केकी र नाजिर : फेरि ‘हातमा लाग्यो शून्य’

मनोरन्जन
काठमाडौ । हरेक कलाकारलाई आफू अभिनीत फिल्म चल्नै पर्ने दबाब हुन्छ । आगामी करिअरको निर्धारण आफू अभिनीत प्रत्येक फिल्मले गर्ने हुँदा कलाकारका लागि त्यसले अवसर र चुनौती दुवै लिएर आएका हुन्छन् ।
फिल्म हिट भए त्यसले एउटा कलाकारको करिअर कतिसम्म माथी उठ्छ र फ्लप हुँदा कतिसम्म घाटा र पीडा हुन्छ त्यो एउटा कलाकारभन्दा बाहेक अरुले बुझ्न मुश्किल नै छ । चाहे डेब्यू फिल्म होस् वा दर्जनौं फिल्मपछि आएका नयाँ फिल्म नै किन नहुन त्यसको असर सधै कलाकारमाथि स्वादैले पर्ने गर्छ ।
सन्दर्भतर्फ नै लागौँ – नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको विषयमा आजहामी चर्चा गर्दैछौं । ‘होस्टेल रिर्टन्स’ त हेर्नु नै भएको होला । यो फिल्म हेर्नुभएको छ भने नायक नाजिरलाई त कसरि विसर्नुहुन्छ होला र ? फिल्मका मेरुदण्ड नै उनी थिए ।
फिल्म हिट भयो र उनी पनि राम्रै चम्किए । त्यसपछि त उनको माग र चर्चाले आकाश छोयो । हातमा फिल्मको कमी भएन । रंगमञ्चबाट आएका कमै कलाकार यस्ता होलान्, जो नाजिर जस्तो चाँडै चम्किन सफल भएका हुन् । ‘जंगे’, ‘वीर विक्रम’, ‘गाँठो’ जस्ता फिल्ममा उनले अभिनय गरिसकेका छन् ।
तर, उनको फिल्मी करिअर अलि अनौठो छ । जुन फिल्ममा उनले सपोटिङ एक्टरको रुपमा काम गरेका छन्, ती लगभग सफल छ । अनि, जति फिल्ममा उनले मुख्य भूमिकामा अभिनय गरे, ती भने लगातार असफल भइरहेका छन् ।
फिल्म ‘गाँठो’कै कुरा गर्ने हो भने नाजिरको यसमा मुख्य भूमिका थियो । कथा नै उनकै वरिपरि घुमेको थियो । रिलिजपूर्व हिट हुनेमा सायद कसैले पनि शंका पालेका थिएनन् तर हलमा लागेपछि फिल्म कहिले उत्रियो त्यो नाजिर स्वयंलाई पत्तो भएन ।
‘गाँठो’ व्यवसायिक रुपमा असफल भएको कुरा उनी आफैं स्वीकार गर्छन् । लिड रोलमा काम गरेपछि एउटा कलाकार फेरि सपोटिङ रोलमा झर्न नचाहनु स्वभाविकै हो । अहिले नाजिरको हकमा पनि यस्तै भएको छ ।
गाँठो’ रिलिजको लामो समयपछि गएको हप्ता प्रदर्शनमा आएको फिल्म ‘राज्जा रानी’मार्फत उनी पर्दामा फर्किए । फिल्ममा उनको मुख्य भूमिका छ । अहिले पनि केही सिंगल हलमा फिल्म चलि त रहेको छ तर दर्शकको चर्को अभाव उतिक्कै सामना गर्नु परेको छ ।
सोझै भन्ने हो भने फिल्मले घरेलू बजारमा पानी समेत भन्न पाएन । बढ्दो जाडोको असर पनि फिल्ममाथी नराम्रोसँग पर्‍यो । मधेशको कथा टिप्न सफल भएपनि फिल्मले दर्शक हलसम्म तान्न चाहिँ पूर्ण रुपमा सफल हुन सकेन । यो फिल्मको असफलताले नाजिरको फिल्मी करिअरमा अर्को ठूलो चोट थपेको छ । जसको असर अब उनले चाल्ने नयाँ पाइलाको डोबमा देखिनेमा दुईमत छैन ।

उनी मुख्य भूमिकामा किन चलेनन् ? सायद यो प्रश्नको जवाफ खोज्न अब स्वयं नाजिरलाई अत्यन्त आवश्यक छ । कतै उनी आफैंले भन्ने गरेको ‘हिराइजम फेस’ नभएर त होइन ? अब उनी अभिनीत नयाँ फिल्म ‘तिमीसँग’ प्रदर्शनको तयारीमा छ । आशा गरौँ– यसले पो कमाल गर्छ कि ?

यता, ‘राज्जा रानी’की रानी उर्फ केकी अधिकारीलाई पनि यो फिल्म असफल हुँदा चोटमाथी अर्को ठूलो चोट थपिएको छ । हुनत, केकीले आजसम्म जति फिल्ममा काम गरेकी छिन्, ती मध्ये कमै फिल्मले मात्र सफलताको अनुहार देख्न पाएका छन् । पछिल्लो समय प्रत्येक फिल्ममा ‘कपिपेस्ट’ लाग्ने भूमिकाका कारण पनि दर्शक उनको अभिनयबाट आजित भइरहेका छन् ।
यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’मा उनले मुख्य भूमिका निर्वाहा गरेकी थिइन् । चलचित्रकर्मी र दर्शकबाट ‘ऐश्वर्य धान्ने नै केकी हुन्’ भन्ने तारिफ गजबले आयो । फिल्म हिट पनि भयो । तर, यो फिल्मको सफलताको क्रेडिट उनले भन्दा नव–नायिका दीपिका प्रसाईँले आफ्नो पोल्टामा एकलौटी पारिन् ।
पर्दामा पटक–पटक देखिरहने केकीभन्दा दर्शकको नजर डेब्यू अनुहार दीपिकामाथी नै बढी परेको थियो । पब्लिसिटीमा पनि केकीभन्दा पहिलो प्राथमिकता दीपिका थिइन् । उनको ‘ऐश्वर्य’पछि हलमा लागेको फिल्म ‘राज्जा रानी’ हो । यो फिल्ममा एक मधेशी युवतीको भूमिका निर्वाहा गरेकी केकीको अभिनयबाट दर्शकले फेरि खासै फरक स्वाद चाख्न पाएनन् । अन्ततः फिल्म पनि फ्लप भयो ।
कतै काम गर्नकै लागि फिल्म गर्ने बानीका कारण केकीले लगातार असफलता हात पारिरहेकी त छैनन् ? अथवा, अब नयाँ फिल्ममा आफू केही परस्कृत हुँदै पो जाने हो कि ? अब केकीले आफ्नो ध्यान यसतर्फ लैजान पनि अत्यन्त आवश्यक देखिन्छ ।
उनी आफैंले पहिलो पटक निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ चाँडै प्रदर्शनमा आउँदैछ । यसमा केकीसँगै प्रियंका कार्की र ऋचा शर्माको मुख्य भूमिका छ । अब यो फिल्मले केही गर्ला कि ? केकीलाई भयङ्कर आश छ ।

Leave a Reply

Your email address will not be published.