संस्मरण कतिपयः ब्ओकुला, वनभोज र नयाँ वर्ष २०८३


बी. मुक्काचो

माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई
हत्केलामा मायाको गुरास फुलाउनेलाई
भन्दिनू है भन्दिनू है मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ..


मध्येयुगिन समय अथवा करिब हजÞार वर्ष अगाडि सिकार खेलेर भोज खाने चलन थियो । युरोपमा रोमन साम्राज्यको अन्त्यपछि त्यही चलन विकसित हुँदै आजभन्दा करिब तीन सय वर्ष अगाडि अर्थात् सत्रौं शताब्दीतिर फ्रान्सेली नागरिकहरूले आ–आफ्नो घरबाट खाना र पेय पदार्थ जम्मा गरेर (Outdoor picnic) सुरू गरेका थिए ।

उन्नाइसौं शताब्दीमा कुलीन वर्ग (एलिट) हरूले यसलाई खाने, पिउने र मनोरन्जनको रूपमा झन विकसित गर्दै लगे । फ्रान्सेली शब्द pique–nique को अपभ्रंश अर्थात् अंग्रेजीमा Potluck माने सामाजिक भेलामा खाना बाँडेर खाने चलनलाई पिननिक (वनभोज) भन्न थालिएको हो ।

जेनजेड (GenZ) उमेरमै विदेशिएको थिएँ । रहनसहनले भुसुक्कै आधी विदेशी भइसकेछु । यसो भनौं म एकाएक युरोपको पब कल्चरमा मिसिन पुगें । डिस्कोथेक अथवा नाइट क्लबको अंग्रेजी गीतमा नाचेर बिहान ३ बजे क्लब बन्द भएपछि केबाब खाएर मात्र कोठा फर्कने हुन थालें ।

जीवनमा हवाइजहाज कहिल्यै चढेको थिइनँ । लामो हवाई यात्रापछि लण्डनको ग्याटविक विमानस्थलमा अवतरण भयौं । बसमा चढाएर हामीलाई क्विन एलिजावेथ ब्यारेक चर्चक्रूखममा पु¥याइयो । निर्मम कुटाइ र दाइँपछिमात्र बहर गोरु मेलो लाग्छ । त्यस्तै नौ महिनाको कठोर तालिमपछि हामी पनि बल्ल काँचो रेकरुटबाट सिपाही भयौं अरे !

‘बल्ल अलिअलि मांन्छे भयौ भन्थे गुरुजी र साहेबहरूले, लाटोलाई बाठो र धेरै बाठो अथवा ओभर बाठो दुम्बा (OBD)को अर्थ चाहिनेभन्दा बढी जान्ने हुन खोज्नेलाई ठिक्कमात्र बाठो बनाउने तालिम हो यो ।’

सम्झँदा हिजो जस्तो लाग्छ । थाहै नपाइ तीनदशक हुन लागेको हो ? के म साँच्चै बुढो भएको हो ? मनमनै यस्ता रेटोरिक र अनगिन्ती अनुत्तरित प्रश्न र पश्चातापहरू छन् ।

जन्मथलो ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ वाम्द्याल रिनुवाल गाउँ ब्ओकुलाको पिपल फेदमुनि ठुलो थ्रीपिसवाला क्यासेट प्लेयर थियो । गाउँकै एकजना लाहुरेले हङकङबाट ल्याएको त्यो डेकमा कवि श्रवण मुकारूङको रचना र गायिका कुन्ती मोक्तानको मीठो स्वरले गुन्जयमान थियो ब्ओकुला र प्वान्डोप डाँडा । तत्कालिन समयको सर्वाधिक लोकप्रिय गीत र २०५२ सालमा आयोजित ब्ओकुला वनभोज कार्यक्रम सम्झिरहेको रहेको छु । र, सम्झी रहेको छु यही नयाँ वर्ष २०८३ र ब्ओकुलाको पिकनिकलाई । अफसोच ! २०५२ सालको फोटो भेटिएन । तर २०५४ सालमा आयोजना भएको फोटो भेटियो ।

प्रसंग र पिकनिक स्पट (स्थान) उही ब्ओकुला थियो र छ । फरक सिर्फ समय, काल र पिढीको हो, जुन आकाश र पातालको अन्तर पाइन्छ ।

किरात राई यायोक्खाका वर्तमान केन्द्रीय अध्यक्ष जीवन हाताचो राई पनि गत वर्ष २०८२ को वनभोज कार्यक्रममा सपरिवार त्यहाँ पुगेछन् । समाजले उनको उपस्थितिलाई विशेष महत्व र चासोको रूपमा लियो नै । स्मरण रहोस् जीवन हाताचो राईको जन्मगाउँ पनि रिनुवाल हो र उनले पनि आफ्नो बाल्यकाल यही बिताएका थिए ।

स्थानीय महिला समूहको सक्रियतामा हरेक वर्ष आयोजना हुँदै आएको उक्त वनभोज कार्यक्रममा टग अफ वार अथवा रसी तान्ने प्रतियोगिता र भलिबल, फुटबल खेलहरू भएका छन् । यस वर्ष महिलाहरूको लुङ्गी फुटबल प्रतियोगितालाई प्रमुख आकर्षणको रूपमा हेरिएको छ ।

रिनुवालेहरूले ब्ओकुलालाई खेलकुद हबमात्र नभएर साँस्कृतिक, धार्मिक, साहित्यिक र सामुदायिक भेलाको केन्द्रको रूपमा पनि विकसित गर्दै लाने अभियान चलाइरहेका छन् । तसर्थ विगतदेखि नै गरिदै आएको संसारीमाई पुजा पनि निरन्तर हुँदै आएको छ ।

दसैं र ब्ओकुला
रोटे पिङ, लिङ्गे पिङ र जाते पिङ (तीनै खालको पिङ) पनि हालेर दसैं मनाउने प्रचलन ब्ओकुलामा अद्यावधि कायमै छ । वामड्याल (उँबु)को प्रायः गाउँ टोलहरूमा यो चलन हराउँदै गएको छ ।

विगतमा एक राते हुइसा बजार लाग्ने ठाउँको रूपमा प्रख्यात ब्ओकुलामा विशेषगरी बालाचतुर्दशीमा हलेसी मेलाबाट फर्केपछि ठुलो बजार लाग्ने गर्दथ्यो । अहिले वाम्ड्याल आसपास लाग्ने गरेका डुन्डु, ढ्वाङ्कुम र पस्सुजस्ता ठुला मेला तथा बजारहरू अस्तित्व संकटमा छन् । केही हदसम्म यसलाई साँस्कृतिक विचलनको रूपमा पनि लिन सकिन्छ ।

ग्रामिण भेगमा पनि विभिन्न अवसर पारेर वनभोज कार्यक्रमको आयोजना हुँदै आएको छ । नयाँ वर्षको उपलक्ष्यमा उँबुको टार्कोम, फÞकुल र सोदुमा समेत भव्यताका साथ वनभोज कार्यक्रम आयोजना भएको देखियो ।

यसले पनि सामाजिक अन्तरक्रिया यानेकि सोसल इन्टरेक्सनको साथसाथै एकता र आपसी मेलमिलाप बढ़ाउने भएकोले परिस्कृत रूपमा निरन्तरता पाओस् । गाउँप्रतिको आकर्षण बढ्ने र सकारात्मक सन्देश दिने भएकोले पनि यस्ता क्रियाकलापहरूले बढावा पाउनु पर्दछ ।

(लेखक बी. मुक्काचो ब्रिटिस आर्मीमा कार्यरत सैनिक हुन् । सम्पादक)

प्रकाशित : शुक्रबार, बैशाख ०४, २०८३२३:४७