किरात वाम्बुले राई समाजको मुन्धुम संस्कृतिसँग सम्बन्धित नाटक ‘थिरी–थिरी’ (भिडियोसहित)

कला साहित्य -संस्कृति

समाज : किरात वाम्बुले राई समाजको मुन्धुम संस्कृतिसँग सम्बन्धित नाटक ‘थिरी–थिरी’
कुम्भराज राई

नाटक ‘थिरी–थिरी’को दृश्य

‘अँ नि म, बिजोरी ढुकुर जस्तै, जल शिकारी, थल शिकारी, वन शिकारी, घर शिकारीबाट भाग्दै भाग्दै, लुक्दै लुक्दै, यहाँसम्म आइपुगेको छु ।…’ नेपथ्यबाट कविता गुन्जिन्छ । मधुरो प्रकाशमा भरतमान विस्तारै अघि बढ्छन् ।

दाहिने हातको चोर औ“ला र माझी औंलाको बीचमा एउटा लठ्ठी उभ्याउँदै अघि बढ्छन् । उनलाई चारैतिरबाट धागोको जालोले बेरिएको हुन्छ । ती धागोबाट अन्य पात्रले भरतमानलाई तानिरहेको दृश्य देखिन्छ ।

‘थिरी–थिरी’ नाटकको सुरु यही दृश्यबाट हुन्छ । यलम्बर थिएटरको मञ्चन गरिरहेको नाटक हो– ‘थिरी–थिरी’ । ओखलढुंगाको मानेभन्ज्याङ गाउ“पालिकामा २०७७ मंसिर ३० र पुस १ गते हिलेपानी भन्ज्याङमा र त्यसपछि पुस ४ र ५ गते मानेभन्ज्याङ माथिल्लो टुँडिखेलमा मञ्चन भएको छ ।

नाटक ‘थिरी–थिरी’को दृश्य

नाटकको मूलपात्र हुन् भरतमान । एक घण्टा १० मिनेटको नाटक भरतमानकै कथामा केन्द्रित छ । सुरुमै भरतमानको श्रीमतीको मृत्यु हुन्छ । उनको मृत शव संस्कार्ने विषयमा दुई छोराहरूबीच विवाद हुन्छ । दुवै छोरा बुहारीले फरक–फरक धर्म अँगालेका हुन्छन् । भरतमानले पुरानै मुन्दुमी संस्कारमा श्रीमतीको अन्त्येष्टि गर्छन् ।

चरम गरिबीका कारण भरतमानले श्रीमतीको काजकिरिया गर्न सक्दैनन् । श्रीमतीको आत्माले गाउँलेलाई दुःख दिन्छ । गाउँलेले भरतमानलाई श्रीमतीको काजकिरिया नगरे चिहान खनेर जलाई दिने धम्की दिन्छन् । दुवै छोरालाई आमाको किरिया गर्न अनुरोध गर्छन् । तर छोराहरूले नयाँ धर्मअनुसार भए गर्ने नत्र नगर्ने शर्त राख्छन् ।

अन्त्यमा श्रीमतीको काजकिरिया नगरी भरतमानको पनि मृत्यु हुन्छ । छोराहरूले अन्तिमसम्म धर्मकै कारण बुवाको शव छुन मान्दैनन् । गाउँलेले छुन दिंदैनन् । विद्रोहको भावमा समाजको कुरा नसुनी छोरीहरूले बुवाको लासलाई उठाउँछन् । छोराहरू बुहारीको सामु निरिह देखाइएको छ । नाटकको कथासार यत्ति हो । नाटकभित्र सुखान्त र दुखान्त दुवै किसिमका दृश्यले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ ।

नाटक ‘थिरी–थिरी’को दृश्य

किरात समुदायमा पर्ने वाम्बुले राईको खाउमो सिली देखाइएको छ । तीन चुल्होको पूजा गर्ने मुन्दुमी परम्परा र धामी राख्ने चलनलाई जिवन्त रूपमा प्रस्तुत गरिएको छ । भरतमान बिरामी भएर धामी राख्ने क्रममा उनकी श्रीमतीको आत्मासँग गरिएको संवाद निकै कारुणिक र मन छुने छ ।

धामीमा उनको श्रीमतीको आत्मा उत्रिएपछि बोल्न थाल्छन् । भरतमानलाई ‘वैंसको बेला गाएको गीत गाइदेऊ न’ भन्ने अनुरोध श्रीमतीको आत्माले गर्छिन् । त्यसपछि भरतमानले आँखाबाट आँशु झार्दै वैंसमा श्रीमतीसँग गाएको गीत सुनाउँदा दर्शकहरू स्तब्ध हुन बाध्य हुन्छन् ।

नाटक ‘थिरी–थिरी’को दृश्य

श्रीमतीको किरिया गर्न नसकेपछि भरतमानले चिहानमा गएर श्रीमतीसँग गरेको संवाद पनि मन छुने छ । सुरुमा ठट्यौलीबाट शुरु हुने संवादको अन्त्यमा रुँदै भरतमानले आफ्नो वह पोख्छन् । भरतमानलाई अत्यन्तै माया गर्ने उनकी नातिनीको भूमिका पनि दर्शकले नबिर्सिने किसिमको छ ।

भरतमानको भूमिकामा मोहन राईले सशक्त अभिनय गरेका छन् । धामीको भूमिका अनिल सुब्बाले गरेका छन् । उटपट्याङ युवाको भूमिकामा खोटाङका सन्जिव राईको अभिनयले न्याय दिएको छ ।

नाटकको अन्त्यमा सुरुवातकै दृश्य दोहो¥याइएको छ । भरतमानलाई जालोमा पारेर तान्ने पात्रहरू जल शिकारी, थल शिकारी, घर शिकारी भएको सांकेतिक बिम्ब हो । आफूले जन्माएको र थिरी–थिरी गर्दै हिंड्न सिकाएका छोराहरूले बुढेसकालमा धर्मलाई कारण देखाएर वेवास्ता गरेको देखाइएको छ ।

‘यसमा मैले थिरी–थिरी चाहिं जीवनलाई ब्यालेन्स गर्ने संकेतको रूपमा प्रयोग गरेको हुँ,’ नाटकका लेखक तथा निर्देशक कविराज राईले भने, ‘मूल सन्देश चाहिं किराती संस्कृति, धर्ममाथि पछिल्लो समय विभिन्न नयाँ धर्मको नाममा भएका प्रहार र बुढेसकालमा बुवाआमालाई नहेर्ने छोराछोरीका विरुद्ध व्यंग्य गर्न खोजेको हुँ ।’

मानेभन्ज्याङ गाउँपालिका ५ का वडाअध्यक्ष रामकुमार राईले कलाको माध्यमबाट युवाहरूले प्रस्तुत गरेको नाटक निकै राम्रो भएको प्रतिक्रिया दिए । किराती संस्कारलाई विभिन्न माध्यमबाट राष्ट्रिय मञ्चहरूमा देखिएको भएपनि वाम्बुले समुदायको संस्कृतिलाई नजिकबाट देखाउन यो नाटक सफल भएको उनले बताए । यसलाई बुझ्ने वर्गका दर्शकहरू सामु पु¥याउन सके नाटकको उद्देश्य प्राप्ति हुने उनले बताए ।

वाम्बुले राई शिक्षक समाज, नेपाल (वाराशिस)का महासचिव दीपक राईले २०७७ पुस ५ गते आफ्नो फेसबुक वालमा ‘हिजो हेरेको नाटक ’थिरी–थिरी’ प्रति दुई शब्द’ भनेर लेखेका छन् । ‘लगभग एक घण्टाभित्र सकिने नाटकमा हाम्रो समाजभित्र लर्बराइरहेका थुप्रै विषयहरूलाई कलात्मक ढंगले समेटिएका छन् । नाटक एक मनोरञ्जनात्मक विधा हो । मनोरञ्जनसँगै दिइने शिक्षा विशेष हुन्छ, जुन थिरि थिरिबाट दिन निर्देशक चुकेका छैनन् । उठ्न खोजिरहेको हाम्रो समाज कुनै न कुनै प्रकारले चुकेको हुन्छ, जुन चुकाइको चपेटामा परिवार, समाजका कोही न कोही अबोध व्यक्ति चेपिरहेका हुन सक्छन् । जुन चेपाइ कसैलाई सामान्य लाग्न सक्छ तर उक्त चेपाइको पीडा निक्कै चोटिलो हुन सक्छ । जुन कुरा नाटकमा हेर्न पाइन्छ ।
स्थानीय भाइबहिनीहरूको अभिनय खास छ । खासभित्र बाजे र नातिनी विशेष लाग्छ मलाई । मलाई काइदा लागेका केही अंश– नाटकको सुरुवात र अन्त ।… सानो छ खेत, सानो छ बारी ..। आमा छोरीको सम्वाद । धामी चिन्ता राख्ने बेलाको मानव सृष्टिको कथा (मुन्धुम) फलाकाई अर्गानिक लाग्यौ । …. अरु थुप्रै छन् । गाँउका भाइबहिनीहरूलाई यत्तिका बनाउनुमा कबिराज भाइ हुनुहुन्छ । धन्यवाद छ भाइ कबि र टिमलाई ।’

नाटकमा पात्र संख्या अलि धेरै भएको महसुस हुन्छ । प्रकाश र ध्वनिको संयोजन राम्रै छ । ‘थिरी–थिरी’ नाटकमा १५ जना स्थानीय कलाकार सहभागी थिए । मोहन राई, धनु राई, विजय राई, ओकिली राई, नरेन्द्र राई, तीर्थमाया राई, अनिता राई, सजन राई, अर्मिला राई, किसन राई, संजिव राई, नमिला राई, करिना राई, निलेश राई, संजिल राई, अनिल सुब्बा, कबिराज राई थिए । अँध्यारो गाउँमा जेनेरेटर बालेर उज्यालो मञ्चमाथि आफ्नो कला गाउँले माझ प्रस्तुत गरेका थिए । वाम्बुले राई भाषा र लवज तथा लोकलय पस्केका थिए । लाइट र ध्वनिमा मदन राई, संगीत अपरेटर प्रेरणा राई, कार्यक्रम व्यवस्थापन जुद्ध राईको भूमिका रहेको थियो ।

मानेभन्ज्याङ गाउँपालिकाको आर्थिक सहयोगमा मञ्चन गरिएको नाटकलाई राष्ट्रिय स्तरका मञ्चमा मञ्चन गर्ने तयारी यलम्बर थिएटरको छ । नाट्यक्षेत्रमा संघर्षरत कबिराज राईले ‘महाभोज’, ‘जोखाना’ लगायतका थुप्रै नाटकमा अभिनय गरिसकेका छन् । यलम्बर थियटरले यसअघि हिलेपानी भञ्ज्याङ डबलीमै प्रसिद्ध कथाकार इन्द्रबहादुर राईको कथा ‘जार’लाई नाटकमा रुपान्तरण गरी २०७५ सालमा प्रदर्शन गरेको थियो । त्यसैगरी २०७६ सालमा देशमा चलेको सशस्त्र द्वन्द्वको पीडा समेटिएको ‘कालोजोगी’ नाटक कबिराज राईकै लेखन तथा निर्देशनमा प्रदर्शन भएको थियो ।

फोटो क्याप्सनः
यलम्बर थिएटरले ओखलढुंगाको मानेभन्ज्याङमा मञ्चन गरिरहेको नाटक ‘थिरी–थिरी’को दृश्य । तस्बिरः कुम्भराज राई

भिडियो– जुद्ध राई, यलम्बर थिएटर

भिडियो हेर्न तल क्लिक गर्नुहोस् अथवा कपी गरेर युटुब हेर्न सक्नु हुनेछ ।

https://www.youtube.com/watch?v=72KuJ03tfoQ

(इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ७ अंक १०, पूर्णाङ्क ८३, २०७७ कात्तिक–पुस (किरात येले संवत् ३७९९÷सन् २०२०)मा प्रकाशित नाटक यहाँ प्रकाशित गरिएको हो । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *