इतिहासविद् नेम्बाङको ‘लिम्बू इतिहास’ सार्वजनिक

कला साहित्य -संस्कृति समाचार

लिभु संवाददाता
ललितपुर– इतिहासविद कृष्णविक्रम नेम्बाङ लिखित ‘लिम्बू इतिहास : तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ नामक इतिहास किताब सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँला, इतिहासविद् भगीराज इङनाम, विश्लेषक बालकृष्ण माबुहाङ, लेखक स्वयंले बुधबार ललितपुरमा उक्त किताब सार्वजनिक गरेका हुन् ।

मुन्धुम एकाडेमीले प्रकाशित गरेको कृतिभित्र सात अध्यायमा सामग्री समेटिएका छन् । जसमा ‘लिम्बू र तिब्बती जातिका अन्तरसम्बन्ध’, ‘लिम्बू र लाप्चाका ऐतिहासिक सम्बन्ध’, ‘विजयपुरका विजयनारायण को थिए ?’, ‘विजयपुर भुटानको करदराज्य थियो भन्ने दाबीको निरुपण’ छन् । यस्तै, ‘सेन राजाहरूसित लिम्बूजातिको ऐतिहासिक सम्बन्ध’, ‘इतिहासमा सिन्तुसतिचनको कथा र यथार्थता’ र ‘राय इतिहास र राय–लिम्बूको सम्बन्ध’ शीर्षकमा ऐतिहासिक तथ्यको विश्लेषण गरिएका छन् ।

विसं. १९९२ सालमा जन्मिएका ८२ वर्षीय अध्यता नेम्बाङको यसअघि ‘इतिहास पहिचान ः प्राचीन नेपाल, किरात र लिम्बू इतिहास’, ‘स्मृतिमा बीपी आन्दोलन’, ‘आक्षेप र पाठक प्रतिक्रिया’, ‘सत्र सालको क्रान्तिको सम्झना’ र ‘डायरीमा बेलायत’ किताब प्रकाशित छन् । नेम्बाङ प्रजातान्त्रिक आन्दोलनका एक योद्धासमेत हुन् । कृष्णबिक्रम नेम्बाङ मुलत स्वतन्त्रताको एक योद्धा हुन् । नेपाली कांग्रेसमा आवद्ध भई २०१७ सालमा राजा र राजतन्त्र बिरुद्धको क्रान्तिमा होमिएका उनी चार वर्ष जेल जीवन बिताएका थिए ।

लेखक र कृतिबारे बोल्दै बैरागी काइँलाले सार्वजनिक गरिएको कृतिले लिम्बू जातिको इतिहासलाई नयाँ शिराबाट केलाएको बताए । ‘कृष्णविक्रम मेरा भाइमात्र होइनन्, नेपालको प्रजातान्त्रिक आन्दोलनका एक योद्धा हुन्,’ काइँलाले भने, ‘त्योभन्दा बढी उनी एक इतिहासकारसमेत हुन् । उनी राजनीतिक जीवन त्यागेर इतिहास अध्ययन, अनुसन्धान र लेखनमा आफूलाई समर्पित गरेका छन् । उनी तथ्यमा लागे भने म साहित्यमा लागें । र यो कृतिले लिम्बू इतिहासको नयाँ तथ्य सार्वजनिक गरेको छ ।’

विश्लेषक बालकृष्ण माबुहाङले किरात जातिबारे मात्र होइन, लिम्बू जातिको सम्बन्ध तिब्बती, लेप्चा, कोच जातिसँग रहेकोबारे केलाएर नयाँ आयाम थपिएको बताए । ‘राजनीति र इतिहासले मुलुक एकताबद्ध गर्छ तर राज्यको इतिहासले लिम्बूलाई नमासिने मतुवलीको रूपमा दर्ज गरेको छ,’ माबुहाङले भने, ‘मतुवाली भनेको जँड्याहा हो र आज तिनै जातिले आफ्नो इतिहासको खोजी गरेर सार्वजनिक गर्नु इतिहास अध्यताका निम्ति चुनौती बनेको छ ।’

कृतिबारे बोल्दै अध्यता युग पाठकले विगतमा जसको सत्ता उसैको इतिहास लेख्ने, लेखाउने परम्पराको अन्त्य भएको बताए । ‘नेपालको इतिहास भनेपनि विगतमा जनताको इतिहास लेखिदैनथ्यो, ज्ञान उत्पादनमा जसको सत्ता हुन्छ उसैको इतिहास हुन्थ्यो,’ आप्mनो कृति ‘माङ्गेना’ लेखनका निम्ति इतिहास सामग्री खोजी तथा अध्ययनको निचोड सुनाउ“दै उनले भने, ‘देशको आधारभूत इतिहास पाइन्नथ्यो । एउटा परिवारले अर्को सिद्ध्याउने, डा“डा कटाउनेजस्तो कुरालाई इतिहास मान्यौं । पछिल्लो दशकमा जनताको इतिहास खोज्ने क्रम बढेको छ । र त्यसको प्रमाण नेम्बाङको ‘लिम्बू इतिहास’ हो । जनताको इतिहास लेखनमा यसले माइलस्टोनको काम गरेको छ ।’

पुस्तकबारे किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले इतिहासविद् नेम्बाङले सरल भाषामा स्पष्ट ढंगले लिम्बू जातिको इतिहास केलाएको बताए । यस्तै, इतिहासविद् डा. कमल तिगेला, राधिका लिम्बूलगायतले चर्चा गरेका थिए । लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष अर्जुन नुगो लिम्बू, यहाङ लाओती, डा. युवराज लिम्बू, योगराज लिम्बू, राम मादेनलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.