विमल खतिवडा
काठमाडौँ — लाहुरेका हुर्किसकेका सन्तान भनेपछि दिमागमा आइहाल्छ– हङकङको आईडीवाला वा बेलायती रातो पासपोर्ट बोक्ने । यी सवाल कटारी, उदयपुरका निबन राईमा भने लागू हुन्न । हङकङमा जन्मिएका उनी अचेल सूर्यविनायक, भक्तपुरमा कुखुरा स्याहार्नै व्यस्त छन् ।
आठ रोपनी जग्गा भाडामा लिएर निबनको समूहले चौध महिनाअघि जिम्वाल फार्म खोल्दै कुखुरा पालन थालेको हो । काठमाडौंबाट १५ किमि टाढा रहेको फार्ममा अण्डा पार्नका लागि प्रख्यात लेयर्स प्रजातिका कुखुरा पालेका छन् । हाल करिब ५ सय कुखुरा छन् । कुखुराको संख्या ३ हजार पुर्याउने जिम्वाल प्रोजेक्टको योजना छ । टर्की पाल्नका लागि पनि खोर बनाइसकेको छ । बजारमा उच्च माग रहेको ‘लोकल कुखुरा’ पाल्ने तयारी पनि थालिएको छ ।
जिम्वाल प्रोजेक्टका प्रमुख निबनको खास रुचि आईटीमा थियो । उनले पाँच वर्ष पायोनियर सोलुसन्समा काम पनि गरे । त्यहाँ बिजनेस एनालिस्ट हुँदै प्रोजेक्ट म्यानेजरसम्म भए । कमाइ पनि आकर्षक थियो । उनले पायोनियर सोलुसन्सको डेन्भर, अमेरिकास्थित कार्यालय पुगेर पनि तीन महिना काम गरे । उनी अमेरिका जाँदा परिवार पनि दंग थियो–अब उतै बस्ला र डलर कमाउँलान् भनी । लाहुरेका अधिकांश सन्तान हङकङ डलर र बेलायती पाउन्ड नभए अस्ट्ेरलियन र अमेरिकी डलर कमाउन विदेशिने गर्छन् । निबन पनि चाहेको भए अमेरिकातिरै बस्न सक्थे तर उनले त्यसो गरेनन् ।
‘आफ्नै देशमा केही नौलो काम गरौं भन्ने सोच पहिलादेखिकै थियो । अन्तत: त्यसैले व्यवसायी बनायो,’ ३२ वर्षीय निबनले भने । उनले कोटेश्वरमा तीन वर्ष रेस्टुराँ पनि चलाए । रेस्टुराँ बेचे । रोयल एन्फिल्ड पनि बेचे । त्यसको रकम उनले कुखुरा फार्ममा लगानी गरे । कोटेश्वरमा बसिरहेका उनी हरेक दिन एक्सेल होन्ड हाँक्दै फार्म पुग्छन् ।
शंकरदेव क्याम्पसबाट बीबीए गरेका निबनले इन्भेस्टमेन्ट बैंकमा इन्टर्नसिप गरेका थिए । उनलाई जागिरको प्रस्ताव पनि गरिएको थियो । ‘बैंकमा जागिर खानै मन लागेन,’ फार्मबाट आठ महिनायता अण्डा बिक्री गरिरहेका उनले भने, ‘अमेरिका जाँदा मैले केही गर्छ भनी परिवारमा खुसी छाएको थियो । फर्कंदा निराश भए । जब हामी राम्रो पढ्छौं, बुझ्ने हुन्छौं तब राम्रो काम गरेर देशलाई रिटर्न दिने बेला विदेश पलायन हुन्छौं । यहाँ युवालाई खोज्दा भेट्नै गाह्रो छ, देशै लाहुर गएको अवस्था छ । मलाई भने विदेश मोह कहिल्यै भएन ।’
अण्डाको उत्पादन वृद्धि गरेपछि आफैं कोल्ड स्टोर खोल्ने सोच पनि छ उनको । ‘परीक्षणका रूपमा यो व्यवसाय सुरु गरिएको हो । सफल भइरहेको छ । अब यसमा लगानी थप्दै जानेछौं,’ निबनले भने । कच्ची सडकमात्र विस्तार भएको ठाउँमा फार्म सुरु गरेका उनी चल्तीमा रहेको भन्दा भिन्न तरिकाले कुखुरा पालन गरेको बताउँछन् । इन्टरनेट पनि नचल्ने स्थानको फार्ममा खोरभित्र र खुला रूपमा कुखुरा पालिएको छ ।
‘विकसित देशमा त्यहींका नागरिकले देशलाई समृद्ध बनाएका हुन्,’ संगीतका सौखिन निबनले भने, ‘हामी हातमा राम्रो सीप हुँदा र उमेर छँदा विदेशमा काम गर्न जान्छौं । त्यही सीप र उमेर स्वदेशमै उपयोग गर्ने हो भने हाम्रो देश विकसित बन्दैन र ?’
जितपुरको स्ट्रबेरी
सुनाकोठीका यमन श्रेष्ठ १३ वर्ष अमेरिका बसे । उतै एमबीए गरे । नेपाल फर्किएको साढे ५ वर्ष भयो । स्वदेश फर्किएपछि उनी कलाकार बने । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमनले पनि बुबाकै बाटो समाते । उनी आफैं हास्य टेलिफिल्मको कथा लेख्छन्, अभिनय गर्छन् र गीत गाउँछन् पनि । अहिले भने उनी कलासँगै किसान पनि बनेका छन् ।
बालाजुबाट करिब सात किमि उत्तरतिर जितपुर फेदीमा यमनले साथी मन्दिर श्रेष्ठसँग मिलेर स्ट्रबेरी (ऐंसेलु) खेती सुरु गरेका छन् । उनीहरू कलेजदेखिकै साथी हुन् र अहिले व्यावसायिक साझेदार । मन्दिरले तीन वर्षअघि ककनीमा स्ट्रबेरी परीक्षणका रूपमा लगाएका थिए । त्यो सफल भएसँगै उनीहरू व्यावसायिक खेतीका लागि अगाडि बढेका हुन् ।
धेरैले अंग्रेजी नयाँ वर्ष २०१८ मनाइरहँदा यमन र मन्दिर भने काठमाडौंको भीड छिचोल्दै जितपुर फेदीतिर उक्लिरहेका थिए । नयाँ वर्षकै अवसरमा टनेल बनाएर पाँच हजार स्ट्रबेरीका बिरुवा लगाए । टनेल आवश्यक नभए पनि ढिला भइसकेकाले त्यसो गरिएको उनीहरूले बताए । स्ट्रबेरीको बिक्री सुरु भइसकेको छ । उनीहरूलाई बजारको माग पूरा गर्न भ्याइनभ्याई छ । उनीहरूले दुई रोपनीमा स्ट्रबेरी र तीन रोपनीमा फूल खेती गरिरहेका छन् ।
‘स्ट्रबेरी अलि उचाइमा मात्र हुन्छ । जितपुरमा खेती हुनेमा शंका थियो । त्यसैले परीक्षण गरिएको हो । यसमा हामी सफल भयौं,’ भोटाहिटीका ४१ वर्षीय मन्दिरले भने । उनका अनुसार समुद्री सतहबाट २४–२५ सय मिटरको उचाइमा र चिसो ठाउँमा स्ट्रबेरी खेती गरिन्छ । तर १४ सय मिटरमा रहेको जितपुरमै उनीहरूको परीक्षण सफल भयो । दैनिक करिब २५ केजी स्ट्रबेरी उत्पादन गर्न थालिसकेका मन्दिरले भने, ‘स्ट्रबेरी फल्न थालेपछि हामीले फेसबुकमा फोटो राखेका थियौं । त्यसपछि त फार्ममा हेर्न आउने र माग गर्नेको संख्या चुलियो । बजारमा दैनिक ५ सय केजी स्ट्रबेरीको माग छ । हामीले पूरा गर्नै सकेका छैनौं ।’ फार्मलाई औपचारिक नाम दिन पनि भ्याइनसकेका उनले अब लगानी थप्ने पनि बताए ।
यमन र मन्दिरले भदौबाट गोदावरी, भक्तपुर र साँखुमा स्थानीय किसानसँग मिलेर नमुना फार्मिङ गर्ने सोचाइ बनाएका छन् । ‘स्ट्रबेरी महँगो हुन्छ भन्ने आम बुझाइ छ,’ ४२ वर्षीय यमन भन्छन्, ‘यो सोच बदलेर स्ट्रबेरीलाई म:मकै मूल्यमा सबैले खान सक्ने बनाउन चाहन्छौं ।’ लगाएको ६० दिनमा स्ट्रबेरीको फल टिप्न सुरु हुन्छ । उनीहरू रोजगार दिएर उत्पादन पनि बढाउने योजनामा छन् । र, सीप अरूलाई पनि सिकाउन चाहन्छन् ।
‘जो स्ट्रबेरी खेती गर्न चाहन्छन्, उनीहरूलाई विधि सिकाएर पठाउने सोच छ, जसबाट उनीहरूले आम्दानी गर्न सकून्,’ २५ वर्षयता फ्लोरिकल्चरमा सक्रिय रहेका मन्दिरले भने । पढे–लेखेका युवाले खेती गर्नु हुन्न भन्ने मानसिकता पनि बदल्न चाहेको उनले बताए । यमन र उनले स्ट्रबेरी खेतीका लागि निकै होमवर्क गरेको बताए । उनीहरूले फूल खेतीमा पनि निकै मिहिनेत गरिरहेका छन्। फूल नयाँ वर्षको सुरुसँगै बजारमा आएको छ ।
bimalnews@gmail.com
प्रकाशित : वैशाख १४, २०७५ १०:५३
https://www.kantipurdaily.com/hello-sukrabar/2018/04/27/152480554060716839.html