कवि गगन राईको कविता : आमा

कला साहित्य -संस्कृति

आमा

गगन राई

 

आमा !
आज भोलि तिमी हाँसेको देख्दा
म भावुक भएको छु
अनि तिमी रमाएको देख्दा
मेरा यी आँखा दिग्भ्रमित भएका छन्
किनकि मैले त सोचेको थिएँ
तिमी रुनका लागिमात्र जन्मिएकी हौ
दुःख र पीरको महासागरमा
पौडिनको लागिमात्र यो धर्तीमा आएकी हौ ।

म तिम्रो सुपुत्र
मैले तिमीलाई चिनेदेखि
मैले तिमीलाई बुझेदेखि
अनि मैले तिमीलाई जानेदेखि
हिजो अस्तिसम्म पनि रोइरहेकी थियौ
आँसुका बलेसीहरूमा
आफ्ना पीर र व्यथाहरू बगाइरहेकी थियौ
तर आमा !
आज भोलि तिमीले गाएको देख्दा
मेरो मन कस्तो कस्तो भएको छ
अनि तिमीले नाचेको देख्दा
म आश्चर्यचकित भएको छु
किनकि
मैले त सोचेको थिएँ
तिमी रुनका लागिमात्र जन्मिएकी हौ
अभाव र समस्याको भुमरीसँग
कुस्ती खेल्नको लागिमात्र यो धर्तीमा आएकी हौ ।

आमा !
म सम्झिरहेछु
त्यो पुष माघको ठन्डीभन्दा अभावले तिमीलाई सेकाएको
त्यो चैत्रको खडेरीले भन्दा समस्याले तिमीलाई रुखाएको
ऋनि त्यो साउनको झरीले भन्दा पीरले तिमीलाई रुझाएको
ऋनि मेरो सुन्दर भविष्यको खातिर
तिमीले भोकभोकै त्यो लेक र बेँसी धाएको
लिएको ऋण र सापटी तिर्न नसकेर
कयौँ ती साहु महाजनको गाली खाएको
अनि अकल्पनीय दुःख तिमीले पाउनु पाएको
अहँ, चाहेर पनि म ती तिम्रा भोगाइहरू भुल्न सक्दिन ।

पानी परेपछि आकाश खुलेजस्तै
रात पछि दिन आएजस्तै
दुःखपछि सुख आउँदो रहेछ
तर आमा !
त्यो अँध्यारो र शुन्यता
त्यो अभावर समस्या
त्यो दुःख र पीडा
सहर्ष स्वीकार्न सक्नु पर्दोरहेछ
जसरी तिमीले स्वीकार्यौ ।

आमा !
आज जे छु तिम्रै कारणले छु
तिम्रै त्याग र तपस्याले छु
म भन्दिनँ आज मैले गर्दा तिमीले रमाउन पायौ
म सोच्दिनँ आज मैले गर्दा तिमीले हाँस्न पायौ
म ठान्दिनँ आज मैले गर्दा तिमीले गाउँन पायौ
अनि म मान्दिनँ आज मैले गर्दा तिमीले नाच्न पायौ
म त भन्छु
ताप, राप र चाप सहेर कोइलाझैँ
तिमी त हिरा भएकी हौ
सबैभन्दा अनमोल भएकी हौ ।

आमा !
तिमी जति महान अरु को हुन सक्छ र ?
किनभने तिमीभन्दा ममतामयी दुनियाँमै अरु कोही छैन
तिमीभन्दा स्वाभिमानी दुनियाँमै अरु कोही छैन
तिमीभन्दा धैर्यवान दुनियाँमै अरु कोही छैन
तिमीभन्दा नैतिकवान दुनियाँमै अरु कोही छैन
र आमा !
तिमीभन्दा सृष्टिवान दुनियामै अरु कोही छैन ।

 

मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानी, ओखलढुंगा

Leave a Reply

Your email address will not be published.