एलिजाबेथका अधुरा सपना

पत्रपत्रिका

काठमाडौं   । पर्वतारोहणमा त्यतिका काम गरिन्, एलिजाबेथ हवलीले । उनको मुख्य सपना भने अधुरै रह्यो । नेपालमा पर्वतारोहणसम्बन्धी चार सयभन्दा बढी तथ्यांक संकलन गरी जीवनको अन्तिम समयमा नेपाल सरकारलाई सुम्पिने उनको सपना साकार भएन । पर्वतारोहणकी डाटाबेस नामले चिनिने उनको काठमाडौंको कपुरधारास्थित सिवेक अस्पतालमा ९५ वर्षको उमेरमा शुक्रबार निधन भयो ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक एवं नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष सुनारबहादुर गुरुङसँग उनले तथ्यांक संकलनकै क्रममा जीवनको अन्तिम कार्य सरकारलाई बुझाउने भनेकी थिइन् ।

हिमालै हिमालको देश भनेर चिनिएको नेपालमा उनी अमेरिकाबाट प्रकाशित ‘टाइम्स एन्ड लाइफ’ म्यागेजिनका लागि पर्वतारोहणसम्बन्धी रिपोर्टिङ गर्न ६० वर्षअघि आएकी थिइन् । उनी ‘रोयटर्स’ र ‘टाइम’ मिडियामा पनि आबद्ध थिइन् । उनले हिमालमै पुगेर रिपोटिङ गर्ने क्रममा वास्तविक तथ्यांक नपाएपछि ६ दशकदेखि नै ‘हिमालयन डाटाबेस संस्था’ स्थापना गरी तथ्यांक संकलन सुरु गरेकी थिइन् ।

पर्वतारोहण क्षेत्रको तथ्यांक राख्दै जाने क्रममा उनले ‘पर्वतारोहण बैंक’को उपनापसमेत पाएकी थिइन् । हवलीको निधनप्रति शोक व्यक्त गर्दै पर्वतारोहीहरूले हिमालको एउटा ‘खम्बा’ गुमाउनुपरेको बताएका छन् ।

विश्वभरका हिमाल आरोहणको तथ्यांकमा उनले विश्वका चर्चित र कीर्तिमानी आरोहीको विवरण, आरोहण गरिएका हिमालको महत्वपूर्ण विवरणदेखि आरोहणका लागि तय गरिएका योजना, आरोहण गाइड, आरोही र आरोहण दलका सदस्यको पूर्ण जानकारी, आरोहणको अवधि, अवस्था र आरोहण सम्पन्न भए÷नभएको पुष्टि, मौसमको अवस्थालगायत सम्पूर्ण जानकारी राख्दै आएकी थिइन् । उनले नेपालको तर्फबाट मात्र नभई सबै क्षेत्रबाट हिमाल आरोहण गरेको तथ्यांकसमेत राखेकी छन् ।

सबैभन्दा छिटो आठ घण्टा १० मिनेटमा पेम्बाछिरी शेर्पाले सगरमाथा आरोहण गरेको भने पनि उनले आरोहण नगरेको पुष्टि गरेपछि अदालतले पेम्बाछिरीको कीर्तिमान खारेज गरिदिएको थियो ।

सरकारले हिमाल आरोहणको अनुमति दिने र सफल आरोहणको तथ्यांक राख्दै आए पनि हवलीले यसखाले सम्पूर्ण जानकारी राखेर सरकारलाई सहयोग गर्दै आएकी पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले बताए । ‘पर्वतारोहण क्षेत्रको सम्पत्ति गुमेको छ, हामी दुःखी भएका छौं,’ उनले भने, ‘ सन् १९६९ देखि चिनजान भएपछि उनी हिमालमै रहेर नेपालको पर्वतारोहणसम्बन्धी तथ्यांक राख्दै आएकी थिइन् ।’ आजको अन्न्पूर्णमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *