कुरा २०५२ साल माघ तिरको हो । उतिखेर म १३ बर्षको थिएँ । जन्मथलो ओखलढुंगा जिल्ला उँबु गा.वि.स. वडा नं. ९ फोकुल गाउँलाई चटक्कै छोडेर उज्ज्वाल भविष्यको खोजीमा बसार्इं सरेका थियौँ । पिठ्यँुमा पोका–पन्तुरो बोकेर फुपुको छोरो दाइ निदु, म, कलिला दुई भाइ (उमेरले ५ र ८ वर्ष)लाई डो¥याउँदै आमा (सिताकुमारी राई)को साथमा गाउँ छाड्यौं । हामी ६ जनाको सानो टोली सुनसरीको पाँचकन्या गा.वि.स. वडा नं. २ पानबारी (हाल– धरान नगरपालिका–२३) झ¥यौं । त्यतिखेर बुवा रामप्रसाद राई वैदेशिक रोजगारीका क्रममा साउदीमा हुनुहुन्थ्यो ।
हिंड्ने बेलामा गाउँका सबैले एउटै प्रश्न गरेका थिए, गाउँ छोडेको हो ? आमा भन्नुहुन्थ्यो– ‘होइन ! छोराछोरीको पढाइको लागि मात्र !’ तर, कसैले विश्वास गरेनन् –आमालाई ! आमाले दिएको त्यो जवाफ आज झुठो साबित भयो । हामी गाउँ फर्केनौं ! वास्तवमा आमाले हामी (म र २ साना भाइ)लाई सबै व्यवस्था मिलाएर २ वर्षीया बहिनीलाई लिएर गाउँ फर्किने योजनामा हुनुहुन्थ्यो । हाम्रो बन्दोबस्त पनि भयो । गाउँ फर्किन लाग्दा त्यो कान्छो सानो भाइ आमा बिना बस्न मानेन । पापजेठा महकुम राईले पनि केटाकेटीसँगै बस्न भन्नुभयो । पापासँग के सरसल्लाह गर्नुभयो हो ! त्यसपछि आमा गाउँ फर्कनु भएन । अहिले आमा स्वर्गबास भइसक्नु भयो ।
सुरुका दिनहरुमा हामीलाई त्यस ठाउँमा रस भिज्न कम्ति सकस भएन ! भर्खरै पहाडबाट झरेको । खस–नेपाली भाषा म आफै नबुझ्ने, भाइहरुको उही हालत ! ‘ऊ ल्याऊ भन्दा गू ल्याउने’ खालको हरिबिजोग ! कठिनाइलाई झेल्दै बिस्तारै घुलमिल हुँदै गयौं ! त्यस ठाउँमा ओखलढुंगे राईहरु २०४५ सालदेखि सीमित संख्यामा बस्दै आउनु भएको रहेछ । पानबारीमा महकुम राई, दैबसिङ रुम्दाली, भद्रबहादुर राई (रोके माइला– वाम्रास प्रा.का.स.को जग्गादाता), रेशमबहादुर राई, झापाली उपो (उहाँको नाम थाहा छैन) र हर्कबहादुर राई (हर्कने) बस्नुहुन्थ्यो । त्यस्तै खैरेनीमा नरबहादुर राई (शिरिषबोटे), देउरालीमा टंकबहादुर राई बस्नुहुन्थ्यो ! ओखलढुंगे राईहरु दशै, तिहारमा भेला भएर गाउँघरको तरिकाले देउसी भैलो खेल्नु हुदोरहेछ !
गाउँकै देउसी
२०५२ सालको दशै तिहारले हामीलाई झ्याप्पै छोपिसकेको थियो । निक्कै रौसी हौसे, नक्कले भएकोले अनि भर्खरै गाउँबाट झरेको हुनाले म तिहारमा खुब रमाउने सोचमा थिएँ । गाउँघरको पाराले देउसी भैलो खेल्दै, राम्दले सालाङ गाउँदै गर्दा भुसुक्कै २,०००।– दान बटुले छौं ! तीनदिने देउसी सकिएपछि उठेको रकमले झन्डै १५ धार्नीको राँगा छिनाएर भैलो खाने काम भयो भने बाँकी घर भाग लगायौं । यही क्रम चलिरहेको छ ।
२०५५ सालको देउसीबाट उठेको रकमले समाजमा आवश्यक थाल, बटुको, गिलास, चम्चा किन्यौं । ओखलढुंगे राईहरु मिलेर नरबहादुर राईको अध्यक्षतामा सात सदस्यीय किरात चौरास राई समूह गठन ग¥यौं । बाँकी रकमले भाले किनेर सामुहिक लिब्जु पूजा गर्ने निर्णयअनुसार लिब्जु सामा (पूजा)को सुरुवात ग¥यौं । २०५६ सालमा देउसी रकमले राँगा ढालेर लिब्जुपूजा ग¥यौं । यसै बेला मैले छ्यासै प्रसङ्ग उठाएँ कि ‘हाम्रो पहाडमा त लिब्जु सामा थान माथि डाँडामा छ । यहाँ पनि हामीले माथि डाँडामै बनाउँदा हुँदैन ?’ उपस्थित सबैले आ–आफ्नो धारणा राखे । वाम्बुले राईको अग्रज पापजेठा महकुम राईले फ्याट्टै कुरा उम्काउनु भयो, ‘माथि डाँडामै बनाउने भए पनि बनाऊँ । मैले किनेको जग्गा पनि छ । त्यही मेरो जग्गाको एक छेउमा बनाऊँ । सबै मिलेर पूजा त्यहीं गरौं ।’ यत्ति भनेपछि सबै खुसी भयौं । यसरी ओखलढुंगे राईहरु मिलेर याङ्सिला–८ मोरङ आँपटार डाँडामा लिब्जु सामाथान (लिब्जुदेवथान) निर्माण गरियो ! सामाथान बनाउँन दुईदिन लागेको थियो ! निर्माणपछि सामुहिक र पारिवारिक रुपमा पुजा गर्ने गरिएको छ । विशेषगरी वाम्रास जिकास, सुनसरीको नेतृत्वमा प्रत्येक साल ढ्वाङ्कुमको अवसरमा वाम्बुले राईहरुको पूजाआजा गर्दछन् । सुख, शान्ति र दीर्घायुको कामना गर्दछन् । पाँचकन्या अहिले धरान नगरपालिका वडा नं. २२ र २३ मा रहेको छ । हरेक जेठपुर्णिमाको अवसरमा वाम्रास प्राकासले पूजा गर्ने चलन बसाएको छ ।
वाम्रास सुनसरी गठन
वाम्रास सुनसरी गठनको पत्र बोकेर वाम्बुले राईहरुको घर घरमा निम्तो पु¥यायौं । आशा गरेभन्दा दोब्बर वाम्बुले राईहरुको उपस्थिति देखियो । वाम्रास केन्द्रबाट तत्कालीन कार्यसमितिका कार्यवाहक अध्यक्ष गजुरधन राई, महासचिव गणेश राई र कोषाध्यक्ष जीवन हाताचो राईको उपस्थिति थियो । किरात राई यायोक्खा सुनसरी तत्कालीन अध्यक्ष सदर राई प्रमुख अतिथि र विभिन्न भाषिक संस्थाहरुको आथित्य रहेको थियो । सामारोहले उँबुले चौरासे राढु सुरिम उत्थान संघ (२०५३)को विधिवत विघटन गरी शुभचन्द्र राईको अध्यक्षमा ११ सदस्यीय वाम्बुले राई समाज (वाम्रास) जिकास सुनसरी कार्यसमिति गठन गरियो । उक्त कार्यसमितिको सहसचिवको जिम्मेवारी मैले पाएँ । सचिव भिम राई ‘ज्वाला’ले कार्य व्यस्तताले पदबाट राजीनामा दिएपछि सचिव पद मेरो थाप्लोमा आइलाग्यो । कार्यकाल जसोतसो सकियो । त्यसपछि वैदेशिक रोजगारीमा विदेशिएँ ।
हाम्रो कार्याकालमा केही काम भयो । वाम्रास जिकास गठनअघि नै पूर्वी पहाड धनकुटा, तेह्रथुम, पाँचथर, इलाम अनि तराईमा सप्तरी, सर्लाही, धनुषातिरका वाम्बुले राईहरूको बस्तीमा पुग्ने काम भएको थियो । विशेषगरी वाम्रासका पूर्वअध्यक्ष रामकर राई र म थुमथुममै पुग्यौं । वाम्बुले राई जनहरुको संगठित गर्न प्रयासलाई वाम्रास सुनसरीको प्रकाशन ‘स्याल्मो स्मारिका–२०६९’ मा प्रकाशित गरिएको छ । एउटा भनाइ छ– ‘अरुले तपाईं भनोस् न भनोस् आफै मपाईं हुने’ । त्यस्तो अर्थ नलागोस् । भएगरेको कामहरु लेखेर राखे काम लाग्ने छ । इतिहास त्यसले बताउने छ ।
वाम्रास भवन पाँचकन्या
०५२ सालदेखि पाँचकन्यामा बस्ने क्रममा धेरथोर अविष्मरणीय कहानी गुथिएका छन् । जुन कुरा लेख्न उचित लाग्यो । वाम्बुले राई संस्थामा आबछ बाहिङ राईद्वय पापमाइला भद्रबहादुर राई (रोके माइला) र रामकुमार राईले भोगचलन गर्दै आउनु भएको ऐलानी करिब १ कठ्ठा जग्गा भवन निर्माणका लागि उपलब्ध भएको थियो । त्यो जग्गामा स्थानीय विभिन्न व्यक्तिले हस्तक्षेप गरेको बेला वाम्बुले राई केटाकेटीदेखि बुढाबुढीसम्मले प्रतिकार गरेका थियौं । आक्रमणको धम्की दिंदासमेत पछि हटेनौं । केही भाग खानेपानीको अफिस बनाउने सहमतिसहित विवाद समाधान ग¥यौं । बाँकी १३ धुर जग्गामा वाम्रास भवन बनाउने तयारीमा छौं । लागीपरेका छौं । सो निर्माणधीन भवनलाई सम्पन्न गर्नको लागि म यसै लेखमार्फत् सबैमा सहयोगको आग्रह गर्दछु !
पहिलो वाम्बुले साँझ
मलेसिया बसाईको तीन वर्ष खासै उन्नति गरिएन । रोजगारी विदेशमा, मनचाहिं समाज र परीवारसँगको बिछोडमा । पिडामात्र भयो ! स्वदेशमा रहँदा समुदाय र संस्थाप्रति समर्पित हुने गरियो । जेजसरी हुन्छ, सामाजिक काम जानेर, नजानेर गरेको याद आइरहन्थ्यो ! शरीर विदेशमा मनचाहिं स्वदेशमै हुन्थ्यो । २०७३ बैशाखमा स्वदेश फर्कें ।
वाम्रास सुनसरीले गरेका विभिन्न कार्यक्रममा धेरथोर सकेको सहयोग गर्ने तथा जुटाउने काममा गर्दै आएको छु । वाम्रास सुनसरीद्वारा आयोजित ढ्वाङ्कुमपुर्नेमा सहयोगीको भूमिका निभाएँ । यादब राईको अध्यक्षतामा १५ सदस्यीय वाम्बुले राई युवा जिल्ला तदर्थ कार्यसमिति गठन गरियो । वाम्रास प्राकास धरान २२ र २३ को दोस्रो सम्मेलन गरियो । दशैको अवसरमा पानबारीमा मिनी मेला आयोजना हुने खबर सुनियो । आयोजकलाई भेटेर वाम्बुले राई समुदायाले गर्नुपर्ने सहयोग तथा वाम्बुले स्टल राख्न पाउनु पर्ने कुरा भयो । अन्तमा, त्यो मेला स्थगित भयो । मेला स्थगित भएपछि वाम्बुले राई युवाहरु जोशिनु भयो ।
‘लाखमन दाइ हामी पनि केही गरेर देखाऊँ न ’
भाइहरुको प्रश्नले म निक्कै पिरोलिएँ । के गरौं, कसो गरौं । त्यही क्रममा सुजन भाइले ‘वाम्बुले साँझ’ सांस्कृतिक कार्यक्रमको प्रस्ताव गरे । योजना सही लाग्यो । वाम्बुले राई युवा सहमत भए । छलफल भयो । वाम्रास प्राकास पाचकन्याले आयोजना गरे सहयोग पाइने ठहर भयो । घरदैलोमा पुगेर ‘वाम्बुले साँझ’ गर्नेबारे सुनायौं । २०७३ असोज १३ गते सामुहिक बैठक बस्यौं । अग्रजहरुबाट युवाले आँटेको, सोचेको काममा सहयोग दिने वचन पायौं । बैठकले मेरो संयोजकत्वमा ११ सदस्यीय ‘पहिलो वाम्बुले साँझ २०७३’ नामक कार्यक्रम कमिटी गठन भयो । मिति तोकियो, २०७३ कात्तिक २७ गते शनिबार ।
कर्यक्रमको मिति र स्थान तोकिएपछि आर्थिक कसरी संकलन गर्ने भन्ने विषय जटिल बन्यो । दशै–तिहारलगत्तै कार्यक्रम गर्नुपर्ने भएकोले निक्कै गाह्रो महसुस ग¥यौं । मैले सोचें, देश–विदेशमा रहेका दाजुभाइलाई गुहार्ने । पहिले राईची वाम्बुले (ओमकर राई)द्वारा निर्मित फेसबुक सन्जाल ‘वाम्बुलेङ बिसौनी’मार्फत् सूचना प्रवाह गरियो । अपेक्षा गरेअनुसार प्रतिक्रिया पाएनौं । हामी साथीभाइका व्यक्तिगत फेसबुकमार्फत् सक्दो आर्थिक सहयोग संकलन गर्ने सोच्यौं । वाम्बुले राईको प्रतिघर हैसियतअनुसार रकम उठाउने र स्थानीय गैर वाम्बुले तथा संघसस्थासित अनुरोध गरेर रसिद छपाएर रकम उठायौं । अधिकांशले दिल खोलेरै सहयोग गर्नु भयो । त्यति रकमले मात्र हाम्रो कार्यक्रम सम्पन्न हुनेवाला थिएन । फेसबुकमा रहेका साथीभाइ, आफन्त सबैलाई विशेष अनुरोध ग¥यौं । संयोजकका हैसियतले दैनिक १५ घन्टा सम्पर्क र मोबाइल, इन्टरनेट फेसबुकमा समय खर्चिनु प¥यो ।
कार्यक्रम स्थान पानबारीमा मेरो बसाई धरान घोपामा भएकोले निक्कै गाह्रो भएको थियो । गृहमन्त्रीसितमो सम्झौताअनुसार बिहान बेलुका भान्सा सम्हाल्नु पर्ने, दिउँसो फुर्सद । उनी जागीरे भएकोले । तर बेलुका म गयल हुने गरेपछि लाटोलाई नि रिस उठ्नु स्वभाविक हो । रकमको अपुगले रन्थनिएको बखत युकेबाट आइपुगेका भतिज जिवानसित १८ वर्षपछि भेट हुँदा मुस्किले २ घन्टा कुराकानी गर्न भ्याइयो । भतिजले मेरो अनुरोधलाई स्वीकार्दै तीस हजार सहयोग गर्ने वचन दिए ।
कात्तिक २७ गते तोकिएको ‘वाम्बुले साँझ’ विविध कारणले एकहप्ता पछि मंसिर ४ गतेलाई सा¥यौं । कतिपयले आयोजक भाग्न लागे भनेर इलाका प्रहरी कार्यालयमा उजुरी पनि दिन भएको सुन्यौं । तर, हामी हाम्रो जाति र समाजको इज्जतलाई माटोमा मिल्न नदिने कसम खाएका थियौं । इलाका प्रहरी कार्यालयले कार्यक्रम रोक्ने भनेपछि वाम्रास केन्द्रीय अध्यक्ष पत्रकार गजुरधन राईलाई समस्या सुनाएर गुहार माग्यौं । स्थानीय पत्रकार वाम्रास सुनसरीका सदस्य सुदीप राईले सहयोग गर्नुभयो । वाम्रास प्राकास पाँचकन्याका अध्यक्ष शोभा राईको सभापतित्व तथा वाम्रास सुनसरीका अध्यक्ष धर्मराज राई (कुमार)को प्रमुख आतिथ्यमा अघि बढ्यौं । वाम्रास सुनसरीका निवर्तमान अध्यक्ष किराया केन्द्रीय सदस्य तथा किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रीय उपाध्यक्ष रामकर राईको विशेष आतिथ्य, कलाकार संघ केन्द्रीय सदस्य सुरज मेवाहाङ राई, वाम्रास सुनसरी पदाधिकारी सदस्यहरु, स्थानीय विभिन्न संघसस्थाका प्रतिनिधीहरु, प्रहरी चौकी र सयौं दर्शकको उपस्थिति रह्यो । वाकिङ क्लाउड ब्यान्ड, ड्रिम ब्यान्ड, मुनलाइट डान्स सेन्टरका कलाकारहरू, गायकहरु रामकर राई, सुरज मेवाहाङ राई, अमृत राई अनि आयोजकको तर्फबाट वाम्बुले राई युवा धरानको बेजोड प्रस्तुति रह्यो । कार्यक्रम सकेपछि स्वतन्त्र भएको महसुस गरें । सायद आयोजक पक्षका सबैलाई पनि यस्तै भयो !
वाम्बुले साझ किन ?
‘भाषा, धर्म, संस्कृति र कलाको जगेर्ना गर्न गाउँ, टोल, सहर सबै समुदाय मिली हात मिलाऔं’ भन्ने मूल नारा रह्यो । वाम्बुले राई युवाहरुको विशेष पहलमा वाम्बुले राई समाज (वाम्रास) प्रा.का.स. धरानको आयोजनामा मंसिर ४ गते सम्पन्न भयो ! २०४५ सालदेखि बसोबास गर्दै आएका वाम्बुले राईहरुप्रति अरु समुदायले हेर्ने दृष्टिकोण, गर्ने व्यवहारमा परिवर्तन ल्याउन, आफ्नो भाषा धर्मलाई बचाइ राख्न, आफ्नो पहिचान जोगाउँन र पहुँचलाई मजबुत बनाउन, हाम्रा समुदायका संघर्षरत कलाकारहरुको प्रतिभा प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले ‘वाम्बुले साँझ’ आयोजना गर्नु परेको हो !
अन्तमा, संयोजक भएकैले ‘वाम्बुले साँझ’का प्रायोजक मेरो भतिज जीवनकुमार राई, आर्थिक सहयोग गर्नु हुने वाम्बुले राई तथा गैर वाम्बुलेका ती महान् हातहरु, प्रशासनिक संयोजक गर्नुहुने वाम्रास केन्द्रीय अध्यक्ष गजुरधन राई, अध्यक्ष कुमार राई, सदस्य सुदीप राई तथा कार्यसमिति, कलाकार संघ केन्द्रीय उपाध्यक्ष रामकर राई सदस्य सुरज मेवाहाङ राई, सुरक्षा निकाय, कलाकारहरु, कार्यक्रम सञ्चालक भाइ बिनोद र बहिनी सुमित्रा, कृति टेलिभिजनका अर्जुन राई, फोटोग्राफर भाइ शिशिर खड्का, सुन्दर साउन्ड सिस्टम, स्टेज निर्माता अभिषेक श्रेष्ठ ,आयोजक वाम्रास प्राकास धरान २२ र २३ अनि सबै वाम्बुले राईहरु, स्वयंसेवक भाइहरु, उपस्थित सम्पूर्ण दर्शकहरु र टिमका सबै सदस्यहरु सम्पूर्णमा मुरीमुरी धन्यवाद तथा आभार प्रकट गर्दछु !
जय वाम्बुले ! जय वाम्रास !!
हाल– धरान–१८ घोपाक्याम्प
(लिब्जु–भुम्जु पूर्णाङ्क ६८मा प्रकाशित)