लक्ष्मी गौतम
पाँचथर जिल्लाको फालेलुङ र याङवरकमा पर्ने सिदिन, प्राङबुङ र च्याङथापु क्षेत्रका केही खोलामा पृथक् जात–स्वादका माछा पाइन्छन् । चटनी, सुकटी र गुन्द्रुकका रूपमा प्रयोग गर्न सकिने यो माछा खाँदा केही तीतो हुने भएकाले यसको नामै रहेको छ— तीतेमाछा ।
खोला किनारमा तीतेपाती फुलेका बेला आकाश गर्जनसँगै निस्कने तीतेमाछाको विशेषतै फरक छ । यो माछा वर्षको एक सिजनमा मात्रै मारिन्छ, त्यो पनि फुल पारेर फर्कंदै गरेको पोथी मात्रै । फुल रुँग्न बसेको भालेलाई चलाइँदैन । मार्ने क्रममा सन्तान नष्ट हुने डरले साबुन–विष वा रसायन प्रयोग गरिँदैन । स्थानीयले मार्नका लागि चोयाबाट बुनिएको खोंगी (पासो) वा बोरा प्रयोग गर्छन् । जति आएर पासोमा अड्किन्छन्, त्यतिमै चित्त बुझाइन्छ— हिफाजती हिसाबमा ।
तीतेमाछाले वर्षमा एक सिजन मात्र फुल पारेर सन्तान उत्पादन गर्छ । फालेलुङ–७ का वाचस्पति रिजालका अनुसार ‘तीतेपाती फुल्ने सिजन’ अर्थात् मलमास परेको वर्ष भदौको पहिलो सातादेखि असोजको दोस्रो साता र क्षयमासको वर्षमा साउन १५ देखि भदौ ३० सम्म यो माछाले फुल पार्ने गर्छ । यो वर्ष मलमास परेकाले यत्तिखेर तीतेमाछाको सिजन हो ।
‘वर्षायाम अन्तिममा जब आकाश गर्जिन थाल्छ, तीतेमाछाको फुल्ने (फुल पार्ने) सिजन पनि सुरु हुन्छ, यसलाई ‘माछा फुल्ने सिजन’ भनिन्छ,’ स्थानीय जंगबहादुर केरुङ भन्छन्, ‘आकाशमा गड्याङ गर्नासाथ तीतेमाछा पनि हूलका हूल निस्कन थाल्छ ।’
तीतेमाछा फुल पार्न पनि एक ठाउँबाहेक अन्यत्र जाँदैन । अघिल्लो वर्ष आफू जहाँ जन्मेको हो, त्यहाँ मात्र फुल पार्ने यसको अनौठो स्वभाव हुन्छ । अघिल्लो वर्ष माउले जहाँ फुल पारेको हुन्छ, अर्को वर्ष त्यही ठाउँमा बारेर गाउँलेले ‘कुर’ बनाइदिन्छन् । सरासर त्यहीं आएर अघिल्लो वर्षको बच्चाले फुल पार्छ । खोलातिर फर्कने क्रममा त्यसलाई मारिन्छ । अनि, भाले माछाले एक सातासम्म फुलको हेरचाह गर्छ ।
तीतेमाछा मार्ने कुरामा पनि खोला किनारमा जसको खेत छ, त्यसलाई मात्रै मार्ने अधिकार हुन्छ । खोलापारिबाट आएर कसैले मारेको पाइएमा गाउँले भेला हुन्छन् र जरिवाना गर्छन् । सिदिनको मुवा खोला गएर मिसिने हेवा खोलामा खोंगी थाप्न भने प्राङबुङका बासिन्दालाई छुट छ ।
सिदिनतिर चार ठाउँमा खोंगी थापिन्छ । मारिएको माछाको तौल मुरी (२० पाथी) मा लिइन्छ । एउटा कुरामा बर्सेनि पाँचदेखि सात मुरीसम्म माछा पर्छन् । मारिएको दिनभर खोलामा किन्ने र बिलो लाउनेहरूको बजार नै हुन्छ । मारिएको माछा गाउँभर थोरै परिमाणमा बाँडिन्छ जसलाई ‘बिलो बाँड्नु’ भनिन्छ ।
दुर्लभ प्रजातिको तीतेमाछा पाँचथरका मुवा, मेवा, इँवा र कावेली खोलामा मात्र पाइने विश्वास छ । जिल्लाको उत्तरी भेगस्थित याङवरकको कावेली, इँवा र मेवा खोलामा तीतेमाछा मार्न यो वर्ष गाउँपालिकाले ठेक्का लगाएको छ । यो माछा स्थानीयले पाँचथरबाट काठमाडौ, सिंगापुर र हङकङसम्म कोसेली पठाउने गर्छन्।
https://www.kantipurdaily.com/koseli/2018/09/15/153698116910018004.html