‘फुर्के नम्बर वान’ सिरियलकी च्याप्टी अर्थात् मोडेल सीता राईसँग अन्तर्वार्ता, भन्छिन्– ‘म च्याप्टीकै रोलमा निरन्तर छु’

जीवनशैली मनोरन्जन

जिन्दगीको सेरोफेरो : त्यहाँदेखि यहाँसम्म

मोडेल तथा सञ्चारकर्मी सीता राई

सीता राईको जन्म ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ जाक्मा गाउँमा भएको हो । उहाँले जाक्मा गाउँकै समाज सेवा युवा प्राथमिक विद्यालयबाट शिक्षा आरम्भ गर्नुभयो । कक्षा ४ देखि हिलेपानीस्थित महादेवस्थान माध्यमिक विद्यालयमा पढेर एसएलसी उत्तिर्ण गर्नुभयो । उदयपुरको कटारीस्थित त्रिवेणी उच्च माविबाट कक्षा १२ पास गर्नुभयो । त्यसपछि उच्च शिक्षा हासिल गर्ने उद्देश्यले राजधानी काठमाडौं प्रवेश गर्नुभयो । सानै उमेरदेखि नृत्यमा अत्यन्तै रुचि राख्नु हुने उहाँले मोडलिङ र सञ्चार क्षेत्रमा आफ्नो करिअर निर्माण गर्दैआउनु भएको छ । साथै स्नातक तह (बीए) पत्रकारिता विषय अध्ययनरत हुनुहुन्छ । उहाँ युवाहरूमाझ एक मोटिभेटरका रूपमा र सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । उहाँ आफ्नो मातृभाषा वाम्बुले राईमा बोल्ने र लेख्ने गर्नुहुन्छ । उहाँ आमाका साथमा काठमाडौंमा बस्दैआउनु भएको छ । उनै मोडेल तथा सञ्चारकर्मी सीता राईसँग २०७८ जेठ ३० गते लिब्जुभुम्जु डटकमका लागि गणेश वाम्बुले राईले टेलिफोनमा गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
२०७८ साल लागेसँगै दोस्रो भेरियन्ट सहितको कोरोना भाइरसको महामारीले देशैभरि प्रभावित तुल्याएको छ । देशैभरि लकडाउन छ । तपाईको दिनचर्या कसरी बितिरहेको छ ?

यताउता घरभित्र बसेर बितेको छ । किताब पढ्ने, न्युजहरु हेर्ने गर्छु । म मोडलिङ क्षेत्रको मान्छे भएकोले त्यसमा केके भइरहेको छ अपडेट हेरेर बस्छु । टिकटक बनाउँछु । समयअनुकुल भए यसो रिफ्रेसको लागि बाहिर पनि निस्किन्छु ।

तपाईं अनि परिवारका सदस्य कसैलाई कोरोना लागेको त छैन नि ?
भगवानको कृपा र सावधान अपनाएको हुँदा अहिलेसम्म परिवारका सबै सदस्य सुरक्षित छौं । यो कसैको परिवारमा नलागोस् पनि ।

गत वर्ष कोभिड–१९ फैलिएको बेला सबैजना त्रास र अन्योलमा थियौं । त्यतिखेर तपाईंले वाम्बुले राई मातृभाषामा फेसबुकमा पटक पटक प्रत्यक्ष सचेतनामूलक सन्देशहरू दिनु भएको थियो । यो वर्ष मौन रहनु भयो नि ?
गत वर्ष कहिल्यै कोरोना भाइरसबारे अनभिज्ञ थियौं । कोरोना आयो आयो भन्ने डरत्रास हामीमा भयो । सहरमा बसेको हिसाबले गाउँमा बस्नेभन्दा बढी जानकारी राख्छौं । गाउँमा आफ्नो मातृभाषा बोलिन्छ । मातृभाषामा रोगबारे सूचना सन्देश किन नदिने भन्ने लागेर दिएको हो । यो साल मौन रहनुको कारण सेकेन्ड भेरियन्ट भनेको छ । त्यो के हो भन्नेबारे आफैं पनि अन्योल र त्रासमा बस्नु प¥यो । त्यसो हुँदा मातृभाषाबाट यो वर्ष केही सन्देश दिन सकिनँ । त्यसको लागि क्षमाप्रार्थी छु । तर मेरो मातृभाषा बिर्सेको छैन । बिर्सिने पनि छैन । घर व्यवहार मातृभाषामै गर्छौं ।

फर्केर हेर्दा पोहोर लकडाउनको बेला कसरी के के गरी बिताउनु भयो ?

 

पोहोर साल फस्ट टाइम लकडाउन भन्ने सुनियो । फस्टटाइम भएपनि घरभित्रै बसेर मातृभाषामा कोरोनाको सचेतना सबैमा प¥याएकै थिएँ । मनोरन्जनका निम्ति टिकटक बनाएँ । सबैजनाले मनपराइ दिनु भयो । बीचमा केही खुकुलो भएपछि साथीहरूसँग हाइकिङ गइयो ।

गत वर्ष लकडाउन खुलेपछि के कस्ता उपलब्धीका काम गर्नुभयो ?

पोहोर लकडाउन खुल्ने बित्तिकै दशै आयो । दशै र तिहारमा गाउँमै बित्यो । घाँस काट्ने, दाउरा काट्ने, घर लिप्ने जस्ता काम गरियो । देउसी भैलो खेल्ने, आफन्जनहरुसँग भेटघाट गरियो । एकदमै रमाइलो भयो । काठमाडौं फर्किपछि तक्मेबुढा प्रोडक्सनबाट निर्माण भई हरेक हप्ता प्रभु टिभीबाट प्रसारण हुने ‘फुर्के नम्बर वान’ सिरियलमा आवद्ध भएर काम गरें । त्यसमा मेरो नाम ‘च्याप्टी’ रहेको छ । त्यसमा काम गर्ने मौका मिल्यो । म च्याप्टीकै रोलमा निरन्तर छु । त्यसबाट धेरै प्रशंसा पाइरहेकी छु । हौसला मिलेको छ । म विल्सन दाइ (तक्मेबुढा) लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

त्यसैगरी ‘त्यो मैयुङ डाँडा’ भन्ने म्युजिक भिडियो भिजुअलाइजेसन भयो । हाम्रो टिम भोजपुरको पर्यटकीय स्थल मैयुङ डाँडा पुग्यो । त्यहाँ पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल बन्दै रहेछ । मैयुङको सम्झना अविष्मरणीय रह्यो । त्यो म्युजिक भिडियोको गीतकार श्यामु राई, संगीत सुमन राई र गायनमा तयाहाङ राई र रितिस्मा लिम्बुको रहेको छ । अभिनयमा म स्वयं सीता राई र इन्द्रजित राईलगायत छौं ।

त्यसपछि ‘ठमेल बजारमा कान्छा’ बोलको गीतको म्युजिक भिडियोको भिजुअलाइजेसन भयो । त्यसमा प्रमुख मोडलमा म सीता राई र रमेशचन्द्र राई रहेका छौं । यो गीत रचना करवीर तामाङ, संगीत पदम राजन मगर तथा गायनमा अशोक मुकारुङ र सुनिता थेगिमका रहेको छ । कन्सेप्ट डिजाइन गोविन्द राई र नृत्य निर्देशक सन्दीप भुजेल रहनु भएकोले धेरै सिक्न पाइयो ।
अरु त सामान्य सामाजिक कार्यहरूमा सहभागी भएँ ।

पोहोर लकडाउन खुलेपछि देश–विदेश कतै जानु भयो कि ?

विदेश त सम्भव भएन । मलाई लाग्छ चर्चित कलाकारहरू पनि विदेशतिर कार्यक्रम लिएर जानु भएन । म स्वदेशमा भोजपुर र। आफ्नै जन्मथलो ओखलढुंगा गएँ । अन्त गएको छैन ।

यदि यो कोभिड–१९ को महामारी नफैलिएको भए तपाईंको करिअरमा के फरक पाथ्र्यो होला ?
मैले अघिल्लोभन्दा सन् २०२० मा धेरै गर्ने सोचेको थिएँ । मलाई माया दिनु हुनेलाई निरास पार्ने सोचेकै थिइनँ । तर कोभिड–१९ ले सोचेजस्तो भएन । सन् २०२१ पनि आधामात्र बाँकी छ । महामारीबाट जोगिदै करिअर निर्माण कार्य जारी छ । पेन्डिङमा रहेका कामहरू गर्दै जाने सोंच छ ।

तपाई अहिले कुनै मिडियासँग सम्वद्ध हुनुहुन्छ ?
म भिजन नेपालटिभी युटुब च्यानल र मेरो आफ्नै ‘सीता राई’ युटुब च्यानल छ । ठूला मिडियो हाउसमा जोडिने फुर्सद मिलेको छैन । संवद्ध हुनका निम्ति प्रस्ताव आएकै हो तर समय दिनै सकिएन ।

तपाईं कति वर्षदेखि मोडलिङ क्षेत्रमा हुनुहुन्छ ?
मैले ‘मिस राई–२०१६’ को ‘फस्ट रनर अप’ र ‘मिस ट्यालेन्ट’ जितिसकेपछि मेरो मोडलिङ करिअर सुरु भएको हो ।

खासमा मोडलिङ भनेको के रहेछ ?
मोडलिङ भनेको आफूमा भएको कला प्रस्तुति हो । समय, परिस्थिति, परिवेश अनुकुल युवाहरूको रूचिअनुसारको नेतृत्व गर्ने कार्य मोडलिङ हो । मोडल भन्नेबित्तिकै व्यक्तिको रुची, चलनचल्तीका पहिरन, शारीरिक आकृति, त्यसको प्रदर्शन र त्यसबाट समाजमा पर्ने प्रभावलाई लिन सकिन्छ भन्ने मलाई लाग्छ ।

खासमा तपाईंको रूचि कुन कुन क्षेत्रमा रहेको छ ?
मेरो रुचि नृत्य र मोडलिङ हो ।

तपाईंले नृत्य र अभिनय कसरी कहाँ सिक्नु भयो ?
म बच्चैदेखि नाच्थें । विद्यालयको वार्षिक कार्यक्रम, गाउँघरमा चाडवाडमा आयोजना गर्ने कार्यक्रममा नाच्थें । काठमाडौं आएर औपचरिक रुपमा लिसरा कला केन्द्र लगनखेलमा नृत्य सिकें । त्यसपछि व्यवसायिक रूपमा अघि बढें ।

महामारीको बेला छ, तपाईं के भन्नु हुन्छ ?
महामारीमा सबैलाई गाह्रो हुन्छ । तर गम्भीर रहेर, सावधानी अपनाएर, घरैमा परिवारसँग रमाउनु पर्छ । डिजिटलको दुनियाँमा घरभित्रै रमाएर बस्न सक्नुको विकल्प छैन । जीवन रहेमात्रै फेरि सोचेका कामहरू गर्न सकिन्छ ।

यो दोस्रो लहरको महामारीको अवधिमा के गर्दै हुनुहुन्छ ?

आमासँगै समय बित्छ । साथीहरूसँग कुराकानी हुन्छ । दिनचर्या गत वर्षकै लकडाउनको बेलाको जस्तै छ । व्यक्तिगत जीवनको बारेमा सोचिरहेको छु ।

गाउँघरमा रहनु र सहरमा रहनुमा के कस्ता अन्तर पाउनु भएको छ ?
म गाउँमै हुर्केको हो । शब्दमै फरक छ । रहनसहन फरक छ । हुन त गाउँमा पनि अहिले बिजुली बत्ती, इन्टरनेको सेवा विस्तार भएर सुविधामा पहुँच बढेको छ । गाउँमा कतिपय आफूले देखिराखेको सपना पूरा हुँदैन । पूरा गर्न सकिंदैन । त्यो सपना पूरा गर्न सहरमै खोज्नु पर्ने हुन्छ । त्यो प्ल्याटफर्म सहरले नै दिन सक्छ । त्यसो भएकोले सहर बस्नु परेको हो । नत्र गाउँ र सहर उस्तै हो भन्ने लाग्छ ।

तपाईंका भावी योजना के के छन् ?
भावी योजना करिअरलाई राम्रो बनाउने हो । मेरो आमा र अभिभावकहरू मेरो व्यक्तिगत जीवनबारे पीर गरिरहनु हुन्छ । मेरो व्यक्तिगत जीवनमा केही परिवर्तन हुनुपर्छ भनिरहनु भएको छ । म पनि सोच्दैछु ।

तस्बिरहरू : सीता राईको फेसबुकबाट

Leave a Reply

Your email address will not be published.