लिभु संवाददाता
काठमाडौं । आदिवासी जनजाति महासंघले सांस्कृतिक पर्वमा दिँदै आएको विदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारलाई दबाव दिएको छ ।
महासंघले सोमबार अनामनगर स्थित तमू बौद्ध सेवा समिति हलमा पत्रकार सम्मेलन गरी सार्वजनिक विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै दबावमुलक आन्दोलन घोषणा गरेको हो ।
ठूलो संघर्षबाट प्राप्त भएको सांस्कृतिक पर्वका सार्वजनिक विदा कटौती गरिएको भन्दै महासंघका अध्यक्ष जगत बरामले निर्णय फिर्ता लिन सरकारसँग माग गरे ।
आन्दोलनका कार्यक्रम अनुसार चैत्र २७ गतेदेखि बैशाख ३ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओली तथा मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने, देशभर विरोध, प्रर्दशन, धर्ना दिने लगायत छन् ।
महासंघले सडक विस्तारको नाममा आफूहरुको सांस्कृतिक सम्पदामाथि अतिक्रमण नरोके प्रतिवादमा उत्रने चेतावनीसमेत दिएको छ ।