वर्षेनी तीन हजार नयाँ बिरामी, लुकेर रहेका कुष्ठ प्रभावितको खोजी गरिँदै

स्वास्थ्य

काठमाडौँ ।  कुष्ठरोगको लागेको लुकाउने र औषधि पूर्णरुपमा सेवन नगर्ने कारण नेपालमा कुष्ठरोग प्रभावितको संख्या बढिरहेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले ‘६५औँ विश्व कुष्ठरोग दिवस’ का अवसरमा आज आयोजना गरेको अन्तक्र्रियामा नेपालमा पर्याप्त बजेटको अभावमा लुकेका कुष्ठरोग प्रभावितको खोजी गरी उपचारमा ल्याउन नसकिएको बताइएको थियोे ।

स्वास्थ्य सेवा विभागका उपमहानिर्देक चूडामणि भण्डारीले प्रत्येक वर्ष नयाँ तीन हजार मानिसमा कुष्ठरोग देखिनुका कारण लुकेका प्रभावितको प्रभावकारी खोज भई उपचार हुन नसक्नु भएको बताउनुभयो ।

संसारभरि कुष्ठरोग प्रभावितको संख्या सुस्त ढंगले घटिरहेको अवस्थामा सन् २०१० यता नेपालको तथ्यांक भने बढिरहेको छ । कुष्ठरोग नियन्त्रण महाशाखाका अनुसार आव २०७३/०७४ मा तीन हजार २१५ नयाँ बिरामीको पहिचान भएको थियो ।

चिकित्सकका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामक किटाणुबाट लाग्ने सरुवा रोग हो । यसले मुख्यगरी छाला र स्नायु (नशा)मा असर गर्दछ ।

नेपालमा विसं २०६५ मा कुष्ठरोगको निवारण भएको घोषणा गरिएको भएपनि सन् २०१० यता कुष्ठरोगी संख्यामा कमी नआएको कुष्ठरोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कुष्ठरोग पहिचान भएका बिरामीलाई चिह्न र लक्षणका आधारमा विभाजन गरी कम किटाणु भएकाले छ महिना र बढी किटाणु भएकाले १२ महिनाको औषधि नियमतिरुपमा सेवन गर्नुपर्ने हुन्छ ।

उपमहानिर्देशक भण्डारीले समयमै रोग पहिचान गरी उपचारमा जान नसक्नु ठूलो समस्या भएको भन्दै कुष्ठरोगका कारण अपांगतासम्बन्धी थप जिम्मेवारी आएको पनि उल्लेख गर्नुभयो ।

“हामीले अब बच्चालाई पनि यस रोग लाग्नबाट बचाउनुका साथै कुष्ठरोगका कारण हुने अपांगताबाट पनि बचाउनुछ, त्यसका लागि हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक मोहम्मद दाउदले दक्षिण एसियाली देशमा कुष्ठरोगीको संख्या अधिक रहेका बताउँदै नेपालको तराई क्षेत्रमा यो रोगको संक्रमण बढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “छिमेकी मुलुक भारतमा अहिले एक लाख ३७ हजार कुष्ठरोगका बिरामी छन्, खुला सिमानाका कारण नेपालमा पनि यसको संक्रमण उत्तिकै छ, तराईमा बाँके र बर्दिया पहाडी जिल्ला अछाममा कुष्ठ प्रभावित बढी देखिएका छन् ।”

कुष्ठरोग निवारण हुन बाँकी रहेका अछाम, सुर्खेत, बर्दिया, कपिलवस्तु, नवलपरासी, चितवन, नवलपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, सप्तरी, मोरङ र झापा गरी १८ जिल्लालाई सन् २०२० सम्म कुष्ठरोग निवारण गर्ने सरकारको लक्ष्य रहेको महाशाखाले जनाएको छ ।

सरकाले सन् २०२० सम्म नेपाललाई पूर्णरुपले कुष्ठरोग निवारण देश बनाउने लक्ष्य लिएर कार्यक्रम गरिहरेको छ । महाशाखाका परामर्शदाता छालारोग विशेषज्ञ डा रवीन्द्र बास्कोटाले हाल दुई हजार ६१९ जनाको उपचारले उपचार गराइरहेको बताउनुभयो । विश्वभरि एक लाख ८० हजार बिरामीको उपचार भइरहेको बताइन्छ ।

उहाँले भन्नुभयो, “खुट्टा कमजोर हुँदै गएमा, हातखुट्टा पोल्ने र निदाए जस्तो भएमा, छालामा रातो वा फुस्रो रङको दाग देखा परेमा, आँखीभौँ झरेमा वा पातलो भएमा, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो भएमा, लगातार हातखुट्टा झमझम गरेमा, नाक थेप्चो भएर गएको भेटिएमा कुष्ठरोगको लक्षण हुनसक्छ ।”

छालामा यस्ता कुनै पनि किसिमको समस्या वा परिवर्तन देखिएमा जाँच गराउन उहाँले आग्रह गर्नुभयो । नेपालमा कुष्ठरोगका कारण हालसम्म ३३ हजार व्यक्ति अपांग भएको अनुमान छ ।

“कुष्ठरोग नियमित उपचार गरेमा पूर्णरुपमा निको हुन्छ, एकमात्रा बहुऔषधि सेवन गरे ९९ दशमलव ९ प्रतिशत किटाणु निष्कृय भई रोग अरुलाई सर्दैन, समयमै उपचारमा गरेमा अपांगता हुनबाट पनि जोगिन सकिन्छ”, डा बास्कोटाले भन्नुभयो ।

महाशाखाले गत पुसबाटै रुपन्देही, कपिलवस्तु, नवलपरासी र कैलाली जिल्लामा कुष्ठरोगीबारे सर्वे पनि शुरु गरेको हो । सरकारले जोखिम मानिएका चार जिल्लामा लुकेर रहेका कुष्ठरोगीको खोजी कार्य शुरु गरेको छ । सर्वेका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यकर्ता र छालारोग विशेषज्ञ संलग्न रहेको महाशाखाले जनाएको छ ।

डा बास्तोलाले भन्नुभयो, “आव २०७३÷७४मा प्रभावितको संख्या बढेर ० दशमलव ९२ पुगेको पाइएपछि हामीले जोखिम मानिएका जिल्लामा लुकेर रहेका कुष्ठरोगी खोजी गर्न लागेका हौँ ।” नेपालमा विसं २०६६ मा कुष्ठरोगको प्रकोप दरप्रति १० हजार जनसंख्यामा एकभन्दा कम अर्थात् ० दशमलव ७७ रहेको घोषणा भएपनि हालसम्म पनि निवारणको अवस्था नै रहेको छ ।

शुरुकै अवस्थामा रोगी बिरामी पहिचान गरी अन्यलाई सर्न र अपांगता हुनबाट बचाउने, एकीकृत स्वास्थ्य प्रणालीमार्फत कुष्ठरोगको गुणस्तरीय सेवा उपलब्ध गराउन सर्वेले मद्दत पुग्ने बताइएको छ ।

एक महिना पूरा गर्ने लक्ष्य राखिएको सर्वेका लागि रु एक करोड रुपैयाँ खर्च लाग्ने बताइएको छ । विश्वमा हरेक वर्ष माघ २१ गते अर्थात् फेब्रुअरी २ मा विश्व कुष्ठरोग दिवस मनाइन्छ । यो पटक ६५औँ कुष्ठरोग दिवस मनाइँदैछ । यो वर्ष ‘कुष्ठरोगमुक्त समाज निर्माण, बालबालिकामा शूून्य अपांगता हाम्रो अभियान’ भन्ने नारा तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published.