मातृभाषामा लोकवार्ता संकलन गर्दै आयोग

पत्रपत्रिका

कान्तिपुर संवाददाता
ओखलढुंगा — जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा छ दशकअघिसम्म एक शक्तिशाली धामी थिए । उनलाई ‘किरलिँगे’ भनेर चिनिन्थ्यो । उनको तान्त्रिक शक्तिका बारेमा अनेक किस्सा अझै जीवित छन् । उनी एकै समयमा फरकफरक ठाउँमा फरक व्यक्तिहरूसँग भेटघाट र कुराकानी गर्न सक्थे भनिन्छ । तर उनलाई प्रत्यक्ष भेट्ने र किस्सा सुनाउने पुस्ता अब थोरै मात्र जीवित छन् ।

किरलिँगेकै बारेमा मंगलबार मानेभन्ज्याङमा केही किस्साहरू वाम्बुले राई भाषामा बुढापाकाले सुनाए । ती वास्तविक किस्साहरू अब लोककथाझैँ बन्ने पुग्यो । यस्तै पुराना लोकवार्ताहरू संकलन गर्ने क्रममा स्थानीय १५ जना वाम्बुले मातृभाषी बुढापाकाहरूले त्यस्ता लोकवार्ता सुनाएका हुन् । जुन लोकवार्ताहरू अबको पुस्ताका लागि कथा बनिसकेका छन् । त्यसमा पनि मातृभाषामै यस्ता लोकवार्ता सुनाउने र रेकिर्डिङ गर्ने काम सम्पन्न भयो ।

‘भाषा आयोग’ ले लोकवार्ता संकलन गर्ने क्रममा यस्ता पुराना किस्साहरू संकलन गरिएको हो । ‘हाम्रो मुख्य उद्देश्य मातृभाषाहरूको संरक्षण गर्ने नै हो ।’ आयोगका उपसचिव झुमप्रसाद राईले भने, ‘त्यसका लागि आयोगले कम जनसंख्या भएको तर भाषा लोप भइनसकेका जातिहरूको लोकवार्ता संकलन गर्ने काम थालेको छ ।’ भाषिक विविधताले भरिएको नेपालमा कतिपय भाषा लोप हुँदै गएकाले पनि आयोगले यो कामको सुरुवात गरेको उनले बताए ।

‘हामी यी लोकवार्ता तथा कथाहरूलाई अडियो भिजुअल रेकर्ड गरेर डिजिटल आर्काइभका रूपमा राख्छौँ ।’ आयोगकै अर्का उपसचिव गणेश भट्टराईले भने, ‘त्यो सामाग्री भाषा आयोगको वेबसाइटमै उपलब्ध हुने व्यवस्था छ ।’ आयोगले पहिलो चरणमा १४ भाषामा लोकवार्ता संकलन गर्न थालेको छ । ती भाषाहरू वाम्बुले, सन्थाली, जिरेल, चाम्लिङ, राना (थारू), मगर, बराम, बज्जिका, मगही, कुलुङ, थामी, काइके, सुनुवार र गोपाली हुन् ।
प्रकाशित : चैत्र २२, २०७४ १९:३९
https://www.kantipurdaily.com/pradesh-1/2018/04/05/152293646777728797.html

Leave a Reply

Your email address will not be published.