ओखलढुंगाको भगवती माविको ६१औं वार्षिकोत्सव, विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार र विद्यार्थी अनि शिक्षकलाई माइक्रोसफ्टको प्रमाणपत्र

समाचार

लिभु संवाददाता
काठमाडौं– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ स्थित भगवती माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव सम्पन्न भएको छ । त्यस अवसरमा विद्यार्थीले छात्रवृत्ति पुरस्कार र शिक्षकले माइक्रोसफ्टको प्रमाणपत्र हासिल गरेका छन् । विद्यालयले गत वर्ष हीरक महोत्सव मनाएसँग छात्रवृत्ति कोष स्थापना गरिएको थियो ।

यो विद्यालय २०१७ सालमा राष्ट्रिय प्राइमरी स्कुलका नामबाट स्थापना भएको हो । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको बाहुलीबाट ‘शुभ हीरक जयन्ती स्मारक स्तम्भ’ एवं ‘भगवती स्मारिका २०७७’ को विमोचन भएको थियो । गोरखा वेलफेयर ट्रष्ट रुम्जाटार तथा विद्यालयको साझेदारीमा नवनिर्मित विद्यालय भवनको उद्घाटन भएको थियो । भगवती मावि ओखलढुङ्गा जिल्लाको सन्दर्भमा शुभहीरक जयन्ती महोत्सव मनाउने पहिलो विद्यालय हो ।

विद्यालय ६१औं वर्ष पुगेको अवसरमा यही २०७८ चैत २७ गते आइतबार एक समारोहको आयोजना गरी ‘भगवती स्मारिका’ अङ्क २, २०७८ विमोचन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार राईको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राई र विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष सबिता राई हुनुहुन्थ्यो । प्रधानाध्यापक नारायणप्रसाद बास्तोलाले स्वागत मन्तव्य राख्नु भएको थियो । राष्ट्रगान गाएर सुरु भएको कार्यक्रममा विद्यार्थीले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

अतिथिहरूमा भूगर्भविद् तथा नेपाल सरकारका उपसचिव शिवकुमार बास्कोटा, शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुङ्गाका एकाइ प्रमुख नेत्रपसाद गजुरेल, मानेभन्ज्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राई, गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख फणीन्द्र बहादुर कटवाल, स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहाललगायत हुनुहुन्थ्यो । यसैगरी ‘श्री भगवती मावि बलबहादुर अधिकारी तथा शान्तकुमारी अधिकारी स्मृति कोष’का संस्थापक मानबहादुर अधिकारी र अमर–देवी स्मृति अक्षयकोष, २०७७’ का संस्थापक दोसल कटवाल अतिथि हुनुहुन्थ्यो ।

शुभ हीरक महोत्सवको अवसरमा अक्षयकोष निर्माणमा भूमिका निर्वाह गर्नु भएका पूर्वविद्यार्थीद्वय लोकेन्द्रबहादुर राई र शिव बास्कोटालाई सम्मान गरिएको थियो । नेपाल सरकारका शाखा अधिकृत लोकेन्द्रबहादुर राई भने कार्यव्यस्तताले उपस्थित हुन सक्नु भएन । हीरक जयन्तीमा आर्थिक सहयोग गर्नु हुने महानुभावहरूलाई सम्मान तथा १२ जना शिक्षकलाई प्रशंसापत्रसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

माइक्रोसफ्ट अफिस स्पेसलिस्ट च्याम्पियनसिप–२०२१ मा नेपाल टप गरेका यस विद्यालयका पूर्वविद्यार्थी दीपेश श्रेष्ठलाई विद्यालय र माइक्रोसफ्ट अफिसको प्रमाणपत्र एवं शिक्षक बुद्धिबहादुर राईलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

यसैगरी मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ मा यस विद्यालयबाट सहभागी भई समग्रमा द्वितीय स्थान प्राप्त गर्ने ४३ जना खेलाडीहरूलाई जनही तीन सय रुपैयाँ र खादा ओढाएर सम्मान गरिएको थियो ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नन्दबहादुर मगरल सो स्तरीय रनिङ शिल्ड प्रतियोगितामा विद्यालय उत्साहका साथ सहभागी भएबापत विद्यालयलाई एउटा भलिबल र गोल्ड मेडल प्राप्त गर्ने १७ जना खेलाडीलाई स्टेसनरी प्रोत्साहन प्रदान गर्नु भएको थियो ।

प्रतिभा अक्षयकोषबाट कवितातर्फ कक्षा ११ का सविना मगर र गायनतर्फ अमृतबहादुर विक, नृत्यतर्फ कक्षा १२ का धनुमाया राई र वक्तृत्वकलातर्फ दिनेश साही तथा चित्रकलातर्फ कक्षा ३ की सायुङ राईले जनही एक हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी ‘बलबहादुर अधिकारी तथा शान्तकुमारी अधिकारी स्मृतिकोष, २०७७’बाट पहिलो पटक ‘बालीविज्ञान शैक्षिक पुरस्कार’ छात्रा प्रतिमा कार्की र छात्र टोपबहादुर मगरलाई जनही दशहजार रुपैयाँ र स्वर्णपदक प्रदान गरिएको छ ।

‘बलबहादुर अधिकारी तथा शान्तकुमारी अधिकारी स्मृति कोष’का संस्थापक मानबहादुर अधिकारीले पहिलो पटक छात्रा प्रतिमा कार्की र छात्र टोपबहादुर मगरलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गर्नु भएपछि फोटो खिचाउँदै

यसैगरी ‘अमर–देवी स्मृति अक्षयकोष, २०७७’बाट गरिव तथा जेहन्दार पुरस्कारबाट कक्षा ३ का प्रज्ज्वल राई, कक्षा ७ की यमुना राई, कक्षा ९ की सीमा राई र कक्षा ११ की मनिता पुलामीलाई जनही एक हजार रुपैयाँ प्रदान गरिएको छ ।

‘एसएलसी ब्याच–२०६७ अक्षयकोष’बाट संचालित अतिरिक्त क्रियाकलामा खेलकुदतर्फ कक्षा ९ का सुदिप श्रेष्ठ, म्याथ रेसमा कक्षा ४ का सबुजङ राई, हिज्जेतर्फ कक्षा ८ की निरुता अधिकारी, संविधान अधिकारी तथा कक्षा ७ का अस्मिन राई पुरस्कृत भएका छन् । यस्तै, हाजिरी जवाफमा कक्षा १० का अमिन बिक, सदिच्छा अधिकारी र धनकुमार आलेमगर विजयी भएका छन् । विजयी सबैलाई जनही एक हजार रुपैयाँ नगर पुरस्कार प्रदान गरिएको छ ।

‘प्राविधिक शिक्षा सहायता छात्रवृत्ति अक्षयकोष’बाट कम्प्युटरतर्फ कक्षा ८ का मधु श्रेष्ठ, बालीविज्ञानतर्फ रामबहादुर मगर र लक्ष्मण मगरलाई जनही १ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ ।

यसैगरी अनुशासित पुरस्कार कक्षा १२ का रामबहादुर मगरलाई २ हजार रुपैयाँ, जेहनदार कक्षा १२ का प्रविण रानामगर र भूमिका राई, कक्षा ११ का तयाकुमारी श्रेष्ठ, लिलामाया मगर र कक्षा ९ का गौरव गौतम र कक्षा १० की हिरा कटवाललाई जनही १ हजार दुईसय रुपैयाँ प्रदान गरिएको थियो ।

फोटो साभार : भगवती मावि र बलबहादुर अधिकारी तथा शान्तकुमारी अधिकारी स्मृति कोषको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *