माइला, खेलकुद र विकास अभियान
-गणेश राई र कुम्भराज राई-
तस्बिर : दीपेन्द्र रुम्दाली र गणेश राई
भनिन्छ– सम्भावनाका अकल्पनीय रूप हुन्छन् । त्यसको एउटा नमूना हो– व्याकुल माइला । जनआन्दोलन २०६२/६३ ले जन्माएको नयाँ नाम । राष्ट्रगान ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली…’ का सर्जक कवि व्याकुल माइला अर्थात् प्रदीपकुमार राई ।
माइला आफ्नो जन्मथलो ओखलढुंगाको थाक्ले–८ सोक्मटार दुधकोसी किनारमा रहेको छ । कोसीले छोडेर गएको बलौटे बगर छ, स्थानीयले ‘ब्आलेम बगर’ भन्छन् । यहाँ माइला बाल्यकालमा मोजाका टुक्राहरू जोडेर लात्ताले जोड बजार्थे । आज यही बगरमा सम्भावित राष्ट्रिय खेलाडी युवाहरू ‘व्याकुल माइला गोल्डकप–२०७०’ खेलेका छन् । माइलाले यसपाली ‘गोल्डकप’ दुई सातासम्म फुटबल प्रतियोगितामा विशेष अतिथि बनेर कार्यक्रम नियाले ।
माइला कुनै दिन मार्सल आर्टका खेलाडी थिए । राष्ट्रगानका सर्जक बनेपछि स्थानीय युवाहरूले सर्जक माइलाको नाम फुटबल खेलसँग जोडेका छन् । उनको जन्मथलोमा रहेको बगरमा ‘व्याकुल माइला फुटबल प्रतियोगिता’ अघि बढाएका छन् । आयोजक संस्था सोक्मटारस्थित दुधकौशिका प्राथमिक विद्यालय (जुन विद्यालय माइलाका पिता–माता मानबहादुर–मैरति राईले दान गरेको जग्गामा रहेको छ) र स्थानीय नयाँ नेपाल सरोकार समाज संस्था तथा सहआयोजक हिलेपानी फुटबल क्लब छन् ।
तीनवर्ष अघि फुटबल प्रतियोगिता सुरु भएको हो । जिल्ला विकास समिति ओखलढुंगा र थाक्ले गाविसले साथ दिएका छन् । ‘खेलकुदमा युवाहरूको आकर्षण बढेको बेला व्याकुल माइलाको नाम जोड्दा सुनमा सुगन्ध हुने ठानेर सुटुक्कै व्याकुल माइला फुटबल कप सुरु गर्यौं,’ दुधकौशिका प्राविका प्रधानाध्यापक आश्रचन राई भन्छन् ।
प्रतियोगिताको तेस्रो संस्करण भरखरै (कात्तिक ९ गते) सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आंशिक सहयोगमा यस वर्ष गोल्डकप खेलियो । गोल्डकपलाई ‘सुनौलो’ बनाउन यो पटकदेखि ‘खेलकुदको माध्यमबाट विकासको अभियान Û’ घोषणा गरिएको छ । मूलतः माइलाकै अगुवाइमा । मध्य–पहाडी लोकमार्गले छोएको यो थलोलाई विकास, निर्माणले आजसम्म छोएको छैन । त्यसैले माइलाले परिकल्पना गरेका हुन्– जन्मथलोको विकास अभियान ।
विकासको अभियान
त्यस पटक गोल्डकप अवधिमा फुटबल मात्र खेलाइएन । दूधकोसीमा पहिलो पटक र्याफ्टिङ गरियो । रोटरी क्लब अफ धरान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर चलायो । कृषिवैज्ञानिकबाट व्यवसायिक कृषि अभिमुखीकरण तालिम, राष्ट्रिय स्तरका कलाकारहरूबाट साँस्कृतिक कार्यक्रम प्रदर्शन, स्थानीय किरात वाम्बुले (बाम्बुले होइन) राईहरूको लोपोन्मुख सांस्कृतिक झाँकी प्रदर्शन, जेष्ठ नागरिक सम्मान गरियो ।
बगरमा नौदिनसम्म दैनिक कम्तिमा हजारको संख्यामा दर्शकहरू, सेवाग्राहीहरू झुम्मिनु आफैंमा खेलस्थल महोत्सवमय बन्यो । यद्यपि महोत्सव भनिएन ।
गोल्डकप स्थलबाट ३२ किमि पूर्वमा चर्चित धार्मिकस्थल हलेसी महादेव रहेको छ । यो खेलस्थल पारि खोटाङ, जोर्तीघाट पारि उदयपुर र सिन्धुली जिल्ला रहेका छन् । खेलमैदानमा उत्रिनेहरू यिनै जिल्लाका हन् । खेलअवधिमा ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको अनुमान गरिएको छ ।
दूधकोसी र्याफ्टिङ
र्याफ्टिङ प्रवर्द्धनमा नेपाल पर्यटन बोर्डले सघायो भने र्याफ्टिङ स्टार कम्पनीका प्रबन्धक इन्द्रबहादुर राई र विष्णु राईले जलयात्राको आरम्भ गरे । थाक्ले–९ जयरामघाटदेखि सोक्मटारसम्म करिब ३ किलोमिटर दूधकोसीको यात्रा चारदिनसम्म स्थानीय रमाए । यो र्याफ्टिङ दूधकोसीको तल्लो भागमा गरिएको जलयात्रा हो ।
सोक्मटारबाट करिब चार किलोमिटर तल जोर्तीघाटमा दूधकोसी र सुनकोसी मिसिन्छ । प्रबन्धक राईका अनुसार दूधकोसीमा रेडिङ, ह्वाइट वाटर (घागी, छाल) बढी भएकाले बुबलिक, क्याटामारान, कायाकिङका लागि उपयुक्त नदी हो । यसअघि दूधकोसीको उद्गम नाम्चेभन्दा तल्लो भागमा २ हजार ९ सय मिटर उच्च भागबाट कायाकिङ गर्न विश्वकै राम्रो क्षेत्रका रूपमा सम्भाव्यता अध्ययन भएको थियो । जहाँ उच्च व्यावसायिक कायाकरले मात्र कायाकिङ गर्न सक्छन् ।
सुख्खामा कृषि
कृषि वैज्ञानिकले कोसीको किनार सुख्खा क्षेत्रमा सम्भावित कृषिबालीको अध्ययन, अनुसन्धान गरेका छन् । तीमध्ये रामजी खड्का एक हुन् । उनले कोसी किनारा क्षेत्रमा कोसेबाली र दालजन्य अन्नबालीको उत्पादन सम्भावनाको अनुसन्धान गरेका छन् । विज्ञ खड्काले गोल्डकप स्थल तथा थाक्ले–५ र ६ हिलेपानी गाउँका स्थानीय क्लबको पहलमा मा उपस्थित कृषकहरूलाई व्यवसायिक खेतीबारे परामर्श दिए । ‘कृषकहरूमा उत्सुकता देखियो । तर कृषि प्रविधि, सुविधा पाउने/नपाउनेबारेमा ज्ञानको अभाव पाइयो,’ साढे तीनदशक नेपाल कृषि अनुसन्धान परिषदमा बिताएका खड्का भन्छन्, ‘सिंचाईको अभाव छ । कृषकहरूमा व्यवसायिक ज्ञानको खाँचो त्यसको प्रवर्द्धन गर्न आवश्यक ठानेको छु ।’
स्थानीयले परम्परागत रूपमा सुर्तीखेती गर्दै आएका छन् । तर ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६६’ लागू गरेकोले सुर्तीजन्य नगदेबालीबाट आर्जनको दृष्टिले सम्भावना टुटेको खड्का बताउँछन् । त्यसको सट्टा छोटो समयमा उत्पादन हुने उन्नत जातका दाल, बोडी, राजमा, गोलभेडा जस्ता नगदेबाली लगाउन सकिन्छ । त्यसैगरी फलफूलहरूमा रुखकटहर, अनार, जुनारजस्ता लगाउन सकिन्छ । जसलाई कृषकहरूमा व्यवसायिकरण सोंच बढ्न जरुरी छ । नदीको पानी पम्पसेटबाट तानेर सामूहिक र व्यवसायिक खेती गर्नसकिनेछ । उत्पादनलाई तत्काल बजारमा पुर्याउन सकिने उनको कथन छ ।
वाह ड्रिल डान्स
साथी हो, साथी हो,
खेल खेलौ हामी सबै मिली
विश्व विजयी खेलाडी हुनेछौं, एकदिन नेपाली…
ढुंकु ढुंकु ढुंकु ढुंकु
डररर ड्रम डररर ड्रम
गर्यापऽ गर्यापऽ गर्यापऽ गर्यापऽ……
खेल उद्घाटन सत्रमा हिलेपानीस्थित महादेवस्थान माविमा अध्ययनरत छात्रछात्राहरूले ड्रिल नृत्य नक्कल हो यो । नेपाल सांस्कृतिक संस्थानका कलाकारद्वय गोरन चौधरी र बिपिन घिमिरेको करिब दुई महिनाको प्रयासमा तयार पारिएको । जुन नृत्य गाउँका बालबालिकाले पनि त्यस्तो गर्नसक्छन् भन्ने आशातित विषय बन्यो ।
‘साथी हो साथी हो, खेल खेलौ हामी सबै मिली, विश्व विजयी खेलाडी हुनेछौं, एकदिन नेपाली…’ बोलको सुमधुर स्वर तथा संगीतको तालमा मार्चपास प्रदर्शन गरेका थिए । शब्द रचना व्याकुल माइलाकै, संगीत पुरन वज्राचार्य र स्वर श्रेयसी चेम्जोङको थियो । दर्शकदीर्घामा समारोहका प्रमुख अतिथि नेपाली सेनाका नयाँ सबुज गणका गणपति कर्णेल हिम्मतबहादुर विष्टमात्र होइन, त्यो कला देखेर बाजे–बोजु, आमा–बाबु, दाजुभाइ, दिदीबहिनीहरूको मन गर्वले फुलेल थिए ।
विद्यार्थी सहरबाट ल्याइएकाजस्ता देखिन्थे । किशोरहरूले सुकिला दौरा, सुरुवाल, भोटो, टोपी अनि किशोरीहरूले चिटिक्क गुन्यु, चोली र पटुकी बाँधेका एकनासे पहिरिएमा थिए । कोही कराँते त कोही खेलाडीको गन्जीमा । हातमा रातो चन्द्र र सूर्य अंकित नेपाली झन्डा लिएर खेल मैदान ढाक्ने गरी संगीतको तालमा गोडा गर्याप गर्याप गर्याप (लेफ्ट राइट) उचालेर लचकदार जिउ, हात अभिनयसहित प्रदर्शन गरेका थिए ।
माइला आफैं जुट्दै
जन्मथलोमा सुरु भएको खेलकुदसँगै गाउँठाउँको विकास अपरिहार्य रहेको माइलाको ठहर छ । त्यसैले आफै सक्रिय छन् । देश–विदेशमा रहेका नेपालीहरूसित विकास अभियानमा साथ–सहयोग मागेका छन् । अनुरोधलाई स्विकार्दै सहयोग जुट्न थालेको माइला बताउँछन् । उदाहरणकै रूपमा व्याकुल माइला रनिङ फुटबल कप प्रथम १ लाख ३८ हजार, कप दोस्रो ८५ हजार र कप तेस्रो ६५ हजार रुपैयाँ बराबरको चाँदीको रहेको छ । जुन कप भूपू ब्रिटिस सैनिकले प्रायोजन गरेका हुन् । आयोजकले खेल अन्य निकायसमेत गुहार्दै आएका छन् ।
‘गाउँको विकास गर्न सकेमात्र देशको विकास हुनसक्छ,’ माइलाको विचार छ, ‘सबैले विकास आफ्नो गाउँबाट आफैले गर्न थाल्यो भने समृद्ध नेपाल निर्माण गर्न नेता सराप्नु पर्दैन ।’ यस पटक माइला स्वयंले खेलको स्थायित्व र विकास अभियानसित जोड्न राखेप, पर्यटन बोर्डदेखि राष्ट्रपतिसम्मलाई गुहार्न पुगेको थिए । खेल स्थायित्वका निम्ति अक्षयकोष निर्माण गर्ने र विकासका अन्य पाटा सवल तुल्याउन थप प्रयास जारी रहेको बताउँछन् ।
‘अब यसक्षेत्रको सम्भाव्यता अध्ययन गरेर नमुना गाउँ बनाउन एउटा डिजाइन गर्ने लक्ष्य छ,’ यो अभियानमा आम नेपालीको साथ चाहिएको उल्लेख गर्दै माइलाले भन्छन्, ‘सबैजना मिलेर पर्यटन, भौतिक विकास र आयआर्जन उकासेर स्थानीयको जीवनस्तर उच्च बनाउने योजना छ । आजको भोलि नभएपनि निरन्तरको प्रयासले यो सम्भव छ ।’ कलम र अक्षरको माध्यमबाट बनाएको उचाईलाई सदुपयोग गर्दै समाज विकासको कोशिस गर्दैछन् माइला । उनकै शब्दमा यो अभियानले उनलाई अर्को ‘आइकन’ को रूपमा पनि स्थापित गर्न सक्छ ।
उनले यसैपाली आफ्ना ‘बरभन्ज्याङ चौतारी’ गीत स्थानीय कलाकारका साथ आफ्नै गाउँघरको दृश्य समेटेर निर्माण गरेका छन् । विकट गाउँहरू देखाउने इच्छा पूरा गर्दै गरेका माइलाले थपे, ‘अन्य ठाउँभन्दा हाम्रो जन्मथलो पनि कम सुन्दर छैन भन्ने सन्देश दिनुछ ।’
यसरी माइलाको नाममा आफ्नै गाउँका युवाहरूले थालेका प्रयासमा माइला स्वयं जुट्दै छन् । माइला आफ्नो जन्मथलो ओखलढुंगाको भौतिक र सामाजिक विकास गर्न लागिरहेका छन् । यो प्रेरणादायी अभियानको थालनीलाई निरन्तरता कत्तिको पाउँन सक्छ त्यो भने समय कुर्नै पर्नेछ ।
(कान्तिपुर कोसेलीमा प्रकाशित यो लेख साभार गरी पुनः प्रकाशन गरिएको हो ।)