साझा लिपि निर्माणबारे नेपाल र भारतका प्रतिनिधिहरुबीच छलफल

किरातीहरुको साझा लिपि निर्माणबारे नेपाल र भारतका विभिन्न किरात राईजन्य संस्थाका प्रतिनिधि, विज्ञ तथा अगुवाहरुबीच सोमबार छलफल गरिएको छ ।

किरात राई यायोक्खाले जुम मिटिङबाट आयोजना गरेको छलफलमा ‘किरात सिरिजङ्गा लिपि’ र ‘सुम्हू (कृपासल्यान) लिपि’बारे करिब चार घण्टासम्म अन्तरक्रिया गरिएको छ ।

पछिल्लो समय किरात सिरिजङ्गा लिपिलाई किरात समुदायको साझा लिपि बनाउने बहसको नेतृत्व गरेको यायोक्खाले भारतको सिक्किम र दार्जिलिङस्थित किरात राईजन्य संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको हो ।

जसमा भारतीय प्रतिनिधिहरुले आफूहरुले चलाएको लिपिलाई नै नेपालमा प्रयोग गर्न अनुरोध गरेका छन् ।

भारतीय किरात खम्बु राई रुहुपका अध्यक्ष मोहन दुङ्माली राईले सुम्हू लिपिलाई हाल ‘किरात राई लिपि’ नामाकरण गरिएको र यस लिपिलाई भारतीय सरकारले मान्यता दिएर स्थापित समेत भइसकेकोले नेपालमा पनि चलाउन अनुरोध गरे ।

उनले भने, ‘१३८ करोड आवादी भएको देश (भारत) ले यो लिपिलाई मान्यता दिएकोमा हामीले गर्व गर्नुपर्छ । यो लिपि तपाईहरुलाई चलाइदिनुस् भनेर अनुरोध गर्न चाहन्छौं ।’

उनले राई शब्द हटाएर ‘किरात लिपि’ मात्र भनेर पनि चलाउन सकिने बताए ।

अखिल किरात राई संघ सिक्किमका अध्यक्ष चन्द्र खालिङले आफूहरु अब किरात राई लिपिबाट पछि हट्न नसक्ने भन्दै राईहरुको एकताका लागि पनि सबैले किरात राई लिपि चलाउनुपर्ने बताए ।

उनले भने, ‘तपाईहरुले पनि यही लिपि चलाउनुभयो भने कमसेकम राईहरुबीच भाषामा एकरुपमा हुँदैन रहेछ, मुन्दुममा पनि एकरुपता हुँदैन रहेछ, लिपिमा चाहिँ संसारभरिका राईहरुबिच एकरुपता ल्याउन सकिन्छ ।’

सिक्किमका भाषाविद् बीबी रोक्दुङले सिक्किममा २६ वर्षअघि नै आफूहरुले किरात सिरिजङ्गा लिपि चलाउन खोज्दा लिम्बुहरुले चलाउन नदिएपछि टीकाराम राईले दैविक शक्तिबाट निर्माण गरेको सुम्हू लिपि चलाउन बाध्य भएको बताए ।

नेपालको तर्फबाट किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले नेपाल र भारतका राईहरुले फरक लिपि चलाउँदैमा राईहरुको विभाजन हुन्छ भन्ने सोंच राख्न नहुने बताए ।

‘लिपि मिलेन भन्दैमा मेचीको सीमाना लगाएर कहिले पनि हामी एक हुँदैनौं भन्नहुन्न यहाँहरुले,’ उनले भने, ‘किनभने हामी धर्मको हिसाबले, संस्कृति हिसाबले एक छौं ।’

भाषाविद् तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. तारामणि राईले सिक्किममा चलाइएको लिपिले राईभित्रका २६ वटा भाषाहरुलाई समेट्न नसक्ने बताए ।

उनले भने, ‘त्यो लिपि मूलतः बान्तावा भाषालाई केन्द्रित गरेर बनाएको देखिन्छ ।’

उनले सबै किरातीहरुले किरात सिरिजङ्गा लिपि प्रयोग गर्नका लागि त्यसमा भएको २५ वटा व्यञ्जन वर्णहरुलाई थपेर करिब ४३ वटा पुर्याउनुपर्ने बताए ।

पत्रकार तथा किरात राई वाम्बुले भाषाका विज्ञ गणेश राईले नेपालमा वि.सं २०१० सालमै नारदमुनि थुलुङ मन्त्री हुँदा उनले नेपालमा किरात परिषद् गठन गरेको र त्यसमा किरात सिरिजङ्गा लिपि प्रयोग गरिएको बताए ।

उनले वाम्बुले समुदायले किरात सिरिजङ्गा लिपिलाई नै वाम्बुले भाषामा किरात लिपिको नाममा लामो समयदेखि चलाउँदै आएको बताए ।

यायोक्खाका पूर्वअध्यक्ष तथा सल्लाहकार राजबहादुर राईले सिक्किममा जे भए पनि नेपालमा भने पहिलेदेखि नै किरात सिरिजङ्गा लिपि राईहरुले चलाउँदै आएको स्मरण गराए ।

उनले यायोक्खाको लोगो र छापका साथै मुखपत्र ‘निप्सुङ’मा पनि किरात सिरिजङ्गा लिपि प्रयोग हुँदै आएको बताए ।

उनले नेपालका लिम्बुहरुले कहिले पनि किरात सिरिजङ्गा लिपि लिम्बुहरुको मात्र हो भनेर नभनेको बताए ।

यायोक्खाका अध्यक्ष दिवस राईले नेपालका किरात राईहरुले पहिलेदेखि नै किरात सिरिजङ्गा लिपिलाई साझा बनाउने कुरा गर्दै आएको बताए ।

‘किरात सिरिजङ्गा लिपिलाई विस्तार गरेर सबैको साझा बनाउनुपर्छ भन्ने कुरा किरात राईहरुले पहिलेदेखि नै भन्दै आएको हो,’ उनले भने, ‘यायोक्खाले पनि सिरिजङ्गा लिपिलाई प्रयोग गर्दै आएको हो । सिरिजङ्गालाई नै आधार बनाएर राईभित्रका आधा दर्जन भाषिक संस्थाहरुले यो लिपि प्रयोग गरिराख्नुभएको छ ।’

उनले सिक्किममा राईलाई बढी र नेपालमा किरातलाई बढी स्थापित गर्न खोजिएको बताए ।

‘सिक्किममा राईलाई ब्रान्डिङ गरिराखेको छ तर नेपालमा किरातलाई ब्रान्डिङ गरिराखेको छौं,’ उनले भने, ‘सभ्यता, संस्कृति, इतिहासको हिसाबले पनि यो किरातहरुको भूमि हो भन्ने लागेर हामीले किरातलाई ब्रान्डिङ गरिराखेका छौं । किरात लिपि अनौपचारिक रुपमा हामीले चलाइरहेकै छौं ।’

उनले राईहरुले दुईवटा लिपि चलाउँदैमा एकता नबिग्रिने भन्दै दुवैको सहअस्तित्व स्थापना गर्ने, नेपाल र सिक्किमका राईहरुबिचको असमझदारी हटाउने र आगामी दिनमा निरन्तर छलफल चलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

यायोक्खाका महासचिव जनक राईले सञ्चालन गरेको कार्यक्रममा दुवै देशका विभिन्न संस्थाका प्रतिनिधि, विज्ञ तथा अग्रजहरुले आआफ्नाे विचार राखेका थिए ।

किरात सिरिजङ्गा लिपिलाई साझा लिपिकाे रुपमा विकास गरी लेखन प्रणालीकाे विकास गर्न नेपालका किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज लगायत किरातजन्य संस्थाका प्रतिनिधिहरु यसअघि नै तयार भएका थिए ।

उनीहरुले यस सम्बन्धमा थप संस्थागत तथा प्राज्ञिक छलफल अघि बढाउने बताएका थिए ।

साझा लिपि निर्माणबारे नेपाल र भारतका प्रतिनिधिहरुबीच छलफल

प्रकाशित : मङ्गलबार, साउन १२, २०७८०४:२२

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खानेपानीको अभाव