व्याकुल माइलाको घरजग्गा अब संस्थाको नाममा

समाचार

लिभु संवाददाता
काठमाडौं । राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई)ले आफ्नो नाममा रहेको घर तथा जग्गा व्याकुल माइला प्रतिष्ठान नेपाल संस्थाको नाममा स्वामित्व हस्तान्तरण गरेका छन् ।

ओखलढुङ्गा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं. ६ (साविक थाक्ले गा.वि.स. वडा नं. ५) हिलेपानी सिरान्टोलमा यो घर रहेको छ । माइलाका बुवा मानबहादुर राईले २०४० सालमा उक्त घर बनाएका थिए । बुवाको निधनपछि आफ्नो नामको घरडेरी र घडेरीलाई व्याकुल माइलाले यही २०७८ माघ २५ गते ‘व्याकुल माइला प्रतिष्ठान, नेपाल’ संस्थाको नाममा नामसारी गरेका हुन् ।

‘मैले मेरो नामको घर घडेरीसहितको दुई कित्ता जग्गा संस्थालाई दान गरिसकेको छु,’ माइलाले भनेका छन्, ‘हिलेपानी गाउँ समाजदेखि लिएर ओखलढुङ्गा जिल्ला अनि प्रदेश–१ ले देश नेपालको राष्ट्रियगान रचनाकार यो ठाउँमा जन्मिएका हो भन्ने चिनो भनेर पछिसम्म ‘प्राचीन स्मारक’ बनाउने गरी जोगाउन् भनेर दान गरेको हुँ ।’

सो घरलाई प्रदेश–१ सरकारको सहयोगमा प्रवलिकरण सुरु भएको स्थानीय मन्जित राईले आफ्नो फेसबुक पेजमा जनाएका छ । उनले लेखेको व्यहोरा यस्तो रहेको छ ।

नेपाली राष्ट्रिय गान “सयौं थुङ्गा ” का रचयिता व्याकुल माइला( प्रदिप कुमार राई)को घर त्यसै पनि आफैमा एउटा राष्ट्रिय सम्पदा हो प्रतिस्थान हो अझ भन्ने नै हो भने यो साहित्यक मन्दिर हो । यद्यपि यो घर निक्कै नै पुरानो भएको र 2072 सालको भुकम्पको कारणले पनि जिर्णावस्थामा पुग्यो । यसको पुन:निर्माण गरि संरक्षण सम्बर्द्धन गर्दै प्रतिस्थान वा संग्रहालयको रुपमा संस्थागत गर्दै लाने क्रममा ओखल्ढुङा जिल्ला प्रशासन कार्यलयमा व्याकुल माइला फाउन्डेशन नामक संस्था दर्ता गरि व्याकुल माइलाको नाममा रहेको घर जग्गा सहित नै संस्थालाइ हस्तान्तरण गरिएको छ ।
यसै क्रममा व्याकुल माइला फाउन्डेशन, स्थानिय सरकार र स्थानिय युवाहरुको पहल र सकृयतामा आम उपभोक्ता भेला बसि योजना माग गर्दा एक नम्बर (किरात) प्रदेश सरकार पुर्वधार विकास मन्त्रालयले योजना सम्बोधन गरि रु.12,00000/- अक्षेरुपि बाह्र लाख मात्र बजेट बिनियोजन गरि दियो । यसै क्रममा “व्याकुल माइला फाउन्डेशनको प्रतिस्थान भवन निर्माण उपभोक्ता समिति” गठन गरि यसै मन्त्रालय अन्तरगत शहरि विकास तथा भवन निर्माण डिभिजन कार्यलय ओखलढुङ्गा संग यहि मिति 2078/11/23 गते सम्झौता गरि मिति2078/11/ गते देखि काम थालनि गरिएको छ । यो घर जस्ताको तेस्तै पुनर्निमाण गर्नु पर्छ भन्ने बहस छलफल गरिए पनि पहिलेकै अवस्थामा राख्दा नै त्यसको महत्व र एतिहासिकता रहन्छ भन्ने निष्कर्ष आएकोले अहिले प्रबलिकरण (Rectro Fitting) मात्र गर्ने निर्णय भए अनुसार काम अगाडि बढेको छ । तर यो विधि निक्कै नै झन्झटिलो र कष्ट हुने निर्माण समिति र कामदारहरुले बताउनु भएको छ ।
निर्माण समितिमा अहिले अध्यक्ष- इच्छाकुमार  राइ, उपाध्यक्ष विर बहदुर राइ, सचिव-सुनिल कुमार राइ, कोषाध्यक्ष-ज्ञानुका राई, सह-सचिव सुदेश कुमार राइ,सदस्य-मन्जित राइ, सदस्य जुनसिङ राइ, सदस्य क्षमाराज राइ, सदस्य-सबिता राइ(लिम्बु)सदस्य सबिता राइ, चयन भएको छ भने अनुगमन समितिमा सयोजक: हेमराज राई (वडाध्यक्ष), सदस्य-हस्तकर्ण राई, सदस्य-मायारत्न राई रहेको छ । उपभोक्ता समितिको मतहतमा सीप क्षमता र इमान्दारिताको आधारमा अहिले हस्तकर्ण राइलाइ सम्पुर्ण कामको प्रमुख जिम्मेवारि दिइएको छ भने स्थानिय युवाहरु नरेन्द्र,दिपेन,अमित,यमकु, बौद लगाएतको टिमले नियमित रुपमा काम गरिरहेका छन ।
जिल्ला भरिमै यो नयाँ प्रविधिको काम भएको र बजेट निकासाको प्रकृया पहिलाको जस्तो सम्झौता गरे पछि पहिलो किस्ता निकासा हुनु पर्नेमा काम सकिए पछि मात्र निकासा हुने सरकारको पछिल्लो नितिले काममा चुनौति थपिएको छ । यसरि व्याकुल माइलाले आफ्नो नाममा रहेको सम्पति घर जग्गा सहित संस्थालाइ हस्तान्तरण गर्दै क्रमश: समुदायलाइ नै हस्तान्तरण गर्ने उहाको विचार र त्याग बाट हाम्रो समाज र देशकै लागि एउटा अर्को उदाहरणिय काम भएको छ ।

Leave a Reply

Your email address will not be published.