संस्कृति – रथजात्रामा साना साथीहरु

पत्रपत्रिका

गणेश राई
काठमाडौँ — काठमाडौं उपत्यका संस्कृतिको राजधानी पनि हो । हरेक नयाँ वर्षको पूर्वसन्ध्या सँगै तीनवटा ठूला जात्रा सुरु हुन्छन् । भक्तपुरमा बिस्केट जात्रा, काठमाडौंमा सेतो मच्छिन्द्रनाथको जात्रा र ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा ।


जात्रा वैशाखभरि मनाइन्छन् । यी जात्रा सयौं वर्षदेखि मनाउँदै आइएका हुन् । यी जात्राका देवतालाई वर्षा, सहकाल, सुख, समृद्धिका देवता मानिन्छन् । धार्मिक आस्था सबैको हुन सक्छ । यी जात्रा मनाउने कामचाहिँ नेवार जातिले गर्दछन् । गुठी संस्थान यी जात्रा सञ्चालन गराउने सरकारी निकाय हो ।

‘यस पटक चैतमा रातो मच्छिन्द्रनाथको रथ बनाउने काममा खटिएँ,’ भर्खरै कक्षा १० पुगेका प्रवल बाराहीले भने, ‘रथ बनाउन जति मज्जा आउँछ, सबै मिलेर तान्न झनै मज्जा हुन्छ ।’ ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ बनाइन्छ । उसको साथी मीननाथको रथ हुन्छ । रथ बनाउन काठ, डोरी, बेत आदि चाहिन्छ । काठको चुकुल प्रयोग हुन्छ । फलामको काँटी र किला प्रयोग गरिँदैन ।

रातो मन्छिन्द्रनाथको रथ नौतला अग्लो हुन्छ । काठको चारवटा पांग्रा हुन्छन् । त्यसैगरी केही सानो मीननाथको रथ हुन्छ । यसमा पनि चारवटा पांग्रा हुन्छन् । लामो डोरी लगाएर ठूला मानिसले रातो मच्छिन्द्रनाथको रथ तान्दै पाटनको मंगलबजार हुँदै सहरका मुख्य चोकमा पुर्‍याउँछन् । साइत हेरेर मात्र एउटा टोलबाट अर्को टोलमा पुर्‍याउँछन् । रथ तान्ने काम बूढापाका, तन्नेरी, किशोरकिशोरी, बालबालिका सबैले गर्दछन् । रथभित्र देवता राखिएको हुन्छ । पुजारीले पूजा गर्दछन् । धिमे, नायखीं आदि बाजागाजा बजाइन्छन् । महिला, पुरुषले पूजाआजा गर्छन् । सयौं स्वयंसेवीले मानिसको लाम मिलाउँछन् ।

‘मीननाथको रथ बनाउने काममा विशेषगरी किशोरको भूमिका रहन्छ किनभने उनीहरूको शरीरको वजन कम हुन्छ,’ बाराही समाजका उपाध्यक्ष प्रेमकृष्ण बाराही भन्नुहुन्छ, ‘पुर्खा गर्दै ल्याएको काम हो । ठूलाले गरेर मात्र सम्भव छैन । त्यसैले रथ बनाउने काममा किशोरहरूलाई सहभागी गराउँछौं । मीननाथको रथ तान्ने काम केटाकेटीहरूको हो । व्यवस्थापन जिम्मेवारी पनि उनीहरूकै हुन्छ । यसो गर्नुको उद्देश्य संस्कृति जोगाउन नयाँ पुस्ताले सिक्छन् । बुझ्छन् ।’ साइतअनुसार राष्ट्रप्रमुखको उपस्थितिमाझ जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाएपछि यो जात्रा सकिन्छ ।

काठमाडौंको दरबारमार्ग मुख्य सडक छेउमा सेतो मच्छिन्द्रनाथको रथ बनाइन्छ । रथ बनाउने कामसँगै देउताको महास्नान गरिन्छ । यो कामलाई दस क्रियाकर्म भनिन्छ । ‘बालक जन्मेपछि नुहाइधुवाइ, न्वारान, पास्नी, छेवार, इही, व्रतबन्धजस्तै कर्म हो यो,’ संस्कृतिकर्मी सुरेशकिरण मानन्धर भन्नुहुन्छ, ‘बालबालिकाले यो हेरेर सामाजिक परम्पराबारे ज्ञान लिन सक्छन् ।’ रथ चैतेदसैंको दिन तान्न सुरु हुन्छ । जात्रा अवधिभरि सबैको सहभागिता रहन्छ । भदौमा इन्द्रजात्रा मनाइन्छ । त्यतिखेर जीवित देवता कुमारी, गणेश र भैरवको प्रतिरूप १०–११ वर्षका बालिका र बालकलाई रथमा राखेर सहर घुमाउँदै पूजा गरिन्छ । यतिखेर प्रत्यक्ष रूपमा बालबालिको भूमिका रहन्छ ।

भक्तपुरलाई जीवित सांस्कृतिक संग्रहालय भनिन्छ । यहाँ मनाइने बिस्केट जात्रा विश्वप्रसिद्ध छ । आठ दिन नौ रात मनाइने जात्रामा बूढापाकादेखि बालबालिका सबैको सहभागिता रहन्छ । काठैकाठबाट प्यागोडा शैलीमा चारपांग्रे रथ निर्माण गरिन्छ । त्यही रथमा भैरवनाथका मूलदेवता र बेताल देवता राखिन्छन् ।साथै, खड्ग, तरबार, निसान राखेर रथमा राखेर हजारौं मानिसको भीडमाझ तान्नु नै यो जात्राको प्रमुख आकर्षण हो । साथमा केही साना भद्रकालीका रथ पनि रहन्छन् । सञ्चारकर्मी नारायण किलम्बूका अनुसार भद्रकालीको रथ बच्चाहरूले मात्र तान्छन् । उनीहरू नै ठूलो भएपछि पनि भैरवको रथ तान्छन् ।यसरी ऐतिहासिक तथा सांस्कृतिक जात्रामा बालबालिकाहरूको सहभागिता हुने गरेको छ । यसले नेपाली समाजको परम्परालाई दीर्घकालीन बनाउने निश्चित छ । हामी पनि आफ्नो समाज वरिपरि मनाइने चाडपर्व, जात्राहरू नियाल्ने गरौं ।

प्रकाशित : वैशाख १७, २०७५ ०७:५७
https://www.kantipurdaily.com/kopila/2018/04/29/152505436920915569.html

Leave a Reply

Your email address will not be published.