किराँत राईहरुको तेस्रो अन्तरराष्ट्रिय सम्मेलन बेलायतमा हुने

पत्रपत्रिका प्रवास

लिभु संवाददाता

खुशी लिम्बु , लण्डन । किराँत राईहरुको साझा संस्था किराँत राई यायोक्खा (किराया) ले बेलायतमा तेश्रो अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ । पश्चिम लण्डनको ह्यारोमा एक पत्रकार सम्मेलन गर्दै किरायाको बेलायत शाखाले उक्त कार्यक्रम बारे सार्वजनिक गरेको हो ।

जसअनुसार निर्धारित तेस्रो अन्तरराष्ट्रिय किराँत राई सम्मेलन आगामी मे महिनाको २४, २५ र २६ तारिख साउथ ह्यारोको फूटबल क्लब हलमा हुने भएको छ । तेस्रो सम्मेलनमा उत्तरपूर्वी भारतीय राज्य सुक्खिमका पूर्व मूख्यमन्त्री तथा वर्तमान विधायक डा. पवन चाम्लिङ प्रमुख अतिथि रहनेछन् ।

त्यस्तै भिसाको समस्या भएमा बाहेक किराँत राई समुदायका कलाकारहरु दयाहाङ राई, एलिसा राई, विल्सनबिक्रम राई (तक्मे बुढा) र उमेश राई (फुलन्देको आमा) पनि सम्मेलनको अन्य आकर्षण रहने कुरा कार्यक्रम संयोजक नरेश काङमाङ राईले बताए ।

नेपाल सहित विश्वका १७ देशहरुमा रहेको किरायाले यसअघि प्रथम अन्तरराष्ट्रिय सम्मेलन सन् २०११ मा नेपालमा र सन् २०१५ मा दोस्रो सम्मेलन भारतको सिलिगुढीमा गरिसकेको छ । किरायाको नेपालस्थित केन्द्रीय समिति प्रमुख आयोजक भनिए पनि तेस्रो सम्मेलन बेलायतमा हुने भएबाट सबैभन्दा बढी जिम्मा स्वाभावतः कियाचू यूकेको काँधमा आइपरेको छ ।

तेस्रो सम्मेलनमा बेलायतस्थित नेपाली राजदुत, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय काउन्सिलरहरु, अन्य जनप्रतिनिधिहरु, ब्यापारी, समाजसेवी र सर्वसाधारणहरुको उपस्थिति रहनेछ ।

हरेक बर्ष मे महिनामा किराँत राईहरुले मनाउने साकेला (उभौंली) को अवसर पारेर किरायाले निकै बु्द्दिमानीपूर्वक तेस्रो अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । जसअनुसार मे २३ मा सदा झैं अतिथिहरुको साथमा वोकिङको किराँतभूमि क्याम्बरवेलमा ५०८०औं साकेला मनाउने, मे २४ मा साउथ ह्यारोमा तेस्रो अन्तरर्राष्ट्रिय सम्मेलन उदघाटन गर्ने, मे २५ मा वन्दसत्र हुने र मे २६ मा बेलायत घोषणापत्रका साथ सम्मेलन समापन गर्ने कार्यक्रम छ ।

अन्तरराष्ट्रिय सम्मेलनमा किरायाका केन्द्रीय अध्यक्ष दिवस राई लगायत नेपाल, भारत, अस्ट्रेलिया, हङकङ, कतार, मलेशिया, जापान, कोरिया लगायतका एक दर्जनभन्दा बढी देशहरुदेखि किराँत राईहरु सहभागी हुनेछन् ।

“विश्वभरका किराँत राईहरुबीच भाइचारा सम्बन्धन गर्दै सबैलाई एकताको सूत्रमा समेटन, किराँत राई समुदायमा २८ वटा भाषाहरु प्रयोगमा रहेको तर केही किराँत राई भाषाहरु लोपोन्मुख रहेको चिन्तनीय अवस्थामा लोप हुनबाट बचाउन र पकृतिपूजक राईहरुको बिभिन्न चाडहरुको संरक्षण र सम्वर्द्धन गर्दै आफ्नो विशिष्ट संस्कार र संस्कृतिलाई अक्षुण राख्न, साथै भौगोलिक र पेशागत रुपमा भूमण्डलिकृत राईहरुलाई आफ्नो मुल थातथलोसंगको सम्बन्ध स्थापित गरिराख्न यस सम्मेलनले महत्वपूर्ण टेवा पुर्याउनेछ” – किराया यूकेकी अध्यक्ष श्रीमती कल्पना राईले पत्रकारहरुलाई बताइन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष श्रीमती राईले बेलायतवासी किराँती र गैर–किराँतीहरु सबैबाट आर्थिक, नैतिक भौतिक लगायत सबै प्रकारका सहयोगहरु अपेक्षा राखिन् । त्यस्तै किराया यूकेका उपाध्यक्ष मेजर (रि.) योगेश राईले साकेला (उभौंली) चाडको महत्वमाथि प्रकाश पार्दै यस पटकको साकेला र तेश्रो अन्तरर्राष्ट्रिय सम्मेलनमा आर्थिक भौतिक सहयोगका लागि बिज्ञापन र स्टलहरुको संख्यामा बढोत्तरी गर्ने कुरा बताए ।

पत्रकार सम्मेलनमा किराया यूकेका सल्लाहकार तथा पूर्व उपाध्यक्ष दिवाकर राई, किराया नेपालका संस्थापक सदस्य मेजर (रि.) मानबहादुर राई, किराया नेपालका पूर्व अध्यक्ष डा. सुमाया राई र पूर्व उपाध्यक्ष ज्ञानबहादुर राई लगायत कार्यसमितिका सदस्यहरु र किराया यूके शाखाका प्रतिनिधिहरु उपस्थित थिए । त्यस्तै पत्रकारहरुका तर्फबाट नेपालीपत्रका धु्रव अर्याल, गोर्खा च्यानलका दिनेश परियार, कान्तिपूर दैनिकका नविन पोखरेल, दर्पणसंसारका संजयभक्त कंडेल, रातोपाटीका बिपिन निरौला, लण्डन नेपालन्युजका शिव भण्डारी, नेपाल संसारका मनदीप केसी, शिलिचुङ साप्ताहिकका किरण राई र मिडिया हाउसका ईश्वर चाम्लिङको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.