गणेश राई, हिलेपानी (ओखलढुंगा)
एउटै सहारा मुटुको टुक्रा, बैरीले उठायो मेरो बाबा बैरीले उठायो
रमेर खाने हाँसेर जिउने, आश हाम्रो टुटायो बाबा आश हाम्रो टुटायो
झलझली याद मनैमा आउँछ, आँखैमा मुहार मेरो बाबा आँखैमा मुहार
लाउन र खान चाहिंदैन बरु, देख्न पाऊँ न छोरा मेरो बाबा देख्न पाऊँ ससुरा
मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानी भन्ज्याङ मध्यपहाडी लोकमार्गको एक बिन्दु अर्थात् चौरस्ता हो । सिद्धिचरण मार्ग र पुष्पलाल मार्गको संगम स्थल हो । यही बिन्दुबाट पूर्वतर्फ लागे भारतीय सीमा पाँचथरको च्याङथापु र उत्तर लागे सर्वोच्च शिखर सगरमाथा पुगिन्छ । यही हिलेपानी भन्ज्याङमा सानो डबली छ, जहाँ वर्षेनी युवाहरू नाटक प्रदर्शन गर्छन् । यसपालि कात्तिक ३ गतेबाट लगातार तीन दिन प्रदर्शन गरे– नाटक ‘कालो जोगी ।’
मूलत: यस नाटकको कथावस्तुले देशमा चलेको तत्कालीन सशस्त्र राजनीतिक द्वन्द्व र त्यसबाट उब्जिएको सामाजिक विचलन कथा बोकेको छ । द्वन्द्वले सिंगो समाजलाई प्रभावित तुल्यायौ नै । युवा जमातकै सहभागितामा चलेको सशस्त्र द्वन्द्वले युवा पुस्तालाई सबैभन्दा बढी हानि गरेको यथार्थ कहेको छ ।
‘कालो जोगी’ एक पात्र हो, जो जोगीको भेषमा गाउँका घर–घरै रातबिरात डुल्दै फेरी लगाउँदै हिंड्छ । कुन गाउँ कस्ता र घरमा कति युवा छन् । कसले राज्यव्यवस्थाप्रति कस्ता धारणा राख्छन् । सबै सबै पक्ष, विपक्षको सुराकी गर्छ । उसको आफ्नो राजनीतिक क्याम्पमा सुराकीको बरबुझारथ गर्छ ।
राजनीतिक द्वन्द्वले देशलाई थिलथिलो तुल्यायो नै । त्यसकै आडमा गाउँघरमा गुण्डागर्दी बढ्छ । चिनेजानेकै व्यक्तिले लुटपाट गर्छ । अर्काको ज्यान लिन्छ । युवा बेरोजगारी उस्तै छ । वैदेशिक रोजगारीमा जानु परेको परिस्थिति ज्यूँकात्युँ छ । आज देशमा राजनीतिक परिवर्तन भइसकेको छ । तर जनसमुदायमाझ मुक्तिको कामना उस्तै छ । बेपत्ता पारिएका परिवारले आफ्नो आफन्तजनको सास कि लास चाहियो भन्दै न्यायको पर्खाइमा छन् । त्यही पीडा कलाकारले यसरी पोखे ।
अँध्यारोभित्र निसासियौं हामी
थुनियो सास हाम्रो मेरो राजा थुनियो सास हाम्रो
शोषण गरी दमनमा पारी पुरियो लास हाम्रो
मेरो राजा पुरियो लास हाम्रो
जनताकै पसिना जनताकै रगत
भाँडोमा मुछियो मेरो राजा भाँडोमा मुछियो
नहेप साथी नदबाऊ माली
हामी नि नेपाली मेरो राजा हामी नि नेपाली
यलम्बर थियटरको प्रस्तुत रहेको ‘कालो जोगी’ नाटकमा १५ जना स्थानीय कलाकार सहभागी थिए । किशोर राई, अर्मिला राई, नरेन्द्र राई, प्रेरणा राई, मोहन राई, कपिल राई, अनिषा राई, हिमाल राई, सबिन राई, विजय राई, अरुण राई, करिना राई, मिलन राई, किसन राई र निलेश राई थिए ।
अँध्यारो गाउँमा जेनेरेटर बालेर उज्यालो मञ्चमाथि आफ्नो कला गाउँले माझ प्रस्तुत गरेका थिए । वाम्बुले राई भाषा र लवज तथा लोकलय पस्केका थिए । अबिनसरा र नरेन्द्रको गीत संकलन, ध्वनिमा मदन र पर्दामा प्रशान्त तथा प्रकाश व्यवस्थापनमा विधान र गोपाल राईको भूमिका रहेको थियो ।
‘कालो जोगी’ नाटक कबिराज राईको लेखन तथा निर्देशन रहेको थियो । कबिराज उदियमान कलाकार हुन् । उनले मण्डला थेटरमा चलेका ‘क्लब सेभेन’, ‘जालिनी’, ‘जोखना’, ‘महाभोज’ नाटकमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । उनकै निर्देशनमा गत वर्ष इन्द्रबहादुर राईको कथा ‘जार’लाई नाटकमा रुपान्तरण गरी हिलेपानी भन्ज्याङमै प्रदर्शन गरेका थिए ।
हिलेपानी गाउँ राष्ट्रगानका रचयिता व्याकुल माइलाको जन्मथलो हो । उनै माइलाको आतिथ्यमा नाटक प्रदर्शन गरिएको थियो । ‘गाउँको समसामयिक र द्वन्द्वकालीन विषय, घटना जोडिएको छ,’ सडक सञ्जालमा गाउँ जोडिएसँगै संक्रमणबाट गुज्रिरहेको समाज चुनौती समेटिएको उल्लेख गर्दै माइलाले भने, ‘समग्र देशको राजनीतिक परिदृश्य समेटिएको नाटक गाउँमा पस्किन लेखक, निर्देशक र कलाकार सफल भएको पाएँ । कला कौशलतामात्र नभएर साहस हिम्मतको काम हो भन्ने मलाई लागेको छ ।’
गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष रामकुमार राईले नाटकले जनचेतनामात्र नभई देशको इतिहाससमेत उजागर गरेको बताए । ‘देशभरि अनि यही गाउँमा समेत घटेका घटना र युवा पुस्तामा परेको प्रभावबारे नाटकमा हेर्दा आक्रोश र भावुकता एकसाथ प्रकट गर्नु परेको महसुस गरें,’ जनचेतनाको माध्यममध्ये नाटक पनि भएको उल्लेख गर्दै उनले भने, ‘भविष्यबारे अलि प्रस्ट पार्न सकेन कि जस्तो लाग्यो ।’
दर्शकदीर्घामा रहेका पीडित परिवार र आफन्तहरूको आँखा रसाइरहेको थियो । द्वन्द्वकालमा एक सैनिकबाट लुटपाट हुँदा आफ्ना बुवाले ज्यान गुमाउनु परेको घटना सम्झिदै हुकुम राईले नाटक समसामयिक र यथार्थसँग मिलेको सुनाए ।