गजुरधन राई
नेपाल टेलिभिजनमा म अहिले बिहानी सिफ्टमा समाचार वाचन गरिरहेको छु । भूकम्प गएको दिन (२०७२ वैशाख १२) पनि आफ्नो जिम्मेवारी पूरा गरेर अपरान्ह ‘सिफ्ट’का साथीहरुलाई ‘ह्यान्डओभर’ गर्यौं । म ‘युनिफर्म’मै थिएँ । समाचारकक्षबाट युनिफर्ममै ओर्लेर भुइँमा मात्र पुगेका थियौं, भूकम्प आयो । भाग रे भाग चलिगयो ।
विपतमा सबभन्दा पहिले त परिवारको सम्झना हुँदो रहेछ । श्रीमतीलाई फोन गरें । धन्न फोन लाग्यो । बालबच्चासहित सुरक्षित चौरमा जम्मा भएका रहेछन् । मलाई ढुक्क भयो ।
भूकम्पको कम्पनमा पर्दा त जमिनै धाँजा फाटेर हिन्दी फिल्ममा अक्षयकुमार जमिनमुनि पुरिएजस्तै पुरिइने पो हो कि भन्ने डर लागेको थियो । प्राकृतिक शक्तिका अघि हाम्रो केही नलाग्दो रहेछ । निरीहता बोध भयो मलाई ।
क्यामेराम्यान शंकर बुढाथोकी सँगै थिए । ‘लु क्यामेरा तयार गर्नुस्’ भनें । क्यामेरा त तयार भयो । तर परिवारसँग सम्पर्क हुन नसकेर शंकर तनावमा थिए । फोन लागिरहेको थिएन । प्रिपेड नम्बरले काम गरेको थिएन । पोस्टपेड र एनसेलको नम्बरबाट मात्र फोन लागिरहेको थियो । मैले शंकरलाई ‘मेरो पोस्टपेड नम्बरबाट फोन गर्नुस् त’ भनेर फोन दिएँ । नभन्दै फोन लाग्यो । उनको पनि परिवार सुरक्षित रहेछ । हामी दुवैजना ढुक्क भयौं ।
भूकम्पले सिंहदरबार गेट खुलेपछि
मेरो गोजीमा एउटा क्यासेट थियो । ‘भिजुयल’ खिच्नका लागि मैले शंकरलाई दिएँ । भूकम्पका बेला नेपाल टेलिभिजनको ७२ मिटर अग्लो टावर बाँसझैं नुहेको देखियो । अग्ला घरहरु त्यसरी नै हल्लिएका थिए । विजुलीका तार त्यसरी नै हल्लिएका थिए । हामीलाई के लाग्यो भने अनामनगरतर्फका अग्ला घरहरु पक्कै ढले होलान् । हामी दुई जना त्यता लाग्यौं ।
शनिवार भएकोले सिंहदरबारको पूर्वी गेट (अनामनगरपट्टि) बन्द थियो । हेर्दाहेर्दै भूकम्पको झट्काले फलामे साङलो चुँडिएर गेट ह्वाङग भयो । अनामनगरको सडकैभरि मान्छेहरु सल्याङबल्याङ गर्दै थिए । कोलाहल थियो । गेट खुलेपछि मान्छेहरु सिंहदरबारभित्र ह्वारह्वारति छिरे । टेलिभिजन अघिको चौर मान्छेले भरियो ।
सिंहदरबारभित्र र बाहिर सडकको परिदृश्यका बारेमा आठ मिनेटजति प्रत्यक्ष रिपोटिर्ङ गरें । शंकर र म हुरिर्एर टेलिभिजनतिर लाग्यौं । अफिसभित्र कोही थिएनन् । सबै बाहिरै थिए । चुडामणि नेपाल, प्रेमकुमार लुइँटेल अनि म भित्र छिर्यौं । स्टुडियोका सविन दाहाल पनि भित्र छिरे । रिपोटिर्ङका क्रममा खिचिएका दृश्य प्रसारणका लागि उनलाई दिएँ ।
बिहानी सिफ्टका इन्चार्ज मनोहरि थापा पनि बाहिरै थिए । अब आपतको बेला ‘चेन अफ् कमान्ड’भन्दा मान्छेलाई सुसूचित गर्नु महत्वपूर्ण हो भन्ने लागेर स्वविवेकले प्रसारण गर्ने निर्णय लियौं ।
साथीहरुसँग सल्लाह भयो । मैले साथीहरुसँग भनें, ‘म स्टुडियोमा बोल्छु । तपाईंहरुले केही समयअघि खिचिएका दृश्य बीचबीचमा देखाउनुस् । राष्ट्रिय भूकम्प मापन केन्द्रबाट सूचना लिनुस् । बाहिरबाट आएका सूचनाहरु मलाई दिनुस् ।’
मान्छेहरु सडकमा अत्तालिएर लडेका । आफन्तलाई अत्तालिँदै फोन गरिरहेका । बाइक लडेका । कोही बान्ता गरेका । सिंहदरबार चौरको भीड । यी सबै दृश्य खिचेका थिए शंकरले ।
डेला प्रसाईंको चित्कार
नेपाल टेलिभिजनमा १२ बजेको समय अंग्रेजी समाचारको हो । डेला प्रसाई समाचार पढ्न आइसकेकी थिइन् । ‘मेक अप् रुम’मा कपडा फेर्दै गर्दा भूकम्प आएपछि उनलाई ऐना र प्लाइउडले थिचेछ । आफू पनि भुइँमा लडिछन् । उठेर बाहिर निस्कन खोज्दा भूकम्पले गेट पनि बन्द भएको रहेछ । बल्लबल्ल उनी बाहिर आउन सफल भइन् । हामीलाई त उनी त्यहाँ परिन् भन्ने पनि थाहा थिएन । भवनभित्रबाट तल चौरमा आएपछि उनी डाँको छोडेरै रोइन् । हामीले उनलाई सान्त्वना दियौं ।
लु है म स्टुडियोभित्र छिरें
१२ बजेर ९ मिनेट गएको थियो । म स्टुडियोभित्र छिरें । र, बोल्न सुरु गरें, ‘नमस्कार दर्शकवृन्द † भुइँचालोको विशेष प्रस्तुतिसहित तपाईंसामु आएका छौं । भर्खरै काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । भुइँचालोले राष्ट्रिय विपत्ति ल्याएको अनुमान गरिएको छ तर आधिकारिक जानकारी भइसकेको छैन । किनभने, यतिबेला पहिलो प्राथमिकता आफ्नो ज्यान जोगाउनु हो । मान्छेहरु अहिले घरबाहिर हुनुहुन्छ होला तर पनि हामी हाम्रो प्रसारण लिएर प्रस्तुत भएका छौं ।’
स्टुडियोको मुख्य कार्यकक्षमा बसेर प्रत्यक्ष रिपोटिर्ङ गरिरहँदा दर्जनौं पटक भूकम्पको धक्का आयो । एकपटक त ६.९ रेक्टर स्केलकै धक्का आयो । म भने धक्कामा हल्लिँदै प्रस्तुति दिइरहें । तर जोखिम मोलेरै जनतालाई सुसूचित गर्नुपर्छ भन्ने कर्तव्यबोध भयो मलाई ।
म विनास्क्रिप्ट बोल्न सुर गरें । ममा अलौकिक शक्ति र आत्मविश्वास पैदा भएको थियो । भूकम्पबाट कसरी बच्ने र भूकम्पमैत्री भवन कसरी बनाउने भन्नेबारेमा मैले दुई वटा डकुमेन्ट्री पनि बनाएको थिएँ । त्यसैले मसँग भूकम्पबारे आधारभूत ज्ञान थियो । त्यसले पनि मलाई प्रत्यक्ष प्रस्तुतिका लागि सजिलो भयो ।
अर्को कुरा चाहिँ, सन् २०१० को महाभूकम्पबाट पीडित हाइटीको स्थलगत रिपोटिर्ङ गरेको अनुभव पनि थियो मसँग । नेपाली सेनाले त्यो अवसर दिएको थियो । हाइटी जहाँ भूकम्पमा साढे तीन लाख मान्छेको मृत्यु भएको थियो ।
मलाई स्टुडियोमा विनास्क्रिप्ट बोल्न अप्ठेरो भएन । तर, म आफैं पनि भूकम्पले पारेको मनोवैज्ञानिक दबाबमा थिएँ । ठूलो भूकम्पपछि पराकम्पन, प्रतिकम्पन आउँछ भन्ने थाहा थियो मलाई । स्टुडियोको मुख्य कार्यकक्षमा बसेर प्रत्यक्ष रिपोटिर्ङ गरिरहँदा दर्जनौं पटक भूकम्पको धक्का आयो । एकपटक त ६.९ रेक्टर स्केलकै धक्का आयो । म भने धक्कामा हल्लिँदै प्रस्तुति दिइरहें ।
भूकम्प प्रतिरोधक भवनभित्र ‘जेके’
नेपाल टेलिभिजनको मुख्य भवन चीन सरकारले ५१ करोड रुपैयाँमा निर्माण गरिदिएको हो । प्रधानमन्त्री शेरबहादुर देउबाको पालाको कुरा हो यो । यो दक्षिण एसियामै सबैभन्दा सुविधासम्पन्न टेलिभिजन प्रसारण भवन मानिन्छ । त्यहाँ यति धेरै उपकरणहरु जडान गरिएका छन् कि हामीलाई नै थाहा छैन । ती उपकरण के के हुन् भनेर हामीले पनि इन्जिनियरहरुलाई सोध्नुपर्ने हुन्छ ।
पहिलो भूकम्पले ती उपकरणलाई कमजोर बनाएकोले अलिअलि हल्लिरहेका पनि थिए । भवन त ८.५ रिक्टर स्केलको भूकम्प प्रतिरोधात्मक क्षमताको भएकोले ढल्दैन होला भनेर मन बुझाइरहेको थिएँ ।
हामी स्टुडियोको जुन कुर्सीमा बसेर कार्यक्रम प्रस्तुत गर्छौं त्यसको ठीक माथि थुप्रै उपकरणहरु जडान भएका छन् । मनमा घरिघरि डर पनि पैदा भइरहन्थ्यो– ‘कतै ती उपकरण मेरो टाउको माथि बज्रियो भने मेरो के हाल होला ?’
हामी शाहीकालमा ‘जेके’ र ‘जेसी’ शब्द खुब प्रयोग गथ्र्यौं । त्यतिखेर आन्दोलनकारीले प्रहरीलाई पिटेको, पर्खाल भत्काएको, ढुंगाले हानेको दृश्य चाहिँ छानीछानी प्रसारण गर्नुपर्ने, प्रहरीले पिटेको दृश्य र समाचार चाहिँ प्रसारण गर्न नपाइने उर्दी थियो । त्यो पालना नभए जागीर जाने खतरा थियो । अनि हामी ठट्टा गर्दै भन्थ्यौं– ‘जेसी (जागीर चट्) मा परिएला ।’
आन्दोलनको समाचार बनाउने क्रममा भिडन्तमा परियो भने ‘जेके’ (ज्यान खतरा), समाचार शाही सरकारले भनेजस्तो भएन भने ‘जेसी’ । स्टुडियोभित्र म ‘जेके’ को अवस्थामा थिएँ । ६.९ रिक्टर स्केलको पछिल्लो धक्काले झुन्डिरहेको क्यामेरा भुइँमा झर्याम्मै भयो । धन्न मभन्दा ठीक माथिको उपकरण चाहिँ झरेन । स्टुडियोभित्र म मात्र थिएँ । क्यामेरा ‘सेटिङ’ गरिदिएर क्यामेराम्यान पनि बाहिर गइसकेका थिए ।
यस्तै अवस्थाका बीचमा आफू अघिको टेबल बेस्सरी समाएर म बोलिरहें, ‘हेर्नुस् दर्शकवृन्द † भूकम्पको धक्का आइ नै रहेको छ । हामी ज्यान जोखिममा राखेर यो प्रसारण गरिरहेका छौं । मलाई कुर्सीमा अडिएर बस्न पनि गाह्रो भइरहेको छ । म कुर्सीबाट लडें भने पनि अन्यथा नमान्नु होला । तपाईंहरु नआत्तिनुस् । भुइँचालोमा आत्तिएर भागदौड गर्दा ज्यान जाने, घाइते हुने खतरा बढी हुन्छ ।’ प्रसारणमा त्यसो भनेको छु तर भित्रभित्र चाहिँ म आफैं पनि आत्तिएको छु । छेउछाउबाट सिसा खसेर फुटेको छ । म ‘ए’ भनेर तर्सिएको छु । जनतालाई सुसूचित गर्नुपर्छ भन्ने जिम्मेवारीबोधले मात्र म टिकिरहेको थिएँ ।
टिमवर्कले भयो सम्भव
ठूलो धक्कापछि ६.९ रिक्टर स्केलको पराकम्पन आयो । त्यसपछि केही साथीहरु पनि भित्र प्रवेश गरे । टेलिभिजन कार्यक्रम भनेको टिमवर्क हो । साथीहरुले नयाँनयाँ सूचना दिन थाले । साथीहरुले राष्ट्रिय भूकम्प मापन केन्द्रमा सम्पर्क गरे । सम्पर्क भएन । इन्टरनेट चलिरहेको रहेछ । अमेरिकी जिओलजिकल सर्भेले आफ्नो वेबसाइटमा नेपालमा ७.९ रिक्टर स्केलको भूकम्प गएको भनेर समाचार दिएको रहेछ । चुडामणिजीले त्यो समाचार मलाई दिएपछि मैले भनें, ‘दर्शकवृन्द † अमेरिकी भौगर्भिक सर्भेका अनुसार नेपालमा भर्खरै गएको भूकम्प ७.९ रिक्टर स्केलको छ ।’
केही समयपछि राष्ट्रिय भूकम्प मापन केन्द्रसँग पनि साथीहरुको सम्पर्क भएछ । तर, केन्द्रले ७.६ रिक्टर स्केलको भूकम्प गएको बताएको थियो । मैले त्यो पनि दर्शकहरुलाई जानकारी दिएँ । चिनियाँ टेलिभिजन संस्था सिसिटिभीले चाहिँ नेपालको भूकम्प ८.१ रिक्टर स्केलको हो भनेर प्रसारण गरिरहेको छ ।
कति रिक्टर स्केलको भूकम्प गयो भन्ने समाचार प्रसारण गर्दागर्दै धरहरा ढल्यो भन्ने खबर चुडामणिजीले दिए । म असमञ्जसमा परें । धरहरा ढल्यो भनिहालौं भने पनि अप्ठेरो, नढलेको भन्न पनि सूचना नै आइसक्यो ।
मैले चुडामणिजीलाई हातको इसाराले सोधें, ‘कसले भनेको ?’ चुडामणिजीले सुरक्षाकर्मीले सूचना दिएको बताए । उनले मान्छेहरुले हेरेर पनि आइसके भनेपछि मैले प्रत्यक्ष प्रसारणमा भनें, ‘भर्खरै सुरक्षा निकायले दिएको सूचनाअनुसार धरहरा ढलेको छ ।’ दर्शकहरुलाई तानिरहन मैले थप भनें, ‘धरहराको अवस्थाका बारेमा सूचना आइसकेको छैन तर एकैछिनपछि हामी प्रसारण गर्दैछौं ।’ हाम्रा साथीहरु धरहराको अवस्था खिच्नका लागि पुगिसकेका पनि थिए ।
१२ :०९ देखि लगातार २:१५ बजे अपरान्हसम्म विनास्क्रिप्ट स्टुडियोभित्र बसेर भूकम्पबारे समाचार र सचेतना दिइरहें । मैले बिहानको खाना खाएको थिइनँ तर भोक पनि लागेको थिएन । साँझदेखि चाहिँ नेपाल टेलिभिजनको प्रसारण चौरबाट भयो ।
अन्तर्राष्ट्रिय ‘रेस्पोन्स’
भूकम्पसम्बन्धी प्रत्यक्ष प्रसारणको ‘रेस्पोन्स’ पाउन थालेको छु । कालिम्पोङ–दार्जीलिङतिरका दर्शकहरुले हेर्नुभएको रहेछ । ‘बडो सेन्सेटिभ रिपोटिर्ङ गर्नुभयो है’ भनेर मलाई उत्साहित गर्नुभएको छ । विदेशतिर पनि थुप्रैले हेर्नुभएको रहेछ । ‘तपाईंको अनुभव कस्तो रह्यो, कुरा गरौं न’ भन्दै न्युज एसियाले मेरो अन्तर्वार्ता नै लियो । भूकम्पले सुख्खा पहिरो आएर तातोपानी क्षेत्रमा अवरुद्ध ३१ किलोमिटर बाह्रबिसे–जमुकोट (मितेरीपुल) सडकखण्ड ४८ ठाउँमा भत्केको रहेछ, पुलहरु भासिएका रहेछन् । ५ सय चिनियाँ सेनाले १८० घण्टामा सडक खुलाएका थिए ।
सडक खुलाइसकेपछि वैशाख २५ गते गरिएको समापन कार्यक्रममा रिपोटिर्ङका लागि म गएको थिएँ । चिनियाँहरुले पनि टेलिभिजनको प्रत्यक्ष प्रसारण हेरेका रहेछन् । सिसिटिभीले पनि मसँग २८ मिनेट अन्तर्वार्ता लियो । जनस्तर र अन्तर्राष्ट्रिय रुपमा ‘रेस्पोन्स’ जो आएको छ, खुसी यसैमा छु ।
(लेखक गजुरधन राई नेपाल टेलिभिजनमा कार्यरत पत्रकार तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।)
साभार : फोकुल सन्देश, २०७२