उपचारमा लापरवाही नगर्न प्रधानमन्त्री ओली आग्रह

मुख्य समाचार समाचार स्वास्थ्य

लिभु संवाददाता
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मानव स्वास्थ्य उपचारमा लापरवाही नगर्न चिकित्सकहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उपचारमा हुने सानो गल्तीले मानिसको ज्यान जाने भएकोले यो विधामा दक्ष भएर मात्र प्रवेश गर्न चिकित्सकहरुलाई सुझाव दिनुभएको छ ।
बीर अस्पतालको सर्जिकल भवन शिलान्यास गर्दै आज प्रधानमन्त्री ओलीले भन्नुभयो ‘दायाँ र बायाँ घुँडो नचिन्ने, एउटा बेडको बिरामीको अप्रेसन गर्नु पर्ने अर्कै बेडको विरामको अप्रेसन गर्ने डाक्टर छन् भन्ने सुनेको छु । के पढेर आएका डाक्टरहरुले यसो गर्छन् । त्यस कारण चिकित्सा शिक्षालाई गुणस्तरीय र विश्वसनीय बनाउनु पर्दछ ।’ यसले चिकित्सा शिक्षाको गुाण्स्तरीयतामा प्रश्न उब्जाएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
सरकारी अस्पतालको गुणस्तरीयतामा जनस्तरबाट प्रश्न उठ्ने गरेकोले यसलाई अन्त्य गर्न ऐतिहासिक बीर अस्पताल अघि सर्नु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले विषादीयुक्त खाद्यपदार्थ मानव स्वास्थ्यका लागि समस्या भएको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाल जस्तो स्वस्थ्य हावापानी भएको देशमा विषादीको प्रयोगले गम्भिर स्वास्थ्य असन्तुलन सृजना गरेको छ । यसलाई न्यून गर्न सबैको प्रयास जरुरी छ ।’
प्रधानमन्त्री ओलीले विगतमा जस्तो अब शिलान्यास गर्ने तर काम नहुने छुट नभएको बताउनुभयो । ‘मैले सुनेको छु एउटै पुलको शिलान्यास ११ पटक सम्म भएको छ रे,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब कुनै पनि योजनाको शिलान्यास एकपटक हुन्छ । तोकिएको समयमा सम्पन्न हुन्छ र उद्घाटन हुन्छ ।’ कुनै पनि योजना तोकिएको समयमा नसकिए त्यसको स्पष्ट कारण खोजिने बताउनुभएको छ । ‘अबको नेपालमा छलछाम गर्ने, आलटाल गर्ने गुणस्तर घटाउने मौका हुँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सबै कामको अनुगमन हुन्छ । अनुगमन गर्ने निकाय माथि थप अनुगमन पनि हुन्छ । त्यस कारण सबैले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरौं ।’
प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई पनि नछोड्ने चेतावनी दिनुभएको छ । ‘अब कडा कदम नचाली देश बन्दैन,’ उहाँले भन्नुभयो ‘सबैले आफ्नो कर्तव्य अनुसार काम गरौं । देश बनाउने अभियानमा आफ्नो आफ्नो क्षेत्रबाट सबैले योगदान गरौं ।’ अढाइ वर्षभित्र सम्पन्न हुने गरी २ अर्ब ८५ करोड रुपैंया लागतमा वीर अस्पताल सजिर्कल भवन निर्माण हुन लागेको हो । भवनमा ६ सय ५० शैया रहने छन् ।
तस्बिर ः प्रधानमन्त्रीको निजी सचिवालय

Leave a Reply

Your email address will not be published.