१९७१) गर्भमा थिए । यिनले जेठो दाइ निराधनकी काइँली साली बिहे गरेका थिए । यस अपूरणीय क्षति सहोदर दाजुभाइले सहोदरा विदीबहिनी ल्याइएको कारणले भएको अनुमान गरिएको थियो । किनभने सुखपालका काइँला छोरा धौलबहादुरका छोराहरू (चतुरलाल र टिकालाल)ले सहोदर दिदीबहिनी ल्याउँदा र सुखपालका कान्छा छोरा बिर्जलालकी झड्केली छोरीहरू (बखा र खपाकी आमा) लाई सहोदर दाजुभाइलाई दिंदा पनि यसरी नै असमयमा दाम्पत्य जीवनको दुःखद अन्त्य भएको थियो ।
पतिको निधनको ३–४ वर्षभित्रै श्रीमती हर्कध्वजको पनि निधन भएको थियो– अबोध छोराछोरीलाई टुहुरो पारेर । मान्झौलीको बिहे सोक्मटारको दसमान (खबरेङ पो) गुर्भासँग भएकोमा मेलमिलाप हुन नसकिरहेकै बखत दिदी राजुमा (निराधनकी छोरी) को निधन भएको र दुवै पक्षको हितलाई ध्यानमा राखेर भिनाजू जितवर्ण न्वापोसँग दोस्रो बिहे गर्ने चॉजापाँजो मिलाइएको थियो । उनीहरूको सन्तान भने हुन सकेनथ्यो । च्यास्मी (सास्कु) निवासी जितवर्ण बाइसीका दशरथका साख्खे भदा भएकोले उनी आमाजूका बूढा भए तापनि श्रीमती बीरसिंहहरूले उनलाई ‘क्वारÞ्यादाजू’ (मावली दाइ) भनेर सम्बोधन गर्दथे ।
वीरसिह राई (१९७१–२०४१): द्वा¥वाङ्चा राईमा अति आदर र सम्मानका साथ लिइने नाम हो वीरसिंह राई । यिनको जन्म आफ्ना पिताको निधनको करिब पाँच महिनापछि अर्थात् वि.सं. १९७१ को माघ महिनामा खान्द्यालमा भएको थियो । बाबुको एक्लो छोरा भएकोले वीरसिंहलाई ‘याकुले’ (एक्ले) र पछि आर्थिक रूपमा आत्मनिर्भर तथा केही बचत–लगानी गर्न सक्षम भएपछि ‘साहु’ को उपनामले पनि चिनिएका थिए । उनको सम्पूर्ण लालनपालन, शिक्षा र संस्कारजन्य कार्यहरू विशेष गरेर हजुर बा–आमा र ठूली–बडीआमा (श्रीमती निराधन) को सरक्षण र मायाममतामा भएको थियो । त्यसो त अन्य काका–बडाबा र उनका परिवारको कुनै हात थिएन भन्ने चै किमार्थ होइन । उनीहरूको पनि सहयोग, सदासयता र आशीर्वाद उत्तिकै थियो ।
‘गर्भे टुहुरो’ भतिजोले पछि गएर सिंहझैं वीर भएर सबैलाई जितोस् भनेर माइला बा बिन्द्रमानले ‘वीरसिंह’ नाम राखिदिएका थिए रे । जेठा बा र आमाको विशेष अनुकम्पाले गर्दा नै छुटिभिन्न हुनु अघिसम्म खान्द्यालको मूलघरमा जेठा बा’का छोराहरू (मेघवर्ण, भिमलाल र खड्गबहादुर) सँग बसेका थिए । वीरसिंहको पहिलो विवाह बाइसीटार (खोटाङ) निवासी दशरथ (नाक्सोचाचो) की जेठी छोरी रामेश्वरी (१९६५–२०५६) सँग र दोस्रो बिहे माइली साली महेश्वरी (१९७९–२०४६) सँग भएको थियो । अघिल्लो देव (मागी) र पछिल्लो गान्धर्व (प्रेम) विवाह थियो । जेठीपट्टि बस्ते, ममिते, मानबहादुर (२००३) र सोमबहादुर (२००६) नामका छोराहरू र चौसी (अ१९९०), हयूमाया (अ१९९८), लच्छी उर्फ च्यातु (२०१०) र साइँली तथा कान्छी (नाम थाहा नभएको) नामकी छोरीहरू जन्मेका थिए । सबभन्दा पहिलो सन्तान चौसी भएकाले उनलाई चौसीङ पो (चौसीको बाबु) भनेर पनि बोलाइन्थ्यो ।
जेठी र कान्छी छोरीको सानैमा र जेठा र माइला छोराहरू (बस्ते र ममिते) को किशोर उमेरमा निधन भएको थियो । कान्छीपट्टि भविलाल (२०१२), लघुधन (२०१५) र अविनाथ (२०१८) नामका छोराहरू र धरुमाया (अ२००२), अकुमाया (२००५) र कमली उर्फ तुमु (२००९) नामकी छोरीहरू जन्मेका थिए । यो पंक्ति लेख्तासम्म छोरातर्फ सोमबहादुर र छोरीतर्फ हयू (तप्ताकी आमा), धरु (तेलुकी आमा) र च्यातु (भिमसरीकी आमा) को असामयिक निधन भैसकेको छ । द्वा¥वाङ्चा लगायत वाम्बुले राईहरूकै एक अग्रज र उदाहरणीय व्यक्तित्व वीरसिंह राईको २०४१ मा ज्योर्तीघाट (ब्यान्दिटार) मा हृदयाघातबाट असामयिक देहावसान भएको थियो । उनको पार्थिव शरीरलाई ग्व्राक्ताल खोलाको दोभानमा अन्तिम संस्कार गरिएको थियो ।
द्वा¥वाङ्चा बुहारीद्वय रामेश्वरी र महेश्वरी (श्रीमती वीरसिंहद्वय) बाइसी निवासी नाक्सोचाचो दशरथका जेठी र माइली छोरी थिए । दशरथ डुम्रे (झाप्पा) बाट बाइसी झरेका थिए । उनका भाइ, जो लाटा थिए, भने डुम्रेमा नै बसेका थिए । (राई, अविनाथ, ‘किरात वाम्बुले राई जाति र द्वाचाड्या वंशावली’, २०६८ः८१, लेखक अविनाथ राई वीरांसह राईका कान्छा छोरो हुनुहुन्छ ।)
वीरसिंह राई र सन्तान कीर्तिमान
१) वीरसिंह राई स्वयं टोक्सेल गाउँपञ्चायतको प्रधानपञ्च
२) छोरा मानबहादुर राई थाक्ले गाउँ विकास समितिका अध्यक्ष र ओखलढुंगा जिविस सदस्य
३) छोरा लघुधन राई, राष्ट्रिय सभा सदस्य (वाम्बुले राईमा पहिलो र हालसम्म एकमात्र सांसद)
४) छोरा अविनाथ राई नेपाल सरकारको उपसचिव (वाम्बुले राईमा पहिलो)
५) नाति प्रदीकुमार राई (व्याकुल माइला) राष्ट्रगानका रचयिता
व्यक्तिगत अनुभूति
म (पंक्तिकार) काम विशेषले यही २०८१ वैशाख ११ गते ओखलढुंगाको मोली गाउँ पुगेको थिएँ । त्यस दिन त्यहाँ स्वास्थ्य शिविर चल्दै थियो । शिविरमा फस्कु गाउँको एकजना वृद्धबाजे र वृद्धबोजुलाई मैले जिउ बाःम भनेर अभिभावदनसहित वाम्बुले मातृभाषामा कुराकानी गरें । परिचयको क्रममा मैले मेरो घर सोक्मटार भनेर जानकारी गराएँ ।
बाजे– उनु आचुङ राइचि ? (तिमी कसको छोरा ?)
म– ‘उङ चौसिङपोङा चाच्वा तिङ्म ।’ (म चौसीको बाबुको नाति हुँ ।) मुखबाट फुत्त फुत्कियो ।
बाजे– ‘ए थाम भाइङा राइचि तिनुइ ?’ (ए, कुन भाइको छोरा हौ ?) सोध्नुभयो ।
म– ‘जेठिपट्टिम कान्छा सानुङा जाबा तिङ्म ।’ (जेठीपट्टिको कान्छा सानुको छोरा हुँ ।)
बाजेसँग मेरो दोस्रो भेट थियो । वाम्बुले राई भाषाकाो २१औं कविता प्रतियोगिता २०७६ सालमा फस्कु गाउँमा सम्पन्न भएको थियो । उतिखेर बाजेलगायत ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘वाम्रास ज्येष्ठ नागरिक सम्मान’ प्रदान गरेका थियौं । उक्त सम्मानको व्यवस्थापन जिम्मेवारी मैले लिएको थिएँ ।
उहाँसँग परिचय र संवादले मेरा बाजे वीरसिंह राईसँगै उहाँकी जेठी छोरी अज्ञात ‘चौसी’को नाम पुनःस्मरण भयो । जबकि हाम्रा बाजे–बोजुका परिवारमा जीवित सन्तानहरू कसैले पनि चौसीलाई देखेकै थिएनन् । चौसीको जन्म विसं.१९९० सालमा भएको थियो भन्नेसम्म रेकर्ड छ । तर समाजले जेठी सन्तानलाई लिएर वीरसिंह राईलाई ‘चौसिङ पो’ (चौसीकी बाबु) र रामेश्वरी राईलाई ‘चौसिङ ब्ओमो’ (चौसीकी आमा) भनेर अहिलेसम्म चिन्ने र चिनाउने गरिन्छ । गर्छौं । आमा–बाबुको जेठो सन्तान हुनुको कारण चौसीलाई नदेखे, नभेटे पनि समाजमा अहिले पनि त्यो नाम पुकारिन्छ । त्यो नामबाट वीरसिंह राईका हामी सन्तानले पुकारेर परिचय दिने गरेका छौं ।
नाम काड्नु हुन्न
वाम्बुले राई समुदायमा एक दम्पतीको पहिलो सन्तान छोरा होस् या छोरी उसैको नामबाट फलनाको बाबु, फलनीकी आमा भनेर बालाउने चलन छ । कुनै पनि व्यक्ति वा दम्पतीको नाम जथाभावी काडिदैन । अथवा आफूभन्दा जेठोले साइनो र उमेरका हिसाबले आफूभन्दा कान्छो भएमा नाम काड्न सक्छ तर आफूभन्दा कान्छोले आफूभन्दा जेठोको नाम काड्नु (बोलाउनु) हुँदैन । त्यसरी नाम काडेमा हेपेको भनेर गाली गरिन्छ । सरकारी दस्तावेज, नागरिकताको प्रमाणपत्र लिने चलन आएपछिमात्र बिस्तारै एकले अर्को व्यक्तिको वास्तविक नाम जान्न चलन बढेको हो । समाजमा एक व्यक्तिको वास्तविक नाम एउटा र बोलाउने नाम अर्को राखेर बोलाउने चलन थियो । जस्तो, वीरसिंह राईको बोलाउने नाम ‘याकुले’ थियो । वीरसिंह भनेर नामै काडेर बोलाउने काम उनको बाबु पुस्ताले मात्र गर्थे । अरु व्यक्तिले वीरसिंह राईलाई साइनोअनुसार दाजु, भाइ, पापजेठा (जेठाबा), क्वारो (मामा), उपो (बाजे) जस्ता साइनोले बोलाउँथे ।
अर्को, परिवारमा जन्मिएको क्रमानुसार छोरा भए जेठा, माइला, साइँला, काइँला, ठाइँला, अन्तरे, जन्तरे (झन्त्रे), मन्तरे, लखन्तरे, कान्छा भनेर बोलाउने गरिन्छ । त्यसनिम्ति घरसारअनुसार डिलघरे जेठा, पुछारघरे माइला, सिरानटोले साइँला, मन्धरेली काइँला, बरबोटे ठाइँला, चुवापुम्ले अन्तरे, बाइसिले जन्तरे, गैराली कान्छा आदि । यसैगरी छोरी भए जेठी, माइली, साइँला, काइँली, ठाइँली, अन्तरी, जन्तरी, मन्तरी, कान्छी भनेर चिन्ने गरिन्छ ।
त्यसैगरी समुदायमा तन्नेरी र तरुनी आपसमा बाबुआमाले राखिदिएको वास्ताविक नामबाट बोलाउने गरिदैन । एक–अर्कोमा तन्नेरी–तरुनी उपनाम राखिदिने चलन थियो । त्यही नामबाट बोलाउने गर्दथे । जस्तो, केटा भएमा छेउपरे, निरपरे, सलकपरे, जमपरे, चुङपरे, हितपरे आदि । केटी भएमा सलपरी, रामपरी, जमपरी, पूmलपरी, सोङपरी, मजमपरी, ल्वाङपरी आदि । आपसमा उमेर समवय भएपछि साइनोभन्दा पनि तन्नेरी उपनामबाट बोलाउने चलन थियो । सायद अहिले पनि त्यो चलन छ । तर, नाम राख्ने चलनमा तलमाथि भएको छ ।
चौसी देवी र श्याम देउराली उत्पत्ति
हामी एकै वंशभित्र बडाबा लिलाबहादुर राई र बडीमा थामसरी राईको चार छोरा र दुइ छोरी जन्मिएका थिए । तीमध्ये जेठी लक्ष्मी २०२३ सालमा जन्मेकी थिइन् । उनको चार वर्षको उमेरमा निधन भएको थियो । कुरो २०७५ सालतिरको हो । लिलाबहादुर राई परिवार तथा साँस्पुगाउँमा विवाह भई घरजम गरेकी कान्छी छोरी एस्पीरत्नले विशेष चासो लिएर पलहकदमी बढाइन् । मानेभन्ज्याङ–५ साँस्पुगाउँ निवासी धामी दुर्गाबहादुर राईले लक्ष्मीदेवी थापना गराउने काम भयो । सोक्मटारस्थित घरमा विधिपूर्वक चिन्ता राखेर देवीथान स्थापना गर्ने प्रक्रिया सुरुभयो । तान्त्रिक विधिहरू पु¥याएर चिन्ता बसिरहँदा धामीले लक्ष्मीरत्नलाई देवीका रूपमा उतार्दै गर्दा अर्को एकजना कन्या पनि देवी उत्रिन चाहेको बक्नु भयो ।
यो गाउँको कुनै परिवारमा कुनै एक छोरीको सानैमा निधन भएको रहेछ । उसको नाम चौसी रहेछ । देवी उत्रिन चाहेको छ । रुँदै बिलौना गर्दैछ । यसअघि बगरभन्दा माथि फरिनको रुपमा बसेकी थिइछन् । सेतो चराका रूपमा बस्ने गर्थिन् । फरिन काटेपछि त्योभन्दा माथि पिपलमा सरेर बसेकी थिइछन् । पिपल पनि काटेर बस्तुभाउलाई खुवाउन थालेछन् । त्यसपछि बसोबास गर्ने ठाउँ पाइनन् । त्यसपछि सिमलको टुप्पोमा बस्दै गरेकी छिन् । उनले देवीको रूपमा उत्रिएर मानमनितो पाएर थानमा बस्न चाहेकी छिन् भनेर धामीको शरीरमा उत्रिएछन् । त्यो कुरो लिलाबहादुर–थामसरी राई परिवार, चिन्ताको बेला उपस्थित गाउँघरका दाजुभाइले चालपाउनु भयो । वीरसिंह राईको जेठी छोरी हुन् भनेर चिन्नुजान्नु भयो ।
त्यो कुरा हामी वीरसिंह राईको सिंगो परिवारले जानकारी पायौं । त्यसको केही समयपछि सोमबहादुर–सीतारत्नका कान्छा छोरा हाम्रो भाइ देवकुमार राई अचानक विरामी भएर २०७९ चैत २४ गते ओखलढुंगाबाट ललितपुरको पाटन अस्पतालमा भर्ना ग¥यौं । तत्काल शल्यक्रिया गर्नुपर्छ भन्ने डाक्टरको निष्कर्षअनुसार त्यसै रात अपरेसन भयो । ठूलो आन्द्रामा पलाएको ट्युमर फुटेर ध्वस्त भएछ । तत्काल अपरेसन सफल भयो । भाइ देवकुमार अस्पतालमा सत्र दिन बस्नु प¥यो । त्यो बसाइमा भाइले सपनामा अनेकन घटनाहरू देखे । उनले जेठी फुपू चौसीसँग संवाद गरेको कुरा सुनाए ।
सपनामा जेठी फुपू चौसीलाई देखें । फुपूले आफूलाई परिवारको अपहेलनामा परेको गुनासो गर्नुभयो । फुपूले आफू अलहविलह भएको बताउनु भयो । आफू देवीका रूपमा उत्रिनका निम्ति पहिले ब्आलेमो घरदेखि तल दुधकोशी किनारमा रहेको फरिनको रुखमा बास लिनु भएको थियो । तर फरिन काटेपछि त्योभन्दा केही माथि हाम्रो बारीमा उम्रिएको पिपलको रुखमा सर्नुभयो । हुर्केको पिपल हामीले घाँसका रूपमा काटिदियौ । त्यसपछि उहाँ रिसाउनु भयो । त्यसपछि सबैलाई पिरोल्नु थाल्नु भयो । फुपूले मेरो एउटा भाइ पनि छ भन्नुभएको छ । पिपल काटेपछि हामी दुईले धेरै दुःख पायौं । तिमीहरूले वास्ता गरेनौ । तिमीहरूले अब भाइलाई पनि थान लगाउनु पर्छ भन्नुभएको छ ।
अस्पतालको शैयामा पल्टिरहेको अवस्थामा देवकुमार भाइले भनेका थिए– फुपूले मलाई देवीथान बनाएर राख । मेरो भाइलाई पनि देउराली बनाइ देऊ । नत्र म परिवारमा अनिष्ट गर्छु भन्नुभएको छ । मैले चित्त नदुखाउनु, हामी तपाईंले भनेअनुसार गछौंं । पाँचसय दस रुपैयाँ पैसा भेटी दिन्छु भनेको छु । त्यसपछि मैले देवी भएर बस्नको लागि सबै ठाउँ देखाएँ । जुठा भएको ठाउँमा बस्दिन भन्नुभयो । अन्तमा घर नजिकैको बरको रुख देखाएर मान्नु भएको छ ।
त्यो कुरा कान्छा भाइ देवकुमारले कान्छी बुहारीलाई सुनाए । भाइले मलगायत अस्पतालमा उपस्थित परिवारका सदस्यलाई सुनाएका थिए । अन्ततः हामीले भाइको स्वास्थ्य लाभको कामनासहित २०८० जेठ १६ गते धामी दुर्गाबहादुर राईलाई अनुरोध गरी देवी स्थापनाको चिन्ता राख्ने काम भयो । (तर परिस्थितिवस त्यो पहिलो पटकको धामीचिन्तामा म पंक्तिकार उपस्थित हुन सकिनँ ।) धामीले चौसीलाई देवी र उनका साथमा अर्को बालक पनि देउराली उत्रिएको जानकारी गराउनु भयो ।
हाम्रो सिंगो घरपरिवारले देवी र देउराली थान स्थापना गर्ने निचोडमा पुग्यो । र मानेभन्ज्याङ–६ सोक्मटार ब्आलेमोस्थित घरको केही माथि रहेको वरको रुखमा देवीथान र देउराली थान राख्ने निधो भयो । त्यसैअनुसार सामान्य विधि पु¥याएर थानको स्थापना गरियो । वर्ष दिनभित्र देवीथानलाई पूर्णरूप दिने वाचा गरियो । दुर्भाग्यवस क्यान्सर रोगको तेस्रो स्टेजमा पुगिसकेको अवस्था रहेकाले जति उपचार गराउँदा पनि भाइ देवकुमार राईलाई बचाउन सकेनौ । २०८० भदौ १० गते भाइको निधन भयो । हामी शोकमा डुब्यौं । भाइ बितेर गएपनि भाइको सपनाअनुसार चौसीदेवी थानलाई पूर्णता दिने र देउराली थान बनाउनेमा हामी जुट्यौं । तर देउरालीचाहिं को हुन् भन्नेबारे यकिन भएको थिएन ।
आसौच बार्दै गरेको अवस्थामा हामीले २०८१ वैशाख ८ गते साँझ उनै धामी दुर्गाबहादुर राईलाई निम्तो गरी चिन्ता बसायौं । चिन्ता बस्दा चौसी देवीको मानमनितो गर्ने पक्का भयो । पूर्वतयारी (घण्ट, त्रिशूललगायत सामग्री) परिवारका नाति–बुहारी पुस्ताले जुटाएका थियौं । अनि देउरालीचाहिं को हुन् ? भन्नेबारे खोजिनिधो भयो । सोमबहादुर–सीतारत्न दम्पतीको साइँला छोरा श्यामकुमार राई (जन्म विसं.२०३४ साल–निधन २०४१ साल) रहेको पत्तालाग्यो । यकिन भएपछि थप सामग्री जुटायौं । र वैशाख ९ गते हामीले देवीका रूपमा चौसिदेवी र देउरालीका रूपमा श्यामदेउराली स्थापना गरे/गराएका छौं ।
यो काममा वीरसिंह राईको पाँच भाइ छोरा (जसमा जेठी श्रीमती रामेश्वरीपट्टि छोरा मानबहादुर (स्व.) र सोमबहादुर (स्व.) परिवार कान्छी श्रीमती महेश्वरीपट्टिका भविलाल, लघुधन (स्व.) र अविनाथ राई) जुटेका छौं । मानबहादुरका छोराहरू नरेशकुमार, प्रदीकुमार र दिलिपकुमार परिवार छन् । सोमबहादुरका छोराहरू गणेशकुमार, रजनजंग र स्व.देवकुमार परिवार छौं । भविलालका छोराहरू दिनेशकुमार र हरिकुमार परिवार छन् । लघुधनका छोराहरू सन्जय र इज्जत तथा अविनाथका छोरी अनुपा र छोरा आश्रय रहेका छन् । विवाह भइसकेका छोरीहरूले आफ्नो गच्छेअनुसार सहभागिता जनाएका छन् ।
देवीथान निर्माण, चिन्तादेखि पूजाआजा कार्यमा आमा सीतारत्न, पापजेठा भविलाल–मामजेठी संसरी राईको सक्रिय संलग्नता रहेको थियो । वीरसिंहका हामी नातिपुस्तामा नरेश–केशरमाया दम्पती, गणेश, दिलिप–लालसरी दम्पती, रजनजंग, हरिकुमार–अर्चना दम्पती, धुम्रिमाया (स्व.देवकुमार) उपस्थित रह्यौं भने नातिनीमध्ये लिना सहभागी थिइन् । पनातिहरूमा किरण, हिमांशु, सिलाखा खटिएका थिए । देवीथान निर्माणमा फर्सबहादुर राई, पन्चराज–शिवकुमारी राई दम्पती, पूर्णराज राई, जीवन राई, योकेश राईलगायत जुटेका थियौं । चिन्तामा धामी दुर्गाबहादुर राई र ढोलेमा बलबहादुर राई हुनुहुन्थ्यो भने ढोले सघाउन दिपिल राई खटिनु भएको थियो । उपस्थितिमा सीतारत्न, भविलाल, संसरी, केशरमाया, गणेश, रजनजंग, धुम्रिमाया, गमीरत्न, अमृतमाया, डप्ताबहादुर–कंशमाया, फर्स–कुण्डिमाया, लालुमाया, लिना, हिमांशु, सिलाखा, जीवन, योकेशको उपस्थिति रहेको थियो ।
धामीको मतअनुसार देवी र देउरालीलाई एउटै स्थानमा राख्न मिल्ने रहेछ । ग्रामीण सडकको माथि रहेको एउटै लहरेवरको जरा वरिपरि चौसिदेवी र श्यामदेउरालीलाई थान बनाएर राखिएको छ । थानमा जोकोही मान्छे, गाईवस्तु, बाख्रालगायत जनावर छिर्न तथा जुठो हुन नदिन फलामे तारबार गरिएको छ । छिर्ने ढोका राखिएको छ । वर्षमा दुईचोटि ठूलो एकादशी र चैतेदसै पूर्णिमा पन्चोकमा फूलफलाहार चढाएर पूजाआजा गर्ने धामीबाट निर्देश भएको छ ।
(यो लेख इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ११ अंक १, पूर्णाङ्क २४ (लिब्जुभुम्जुको ९७औं शृंखला), २०८१ वैशाख–असार (किरात येले संवत् ३८०३÷सन् २०२४)मा प्रकाशित छ ।)