मानेभन्ज्याङका स्वास्थ्य कर्मचारीलाई थप एक महिनाको तलब

प्रदेश प्रदेश १ समाचार

लिभु संवाददाता
ओखलढुंगा– मानेभञ्ज्याङ गाउँपालिकाले कोरोना भाइरसको संक्रमणकालीन अवस्थामा खटिने स्वास्थ्यकर्मीलाई भत्ता स्वरुप थप एक महिना तलब उपब्ध गराउने भएको छ । त्यसैगरी हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई दैनिक पाँचसय रुपैयाँ भत्ता दिने पालिका वडाध्यक्ष तथा प्रवक्ता रामकुमार राईले जानकारी दिनु भएको छ ।

‘कोरोना भाईरस कोभिड १९ ले विश्वलाई नै आक्रान्त बनाइरहेको बेला हाम्रो मानेभन्ज्याङ गाउँपालिका र वडापालिकाहरूले कस्तो सतर्कता अपनाको छ कुन्नि ?’ भन्ने तिखबीर राईको जिज्ञासालाई लिएर प्रवक्ता राईले स्पष्ट पार्नु भएको हो । ‘मानेभञ्ज्याङ गापा निकै जोखिम अवस्थामा छ, सोलु र खोटाङ जाने नाका भएर,’ प्रवक्ता राईले भन्नु भएको छ , ‘सक्ने जति प्रयास गरेका छौ र पालिका भित्रका स्वास्थ्य कर्मचारीहरुलाई एक महिना बराबरको तलबलाई प्रोत्साहन स्वरुप थप भत्ता पालिकाले दिने र हेल्थ डेस्कमा बस्ने स्वास्थ्य कर्मचारीलाई प्रतिदिन ५ सय रुपैयाँ भत्ता दिनेसमेत निर्णय पालिकाले गरेको छ ।’

उहाँले नौवटै वडाका वडाध्यक्ष र सोही वडाका स्वास्थ्य चौकी इन्चार्जसँग समन्वय गरेर सम्भावित कोरोनाको लक्षण हुने व्यक्तिहरूलाई पहिचान गरी क्वारेन्टाइनमा राख्ने निर्णय भएको समेत बताउनु भएको छ । ‘यो त पालिकाको निर्णय हो, हाम्रो अपेक्षा चाहिं देश विदेशबाट फर्किएर हाम्रो पालिकाभित्र आउने महानुभावहरू हुनुहुन्छ भने तपाईहरुले चिन्नु हुन्छ वा आफन्त छन् भने हामीलाई जानकारी गराई सहयोग गर्नु हुन अनुरोध छ,’ उहाँले भन्नुभएको छ ।

यही चैत ४ गते नेपाल आएको क्युआर ६५२ हवाई जहाजका यात्रुमध्ये एकजनामा कोरोना भाइरस फेला परेको सरकारको निकायले जनाएको छ । उक्त हवाई जहाजमा २० महिला र १३८ पुरुष यात्री आएका थिए । त्यसमा जिल्ला खुलेका यात्रीमध्ये २ जना ओखलढुंगाका समेत रहेका छन् ।

फोटो क्याप्सन : सिन्धुली र उदयपुरबाट ओखलढुंगा प्रवेश गर्ने मानेभञ्ज्याङ गाउँपालिकाको दक्षिण सीमा नाका सुनकोशीको हर्कपुर पुल नजिकै राखिएको हेल्थ डेस्कको निरीक्षण गर्दै पालिका प्रमुख मोतीराज राई (बीचमा) प्रहरी, सेना तथा कार्यालय प्रमुख तथा प्रतिनिधिहरू ।

फोटो साभार : मानेभन्ज्याङ गापाका स्वास्थ्य संयोजक विश्वराज दाहालको फेसबुकबाट

Leave a Reply

Your email address will not be published.