बि. मुक्काचो
‘इतिहास, संस्कृति र स्थानीय विकासको लागि खेलकुद’ भन्ने नाराका साथ आज (२०८१ कार्तिक ९ गते) ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ३ (साबिक उँबु गाउँ)स्थित ब्ओकुला खेल मैदानमा चौरास प्रिमियर लिग सुरु भएको छ ।
यसै गाउँपालिकाका उपाध्यक्ष आश्रचन राईको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो । उक्त खेल चार दिनसम्म चल्ने छ । कार्तिक १३ गते मंगलबारको दिन समापन गरिनेछ ।
देश नेपालभरि हालै आएको भारी वर्षा र बाढी प्रकोपले गर्दा मानेभन्ज्याङ गाउँपालिका बाढी पीडित अथवा संकटग्रस्त क्षेत्र घोषित भएको छ । यत्ति हुँदाहुँदै पनि यस भेगका युवाहरू पूर्वघोषित खेललाई सुचारु राखेका छन् ।
खेल उद्घाटन गर्दै पालिकाका उपाध्यक्ष राईले भन्नुभयो, ‘दुधकोशीको बाढीले व्याकुल माइला खेल मैदानसमेतलाई डुबानमा पारेको छ । जसलाई मर्मत गर्न बजेट विनियोजनको पहल भएको छ । ब्ओकुला मैदानलाई पनि बाढी पहिरोले केही असर पारेको छ । तसर्थ यसलाई पनि सरकारी बजेट विनियोजनको पहल गर्न आवश्यक रहेको छ ।’
उँबु गाउँका नेता तथा समाजसेवी शेरबहादुर राई र क्रमैसँग वडा नं. ९ माधवपुर, वडा नं ३ उँबु, र वडा नं ५ का वडा अध्यक्षहरू क्रमशः पूर्णबहादुर मगर, जितेन्द्र राई र रामकुमार राईले आफ्नो गहकिलो मन्तव्य राख्नु भएको थियो । खेल उद्घाटन समारोहको कार्यक्रम वडा नं.३ उँबुका निवर्तमान वडाध्यक्ष मेडल राईले संचालन गर्नु भएको थियो ।
जम्मा १२ वटा समूह (Team) को सहभागिता रहेको उक्त आयोजनालाई चार वटा समूहमा बाँडिएको छ । पहिलो राउण्डमा प्रत्येक समूहले तीन वटा खेल खेलेपछि गोल संख्या (Total goal score) र जम्मा भएको अंकको आधारमा दोस्रो चरणदेखि नक आउट प्रणालीमा जानेछ ।
दर्बाराज राईको संयोजकत्वमा आयोजना हुँदै गरेको खेलमा स्वदेश र विदेशबाट केही व्यक्ति र संघ संस्थाहरूबाट आर्थिक सहयोग जुटेको छ । गाउँपालिका र वडा पालिकाले प्राविधिक रूपमा सहयोग र समर्थन गरिरहेका छन् ।
समापन समारोमा स्थानीय कलाकारहरू राज राई, एलिना राई र नमेश राईको प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ ।
भौगोलिक रूपमा वाम्बुले राईहरूको उत्पत्ति केन्द्र वामद्याल (उँबुगाउँ)को मुनि यो ब्ओकुला खेल मैदान रहेको छ । मैदानको उत्तर दिशामा वाम्बुले राईहरूको आस्थाको धरोहर मानिने लिब्जुथान (डाँडा)लाई प्रत्यक्ष अवलोकन तथा दृष्टिगोचर गर्न सकिन्छ । माथि उत्तर–पश्चिममा ऐतिहासिक स्वालेवा पार्क स्मारक उभिएको देखिन्छ ।
पूर्वमा दुधकोशी नदी तथा शरद ऋतृले भरिपूर्ण प्राकृतिक दृश्य विद्यमान छ । यसैगरी दक्षिणमा खोटाङ जिल्लातर्फ आस्थाको धरोहर भुम्जु पर्वत उभिएको छ भने पश्चिममा निलो आकाशमुनि महाभारत पर्वत शृंखलाहरू लहरै उभिएका छन् ।
फुटबल खेलसँगसँगै सम्झना तस्बिरहरू लिन सकिने भएकोले प्राकृतिक रूपले समेत ब्ओकुलालाई एउटा मनोरम स्थलको रूपमा लिइएको छ ।
दोस्रो चरण अथवा नक आउट स्टेजमा पुगेपछि खेल महत्वपूर्ण र उच्च मनोबल (High tempo) को साथ खेलिनु साथै दर्शकहरूको भिड बढ्नेछ ।
ब्ओकुला खेल मैदानमा नै अघिल्लो वर्षहरूमा दोस्रो रिनुवाल कप र प्रदेश स्तरीय गाउँपालिका अध्यक्ष तथा मेयर कप आयोजना भएका थिए । उतिबेला गोलनेपाल डटकमले खेललाई फेसबुकमा लाइभ प्रसारण गरेको थियो । यसपालि भने आर्थिक अभावको कारण गोलनेपालको साथ मिलेको छैन ।
स्थानीय स्तरमा प्रख्यात हुँदै गएको फुटबल डटकमका संचालक संजय वाम्बुले राईले फेसबुक लाइभ प्रसारण गरेर खेलको रौनकता थपिन संकेत दिइरहनु भएको छ । बाँकी क्रमशः दिइने छ ।
हाल– बेलायत