पूर्वाञ्चल विश्वविद्यालयबाट टीकाराम राईलाई पहिलो विद्यावारिधि

उद्‌घोष संवाददाता
२२ चैत २०८२, आइतवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक इतिहासमा एक महत्वपूर्ण उपलब्धि थपिएको छ । ओखलढुङ्गाका टीकाराम राईले विश्वविद्यालयको व्यवस्थापन संकायबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्दै पूविको इतिहासमा पहिलो शोधकर्ता बन्ने गौरव प्राप्त गरेका हुन् ।

उनले वर्तमान समयको निकै चुनौतीपूर्ण र सान्दर्भिक विषय ‘नेपालको बैंकिङ कसुर’ शीर्षकमा आफ्नो गहन अनुसन्धान पूरा गरेका छन् ।

विद्यावारिधि उपाधिका लागि अनिवार्य मानिने अन्तिम मौखिक परीक्षा अर्थात् ‘भाइभा भोसी’ आइतबार विराटनगरमा सम्पन्न भएको थियो ।

व्यवस्थापन संकाय अन्तर्गतको एमफिल तथा पीएचडी कार्यक्रमद्वारा आयोजित सो सत्रमा राईले आफ्नो शोधपत्र प्रस्तुत गर्दै सुपरीवेक्षक तथा बाह्य मूल्याङ्कनकर्ताहरूले राखेका जटिल प्रश्नहरूको प्राज्ञिक जवाफ दिएका थिए ।

उनको प्रस्तुति र अनुसन्धानको गहिराइलाई हृदयङ्गम गर्दै विज्ञ टोलीले उनलाई विद्यावारिधिको उपाधिका लागि योग्य ठहर गरेको हो ।

यस ऐतिहासिक शैक्षिक प्रक्रियामा नेपाल र भारतका प्रतिष्ठित प्राज्ञहरूको संलग्नता रहेको थियो । राईको शोध कार्यमा प्राडा राधेश्याम प्रधानले सुपरीवेक्षक र प्राडा बिजु थपलियाले सह–सुपरीवेक्षकको रूपमा मार्गदर्शन गरेका थिए ।

त्यसैगरी, बाह्य मूल्याङ्कनकर्ताका रूपमा भारतको बोडोल्याण्ड विश्वविद्यालय भारतकी वाणिज्य तथा व्यवस्थापन संकायकी डीन प्राडा आयकपाम इबेमचा चानुको विशेष उपस्थिति थियो ।

कार्यक्रममा प्राडा प्रेमराज पन्त, प्राडा माधवराज कोइराला, विश्वविद्यालयको व्यवस्थापन संकायका डीन प्राडा सन्देशदास श्रेष्ठ र एमफिल तथा पीएचडी कार्यक्रमका निर्देशक प्राडा जीवनकुमार ढकाल लगायतका शिक्षाविद्हरूको सहभागिताले कार्यक्रमको गरिमा बढाएको थियो ।

विश्वविद्यालय स्थापना भएको लामो समयपछि आफ्नै उत्पादनका रूपमा पहिलो विद्यावारिधि शोधकर्ता प्राप्त गर्नुलाई पूर्वाञ्चल विश्वविद्यालयले ठूलो सफलताका रूपमा लिएको छ ।

आधिकारिक प्रमाणपत्र प्राप्त गर्न केही दिन बाँकी रहे पनि राईको यो सफलताले नेपालको बैंकिङ क्षेत्रको कानुनी तथा व्यवस्थापकीय पक्षको अध्ययनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । साथै, यसले आगामी दिनमा अन्य शोधकर्ताहरूका लागि समेत मार्गप्रशस्त गरेको छ ।

https://udghoshdaily.com/news/743740-260405211827/detail?fbclid

प्रकाशित : शनिबार, बैशाख १९, २०८३१५:४४