रामप्रसादको सम्झना

पत्रपत्रिका

अर्जुन जम्नेली राई

काठमाडौँ — २००७ सालको क्रान्तिमा राजनीतिक नेतृत्वको कुरा गर्दा धेरैको नाम आउँछ । तर फौजी कमाण्डरको कुरा गर्दा राणा शासकहरूलाई घुँडा टेकाउन बाध्य पार्ने नायकहरूको नाम धेरैले सुनेका हुँदैनन् ।

हालसम्म बेपत्ता एउटा प्रतिभाको नाम हो, रामप्रसाद राई । जसले पूर्वी नेपालको भोजपुर हुँदै जनमुक्ति सेनासहित काठमाडाैं आएर सिंहदरबारसम्म कब्जा गरेका थिए । फागुन १८ गते तिनै कमाण्डर राईको जन्मदिन हो । भोजपुरको बासिखोरा (हाल रामप्रसाद गाउँपालिका) मा विसं १९६५ फागुन १८ गते जमदार ध्वजवीर र रत्नमाया राईका कान्छा सन्तानका रूपमा रामप्रसाद जन्मिएका थिए । उनले घरैमा परमानन्द उपाध्यायसँग अनौपचारिक र दिङलाको षडानन्द अधिकारी संस्कृत विद्यालयमा औपचारिक शिक्षा लिए । उनी बाल्यकालदेखि नै धनुषकाँड हान्न, घोडचढीमा रुचि राख्थे ।
जागिर छाडेर विद्रोह
किशोर अवस्थामा घरबाट एकाएक हराएका रामप्रसाद छिमेकी दाइ बमबहादुर राईसँग भारत (ब्रिटिस प्रशाषित) पुगे । ब्रिटिस भारतीय सेनामा भर्ति लागे र त्यहाँ ९ वर्ष काम गरेका थिए । वि.सं. १९७८ मा भारतीय (ब्रिटिस) सेनाबाट नाम काटेर आए । दाजु जर्नसिंह राई त्यसबेला नेपाली सेनाको सुवेदार थिए । रामप्रसाद नेपाली सेनामा भर्ति भए । राजनीतिमा संलग्न भएको शंका गरी राणाहरूले उनलाई ओखलढुङ्गा सरुवा गरे । वि.सं. १९९९ देखि ओखलढुङ्गा विजन दर्ता हाकिमको रूपमा काम गरे । राणा शासकहरूले रामप्रसादको चियोचर्चो गर्न जमदार गणेशबहादुर कटुवाललाई गोप्य रूपमा खटाएको भोगिराज चाम्लिङद्वारा लिखित पुस्तक ‘जननायक रामप्रसाद राई’मा उल्लेख छ । वि.सं. २००४ मा भोजपुरको दिङ्ला, केही महिनापछि छोटीअड्डा खोटाङमा सरुवा गरियो । राणा विरोधी गतिविधिमा लागेका कारण जिल्लाको बडाहाकिम भक्तबहादुर खड्कासँग विवाद भयो । जागिर छाडेर विद्रोहमा लाग्ने निर्णय गरेका राईले २००६ साल असोजमा हाकिमबाट राजीनामा दिए र राणा विरोधी आन्दोलनमा सक्रिय भए ।
राणा लखेट्ने अभियान
२००७ मंसिर २४ गते शनिबार बिहान करिब ११ बजे सहकर्मीहरू लिएर रामप्रसाद भोजपुरको मालअड्डाको मूलढोकामा पुगे । सेन्ट्री मसिने खत्रीले ‘सलाम लप्टन साव’ के भनेका थिए । कमाण्डर रामप्रसादले टाउकोमा बजारे । सेन्ट्री खत्रीको हतियार खोसेर श्रीपाल राईले हवाइ फायर गर्न थाले । विभिन्न बहानामा बसेका जनमुक्ति सेना आफूसँग भएको लाठी, खुकुरी र सीमित हतियारसहित भोजपुर बजारभरि सक्रिय भए । कोतमा भएको र त्यही दिन राणाफौजले धनकुटा गांैडाबाट ल्याएको हतियार कब्जा भयो । अड्डा कब्जापछि जेलको चाबी खोलेर कैदी–बन्दीहरू छाडिए । बन्दीहरू रामप्रसाद राई जिन्दावाद, राणाशासन मुर्दावाद भन्दै बाहिर निस्के । बडाहाकिम भक्तबहादुर खड्का जनमुक्ति सेनाको नियन्त्रणमा परे ।
सीमित हतियारको बलमा जिल्ला कब्जा भएको थियो । पूर्बबाट राणा लखेट्ने अभियान यहींबाट सुरु भएको हो । राणा शासकबाट मुक्त गराउन करिब डेढ महिनाको तयारी भएको थियो । योजना सार्वजनिक भए फाँसी सजाय हुनसक्थ्यो । गाउँमा खसी–बोका, राँगा–भैंसी र गोरू किन्ने निहुँले गाउँ पसेर जनतालाई क्रान्तिको पक्षमा उभ्याइएको थियो ।
घाँस–दाउरा गर्ने निहुँले जंगलमा गुरिल्ला युद्धको तयारी भएको थियो । यो काममा रामप्रसाद राई, नारदमुनी थुलुङ, श्रीप्रसाद राई, कमलप्रसाद बस्नेत, मुक्तिप्रसाद चापागार्इं, सेमन्तराज अधिकारी, डा. भूदेव राई लगायतका नेतृत्वमा त्यो तयारी भएको थियो । भोजपुर कब्जा गर्ने जनमुक्ति सेनाको सैनिक कमाण्डर रामप्रसाद तोकिएका थिए ।
भोजपुर कब्जाको योजना सफल भएपछि उत्साहित भएको जनमुक्ति सेना पूर्वको चैनपुर, तेह्रथुम, ताप्लेजुङ, पश्चिममा खोटाङ, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुली, धुलिखेल विजय गर्दै काठमाडौं छिर्‍यो । यही बेला भारतले दिल्लीमा बोलाएर राजा, राणा र कांग्रेसबीच त्रिपक्षीय सम्झौता गरिदियो । गणतन्त्र चाहने रामप्रसादले त्यो सम्झौतालाई धोकाको संज्ञा दिए । जनमुक्ति सेनासहित काठमाडौं पुगेका नायक रामप्रसादले विभिन्न चौकहरूमा सम्झौता विरुद्ध चर्को भाषण दिनथाले । भाषण गरेकै कारण २००७ माघ ४ गते नायक रामप्रसाद गिरफ्तारमा परे । सेन्टर जेलबाटै उनले सिंहदरबार कब्जा गर्ने जनमुक्ति सेना (विद्रोही रक्षादल) लाई आदेश दिएका थिए । विद्रोही सेनाका अर्का कमाण्डर श्रीपाल राईको टोलीले सशस्त्र आक्रमणमार्फत नायक रामप्रसादलाई जेलमुक्त गराए । जेलबाट बाहिर आएपछि रामप्रसादकै नेतृत्वमा सिंहदरबारमाबन्दी बनाइएका डा. केआई सिंहलाई
बाहिर निकालियो ।
मुगाधन राईको नेतृत्वमा गठ्ठाघर ब्यारेक कब्जापछि विद्रोही सेनासँग प्रशस्तै हतियार भयो । तिनै हतियारको बलमा माघ ८ गते राति ११ बजे सिंहदरबार कब्जा भयो । पदमबहादुर राईको नेतृत्वमा गणेशमान सिंह गिरफ्तारमा परे । मन्त्रीहरू भागेर नारायणहिटी छिर्नुपरेको थियो । जनमुक्ति सेनाले कोतखाना (बन्दुक राख्ने ठाउँ), तोपखाना, हवाइ मैदान, जेलहरू कब्जा गरे । रामप्रसाद नारायणहिटी कब्जा गर्न चाहन्थे । केआई सिंहले वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने विचार राखे । राजा त्रिभुवनसँग छलफल गर्न गणेशमान सिंह र टंकप्रसाद आचार्यले जिम्मा लिएका थिए । त्रिभुवनले वार्ताको ढोका बन्द गरेपछि विद्रोहलाई टिकाउन मुस्किल भयो । डा. सिंह भागेर चीन पुगे । सिंह चीनबाट फर्केपछि प्रधानमन्त्री बने । रामप्रसाद बेपत्ता छन् ।
गाउँपालिकामा सीमित
२०५५ सालमा नेपाल सरकारले रामप्रसादलाई ‘प्रजातान्त्रिक योद्धा’ भनेर हुलाक टिकट जारी गरेको छ । यस बाहेक उनको सम्मान र सम्झनामा खास कदम चालेको देखिँदैन । स्थानीय तहको पुन:संरचना हुँदा स्थानीय जनताको सिफारिसमा भोजपुरमा एउटा गाउँपालिकालाई रामप्रसाद राई भनेर नामकरण गरिएको छ । राणा विरोधी आन्दोलनका योद्धा रामप्रसाद राईले कुनै पार्टीको सदस्यता लिएको पाइँदैन । स्वस्फुर्त क्रान्तिमा लागेका नायकको स्थापित दलका नेताहरूले बेलाबेला प्रशंसा गरेको सुनिन्छ । तर व्यवहारमा भने वास्ता गरेको पाइन्न । ओझेलमा परेका योद्धालाई राष्ट्रिय विभूति घोषणा गरेर सरकारले सम्मान दिनुपर्छ । बिभिन्न सहरमा प्रतिमा स्थापित गरिनुपर्छ । शैक्षिक कोर्सहरूमा योगदान र क्रान्तिको पहलकदमीका विषय समेटिनुपर्छ । हराएका योद्धाको खोजिनिती गर्नुपर्छ ।
राई किराती राष्ट्रिय मुक्तिमोर्चाका महासचिव हुन् ।
newsjameli@gmail.com

प्रकाशित : फाल्गुन १९, २०७४ ०७:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *