काठमाडौँ — साहित्य बजारमा कविहरूको असीमित भीड छ । कुनै न कुनै कुइनेटामा कविसँग ठोक्किन सक्छौँ हामी । चाकरीको चास्नीदेखि क्याटवाकको लचकदार ध्वनिसम्म कविको हाजिरी पुगेकै छ ।
तर, असली कविता प्राय: गयल भइदिन्छ । आशय यो होइन— कविहरू अपरिचयको बन्दी हुनुपर्छ । यतिचाहिँ पक्का हो— मजाकको ‘माल’ होइन, कविता । सस्तो थपडीको ध्वनि प्रदूषणका लागि मात्र कवितारूपी शब्दजाल फाल्नुहुन्न । होहल्लाभन्दा पर बसेर पनि काव्यिक गुणवत्ताका लागि साधना गर्न सकिन्छ भन्ने सहज उदाहरण हुन्, राज माङलाक । सुदूर पहाडमा रहेर निरन्तर कविताकर्ममा लागेका माङलाकको डेढ दशक परिपक्व लेखन–मुहार नियाल्ने सानो ऐना हो, लिम्बुनी गाउँ ।
प्रयोगवादी शैलीमा रुचि राख्ने माङलाक साहित्यिक अभियन्ता पनि हुन् । उसो त पूर्वी पहाडका किराँती लेखकहरू साहित्यिक आन्दोलन र अभियानमा अग्रलहरमै उभिन्छन् । बैरागी काइँला, हाङयुग अज्ञात, उपेन्द्र सुब्बा, राजन मुकारुङ, धर्मेन्द्रविक्रम नेम्बाङ, भवानी तावा, राज माङलाक, चन्द्रवीर तुम्बापो आदिले मूलधारको नेपाली साहित्यमा फरक पहिचान र अस्तित्व दावीसहित हस्तक्षेप गरिरहेका छन् । माङलाक र उनका सहकर्मीहरू ‘उत्तरवर्ती सोच’ अभियानसहित कविता–कर्ममा छन् । यस अभियानका दाबी छन्— तथाकथित भूमण्डलीकरणको अस्वीकार, समग्रतावादी सार्वभौमिक सत्यको अस्वीकार, स्वस्वायत्तता र आत्मनिर्णयको अधिकार दाबी, बहुलवादी नेपाली साहित्यमा नयाँ अस्तित्वको दावी, नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दावी, उत्तरआधुनिक साहित्य निर्माणमा पूर्वीय चिन्तनको सैद्घान्तिक खोज र सत्ता शक्ति निर्मित इतिहासको अस्वीकार । सरल व्यक्तित्वका कवि माङलाक कलम बोकेरै राजनीति गरिरहेका छन् भन्नु श्रेयष्कर होला ।
फेसनका लागि मात्र काव्य कोरिएमा कुनै समय विस्मृतिको गर्तमा कुहिएर जान्छ त्यो । तर, परम्पराको एकाङ्गी पर्खाल भत्काएर शक्तिशाली अर्थसहित नवीन प्रयोग थालेमा कोसेढुंगो हुन सक्छ । माङलाकका काव्यिक प्रयोगलाई ऐतिहासिक आलोकमा मूल्याङ्कन गरिहालेमा हतारोको हडबडी ठहरिनेछ । तर, उनका केही प्रयोग अर्थपूर्ण छन् भन्न कुनै साइत पर्खिबस्नु पर्दैन । स्वतन्त्रताको नयाँ क्षितिज खोज्दा नै काव्यमा प्रयोगहरू जन्मिन्छन्, जसले परम्परागत कविताभन्दा अघि बढेर नवीन भावबोधी अभिव्यक्तिका साथ नयाँ मूल्य र नौलो शिल्पविधानको अन्वेषण गर्छन् । माङलाकको काव्यिक प्रयोग पूर्णत: नवीन अन्वषेण नभए पनि आयामेली लेखन हुँदै सिर्जनशील अराजकता, रङ्गवादी लेखन र उत्तरवर्ती सोच/सम्प्रदायमैत्री र तकनिकीमुखी अवश्य छन् ।
भारतीय लेखक केदारनाथ सिंहले भनेका छन्, ‘लामो समयसम्म साहित्यिक लेखन विलक्षण आतंकमा हुन्छ । ती आतंक हुन्— आलोचनाको आतंक, बृहत्तर व्यक्तित्वको आतंक र बनिबनाउ शैली–पद्घतिको आतंक । तर, नयाँ पिँढीले आतंकहरूलाई चिर्दै निर्भयतापूर्वक लेख्नुपर्छ ।’ माङलाकका कविताहरू स्वभरोसा र नयाँ मुक्तिको सत्प्रयासको शान्त स्वरूप हुन् । कवि माङलाक आफू् र आफ्नो समुदायको पहिचान बेवास्ताको कोष्ठकमा कैद नहोस् ठान्छन् सायद । उनी लेख्छन्, ‘इतिहास महत्त्वपूर्ण छ तर सीमान्तमा बाँचेकाहरूका लागि इतिहास निष्ठुर छ । टुप्पाबाट लेखिएको इतिहासले फेदका मानिसहरूलाई देख्नै सकेन । इतिहासमा हराउन पुगे ती फेंदकाहरू । अब इतिहास टुप्पाबाट लेखेर हुँदैन, फेंदबाट लेख्न थालिनुपर्छ । दबिएका र दबाइएका आवाजको खोजी गर्दै नयाँ अस्तित्वको निर्माण गर्नुपरेको छ, सम्पूर्ण नेपालीत्वका निम्ति ।’ बहुसांस्कृतिक नेपाली इन्द्रेणी समाजमा एक चहकिलो रङ भर्न चाहन्छन् माङलाक । त्यही चाहनाको आदिवासी अभिव्यक्ति हो, लिम्बुनी गाउँ ।
शालीन शैलीमा राज्यनीतिमाथि प्रहार गर्छन् माङलाक । ‘काठको बाकस’ र रेमिटयान्सको विनिमयमाथि उभिएको नेपाली अर्थतन्त्रको कमजोर भवनप्रति कवि रुष्ट छन् । उनी चित्रात्मक शैलीमा भन्छन्, ‘ब्रिफकेसभरि रेमिटयान्स टिप्न/एयरपोर्टबाट रहरमा चढेर उडेको नवयुवक/तीन महिना नपुग्दै/देशको खुट्टानेर कस्तरी टुप्लुक्क आइपुगेको छ ।’ ऊर्जाशील उमेर विदेशी श्रमको धरापमा झुन्डयाएर पारिवारिक ‘समृद्घि’ भित्र्याउने बाध्यात्मक फयान्टेसीमा छन् नेपाली युवा । ती युवाको स्वैरकाल्पनिक आखेटबाट पूर्वी पहाड पनि ग्रस्त भएको दृश्य–साक्षी हुन्, कवि माङलाक । र, उनी कवितात्मक बाटोबाट भद्र असहमति पोख्छन् ।
मानवीय समस्यासँग घुलमिल भएको कविता पाठकीय रुचिमा पर्छ । भनिन्छ, अधिकांश कवितालाई धेरै मान्छेले बेवास्ता गर्छन् किनकि धेरै मान्छेलाई कविताले पनि बेवास्ता गर्छ । राजका कवितामा चाहिं राज्यको केन्द्रले चासो नगरेका मान्छेका रुष्ट आवाज टड्कारो भएकाले पाठकीय चासोमा पर्छन् ती । बढ्दो विश्वव्यापीकरणले हाम्रो संस्कृतिको चुल्होचौका कब्जा गरेपछि कवि राज ‘यक्षप्रश्न’ सोध्न बाध्य भएका छन् ।
लेखकले प्रेरणा र प्रभाव अरूबाट लिए पनि भरोसा आफ्नै कलममा गर्ने हो । लेखक खगेन्द्र संग्रौलाले भूमिका लेखाउनु आफ्नै सिर्जनशील सामथ्र्यमा विश्वास नहुँदा टेकिने वैसाखीको याचना हो भन्दै लेख्छन्, ‘साह्रै गाह्रो परे एउटासम्म भूमिकारूपी बैसाखी टेक्नू । कृतिमा तीन–चारवटा भूमिका टाँस्नु भनेको लेखकले उभिन तीन–चारवटा बैसाखी टेक्नु हो ।’ राजले वैरागी काइँला, गोविन्दराज भट्टराई र संजीव उप्रेतीका फुटकर भूमिकाको धाप पाएका छन् । ‘भूमिका’ प्राविधिक पाटो भए पनि राजको कवितात्मक आत्मविश्वाससँगको मनोविश्लेषणात्मक अध्ययन गर्न सहायक हुन सक्छ यो ।
‘लिम्बुनी गाउँ’माथि भाषाशैलीकै आधारमा छलफल गर्न सकिन्छ । करिब चार दर्जन लिम्बू पारिभाषिक शब्दावलीलाई परिशिष्टमा राखेर गैरलिम्बू पाठकलाई सहज बनाइदिएका छन्, कविले । बैरागी काइँलाको शब्दमा एउटै देशमा रहेर पनि अपरिचित नेपाली समुदायलाई ती शब्दले वहन गरेका विम्ब र सांस्कृतिक महत्त्वले बृहत् नेपाली संस्कृति निर्माणमा एकजुट पनि गराइरहेको हुन्छ । अमेरिकी कवि अक्तोवियो पाजले ‘अल्टरनेटिङ करेन्ट’ मा लेखेका छन्, ‘तबसम्म लेखक कवि बन्न सक्दैन, जबसम्म आफूभित्रको भाषालाई नष्ट गरेर अर्को दोस्रो भाषा–सिर्जनाको आकर्षणले उसलाई लोभ्याउँदैन ।’ माङलाकको भाषा लालित्यपूर्ण काव्य र रूखो गणितको बीचबाट हिँडेको छ । कहीँ गणितीय पर्खालमा अडेस लाग्छ, कहीँ काव्यको प्रवाह छुन्छ । न पूर्णत: बगेको छ, न उभिएको छ । ससानो विश्राम लिँदै हिँडेको छ । उनको हिँडाइलाई पाजले इङ्गित गरेको दोस्रो भाषिक सिर्जनाको आकर्षण भन्न सकिन्छ ।
भाषाको सबैभन्दा उच्चतम सौन्दर्य कविता भएकाले शब्द–विन्यासमा कविहरू सचेत हुनुपर्छ । नापतौल गरेर खर्चिएको काव्य खँदिलो हुन्छ । भारतीय चर्चित कवि कुँवर नारायण लेख्छन्, ‘आवश्यकताभन्दा बढी शब्दले कविता गरिष्ठ भइदिन्छ, कम भए दुरूह । आयतन र भार दुवैको सन्तुलित अनुपातबाट बन्ने काव्यिक सघनताको पक्षमा छु ।’ राज माङलाक मात्र नभई कविता–साधनामा लाग्ने सबैका लागि कुँवर नारायणको विचार आप्तवाक्य हुन सक्छ । लिम्बुनी गाउँका कतिपय कवितामा शब्दको दुरुपयोग भएको आभास गर्न सक्छन् पाठकले । प्रयोगवादको हयाङओभरले पनि कवि माङलाकलाई लखेटेको हो कि ?
पछिल्लो समयमा जनजातीय चेतको खोज तीव्र छ, साहित्यमा । आदिवासीय जनजातीय संस्कृति प्रकृतिनिकट मानिन्छ । फरक संस्कृतिका भाषा, वेशभूषा, विशिष्ट सौन्दर्यचेतको आदानप्रदान सुन्दर पक्ष नै भए । तर, जातीय विश्वास पद्घतिको बहानामा अन्धविश्वासलाई काँध बोक्ने हर्कत कविहरूबाट हुनु शोभनीय लाग्दैन । माङलाकका केही कविता लिम्बू विश्वास पद्घतिको लठ्ठी टेक्दै भाग्यवादी आँगनमा पाइताला राख्छन् ।
हजारौँ शब्दमा बयान नभएका कुरा एकै चित्र/तस्बिरले बोल्छ भन्ने तर्क फिक्का लाग्छ, जब माङलाकका चित्रकविता पढिन्छ । यी चित्रकविता पढ्दा बाल्यकालमा सुनेको उखान स्मरणमा आउँछ, ‘काम गर्नुको दु:खले जोगी भयो, जोगी भाको भोलिपल्ट भोको भयो ।’ तुलनात्मक रूपमा उनका प्रेमकविता ज्यानदार छन्, जसमा नोस्ताल्जियाको तागत छ । ती कविता पहाडी लयमा च्याब्रुङ बजाउँछन् । र, धान नाच्छन्, सोल्टिनीको हात समातेर । यी अनुभूतिले अग्र्यानिक शैलीमा पाठकीय इन्द्रिय स्पर्श गर्छन् ।
राज माङलाकको काव्यिक क्षितिज उज्यालो देखा परे पनि लिम्बुनी गाउँमा टाँगिएको आकाश हेर्दा उनी सरदार कवि मात्र हुन् । सायद उनी कविताबाट संवाद गर्न चाहन्छन् । तर, उनको वैचारिक स्वर केही बिब्ल्याँटो बाटोमा प्रतिध्वनित भएको भान हुन्छ । भूमण्डलीकरणको अस्वीकृतिँंगै लिम्बू पहिचानको खोज राज माङलाकबाट मात्र सम्भव छ, न कि ‘डेरिडा लिम्बू’ बाट । योत पूर्व–गन्तव्य, पश्चिम–पाइलाजस्तो पोहुन्छ कि ?
प्रकाशित : माघ ६, २०७४ ०८:५१
https://www.kantipurdaily.com/koseli/2018/01/20/20180120085159.html