जिउँदो छँदै चिहान

पत्रपत्रिका

रमेशचन्द्र अधिकारी

सिमेन्ट ढुंगा मिसाएर कलात्मक रंगरोगन गरेर बनाइएका ती घर कुनै मन्दिर नभएर मृत्युपछि समाधिस्थ गरिने चिहान

काठमाडौँ — आफू जिउँदो छँदै चिहान बनाउने चलन धनकुटाका ग्रामीण क्षेत्रमा तीव्र बनेको छ । कम्तीमा दुई लाखदेखि पाँच लाख रुपैयाँ खर्चिएर चिहान बनाउने गरिएको छ । धेरैले घरभन्दा ३०–४० मिटर दूरीमा बारीको डिलमा चिहान बनाएका छन् ।

घरनजिक बारीका पाटामा झट्ट नियाल्दा मन्दिरजस्तै झल्को दिने स–साना घर देखिन्छन् । सिमेन्ट ढुंगा मिसाएर कलात्मक रंगरोगन गरेर बनाइएका ती घर कुनै मन्दिर नभएर मृत्युपछि समाधिस्थ गरिने चिहान हुन् । त्यो पनि जिउँदो छँदै आफ्नै लागितयार पारिएका ।
आफू जिउँदो छँदै चिहान बनाउने चलन धनकुटाका ग्रामीण क्षेत्रमा तीव्र बन्दै गएको छ । साँगुरिगढी–२ का ६५ वर्षीय नयनकुमार तुम्बाफोले घरनजिकै बारीको डिलमा चिटिक्क पारेर चिहान बनाएका छन् । मृत्युपछि आफन्तले उक्त स्थानमा समाधिस्थ गरिदिऊन् भन्ने उद्देश्यले उनले अहिल्यै चिहानबनाएका हुन् ।
तुम्बाफो मात्र होइन, जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा जिउ‘दै मानिसका दर्जनौं चिहान बनिसकेका छन् । सामान्य बोलीचालीमा कपुरथान भनिने चिहानलाई लिम्बु भाषामा इपुङ भनिने किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष शिव इङनाम बताउँछन् । साविकको बूढीमोरङ र हालको साँगुरिगढीस्थित माङदाङ्वा टोलमा मात्रै दर्जनभन्दा बढी चिहान बनाइसकिएको छ । अधिकांश वृद्ध दम्पतीले आफूहरूलाई मृत्युपछि सँगै राखियोस् भनेर जोडी चिहान बनाउने गरेका छन् । सामान्यत: ५ फिट अग्लो र ६, ७ फिट लम्बाइका चिहानघर बनाइन्छ । जहाँ पछि शवलाई बन्द गरेर राख्ने ठाउँ बनाइएको हुन्छ ।
झ्याल, ढोकाजस्तै देखिने कलात्मक शैलीबाट रंगरोगन गरिएका छन् चिहानहरू । केहीले आसपास तारघेरा र फूलबारीसमेत बनाएका छन् ।
सन्तान वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै मृत्युपछि चिहान बन्ला वा नबन्ला भन्ने दोधार छन् वृद्धवृद्धा । त्यसैले आफ्नो मृत्युपछि समाधिस्थ नै नगरिएला कि भन्ने चिन्ताले जीवितैमा चिहान बनाउने क्रम बढेको हो ।
घरैपिच्छे वैदेशिक रोजगारमा जाने युवाको लहरसँगै आफ्नै लागि चिहान बनाउने चलन अझ चुलिँदै गएको चुम्लुङका अध्यक्ष इङनामको भनाइ छ । स्थानीय बुद्धिमान इङनामले पनि
आफ्नो मृत्युपछि सन्तानलाई सजिलो होस् भनेर चिहान तयार पारेको बताए । ‘आफैंले बनाइदिएको चिहानमा मरेपछि त राखिदेलान् नि,’ उनले भने, ‘आजभोलि सबै व्यस्त हुन थालेकाले बरु आफैंले जीवितैमा तयार पारिदिएपछिढुक्क भयो ।’
विशेषगरी लिम्बु समुदायमा यस्तो चलन बढ्दै गएको साँगुरिगढीस्थित रामनवमी माविका प्रधानाध्यापक रमेश इबाहाङ बताउँछन् । लिम्बु समुदायमा धेरैजसो चिहानमा समाधिस्थ गरिने चलन रहेको उनले जानकारी दिए । ‘पहिले त हामीलाई नि अनौठो लाग्थ्यो,’ उनले भने, ‘अब त जिउ‘दैमा चिहान बनाउने एक प्रकारको चलनै बनिसक्यो ।’
सुरुमा बूढीमोरङका जगत तुम्बाफो र खुवाफोकका दिलबहादुर याख्खा तथा उनका तीन दाजुभाइले जीवित छँदै चिहान बनाएको स्थानीयवासीको भनाइ छ । जगतबहादुर तुम्बाफोको डेढ दशकअघि मृत्यु भइसकेको छ । उनलाई जीवित छँदै निर्माण गरिएको कपुरथानमा समाधिस्थ गरिएको परिवारले बतायो । उनका ६४ वर्षीय छोरा नयनकुमारले पनि बाबुको जस्तै आफ्ना लागि चिहान निर्माण गरिसकेका छन् । यो क्रम नियाल्दा जिउ‘दै चिहान बनाउने चलन अब दोस्रो पुस्तामा पुगिसकेको छ । यसैलाई अन्य स्थानमा बसोबास गर्ने लिम्बु तथा याख्खा समुदायले पछयाइरहेका छन् ।
साँगुरीगढी २ कै बुद्धिमान इङनाम, मनमाया लिम्बु, मनबहादुर इङनाम, हस्तबहादुर लिम्बु तथा उनकी श्रीमतीको पनि जिउ‘दैमा चिहान बनाइसकेका छन् ।
बूढीमोरङ, खुवाफोक, हात्तीखर्क, परेवादिन, महाभारत तथा भेडेटार आसपासका क्षेत्रमा जीवित छँदै समाधिस्थल बनाउने चलन बढ्दै गएको चुम्लुङका अध्यक्ष इङनामको भनाइ छ । कम्तीमा दुई लाखदेखि पाँच लाख रुपैयॉ खर्चिएर चिहान बनाउने गरिएको छ । धेरैले घरभन्दा ३०–४० मिटर दूरीमा बारीको डिलमा चिहान बनाएका छन् । घर छेउछाउमै चिहान राखिने चलनले विशेषगरी बालबालिकामा मनोवैज्ञानिक असर पर्ने रामनवमी माविका छात्र सोनम लिम्बु बताउँछन् ।

प्रकाशित : फाल्गुन १९, २०७४ १०:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *