प्रधानमन्त्री ओलीको शपथसँगै तीन सदस्यीय मन्त्रिपरिषद्

मुख्य समाचार राजनीति

लिभु संवाददाता


काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिनु भएसँगै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री ओलीले बिहीबार अपराह्न पद तथा गोपनियताको शपथ लिनु भएको हो ।

प्रधानमन्त्री ओलीले शपथ लिनु भएलगत्तै एमालेका लालबावु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापा मगरलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीमा नियुक्त गर्नु भएको छ । दुई मन्त्रीले राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको थियो । पण्डित यसअघि सामान्य प्रशासनमन्त्री बनेर जिम्मेवारी बहन गर्नु भएको व्यक्ति हुनुहुन्छ ।

विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुलीलगायत उपस्थिति रहेको थियो । यसैगरी, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वसभामुख एवम् विभिन्न प्रदेशका प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी तथा व्यवसायीलगायतको उपस्थिति रहेको थियो ।

http://www.kpsharmaoli.com.np/content/1509878178.html

Leave a Reply

Your email address will not be published.