गणेश वाम्बुले राई
काठमाडौं – ‘किराती लोक परम्पराको निरन्तरता’ नाराहित किरात वाम्बुले राई जातिले बाँसुरी दिवस मनाएका छन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमालडोलमा आयोजना गरेको ‘साउन १५ सातौं बाँसुरी दिवस तथा खिर खाने’ समारोह आयोजना गरी मनाएका हुन् ।
ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली जिल्लाका वाम्बुले राई रस्तीबस्तीमा साउन १५ देखि बाँसुरी, बिनायो, मुरलीजस्ता बाजा बजाउने परम्परा रहेको छ । पछिल्लो दशकमा राजधानी काठमाडौंमा समेत यो परम्परा निरन्तरता दिएका छन् ।
कलाकारहरू बाँसुरीवादक जीवन वाम्बुले राई र संगम राई, मादलमा मोतीलाल राई र विष्णुमाइला राई, प्रस्तुत गरेका थिए । त्यसैगरी गायिका एलिना राई, रिमी राई, सबिता राई र पबिता राईले राम्दले भाकाको गीत वाम्बुले भाषामा गाएका थिए ।
संस्थाका अध्यक्ष गजुरधन राईको अध्यक्षता रहेको कार्यक्रममा राष्ट्रगानका रचयिता तथा वाम्बुले भाषी कवि व्याकुल माइलाले पुर्खाहरूले जीवनको सुखदुःख लोकभाकामा उराल्ने गरेको र त्यसकै निरन्तता अहिलेसम्म रहेको बताए । ‘एकदमै दुःख भयो भने सुस्केरा हाल्छौं, खुसी भयौं भने सुलेली मार्छौं,’ लोकसंस्कृतिका अध्यता माइलाले भने, ‘हामीभित्रको उकुसमुकुस मनलाई डाँडापाखा घाँसदाउरा जाने क्रममा यो साउन १५ देखि बाँसुरी, बिनायो, मुरलीजस्ता बाजा बजाएर अभिव्यक्त गर्छौं ।’
वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमितिका उपाध्यक्ष तथा भाषा, शिक्षा र संस्कृति विभाग संयोजक गणेश वाम्बुले राईले कार्यपत्र स्लाइडमा प्रस्तुत गरेका थिए ।
साउन १५ र वाम्बुले बाँसुरी दिवसको झलक
वाम्बुले राई
- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश–१ ओखलढुंगा, खोटाङ तथा उदयपुर र प्रदेश–३ सिन्धुली जिल्ला दुधकोसी र सुनकोसी नदी संगम आसपासको भूगोल किरात वाम्बुले राईहरू मूलथलो हो । सुनसरी, मोरङ, झापा, धनकुटा, इलाम, पाँचथर, सर्लाही, काठमाडौं उपत्यका, चितवन, तनहुँ, कास्की तथा बेलायतमा समेत वाम्बुले राईहरूको बसोबास रहेको छ ।
- वाम्बुले राईको मातृभाषा, मुन्धुम संस्कार, संस्कृति संरक्षण गर्ने उद्देश्यले २०५४ सालमा स्थापना भएको वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको कार्यालय महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्ती, ललितपुरमा रहेको छ । वाम्बुले भाषा बोल्नेको संख्या १५ हजार २८५ रहेको छ ।
- वाम्रास किरात राई यायोक्खामा आवद्ध एक भाषिक संस्था हो।
लोक विश्वास र बाजा
- वाम्बुले राईहरूको सामाजिक जीवनमा साउने संक्रान्तिदेखि पन्ध दिन प्रकृति अर्थात् भगवान गुफा बस्छन् भन्ने लोकमान्यता छ । त्यसैले होहल्ला गर्नु हुँदैन । बाजागाजा बजाउनु हुँदैन । सुइसुला गर्नु, गीत गाउँनु हुँदैन । नङ, कपाल काट्नु हुँदैन । कपाल कोरेर भुइँमा झानु हुँदैन । किराती बाजाहरू बाँसुरी, मुरली, बिनायो, मुर्चुङ्गा, यलम्बर (टुङबाजा), पिपिरी, पुङ, ढोल, झ्याम्टा बजाउनु हुँदैन भन्ने लोकमान्यता छ ।
- जब साउन १५ लाग्छ तब भगवान उपवास सकेर बाहिर निस्कन्छ । त्यस दिनदेखि विशेष रहरका साथ तन्नेरी युवा, वयस्कहरू नयाँ बनाएका र अघेनुमाथिको बलोमा सिउरेर राखेका पुराना बाँसुरी झिेकर पाखापर्वत, खोला शृंखला नै गुन्जायमान हुने गरी बजाउँछन् । महिलाले बिनायो बजाउँछन् । वनपाखाभरि गाई, बाख्रा चराउँदै बाँसुरी, मुरली, बिनायो खिप्ने र बजाउने चलन छ ।
बाँसुरी दिवस
- वाम्बुले राईहरूको आफ्नै मौलिक थातथलो, रीतिथिति, लोकपरम्पराहरू रहेका छन् । सहरमा बस्नेलाई गाउँघरको सम्झनाले ब्युँताउँछ । विदेशमा बस्नेलाई स्वदेशको यादले सताउँछन् । त्यसैले वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले गाउँघरमा बिर्सिदै गएको लोकपरम्परालाई सहरबाट पुनःउत्थान काम गरेको छ । यो कार्यमा गाउँघरकै सहभागिता रहेको छ ।
- वाम्रास केन्द्रीय कार्यसमितिले काठमाडौं उपत्यकामा पहिलो पटक २०७४ साउन १५ गते बाँसुरी बजाउने र खिर खाने परम्पराको थालनी गरेको हो । यस दिनलाई ‘बाँसुरी दिवस’ भन्ने गरिएको छ । बाँसुरी दिवस भनिएपनि गाउँघरमा बिनायो लगायत बाजा बजाउने, गीत गाउँने चलन छ ।
- कोभिड–१९ महामारीले गर्दा २०७७ र २०७८ सालमा भर्चुअल माध्यमबाट बाँसुरी दिवस मनाइयो, जसमा देश–विदेशबाट सहभागिता रहेको थियो ।
पहिलो बाँसुरी दिवस २०७४
दोस्रो बाँसुरी दिवस २०७५
खिर भोजन
तेस्रो बाँसुरी दिवस २०७६
ओखलढुंगा हिलेपानी मितेरी भन्ज्याङमा बाँसुरी दिवस
चौथो भर्चुअल बाँसुरी दिवस २०७७
पाँचौं भर्चुअल बाँसुरी दिवस २०७८
बाँसुरी दिवस २०७८
- बाँसुरी दिवस २०७८ साउन १५ गते भर्चुअल रुपमा आयोजना गरिएको बाँसुरी दिवसमा देश–विदेशबाट २७ जना पुरुषले बाँसुरी र मुरली बजाएर सुनाएका थिए । त्यसैगरी ११ जना महिलाले बिनायो बजाएर सुनाएका थिए । उक्त वादनको रकर्ड गरिएको भिडियो इन्डिजिनियस टेलिभिजन (आईटीभी)को जुमबाट प्रत्यक्ष प्रसारण भएको थियो ।
- ‘द्याल रुच्चाल’ (गाउँ हेर्दा) वाम्बुले राई भाषाको कविता संग्रह विमोचन गरिएको थियो ।
- कार्यक्रमका वक्ताहरूमा रामकर राई (अध्यक्ष–किरात राई सांस्कृतिक कलाकार संघ), कोशकार अविनाथ राई, किरात संस्कृतिविद् तीर्थराज मुकारुङ राई, राष्ट्रगानका रचनाकार व्याकुल माइला, लोकसंस्कृतिविद् डा. भक्त राई रहनु भएको थियो । त्यसैगरी सभाध्यक्ष गजुरधन राईले वाम्रासबारे संक्षिप्त जानकारीसहित समापन गर्नु भएको थियो ।
- बाँसुरी, बिनायो र मुरली वादन रेकर्ड संयोजन ओखलढुंगा हिलेपानीबाट गगन राई, सोक्मटारबाट दिलिपकुमार राई, धिमिलेबाट रोशन वाम्बुले राई, सिम्काकुबाट कमल किराती, होल्माफुबाट दिवाधन राई, खोटाङ झाप्पाबाट विनोद वाम्बुले राई र बेलायतबाट खेजीमाया राईले गर्नु भएको थियो । रेकर्ड संयोजक विकास सौगात र प्रसारण गणेश वाम्बुले राईले गरेका थियौं ।
बाँसुरी दिवस २०७७ र २०७८ मा इन्डिजिनियस टेलिभिजनको साथ
छैटौं बाँसुरी दिवस २०७९
ओखलढुंगामा पनि छैटौं बाँसुरी दिवस
छैटौं बाँसुरी दिवस
- ‘किराती लोक परम्पराको निरन्तरता’ नाराहित वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले २०७९ साउन १५ गते आइतबार ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमालडोलमा ‘साउन १५ बाँसुरी वादन र खिर खाने’ समारोह सम्पन्न गरेको थियो ।
- कलाकारहरू बाँसुरीवादक जीवन वाम्बुले राई, मादलमा मोतीलाल राई र विष्णुमाइला राई, बाँसुरीमा र संगम राई, निरल राई, सबिन्द्र राई, सहराज राई र जेबी राईले राम्दले भाकाको वादन प्रस्तुत गरेका थिए । त्यसैगरी गायिकाद्वय अम्बिका राई र एलिना राईले राम्देल भाकाको वाम्बुले भाषाको गीत गाएका थिए ।
- सभाध्यक्ष गजुरधन राई र प्रमुख अतिथि लोकसंस्कृविद् डा. भक्त राई रहनु भएको थियो । डा. राईले पूर्वेली लोकभाका र बाँसुरी बाजा किरात वाम्बुले राई समुदायमा फरक ढंगले प्रस्तुति हुने गरेका तथा यसको ‘प्याटेन्ट राइट’ यो समुदायमा रहेको बताउनु भएको थियो ।
- यसैगरी ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानी मितेरी भन्ज्याङमा वाम्रासको ब्यानरमा बाँसुरी दिवस मनाइएको थियो । शिक्षक दिलिपकुमार राई सभाध्यक्ष, जेष्ठ नागरिक कुम्भसिङ राई प्रमुख अतिथि, वाम्बुले राई शिक्षक समाजका महासचिव दिपकबहादुर राई तथा कार्यक्रम व्यवस्थापन गगन राईले गरेका थिए ।
निरन्तरता र प्राप्ति
- किराती लोक परम्पराको निरन्तरताको रूपमा यो दिवस मनाइएको हो ।
- हामी नै हाम्रो लोकपरम्पराका संवाहक हौं
- हाम्रो लोकपरम्परा नै हाम्रो शान हो !
- वाम्बुले भूगोलमा बजाइने बाँसुरी, मुरली, बिनायो, मादल जस्ता बाजाहरूको संगीत विज्ञान र विधिसम्मत ढंगले प्रवद्र्धन गर्न लोकभाकाहरूको पुस्तक प्रकाशन गर्ने ।
- गीत, संगीतमा लागीपरेका नयाँ पुस्तालाई लोकसंस्कृति र लोकसंगीतप्रति आकर्षित तुल्याउने ।
- किराती लोकपम्पराको निरन्तरता !
हाम्रो प्रतिवद्धता ।